दुर्घटनाको खबरले पर्यटक त्रसित, धमाधम बुकिङ रद्द

काठमाडौं । पछिल्लो समय नेपाल घुम्न आउने पर्यटक क्रमशः बढ्दै गइरहेका थिए । पर्यटक आगमन वृद्धिले पर्यटन क्षेत्र उत्साहित थियाे । तर, हालै मुलुकमा भएका विमान तथा सवारी दुर्घटनाका खबरले यस क्षेत्रमा फेरि निराशा छाएकाे छ । शरद ऋतुमा नेपाल भ्रमण गर्न होटल बुकिङ गरिसकेका केही पर्यटकले बुकिङ नै रद्द  गरेको व्यवसायीहरूले बताएका छन् । नेपालको प्रमुख पर्यटन बजार युरोप र अमेरिकाका केही पर्यटकले नेपाल भ्रमण बुकिङ रद्द गरेका हुन् । यसले विश्व बजारमा नेपालको पर्यटन छविमा धक्का लाग्न सक्ने व्यवसायीको अनुमान छ । पछिल्लो दुई महिना मुलुकमा दुई ठूला हवाई र केही ठूला सडक दुर्घटना भए । ती दुर्घटनामा परी नेपालीसँगै विदेशी पर्यटकले पनि ज्यान गुमाएको  विषयका समाचार विश्वका धेरै सञ्चारमाध्यममा प्रकाशित भयाे  । यही कारण उनीहरूले नेपाल सुरक्षित गन्तव्य नभएको भन्दै बुकिङ रद्द गरेको व्यवसायीहरू बताउँछन्  । सन् २०२३ मा यति एयरलाइन्सको जहाज दुर्घटनामा पर्दा ७२ जनाको ज्यान गएको थियो । त्यस्तै, गत साउनमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियाे । त्यसलगत्तै एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घनामा पर्दा १ नेपालीसहित ४ चिनियाँको ज्यान गएको थियो । ती दुर्घटनाकाे समाचार नसेलाउँदै पृथ्वीराजमार्गअन्तर्गत तनहुँ आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट भारतीय पर्यटक सवार बस मर्स्यांदी नदीमा खस्याे । दुर्घटनामा परी २७ जनाको मृत्यु भयाे  । यसरी दुर्घटना वृद्धि हुँदा भारतीयसहित विश्व बजारबाट आउने पर्यटक आगमनको संख्या घट्दै गएको छ । सन् २०२४ अगस्टमा अमेरिकी र युरोपेली पर्यटक घटेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको छ । पर्यटन बोर्डको तथ्यांकअनुसार २०२४ को आठ महिना (जनवरी–अगस्ट) मा ७ लाख २० हजार ३ सय ३४ पर्यटक नेपाल घुम्न आएका छन् । अगस्टमा मात्र ७२ हजार ७ सय १९ पर्यटक नेपाल आइपुगेका थिए । अगस्टमा भारतबाट आएका २५ हजार ८ सय ३२ जनाले नेपाल घुमेका छन् । यो संख्या अघिल्लो वर्षको यसै महिनाको तुलनामा ३.१ प्रतिशत कम हो । अघिल्लो वर्ष २६ हजार ६ सय ६५ भारतीय पर्यटकले नेपाल घुमेका थिए । यस्तै, २०२३ मा १० लाख १४ हजार विदेशी पर्यटक नेपाल घुम्न आएको बोर्डको तथ्यांक छ । यही मेसोमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामी कात्तिक २३ गतेदेखि चैतसम्म राति १० देखि बिहान ८ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेरै धावनमार्ग, ट्याक्सी वे, पार्किङ बेलगायत विस्तारको काम गर्न लागेको छ । पर्यटक भित्रिने सिजनमा करिब पाँच महिना दैनिक १० घण्टाका दरले प्रमुख ‘गेटवे’ नै बन्द गर्दा यसले पनि पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पर्ने  व्यवसायी बताउँछन् । के भन्छन् पर्यटन व्यवसायी ? सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपाने सिद्धार्थ होटलमा भएको