नेप्सेको पारदर्शितामाथि प्रश्न, लगानीकर्ता असन्तुष्ट
काठमाडौं । केही दिन अघि एसोसिएसन अफ इन्भेस्टमेन्ट प्रोफेसनल इन नेपालका अध्यक्ष मनोज शाहीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेवसाइटमा गएर केही तथ्यांक खोज्ने प्रयास गरे । उनले भेटाउन सकेनन् । त्यसपछि उनले पुनः नेप्सेको आम्दानी र खर्च पनि थाहा पाउन प्रयास गरे । तर, लामो समय प्रयास गर्दा पनि उनले नेप्सेको खर्च आम्दानी तथा खर्चको विवरण भेटाउन सकेनन् । ‘नेप्सेमा केही विवरण खोज्ने प्रयास गरेँ तर मैले खोज्न नजानेको होकि त्यसमा नभएको हो, भेट्टाउन सकिनँ, नेप्सेले कति आम्दानी गर्छ, कति खर्च थाहा छैन्, मैले पत्ता लगाउन सकिन,’ उनले विकासन्युजसँग भने । उनले नेप्सेको मात्रै नभएर नेप्सेमा सूचीकृत कम्पनीहरुको आधिकारिक तथ्याङ्क नै पाउन गाह्रो भएको धारणा राखे । नेप्से आफैले सूचीकृत कम्पनीहरुको विवरण माग्दा आफ्नो सूचना पनि सर्वसाधारणलाई नदिएको गुनासो उनको छ । सरकारी संस्था भएर पनि नेप्सेको आम्दानी र खर्च कति छ भन्ने विषय सर्वसाधारण तथा लगानीकर्तालाई नहुनु विडम्वना भएको उनको धारण छ । लगानीकर्ताले नेप्सेमा राखिएको तथ्याङ्कका आधारमा नै लगानीको गणना गर्ने भएकाले सबै विवरण वेवसाइटमा राख्नुपर्ने उनको माग छ । ‘लिस्टिङमा गएपछि सानो हरफ छ, त्यहाँ केही पनि सूचना छैन्, केही विवरण पनि राखिएको छैन, विवरण नभएपछि कसरी इन्डेक्स क्याल्कुलेसन गर्ने ? इन्डेक्सको बारेमा केही पनि छैन, नयाँ प्रविधिमा गएको नेप्सेको सेवा किन सुस्त ? मैले नेप्सेको धेरै कमजोरी देखेँ,’ उनले भने । नेप्सेको नयाँ वेवसाइटमा एक वर्षभन्दा बढी अवधिको तथ्याङ्क नै नभएको उनको भनाइ छ । नयाँ वेवसाइट पूर्ण रुपमा नै व्यवस्थित नभई सञ्चालन गरेको नेप्सेले पुरानो तथ्याङ्क हेर्नको लागि पुरानै वेवसाइटमा जानु परेको उनको भनाइ छ । ‘अहिले आएको नयाँ साइटमा एक वर्षको भन्दा बढीको डाटा पाउन सकिन्न, पुराना तथ्यांक हेर्न पुरानो साइटमा जानु पर्छ, नयाँ साइटमा कुनै पनि विवरण नै भेटिदैनन,’ उनले भने । उनले नेप्सेमा ‘ट्रेडएबल इन्डेक्स’ नभएको बताए । ‘भोलिका दिनमा नेप्से टेन या नेप्से फिफ्टी बनाइयो भने इन्डेक्स प्रडक्टहरु बनेपछि काम छैन, ती प्रडक्टहरुलाई आवश्यक गरेको बेलामा खरिद बिक्री गर्न नसकेमा त्यसको महत्व हुँदैन,’ उनले भने । लगानीकर्ता विष्णु बस्यालले नेप्सेले लगानीकर्तालाई आवश्यक पर्ने जरुरी सूचना समेत उपलब्ध नगराएको गुनासो गरे । आफूले बारम्बार सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत् नेप्सेलाई झक्झक्याउँदा पनि कुनै सुनुवाई नभएको उनको गुनासो छ । उनले व्यक्तिगत पहुँचका आधारमा मात्रै नेप्सेले सूचना उपलब्ध गराउने गरेको उनको भनाइ छ । ‘नेप्सेले लगानीकर्तालाई अत्यन्त जरुरी सूचना समेत उपलब्ध गराएको छैन, बारम्बार सामाजिक सञ्जालमार्फत् सूचना उपलब्ध गराउनुपर्याे भनेर झकझक्याएको छु, त्यसको सुनुवाइ नै भएन,’ उनले भने, ‘ब्यक्तिगत सम्बन्धका आधारमा सूचना मागे पनि आम लगानीकर्ताले भने प्राप्त गर्न सकिरहेका छैनन्, नेप्सेले पहुँच भएकालाई मात्रै सूचना प्रदान गरिरहेको हुन्छ तर आम लगानीकर्ताको पहुँच हुँदैन, सूचनामा पहुँच हुन पब्लिक गर्नुपर्छ, तथ्याङ्क माग्नलाई सम्बन्ध किन प्रयोग गर्ने, तथ्याङ्क पाउनेहक अधिकार हो ।’ नेप्सेले सिस्टममा सुधार गरेर बजार सहभागिताको लागि नभई नहुने सूचनाहरु सार्वजनिक गर्नुपर्ने उनले बताए । उनले सबै सूचना उपलब्ध गराउन नसक्दा नेप्से असफल भएको समेत धारणा राखे । उनको पनि नेप्सेले लगानीकर्ताका लागि इन्भेष्टमेन्ट र ट्रेडिङ निर्णय गर्न जरुरी पर्ने सूचना नदिएको आरोप छ । नेप्सले आफ्नो सूचना बिक्री गर्न सक्ने भएपनि त्यो गर्न नसकेको उनको धारणा छ । ‘नेप्सेसँग भएको तथ्याङ्क आफ्नो सम्पत्ति भएकाले कुनै पार्टिकुलर कम्पनीलाई बिक्री गर्न पाउने अधिकार छ तर त्यो तथ्याङ्क बिक्री गर्न पाउने भनेर नीति बनाए पनि तथ्याङ्क बिक्री गर्ने व्यवसायिक कम्पनी, वेवसाइट वा समाचार पोर्टलबाट अनाधिकृत रुपमा लिनु परेको छ, बजारमा तथ्याङ्कको माग बढ्दो छ तर नेप्सेले आफ्नो सम्पत्तिबाट पैसा कमाउन सक्ने भएप नि कमजोर बनेको छ, नेप्सले आधिकारिक रुपमा सूचना दिन सकेको छैन्, उल्टै तथ्याङ्क अनधिकृत रुपमा बजारमा आइरहेको छ,’ बस्यालले भने, ‘नेप्सेले बेलाबेला तथ्याङ्क अनाधिकृत रुपमा प्रयोग गरेकानुनी कारवाही गर्ने चेतावनी दिन्छ ।’ बस्यालले नेप्सको दुई वटा वेवसाइटको औचित्य नभएको धारणा राखे । दुइटा वेवसाइट हुँदा लगानीकर्ता दुविधमा परेको उनको बुझाइ छ । एउटा वेवसाइट बनाउन पनि वर्षाैं लागेकोप्रति उनले आक्रोस पोखे । नेप्सेले डिलिस्टेड भएका कम्पनीको बारेमा लगानीकर्तालाई सूचीकृत गराउन पनि कञ्जुस्याईं गरेको उनको आरोप छ । ओभरल इन्डेक्समा कयौं वर्षसम्म डिलिस्टेड भएका कम्पनीको पनि बजार पूँजीकरणमा गणना गरिएको प्रति उनले आपत्ति जनाए । ‘ट्रेड नभएका कम्पनी बजार पूँजीकरण गणना गर्दा इन्डेक्समा फरक पर्छ, यो अवैज्ञानिक भएकाले नेप्सेले सुधार गर्नु पर्छ, हरेक सूचना पारदर्शी हुनुपर्छ, लगानीकर्तालाई अधिकतम दिने नियत राख्नुपर्छ तर यहाँ सूचना लुकाउने नियत बढी देखिन्छ, सकेसम्म सूचना दिन नपरोस भन्ने खालको नियत छ,’ लगानीकर्ता बस्यालले भने । नेपाल स्टक एक्सचेञ्जले लगानीकर्तालाई सूचना तथा तथ्याङ्क उपलब्ध गराउन नसक्दा लगानीकर्ता मर्कामा परेको गुनासो गरेका छन् । नेप्सेसँग लगानीकर्तालाई लगानी गर्न र ट्रेड गर्न आवश्यक पर्ने तथ्याङ्क नहुँदा समस्या परेको लगानीकर्ताको गुनासो छ । यस्तै, नेप्सले उपलब्ध गराई रहेका सूचना पनि फरक फरक वेवसाइटमा आउँदा अलमलमा पर्ने गरेको उनीहरु बताउँछन् । अधिकांश लगानीकर्ताले नेप्सेको तथ्याङ्कका आधारमा विश्लेषण गरेर नै लगानी र ट्रेडिङ गर्छन् । तर, नेप्सेको वेवसाइटमा आवश्यक पर्ने तथ्याङ्क