चेक अनादर गर्नेलाई २ वर्ष कैद गर्छौं : अर्थमन्त्री, सांसद भन्छन्- जेल नकोचौं, जरिबाना बढी तोकौं

काठमाडौं । चेक अनादर (चेक बाउन्स) गर्नेलाई २ वर्ष कैद सजाय हुने गरी कानुनी व्यवस्था भइरहेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । आइतबार अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय विधेयक २०८० (दोस्रो संशोधन) मस्यौदाको छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । चेक अनादर भएको प्रमाणित भएमा चेक जारी गरिदिने खातावालाबाट धारकलाई जरिवाना तथा कैदको सजाय गर्न आवश्यक भएकाले दण्ड रकम तोकिएको हो । उनका अनुसार पछिल्लो समय बैंकिङ कसुर तथा चेक अनुदारका घटना बढ्दै गएका छन् । साथै अधिकतम् ५० लाखसम्म बिगो भएमा २ वर्ष कैदको व्यवस्था कायम हुने बताइएको छ । अर्थमन्त्री पौडेलले सहकारी बैंकले राष्ट्र बैंकबाट अनुमति नलिई कारोबार गर्न नपाउने व्यवस्था बनिरहेको बताए । प्रतिनिधि सभा सदस्य तथा सांसद पदम गिरिले भने चेक अनादरको विषय जटिल रहेको र आगामी दिनमा ठगिनेलाई सहयोग पुग्ने बताएका छन् । साथै सो विद्येयकको दफावार छलफल आवश्यक रहेको उनले बताए । प्रतिनिधि सभा सदस्य तथा सांसद स्वर्णिम वाग्ले चेक अनादरका मुद्दामा जेल कोच्नेभन्दा पनि जरिवाना रकम बढाउनुपर्ने बताउँछन् । उनका अनुसार जरिबाना रकम बढी भयो भने उसले दुष्कर्म गर्न सक्दैन । बैंकिङ क्षेत्रमा विदेशी अभ्यास अवलम्बन गर्नुपर्ने आवश्यक रहेको उनले बताए । बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० मा चेक अनादरको सजायलाई बैंकिङ कसुर बनाउने प्रस्ताव गरिएको छ । प्रस्तावित व्यवस्था अनुसार खातामा पैसा नभए पनि चेक जारी गर्ने अथवा भएपनि चेक साट्न पर्याप्त रकम नभएको अवस्था प्रमाणित भएमा त्यस्तो चेक जारी गर्नेलाई २ वर्षसम्म जेल सजायको व्यवस्था गर्न लागिएको छ । विगतमा चेक बाउन्सको सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या पर्दै आएको थियो ।

सेयर कर्जामा आक्रामक बन्यो एसबीआई, ऋण घटाउँदै जाने यी ६ बैंकको रणनीति

काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरूले सेयर धितो कर्जा उल्लेख्य बढाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकहरूले २० प्रतिशत सेयर धितो कर्जा बढाएका हुन् । समीक्षा अवधिमा अधिकांश बैंकको सेयर कर्जा बढाएको देखिन्छ । गत वर्ष बैंकहरूले ७० अर्ब ३ करोड ४४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरूले १९.८८ प्रतिशत अर्थात् ११ अर्ब ६६ करोड रुपैयाँ बढाएका हुन् । अघिल्लो वर्ष बैंकहरूले ५८ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका थिए । समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल एसबीआई बैंकले सबैधन्दा धेरै सेयर धितो कर्जा प्रवाह बढाएको छ । एसबीआई बैंकको ७३९.९५ प्रतिशत बढेर २० करोड १५ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको हो । अघिल्लो वर्ष बैंकले २ करोड ४० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको थियो । एनआईसी एशिया बैंकले २८६ प्रतिशत बढाएर ३ अर्ब ९६ करोड ९० लाख रुपैयाँ, एभरेष्ट बैंकले ९० प्रतिशत बढाएर २ अर्ब २ करोड ६९ लाख रुपैयाँ, नेपाल बैंकले ७१ प्रतिशत बढाएर ६ अर्ब ७८ करोड ८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार सिद्धार्थ बैंकले ४२.१३ प्रतिशत बढाएर ५ अर्ब ७८ करोड रुपैयाँ, कृषि विकास बैंकले ३९.९५ प्रतिशत बढाएर १ अर्ब ५९ करोड रुपैयाँ, सिटिजन्स बैंकले ३६.४६ प्रतिशत बढाएर ४ अर्ब ८० करोड रुपैयाँ,प्राइम बैंकले ३६ प्रतिशत बढाएर ४ अर्ब ५ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । यस्तै सानिमा बैंकले २५.५९ प्रतिशत बढाएर १ अर्ब ६५ करोड रुपैयाँ, नबिल बैंकले २२.७४ प्रतिशत बढाएर ११ अर्ब ४२ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले १९.८० प्रतिशत बढाएर ७ अर्ब ५१ करोड रुपैयाँ, कुमारी बैंकले १०.३७ प्रतिशत बढाएर ४ अर्ब ३७ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १.७४ प्रतिशत बढाएर ४ अर्ब २६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । तर, गत वर्ष आधा दर्जन बैंकको सेयर धितो कर्जा घटेको देखिन्छ । यी बैंकले सेयर धितो कर्जामा प्रवाह हुने ऋण घटाउने रणनीति अपनाएको देखिन्छ । गत वर्ष लक्ष्मी सनराइज बैंकको ८.९५ प्रतिशत घटेर ३ अर्ब ३८ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १५.३५ प्रतिशत घटेर ४६ करोड ७० लाख रुपैयाँ, प्रभु बैंकको २० प्रतिशत घटेर ३ अर्ब १८ करोड रुपैयाँ, हिमालयन बैंकको ३० प्रतिशत घटेर २ अर्ब १ करोड रुपैयाँ, एनएमबी बैंकको ३१.५७ प्रतिशत घटेर ९८ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ अर्ब ८५ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् ।