बुकिङ रद्द नभएको तर ‘होल्ड’ मा बसेको बताउँछन् । उनका अनुसार तिब्बतका केही ग्रुपले केही समयअघि नेपाल भ्रमणका लागि बुकिङ गरेका थिए । तर, उनीहरूले बुकिङ ‘क्यान्सिल’ त गरेका छैनन्, ‘पोस्पोन्ड’ भने गरेका छन् । ‘अझै बर्खा नसकिएको र बाटोघाटोको अवस्था राम्रो नभएका कारण पोस्पोन्ड भयो कि भन्ने लागेको छ,’ उनले भने,  ‘हाम्रोमा क्यान्सिल नै भनेर भएको छैन, ट्राभल विशेष वा होटल विशेष कुनै त्यस्तो भएको भए होला ।’ सीईओ न्यौपानेका अनुसार अहिलेको समयमा अपेक्षाकृत बुकिङ भने भएको छैन । गत वर्षको तुलनामा अहिले बढ्छ कि भन्ने आशा पलाए पनि त्यस्तो हुन भने सकेको छैन । ‘समस्या भनेको नेपालको बाटो, सुरक्षा हो । गत वर्ष अत्यधिक दुःख पाएका पर्यटकका हकमा र उनीहरूका अनुभव वा पछिल्लो समय जति पनि दुर्घटना भए । यिनै कुराले अन्तर्राष्ट्रिय बजारमा नराम्रो समाचार गएको छ, ’ उनी भन्छन्,  ‘यो वर्ष बाटोको अवस्था पनि जटिल नै छ, पोखरा घुम्न आएका पर्यटकलाई बाटोकै कारणले पोखरा पुर्याउन असम्भव नै देखिन्छ । यिनै कारण पर्यटक बिच्केको अवस्था छ ।’ पछिल्लो समय नेपाल आउने पर्यटकले सुरक्षा र पूर्वाधारका विषयमा धेरै नै प्रश्न उठाउने गरेका छन् । यस्ता कारणले बुकिङ क्यान्सिल हुने हो वा उनीहरू ‘कन्फिडेन्ट’ नदेखिएका हुन् कि भन्नेमा शंका उत्पन्न गरेको सीईओ न्यौपाने बताउँछन् । मुलुकको पर्यटन राजधानी पोखराका पर्यटन व्यवसायी तथा होटल क्राउन हिमालयाजका प्रबन्ध निर्देशक आग्रह अर्याल पोखराको पर्यटन सुस्त नै रहेको बताउँछन् । उनका अनुसार सडकका कारण पोखराले त्यहाँको क्षमताअनुसार पर्यटक भित्र्याउन सकेको छैन । ‘सडककै कारण काठमाडौंबाट पोखरा आउन १०–१२ घण्टा र चितवनबाट आउन ८ घण्टा लाग्छ,’ उनी भन्छन्, ‘अस्ति पूर्वपश्चिम राजमार्गमा भएको दुर्घटना र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनाले गर्दा नराम्रो म्यासेज पुगेको छ ।’ प्रबन्ध निर्देशक अर्याल यिनै घटनाका कारण पर्यटकले बुकिङ रद्द गरेको बताउँछन् । यकिन तथ्यांक नभए पनि यसरी बुकिङ रद्द गर्नेमा युरोपेली पर्यटकहरू धेरै छन् । उनका अनुसार बितेका वर्षमा पनि अलिअलि बुकिङ रद्द त हुन्थे, तर पछिल्लो समय भने दुर्घटनाकै कारण बुकिङ रद्द भएका छन् । पर्यटनका छाता संगठन के भन्छन् ? टुर तथा ट्राभल व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया केही पर्यटकले बुकिङ रद्द गरेको र केहीले बुकिङ मिति परिवर्तन गरेको बताउँछन् ।उनले पछिल्लो समय बेलायतबाट बुकिङ गरेका १७/१८ जनाले रद्द गरेका जानकारी दिए । अध्यक्ष थपलियाले ‘यो डराइहाल्नुपर्ने स्थिति नभए पनि चिन्ताको विषय भने भएको’ बताए । ‘ओभरअलमा हेर्दा सोंचेजस्तो बुकिङ छैन,’ उनले भने, ‘यसको एउटा कारण महँगो हवाई भाडा हो, अर्को पछिल्लो समय दुर्घटना पनि भयो, यसले पनि असर पारेको हो ।’ उनका अनुसार पर्यटकलाई सुरक्षाका विषयमा चासो बढी हुने गरेको छ । नेपालमा कोरोना भाइरस महामारी सुरु हुनुअघि ८ सयदेखि ९ सय जनासम्मको ट्रिप आउँथ्यो । ‘त्यसबेला नेपालबाट युरोपको टिकट ८ देखि ९ सय युरोमा आउँथ्यो,’ अध्यक्ष थपलिया भन्छन्, ‘अहिले महँगिएर १८ सय युरो पुगेको छ, यसको कारण सरकारले भ्याट लगाएको छ । अर्को नेपालको नम्बर अफ फ्लाइट बढ्नुपर्ने हो तर त्यो पनि बढ्न सकेन ।’ नेपालमा हवाई सेवा महँगो भएकै कारण होटल, ट्रान्सपोर्ट कम्पनी, टुर ट्राभल्स, ट्रेकिङलगायत अन्य धेरै कम्पनीलाई प्रत्यक्ष असर पारिरहेको उनी बताउँछन् । नेपालमा हवाई सेवा महँगो हुनु पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो इस्यु भएको उनको भनाइ छ । अध्यक्ष थपलियाका अनुसार नेपालमा ट्रेकिङ (पदयात्रा) को सिजन सेप्टेम्बरबाट सुरु हुन्छ । त्यसमा पनि सोंचेजस्तो बुकिङ नभएको उनी बताउँछन् । ‘अहिले विश्वव्यापी रूपमा टुरिजम ग्रो भइरहेको छ, नेपालमा भने पुरानो तथ्यांकमा ल्याउनलाई नै गाह्रो हुने अवस्था छ,’ उनी भन्छन् । होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाह पनि हवाई दुर्घटना र सडक दुर्घटनाका कारण पर्यटकले बुकिङ रद्द गरेको स्वीकार्छन् । उनले यति नै बुकिङ रद्द भएको भनेर तथ्यांक खुलाउन भने चाहेनन् । ‘अलिअलि क्यान्सिलेसन हुन्छ, बिजनेसमा त यो स्वाभाविक नै हो, ’ उनले भने,  ‘हाम्रोमा हवाई सेवा पनि महँगो नै छ । कुनै पर्यटकले हजार डलर खर्च गरेर घुम्न आउँछ भने ६० प्रतिशत हवाई भाडामा नै खर्च हुन्छ । यसमा सरकारले पनि रेगुलेट गर्नुपर्ने हो, त्यो हुन सकेको छैन ।’ अध्यक्ष शाह नेपालमा पर्यटक भित्र्याउन नेपाल वायुसेवा निगमले विशेष भूमिका खेल्नुपर्ने बताउँछन् । अहिले केही बुकिङ रद्द भए पनि केही नयाँ बुकिङ पनि आएको उनले बताए । ‘अहिलेको अवस्था सजग हुनुपर्ने भए पनि हामीसँग अझै तीन महिना बाँकी छ । त्यो समयमा मार्केटिङ गर्न सकियो भने सहजै पर्यटक भित्र्याउन सकिन्छ,’ उनी आशा गर्छन् । शाहका अनुसार भदौ अन्तिम हुँदासम्म पनि पर्यटन बोर्डले बजेट पास गर्न सकेको छैन । ‘अन्य देशमा नसके पनि हामीले चीन र भारतलाई टार्गेट गरेर प्रचारप्रसार गनुपर्ने हो, त्यो हुन सकेको छैन,’  उनी भन्छन्,  ‘बजेट पास गर्न नसकेको पर्यटन बोर्डले प्रचारप्रसार गर्न सकेको छैन । मार्केट बिस्तार नगरी पर्यटक ल्याउन सम्भव देखिँदैन ।’ उत्तरी छिमेकी चीनले सन् २०२५ लाई ‘भिजिट नेपाल इयर’ भनेर घोषणा गरेको छ । चिनियाँ सरकारले नै आफ्ना नागरिकलाई ‘नेपाल घुम्न जाऊ’ भनेर पठाउँदा नेपालले सोहीअनुसारको प्रचारप्रसार र पूर्वाधार निर्माण गर्न नसकेको अध्यक्ष शाह बताउँछन् । त्यसैगरी, हान-चितवन च्याप्टरका पूर्वअध्यक्ष सुमन घिमिरे अहिले चितवनको पर्यटन क्षेत्र पनि सुस्ताएको बताउँछन् । उनका अनुसार पछिल्लो समय चितवन–सौराहा घुम्ने पर्यटक संख्या घटेको छ । आन्तरिक र बाह्य दुवै पर्यटक कमै मात्रामा घुमघामका लागि आएका छन् । यसको मुख्य कारण पूर्वपश्चिम राजमार्ग रहेको उनकाे भनाइ छ । घिमिरेका अनुसार चितवन तथा सौराहाका होटलमा पनि सोंचेजस्तो बुकिङ भने छैन । ‘केही ठाउँमा बुकिङ राम्रो आए पनि केही ठाउँमा अवस्था खराब छ,’ उनी भन्छन्,  ‘अक्टोबर, नोभेम्बरमा पर्यटक बढ्नेमा हामी आशावादी चाहिं छौं ।’ पछिल्लो समय पूर्वपश्चिम राजमार्गमा भएका ठूला दुर्घटनाले बाह्यभन्दा पनि आन्तरिक पर्यटक प्रभावित बनाएको घिमिरेले बताउँछन् । ‘पोखरा–मुग्लिङ र पोखरा–नारायणगढ, काठमाडौं–नौबिसे सडकमा स्तरोन्नतिको काम भइरहेको छ अनि सोही सडकमा बाढी-पहिरोको जोखिम पनि छ,’ उनी भन्छन्,  ‘जबसम्म मनसुन रोकिँदैन तबसम्म मानिसहरू सुरक्षाका कारणले पनि हिँडडुल गर्दैनन् ।’ दसैं–तिहारमा पानी परेन भने चितवन–सौराहा घुम्ने बाह्य तथा आन्तरिक पर्यटक संख्या वृद्धि हुनेमा  घिमिरेले विश्वास व्यक्त गरे । ‘पछिल्लो दुई–तीन महिनामा पर्यटकीय गतिविधि ठप्प जस्तै छ । पोहोरको जति पनि गतिविधि यसपटक भएन, सिजन सुरु भएसँगै ग्रो हुन्छ कि भन्ने आशा छ,’ उनले भने । त्यस्तै, पर्यटन क्षेत्रमा काम गरिरहेको संस्था ‘चाइनिज टुर अपरेटर्स एलायन्स’ का अध्यक्ष विश्वेश श्रेष्ठ केही बुकिङ रद्द हुनुलाई सामान्य लिन्छन् । उनी पर्यटकीय आगमन पहिलाभन्दा ‘बेटर’ हुनुपर्नेमा जाेड दिन्छन् । ‘केही बुकिङ रद्द भए पनि अहिलेको अवस्था हेर्दा राम्रो नै हुन्छ भन्नेमा म आशावादी छु,’ उनी भन्छन्, ‘पछिल्लो समय भएको दुर्घटनाले अहिलेको अवस्थामा अलिकति प्रभाव पारे पनि दीर्घकालीन रूपमा पारिराख्दैन । सरकारले लिएको लक्ष्य नै पूरा गर्न सकिएला भन्नेमा आशावादी छैनौं,  तर केही बेटर हुने सम्भावना छ ।’ सरकारले यो वर्ष १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । पर्यटन बोर्डको तर्क के हो ? नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पछिल्लो समय नेपालमा भएका हवाई र सडक दुर्घटनाले विश्व पर्यटन बजारमा नेपाल गन्तव्य सुरक्षित छैन भन्ने सन्देश गएको बताउँछन् । यही कारण पर्यटक संख्या क्रमशः घट्दै गएको उनकाे बुझाइ छ । सन् २०१९ जुलाईको तुलनामा पर्यटक आगमन संख्या २०२४ जुलाईमा ९ प्रतिशत घटेको छ । अगस्टसम्मा आइपुग्दा यो संख्या २४ प्रतिशत घटेको देखिन्छ । यो संख्या घट्नुको कारण भारतीय पर्यटक आगमन घट्नु रहेको निर्देशक लामिछाने बताउँछन् । ‘पहिलाभन्दा यसपालि भारतीय पर्यटक आगमन पनि ३–४ प्रतिशत कम छ । अमेरिकी र युरोपेली पर्यटक संख्या पनि क्रमशः घट्दै गइरहेको छ,’ उनी भन्छन्,  ‘यसले आउँदो सिजनलाई शतप्रतिशत प्रभाव पार्छ । पर्यटन व्यवसायीले पनि बुकिङ रद्द भएको, पोस्पोन्ड र होल्ड भएको बताइरहनुभएको छ ।’ निर्देशक लामिछाने ‘अब आउने सिजन राम्रो हुने वा नहुने भन्ने कुरा सरकारले लिने पूर्वसतर्कतामा भर पर्ने’ बताउँछन् । पर्यटन बोर्डले पनि अहिलेसम्म अन्तर्राष्ट्रिय बजारमा राम्रोसँग प्रचारप्रसार गर्न नसकेको उनी सहर्षै स्वीकार्छन् । ‘आजको मितिसम्म बोर्डबाट बजेट पास भएको छैन, अझै एक साता बजेट पास हुने सम्भावना छैन,’ निर्देशक लामिछाने  भन्छन्, ‘बोर्डले लामो समयपछि सीईओ पनि पाएको छ, नयाँ नेतृत्वले पर्यटक भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ उनी भन्छन् ।