नहुँदा लगानीकर्ताहरु समस्यामा परेका हुन् । नेप्सेका सीईओ कृष्ण कार्कीले लगानीकर्ताका लागि सबै तथ्याङ्क लाइभ गर्ने गरेको बताए । उनले लगानीकर्तालाई आवश्यक पर्ने सूचना उपलब्ध गराइ रहेको दाबी समेत गरे । उनले नेप्से आफ्नो वित्तीय विवरण सम्बन्धित निकायमा पेश गर्नुपर्ने भएकाले सार्वजनिक गर्नुपर्छ भन्ने नभएको तर्क दिए । ‘लगानीकर्तालाई सबै सूचना प्रदान गरिरहेको छौं, नेप्सेको वित्तीय विवरण सार्वजनिक नगरेपनि सम्बन्धित निकायमा पेश गरिन्छ, नेप्सेको अडिट हुने भएकोले शंका गर्नु पर्दैन,’ उनले भने, ‘सर्वसाधारणलाई दिनुपर्ने सूचना लाइभ गर्ने र लाइभ नगर्ने अर्काे गरी २ वटा सूचना छन्, नेप्सेसँग हजारौं सूचना भएकाले राख्नु पर्ने राख्छौं, कतिपय गोप्य पनि हुन्छन्, लगानीकर्ताका लागि सूचीकृत कम्पनीको तथ्याङ्क सबै वेवसाइटमा राखिएको छ ।’ नयाँ वेवसाइटमा पुराना तथ्याङ्क माइग्रेसन गर्न बाँकी रहेको उनको भनाइ छ । नयाँ वेवसाइटमा डाटा माइग्रेसन गरेर पुरानो वेवसाइट बन्द गर्ने उनले बताए । ‘सबै तथ्याङ्क एउटै ठाउँमा राखिन्छ, सबै प्रक्रियामा छ, पुरानो वेवसाइटबाट नयाँ वेवसाइटमा ट्रान्सफर्मर गर्न बाँकी छ, सार्वजनिक सूचनामा हामीले बञ्चित गर्दैनौं,’ उनले भने ।
पूर्व अर्थमन्त्री पाण्डेसँग अर्थशास्त्री वाग्ले र पौडेलको ‘ब्याटल’, जित्ने सम्भावना कसको बढी ?
काठमाडौं । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको मिति निर्धारण गरेको छ । चुनावमा विशेष गरेर काँग्रेस, माओवादी र एकिकृत समाजवादी लगायत दल सम्मिलित गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीतिका साथ अहिले सबै दल जनताकोमाझ जान थालिसकेका छन् । यही बिचमा चितवनको निर्वाचन क्षेत्र नम्बर एकमा पनि ठूलो प्रतिस्पर्धा हुने देखिएको छ । चितवन एक नम्बर क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे र काँग्रेसबाट अर्थशास्त्री डा.स्वर्णिम वाग्ले या काँग्रेसबाटै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ । चितवन क्षेत्र नम्बर एक सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र हो । सोही क्षेत्रबाट काँग्रेसका स्वर्णिम वाग्ले र विश्व पौडेलको नाम सिफारिस भएको छ । नेता पाण्डे सो क्षेत्रका लोकप्रिय नेता हुन् । काँग्रेसबाट दुई जना अर्थशास्त्रीको नाम सिफारिस भएपछि माहाेल रोचक हुने अनुमान गर्न सकिन्छ । हुनत नेपाली काँग्रेसबाट चितवन क्षेत्र नं. एकका लागि प्रत्यक्षबाट ६ जना र समानुपातिक तर्फ ८ जनाको नाम सिफारिस भएको छ । काँग्रेसका नेता उमेश श्रेष्ठ, त्रिभूवन विश्व विद्यालयका पूर्व उपकुलपति डा.