नेपाल ट्रष्टले भन्यो : भाडा नतिर्दासम्म कर तिर्दैनौं, महानगरकै कारण १७ करोड घाटा भयो

<p>काठमाडौं । अहिले काठमाडौं महानगरपालिकाले कर नतिर्ने संस्थाहरुलाई कर तिर्नका लागि ताकेता गरेको छ । महानगरले लामो समयदेखि कर नतिर्ने २३ भन्दा बढी संस्थाहरुलाई कर तिर्नका लागि पत्राचार गरिसकेको छ । यही बीचमा महानगरले नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजालाई पनि कर तिर्न पत्र पठाएको छ । तर, नेपाल ट्रष्टले भने कर नतिर्ने बताएको छ [&hellip;]</p>

काठमाडौं । अहिले काठमाडौं महानगरपालिकाले कर नतिर्ने संस्थाहरुलाई कर तिर्नका लागि ताकेता गरेको छ । महानगरले लामो समयदेखि कर नतिर्ने २३ भन्दा बढी संस्थाहरुलाई कर तिर्नका लागि पत्राचार गरिसकेको छ ।

यही बीचमा महानगरले नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजालाई पनि कर तिर्न पत्र पठाएको छ । तर, नेपाल ट्रष्टले भने कर नतिर्ने बताएको छ । ट्रष्टले काठमाडौं प्लाजाको हालसम्म कर महानगरलाई बुझाएको छैन । महानगरलाई ट्रष्टले प्लाजाको भाडा बुझाउनु पर्ने नीति नरहेकोले काठमाडौं प्लाजाको कर नतिर्ने बताएको छ ।

ट्रष्टको कार्यालयकी सूचना अधिकारी सरस्वती पौडेलले काठमाडौं प्लाजाको कर तिर्न आवश्यक नभएको बताइन् । सूचना अधिकारी पौडेलका अनुसार नेपाल ट्रष्टको घरबहाल कर तिर्ने निति नै नभएको कारण काठमाडौं प्लाजाको पनि कर नतिर्ने स्पष्ट पारिन् ।

‘नेपाल ट्रष्ट सरकारको पूर्ण संयुक्तमा रहेको संस्था हो, सरकारी निकायका भवनहरूलाई कर नलाग्ने भन्ने नीति छ, यस्तो नीति भएपछि कर तिर्नु पर्ने बाध्यता भएन,’ उनले विकासन्युजसँग भनिन् ।

काठमाडौं प्लाजा अहिले २ वर्षदेखि खाली अवस्थामा छ । महानगरपालिका सो प्लाजामा आफ्नो कार्यालय सञ्चालन गर्ने तयारीमा थियो । नेपाल ट्रष्टले काठमाडौं महानगरलाई भाडामा राख्नैका लागि यसअघि भाडमा बसेकोलाई हटाएको थियो । तर, महानगर अहिलेसम्म सरेको छैन । महानगरले अब काठमाडौं प्लाजामा नसर्ने मनसाय गरेको पनि बुझिएको छ ।

काठमाडौं महानगरले बस्ने भनेर खाली गरिएको प्लाजा अहिलेसम्म महानगर बस्न नसक्दा करिब १७ करोड रुपैयाँ घाटा भएको पौडेलले बताइन् । ‘हाम्रो घरको भाडा हामीले लिनु पर्याे, महानगरले गर्दा २ वर्षदेखि प्लाजा थन्किएर बसको छ, पहिले महानगरले काठमाडौं प्लाजाको भाडा तिरोस्, अनि सम्पत्ति, बहाल कर तिर्नु परे पनि तिरौंला तर तिर्नुपर्ने भन्ने व्यवस्था छैन,’ उनले भनिन् । खाली घरको कसरी कर तिर्ने भन्ने विषयमा अहिले ट्रष्ट दुबिधामा छ ।

‘हामीले मन्त्रिपरिषद् बाट स्वीकृत पनि गरिसकेका थियौं, त्यो कुरामा मात्र सीमित भयो, निर्वाचन पश्चात् नयाँ नेतृत्व आउँछ, त्यो बेला कुरा गरौं भन्यो, नयाँ नेतृत्व पनि आयो, हामीले पुनः पत्र पठायौं, उनीहरूले सो ठाउँमा पार्किङको पर्याप्त नभएको कारणले बस्न नसक्न भन्ने जानकारी दिए, हामीले पुनः पत्र पठाएका छौं,’ उनले भनिन् ।

ट्रष्टसँग गोकर्णस्थित गोकर्ण फरेस्ट, लाजिम्पाटमा स्ट्यान्डर्ड चार्टड, टेकुमा बिजनेस पार्क, तहाचलको सोल्टी आउटर, कम्प्लेक्स र बन्दै गरेको दरबार मार्ग स्थित ट्रष्टको जग्गामा निमीर्त कम्प्लेक्स लगायत ट्रष्टले लिजमा दिएको छ । तर सो ठाउँको पनि कर नबुझाएको ट्रष्टले जानकारी दिएको छ ।

‘आगामी दिनमा कस्तो नीति बन्छ, त्यो दुवै पक्ष बसेर छलफल गर्ने कुरा हो, सोही अनुसार प्रक्रिया अगाडि बढ्ला, त्यो आगामी कुरा हो, अहिलेसम्म निति नभएको कारण ट्रष्टले कर बुझाएको छैन,’ उनले भनिन् ।

यस्तै, काठमाडौं महानगरपालिकाले ३ वर्ष अगाडि नै काठमाडौं प्लाजाको कर तिर्नको लागि पत्राचार गरको पनि बताएको छ । घर भाडामा नदिए पनि सम्पत्ति कर तिर्नु पर्ने महानगरको दाबी छ ।

प्लाजासँग महानगरले बहाल करभन्दा पनि सम्पत्ति कर मागेको हो । उक्त भवनको सम्पूर्ण विवरण तथा आवश्यक कागजात नआईकन कति कर बुझाउनु पर्छ भन्ने विषय थाहा नभएको पनि महानगरपालिकाले जानकारी दिएको छ ।

Share News