३ लाखबाट सुरु गरेको अल्लो व्यवसाय, १२ लाखको कारोबार

<p>काठमाडौं । पछिल्लो समय अल्लोबाट निर्मित कपडाको माग बजारमा बढ्दो छ । १२ वर्षदेखि त्यही अल्लोका कपडा बनाउँदै आइरहेकी छिन् सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५ सल्लेरीकी नम्रता कुलुङ राई । सानै उमेरदेखि अल्लोको काम गर्न थालेकी नम्रता अहिले जिल्लामै व्यावसायिक रूपमा अल्लो व्यवसाय गर्न थालेकी छिन् । अल्लोबाट कपडा बनाउँनु त्यति सजिलो छैन [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय अल्लोबाट निर्मित कपडाको माग बजारमा बढ्दो छ । १२ वर्षदेखि त्यही अल्लोका कपडा बनाउँदै आइरहेकी छिन् सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५ सल्लेरीकी नम्रता कुलुङ राई ।

सानै उमेरदेखि अल्लोको काम गर्न थालेकी नम्रता अहिले जिल्लामै व्यावसायिक रूपमा अल्लो व्यवसाय गर्न थालेकी छिन् । अल्लोबाट कपडा बनाउँनु त्यति सजिलो छैन । हिमाली भेगका जङ्गलमा अल्लो खोज्नु आफैमा चुनौतीपूर्ण काम हो ।

उनकी आमाले बनाएको हेरेर नम्रताले कपडा बनाउन सिकेकी थिइन् । समय क्रमसँगै नम्रता वैवाहिक जीवनमा बाँधिइन् । उनका श्रीमान् पेशाले शिक्षक । श्रीमान् शिक्षक भएका कारण उनी विद्यालय जान्थे भने नम्रता गाउँघरमा घाँस दाउरा, मेलापात गर्दै दैनिकी चलाउँथिन् ।

आफूले पनि आय आर्जन हुने काम गर्न पाए परिवार चलाउन अझ सहज हुन्छ भन्ने सोच नम्रतामा पलायो । ‘हिमाली भेगमा रोजगारी पाउनु त्यति सजिलो छैन, आफै काम गर्न पनि स्रोत साधनको नभएका कारण झट्ट नयाँ काम सुरु गर्न पनि मुस्किल थियो,’ उनले भनिन् ।

अन्ततः नम्रताले पुर्ख्यौली पेसालाई अपनाउने निणयमा पुगिन् । नम्रताले अल्लोबाट कपडाहरू बनाउने योजना बनाएको उनका श्रीमानलाई सुनाइन् । नभन्दै नम्रताका श्रीमानले पनि साथ दिए ।

नम्रताले आज भन्दा १२ वर्ष अगाडि ‘हिमालन अल्लो हस्तकला केन्द्र’ दर्ता गराइन् । सो उद्योग दर्ता गराए पश्चात् ३ लाख रुपैयाँको लगानी गरी आफ्नो व्यावसायिक यात्रा अगाडि बढाएको नम्रता बताउँछिन् । सुरुमा उत्पादन भयो खपत हुन मुस्किल परेको उनी स्मरण गर्छिन् ।

बिस्तारै नम्रताको व्यवसाय फस्टाउदै गयो । व्यापार पनि राम्रो हुन थाल्यो । यो व्यवसायले मनग्य आम्दानी दिन थालेपछि नम्रताले गाउँ घरका दिदी बहिनीहरूलाई पनि यस सम्बन्धी जानकारी दिन थालिन् । बिस्तारै सो ठाउँका महिलाहरूले पनि अल्लोका कपडाहरू बुन्न थाले ।

‘पहिला अहिले हामीले लगाउने जस्तो कपडा थिएन, हाम्रो बाजे बजैहरूले कपडा नभएको समयमा यसको कपडा बनाएर लगाउनु हुन्थ्यो, अहिलेका जस्ता कपडा पछिपछि सोलुखुम्बु तिर पुग्यो, अल्लोको कपडा र त्यसको महत्व हराउँदै गएपछि यो पेशालाई पनि अगाडि बढाएका हौं,’ उनले भनिन् ।

नम्रताको हिजोआज एक छिन पनि फुर्सद हुँदैन । अल्लोबाट निर्मित कपडाको माग स्थानीय बजारमाबाट दिनप्रतिदिन बढ्दै गएपछि उनी जतिबेला पनि तान बुन्नमै व्यस्त हुन्छिन् ।

पछिल्लो समय नेपालका बन्न थालेको अल्लोको माग अन्तर्राष्ट्रिय बजारमा समेत बढ्दो छ । तर, माग भए पनि नम्रताले बुनेका कपडा स्वदेशी बजार नै खपत हुन्छ । अहिले हामीले उत्पादन गरेको सामान स्वदेशी बजारमा नै खपत हुन्छ, अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन हाम्रो पहुँच पुग्दैन, तर अन्तर्राट्रिष्य बजारमा चिनाउने लक्ष्य छ,’ उनले भनिन् । अल्लो सिस्नो प्रजातिको वनस्पति हो ।