तीर्थ खनिया, राजेन्द्रप्रसाद बुर्लाकाटी, भीमप्रसाद थपलियाको नाम जिल्लामा सिफारिस भएकाे हाे । काँग्रेसका केही नेताहरुका अनुसार ६ जना मध्ये राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पौडेल, अर्थशास्त्री डा. वाग्ले र २०७४ सालको निर्वाचनमा एमालेका नेता पाण्डेसँग नै पराजित भएका बुर्लाकोटीले चुनावका लागि टिकट पाउने सम्भावना प्रवल छ । डा. वाग्ले र डा. पौडेल चितवन मात्रै होइन देशभर राम्रो छवि बनाएका व्यक्ती हुन् भने एमालेका नेता पाण्डे लामो क्षेत्रदेखि सो क्षेत्रको विकास निर्माणमा संलग्न छन् । चितवनको विकासमा पाण्डेको भूमीमा पनि ठूलो छ । उनी अर्थमन्त्री हुने समयमा मात्रै होइन अन्य समयमा पनि जतिसक्दो ठूलो योजना तथा बढी बजेट चितवन निर्वाचन क्षेत्र नम्बर एकमा पार्ने कसर गरिरहेका हुन्छन् भने त्यसमा उनी सफल पनि बनेका छन् । राष्ट्रिय याेजना आयोगकाे उपाध्यक्षकै हैसियतमा रहेका डा.पौडेलले पनि चितवनमा विकासका योजना पार्न ठूलो भूमिका खेलेका छन् भने अर्थशास्त्री डा. वाग्लेको पनि ठूलो संख्यामा प्रशंसक छन् । त्यसैले पनि काँग्रेसबाट पौडेल या वाग्ले जो जाेसुकैले टिकट पाएपनि उनीहरुको प्रतिस्पर्धा एमालेका नेता पाण्डेसँग हुनेछ । हुन त केही दिनअघि पाण्डेले आफ्नो निर्वाचन क्षेत्रमा अमेरिका र बेलायतका अर्थशास्त्रीहरु चुनाव लड्न आएपनि फरक नपर्ने अभिव्यक्ती दिएका थिए। उनले भनेका छन्, ‘म अहिले पनि आफ्नो निर्वाचनमा मतदाताकै माझमा छु, महिनाको चार पटक निर्वाचन क्षेत्रमा नै हुन्छु, काठमाडौँ हुँदा पनि निरन्तर टेलिफोनमा नागरिकसँग सम्पर्कमा नै रहन्छु,। मैले अघिल्लो निर्वाचनमा गरेका अधिकांश प्रतिबद्धता लगभग पूरा गरेको छु, त्यसैले जोकोहीसँग चुनावी प्रतिस्पर्धा गर्न पनि तयार छु ।’ यो अभिव्यक्तिले पनि उनी आफु जित्नेमा ढुक्क देखिन्छन् । त्यो उनको आफुले गरेको काम र जनताप्रतिको उनको विश्वास पनि हुन सक्छ । तर, गठनबन्धन र त्यसमाथि पनि लोकप्रिय अर्थशास्त्री नै उनीसँग प्रतिस्पर्धा गर्न आउँदा उनीमाथि भारी मात्रै होइन उनको निर्वाचन क्षेत्र नै नखोसिएला भन्न सकिँदैन । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवन नेताहरु लागि चर्चित क्षेत्र पनि हो । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को समेत निर्वाचन क्षेत्र रहेको चितवनमा हारजितले नेताहरुलाई धेरै ठूलो प्रभाव पर्छ । त्यसैले पनि अहिले चितवन सबैको केन्द्रबिन्दु बन्न पुगेको हो । गठबन्धन चितवन १ मा पनि कायमै रहेमा पाण्डेलाई चुनाव जित्नमा भने सकस पर्ने देखिएको छ । तर, एमालेलाई राप्रपाले पनि सघाउने आन्तरिक तयारी भइरहेको बुझिएको छ । यसले भने पाण्डेलाई केही सहज हुने देखिन्छ । तर, चितवन १ मा गठबन्धन कायम नभए एमालेका पाण्डेले जित्ने निश्चित प्रायः नै छ । तर, दुई जना चर्चित अर्थशास्त्री उनका लागि ठूलो जोखिम बन्न सक्छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत सफल र प्रखर अर्थशास्त्रीका रुपमा परिचित वाग्ले र पौडेलले नयाँ एजेण्डाका साथ जनतामाझ जान सकेमा एमालेको विरासत चितवन १ बाट खोसिने सम्भावना पनि प्रवल छ । किनकी सो क्षेत्रमा पाण्डे पटक–पटक निर्वाचित भइसकेका छन् । पाण्डे २०७० र २०७४ मा प्रत्यक्षतर्फबाट निर्वाचित भएका हुन् थिए भने वि.