संसारकै ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी ब्ल्याकरकले किन किन्यो मुम्बईमा महँगो अफिस ‘स्पेस’ ?

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी ब्ल्याकरक इंकले मुम्बईको पोश वर्ली क्षेत्रमा रहेको प्रिमियम कमर्सियल टावरमा ४२ हजार ७ सय वर्ग फिटभन्दा बढी अफिस स्पेस खरिद गरेको छ । कम्पनीले यो ठाउँ ५ वर्षको लामो समयका लागि भाडामा लिएको हो । यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ल्यारी फिंकलाई विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ । यसको कारण ब्ल्याकरक इंकले संसारमा १ हजार खर्बभन्दा बढीको सम्पत्ति व्यवस्थापन गर्दछ । यो रकम भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब साढे दुई गुणा र अमेरिकाको आधा जीडीपी हो । यस कम्पनीले विश्वको कुल सेयर र बन्डको १० प्रतिशत ह्यान्डल गरेको तथ्यबाट नै ब्ल्याकरकको स्थिति अनुमान गर्न सकिन्छ । ब्ल्याकरकको भारतीय युनिट ब्ल्याकरक सर्भिसेस इन्डियाले मुम्बईमा ठाउँ भाडामा लिएको छ । सम्झौताअनुसार कम्पनीले पहिलो वर्ष प्रतिमहिना ३ सय २५ प्रतिवर्गफिटका दरले भाडा तिर्नुपर्ने छ । उक्त सम्झौतामा सन् २०२५ अप्रिलमा ५ प्रतिशत त्यसको एक वर्षपछि १० प्रतिशत र २०२७ र २०२८ मा ५–५ प्रतिशतका दरले भाडा वृद्धि गरिने उल्लेख छ । अमेरिकाको न्युयोर्कस्थित कम्पनीले कमर्सियल टावर अल्टिमसको चौथो तल्लाको जग्गा परियोजनाको विकासकर्ता रहेजा कर्पोरेसनबाट सिधै भाडामा लिएको हो । रियल इस्टेट डाटा एनालिटिक्स फर्म प्रोपस्ट्याकबाट प्राप्त कागजातहरूका अनुसार भाडा यस महिना सुरु हुनेछ र ३६ महिनाको लकइन अवधि छ । साउनमा लीज सम्झौता दर्ता गर्दा कम्पनीले १० महिनाको भाडा बराबर १२ करोड ८० लाख रुपैयाँ धरौटी बुझाएको छ । ब्ल्याकरकले भारतको द्रुत रूपमा बढ्दो वित्तीय बजारहरूमा आफ्नो उपस्थिति स्थापित गर्न चाहेको बताइएको छ । कम्पनी सन् २००८ मा भारत प्रवेश गरेको थियो । कम्पनीले ब्ल्याकरक म्युचुअल फन्ड, एक्सचेन्ज ट्रेडेड फन्ड र पोर्टफोलियो व्यवस्थापन सेवासहित विभिन्न लगानी समस्याको समाधान प्रदान गर्दछ । कम्पनीले संस्थागत र खुद्रा ग्राहक दुवै सेवा गर्दछ । यसको मुम्बई, गुडगाउँ र बेंगलुरुमा कार्यालयहरू छन् । गत वर्ष जुलाईमा जियो फाइनान्सियल सर्भिसेस र ब्ल्याकरकले संयुक्त उद्यम घोषणा गरेका थिए । कम्पनीको योजना डिजिटल फर्स्ट एसेट म्यानेजर लञ्च गर्ने छ । एजेन्सी