त्यस बेलासम्म उनलाई जिल्लामा कसैले चिन्दैनथे । अहिले त्यही सीपले उनलाई अल्लो व्यवसायी बनाएको छ । ‘अल्लो कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको माग देश तथा विदेशसम्म हुने थालेको छ । प्रख्यात कोसेलीका रूपमा प्रयोग हुने अल्लोको माग बढेको नम्रता बत्ताउँछिन् ।

जिल्ला बाहिरबाट आएका आन्तरिक पर्यटक र कर्मचारीले सो ठाउँबाट घर जाँदा वा नातेदार र साथीभाइ भेट्न जाँदा अल्लोका कपडा उपहार लिएर जाने गर्छन् । अहिले सोलुखुम्बु जिल्लामा बस्ने अधिकांश मानिसले अल्लो उत्पादनदेखि प्रशोधन समेत गर्दै आएको नम्रता बत्ताउँछिन् । अहिले नेपाली समाजमा पनि अल्लोबाट बनेका कुनै न कुनै कपडा प्रयोग धेरैले गरेको पाइन्छ ।

जिल्लामा काम गरेर अन्य क्षेत्रमा सरुवा भएर जाने कार्यालय प्रमुख र कर्मचारीहरूले समेत कोसेलीका रूपमा अल्लो लिएर जाने गरेको नम्रता बत्ताउँछिन् । अल्लोको कपडा लिन सेना, प्रहरी, कार्यालय प्रमुखसमेत आदि आउने पनि नम्रता भनाइ छ ।

नम्रताका अनुसार छिमेकी गाउँका ४०/५० घरधुरीका महिलाहरूले अहिले व्यवासय गरेर मनग्य आम्दानी गरिरहेको छन् । नम्रताले उनीहरूले उत्पादन गरेका अल्लोको सामान बजारसम्म पुर्याएर बेचिदिने काम गर्छन् ।

नम्रताले अल्लोको कोट, ज्वारीकोट, कपडा, फेङगा, सल, टोपी, लेडिज/जेन्स ट्याग तथा, पर्स, डायरी, जुत्ता, चप्पल जस्ता विभिन्न सामग्रीको उत्पादन गरी बिक्री गर्ने गरेकी छिन् ।

अल्लोको कच्चा पदार्थ नै खोज्ने जङ्गलमा जानु पर्ने बाध्यता छदैछ । अल्लोको कच्चा पदार्थ खोज्ने क्रममा भालुले आक्रमणमा परेर धेरै दिदी बहिनीको ज्यान गएको सुनाउँदै उनी मलिन हुँदै भन्छिन्, ‘अल्लोको खोज्ने क्रममा ३/४ जनाको ज्यान गएको छ, धेरै जना अपाङ्ग भएका छन् ।’

उनका अनुसार अल्लोबाट धागो बनाएपछि कपडा उत्पादन हुन्छ । सो कपडा अमेरिका र जापानसम्म पनि निर्यात हुने बताइन् ।

वार्षिक १२ लाखको कारोबार

अल्लोको व्यापार गरेर वार्षिक १२ लाख रुपैयाँ बराबरको कारोबार गरेको पनि नम्रताले बताइन् । उनका अनुसार कोभिडको समयपछि पहिलाको भन्दा तुलनात्मक रूपमा व्यापार घटेको छ । ‘प्रविधिको प्रयोग नगरी हातबाट अल्लोको सामान बनाउनु पर्ने हुन्छ, हातबाट बनाउँदा समय धेरै लाग्छ, प्रविधिको सहयोग मिल्यो भने उत्पादन पनि बढी हुने र लागत पनि कम लाग्छ,’ उनले भनिन् ।

‘बजार सानो छ, उत्पादन बढी, यहाँका अधिकांश महिलाहरूको पेसाले यो बजारमा माग उच्च भयो भने सोही ठाउँका धेरैले रोजगारी पाउँथे,’ उनले भनिन् । शहरमा जग्गा किन्न नसके पनि अल्लोको व्यापार गरेर गाउँमा नै जग्गा जोड्न सफल भएको पनि उनी सुनाउँछिन् ।

उनले २ सय देखि ३५ सय रुपैयाँ सम्मका मूल्यका बराबरका अल्लोको सामान नम्रता उत्पादन हुन्छ । परम्परागत काठको तानमा हातले बुनिने अल्लो कपडाको माग स्वदेश र विदेशमा पनि बढ्न थालेपछि अहिले अल्लोको कपडा उत्पादन गर्ने सोलुखुम्बुका उद्यमीलाई भ्याइनभ्याई छ ।

Share News