स २०६४ मा समानुपातिक तर्फबाट सभासद् बनेका थिए । तर, उनले २०७४ को चुनावमा भने वाम गठबन्धनको सहयोग पाएर जितेको चर्चा पनि अहिलेे चल्न थालेको छ । एमालेले कुनै पार्टीको सहयोग नपाएमा र अरु दलहरुको गठबन्धन हुन सकेमा पाण्डे स्वतः पराजित हुने आँकलन धेरैको छ । तथ्यांकले के भन्छ ? चितवन १ मा राप्ती नगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका पर्छन् । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा राप्ती नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका शमशेर लामा निर्वाचित भए । उनले एमालेका प्रतिस्पर्धी गोविन्द प्रसाद कँडेललाई पराजित गरेका थिए । लामाले कुल १२ हजार ५२४ मत प्राप्त गरेर विजयी भएका थिए भने उनका प्रतिस्पर्धीले १२ हजार ५१ ल्याएका थिए । राप्तीका १३ वडामध्ये एमालेले आठ, कांग्रेसले तीन र समाजवादीले दुई वडा जितेको थियाे । समाजवादीले राप्तिमा काँग्रेसलाई साथ दिएको खण्डमा काँग्रेसका उम्मेदवारले बढी मत ल्याउने सम्भावना देखिन्छ । २०७४ को स्थानीय तहको चुनावमा भने राप्ति नगरपालिकामा एमालेकी प्रभा बराल विजयी भएकी थिइन् । त्यतिबेला उनले ११ हजार ६१३ मत प्राप्त गरेकी थिइन् । उनीसँग नेपाली कांग्रेसका किरण भुषण ओली पराजित भएका थिए भने उनले ७ हजार २९२ मत प्राप्त गरेका थिए । यस्तै, चितवन क्षेत्र नम्बर एकमै पर्ने रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस नै विजयी भएको छ । कांग्रेसका प्रल्हाद सापकोटा सो नगरपालिकामा निर्वाचित भएका थिए । उनले २० हजार ७९६ मत प्राप्त गर्दा एमालेका बिमला दुवाडीले जम्मा १२ हजार ७२८ मत प्राप्त गरकी थिइन् । यस नगरपालिमा पनि काँग्रेस नै बलियो देखिन्छ । चितवनकै खैैरहनी नगरपालिकाको मेयरमा पनि नेपाली कांग्रेसकै नेता निर्वाचित भएका थिए । नेपाली कांग्रेसका शशिकुमार खनिया १४ हजार ५४५ मतले विजयी भएका थिए भने एमालेका लालमणि चौधरीले १३ हजार ६९५ मत मात्रै पाएका थिए । यसरी स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा चितवनको क्षेत्र नं. १ मा काँग्रेस नै बलियो भएर आएको देखिएको छ । यसले पनि नेता पाण्डेलाई ठूलो चुनौतिसँगसँगै जोखिम पनि देखिन्छ । चितवन १ मा रहेका तीन पालिका अन्तर्गतका ४२ वटा वडा पर्छन् । जसमध्ये २० वटा वडाका अध्यक्ष एमालेले जितेको छ । कांग्रेसले १८, माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र स्वतन्त्रले दुई वडाका अध्यक्ष जितेका थिए ।
९ वटा पोलिसीमध्ये सावधिक जीवन बीमामा आकर्षण बढ्दो, एक महिनामै उठ्यो पौने ३ अर्ब प्रिमियम
काठमाडौं । जीवन बीमा गर्ने अधिकांश बीमितहरु सावधिक जीवन बीमामा आकर्षित भएका छन् । बीमा समितिका अनुसार कम्पनीहरुले ल्याएका ९ वटा बीमालेखमध्ये सावधिक जीवन बीमामा उनीहरुको आकर्षण बढी रहेको पाइएको हो । एक महिनाको अवधिमा मात्रै कम्पनीहरुले विभिन्न बीमालेखमार्फत १५ अर्ब ५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छन् । जसमध्ये सावधिक जीवन बीमाबाट सबैभन्दा बढी अर्थात ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको प्रिमियम उठेको छ । विभिन्न ७ वटा प्रदेशबाट संकलन भएको उक्त बीमाशुल्कमध्ये पनि बागमतीबाट सबैभन्दा बढी छ भने कर्णालीबाट सबैभन्दा कम रहेको छ । एक महिनामा मात्रै बागमतीबाट २ अर्ब ७३ करोड रुपैयाँ बराबरको प्रिमियम सावधिक जीवन बीमाबाट उठेको छ । त्यस्तै, सोही बीमालेख अन्तर्गत कर्णालीबाट २१ करोड ०२ लाख रुपैयाँ बराबरको प्रिमियम उठेको छ । यससँगै सावधिक जीवन बीमा पश्चात सबैभन्दा बढी बिक्री हुने बीमालेखमा अग्रिम भुक्तानी सावधिक जीवन बीमा रहेको छ । जसबाट ४ अर्ब ६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । यो बीमालेख बिक्रीबाटै साउन महिनामा मात्रै बागमतीबाट सबैभन्दा बढी र सूदूरपश्चिमबाट सबैभन्दा कम बीमाशुल्क संकलन भएको छ । साथै, रुपान्तरित सावधिक जीवन बीमालेख अन्तर्गत एक महिनामै २ अर्ब २४ करोड रुपैयाँ बराबरको प्रिमियम उठेको छ । ७ वटै प्रदेशबाट उठेको उक्त रकममध्ये सबैभन्दा बढी बागमती प्रदेशबाट रहेको छ भने सबैभन्दा कम सूदुरपश्चिमबाट रहेको छ । त्यसैगरी, कम्पनीहरुले बालबच्चा सम्बन्धी सावधिक जीवन बीमालेख बिक्रीमार्फत २ अर्ब २२ करोड रुपैयाँ संकलन गरेका छन् । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशबाट र कम कर्णालीबाट उठेको छ । यता आजीवन जीवन बीमालेखबाट ५५ करोड ८५ लाख, बैदेशिक रोजगार म्यादि जीवन बीमाबाट २४ करोड ५४ लाख, लघु जीवन बीमाबाट १५ करोड २६ लाख, म्यादि जीवन बीमालेखबाट ८ करोड ४४ लाख र एकल बीमाशुल्क जीवन बीमालेखबाट ५ करोड रुपैयाँ उठेको छ । समितिका अनुसार कम्पनीहरुले एक महिनामा लघु जीवन बीमा व्यवसायबाट १५ करोड २६ लाख रुपैयाँ संकलन भएको छ । जसमध्ये सबैभन्दा बढी बागमती जीवन बीमाबाट सर्वाधिक उठेको छ । उक्त प्रदेशबाट मात्रै १० करोड ४९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । सबैभन्दा कम भने मधेश प्रदेशबाट रहेको छ । समीक्षा अवधिमा मधेश प्रदेशबाट २५ लाख ८५ हजार रुपैयाँ मात्रै प्रिमियम उठेको छ । जीवन बीमा कम्पनीहरुको साउन महिनाको तथ्यांक हेर्दा लघु जीवन बीमा ग्रामिण भेगमाभन्दा बढी शहरमा केन्द्रित भएको देखिन्छ । अन्य प्रदेशमा भन्दा बागमतीमा ६८ प्रतिशत बढी लघु जीवन बीमालेखबाट प्रिमियम संकलन हुनुले कम्पनीहरु सहर केन्द्रित भएको बुझिन्छ । समग्रमा प्रदेश १ बाट २ अर्ब २ करोड, मधेशबाट १ अर्ब ३७ लाख, बागमतीबाट ६ अर्ब ५१ करोड, गण्डकीबाट १ अर्ब ५९ करोड, लुम्बिनीबाट २ अर्ब ११ करोड, कर्णालीबाट ६८ करोड ९२ लाख र सुदुरपश्चिम प्रदेशबाट ७५ करोड ३७ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन भएको समितिले जानकारी गराएको छ ।