कुहिएको मासु खान बाध्य काठमाडौंबासी, छैन मापदण्ड, न छ अनुगमन

काठमाडौं । काठमाडौंबासीहरूले कुहिएकोको मासु खान बाध्य भइरहेको पाइएको छ । सरकारको फितलो अनुगमनका कारण काठमाडौंबासीले अखाद्य तथा बिग्रिएको मासु खान बाध्य भएका हुन् । काठमाडौंका गल्लीहरूमा नियाल्ने हो भने त्यहाँका मासु पसलहरूको अवस्था दयनीय रहेको पाइन्छ । गल्लीगल्लीमा पाइने सामान्य मासु पसलमात्र हैन, नेपालमा नाम चलेका मासु पसलहरूमा पनि बिग्रिएको मासु बिक्री भइरहेको घटना बेलाबेला आउने गर्दछ । आईएसओ मान्यता प्राप्त भएको भ्याली कोल्ड स्टाेरले वितरण गर्न मासुसमेत अखाद्य रहेको भन्दै केही महिनाअघि काठमाडौं महानगरपालिकाले कारबाही गरेको थियो । मासु प्रशाेधन गरेर ढुवानीका क्रममा तापक्रम नमिलाएको भन्दै महानगरले कारबाही गरेको थियो । अखाद्य मासु बिक्री गर्दागर्दै पनि सरकारको अनुगमन नपर्दा कारबाहीबाट जोगिनेहरू धेरै मासु पसल रहेका छन् । नयाँ बानेश्वरको शंखमूलमा रहेको आइकालु मिट शपमा पनि अखाद्य मासु पाइएको एक उपभोक्ताले बताए । उनले आइतबार साँझ ८ बजेतिर सो शपबाट किनेर लगेको मासुमा गन्ध आएको बताए । आइकालु मिट शप उपभोक्ताले विश्वास गरेको मासु पसल हो । तर, त्यस पसलबाट किनिएको मासुमा पनि गन्ध आएपछि उपभोक्ता मारमा परेका हुन् । उसो त मासु पसल सञ्चालनका लागि कानुन भएपनि त्यो पर्याप्त नभएको काठमाडौं महानगरपालिकामा कार्यरत एक जना खाद्य प्राविधिक बताउँछन् । उनका अनुसार मासु कसरी फ्रिजिङ गर्ने, कति तापक्रममा फ्रिजिङ गर्ने भन्ने स्पष्ट मापदण्ड नै छैन । पशु सेवा विभागले मासु पसल सञ्चाल र त्यसको गुणस्तरको बारेमा ऐन पनि बनाएको छ । पशु वध तथा मासु जाँच नियमावली, २०५५ मा मासु पसल सञ्चालन, वध र त्यसको गुणस्तरको बारेमा उल्लेख छ । तर, वध गरिएको मासु पसलमा बिक्रीका लागि राख्दा कति तापक्रममा फ्रिजिङ गर्ने, त्यसको हाइजिन कसरी मेन्टेन गर्ने भन्नेबारे स्पष्ट छैन । भएको कानुनको पनि पालना भएको छैन । जसले गर्दा उपभोक्ताहरू अखाद्य मासु खान बाध्य भइरहेको उपभोक्ताकर्मी प्रेमलाल महर्जनले बताए । सरकारले भएको कानुनको पालना गर्न चुक्दा र अनुगमनमा चासो नदेखाउँदा उपभोक्ता मारमा परेको उनको भनाइ छ । मासु, वध, मासुपसल लगायतका विषयमा उल्लेख गरिएको ऐनको पालनामा सरकारले चासो दिनुपर्ने, आवश्यक ऐन तथा मापदण्ड जारी गर्नुपर्ने र उपभोक्ताले पनि खाद्यवस्तुको बारेमा सचेत हुनुपर्ने उनी बताउँछन् । मासु पसल सञ्चालनका लागि तालिम दिने तयारीमा महानगर यता काठमाडौं महानगरले भने मासु पसल सञ्चालनका लागि व्यवसायीलाई सुरुवातदेखि नै आवश्यक तालिम दिने तयारी गरेको छ । मासु पसलसम्बन्धी मापदण्डभन्दा पनि व्यवसायीलाई अहिले तालिम र जनचेतनाको आवश्यक रहेको महानगरका एक खाद्य प्राविधिकले बताए । ‘विश्वमा भएको मापदण्डअनुसार नेपाली व्यवसायीलाई लागू गर्दा ज्ञान र सीपको खाँचो पर्दछ । त्यसका लागि पहिला तालिमका साथै जनचेतना जगाउनुपर्छ अनि त्यसपछिमात्र मापदण्ड लागू गर्दा ठिक हुन्छ,’ उनले भने ।

२९ कम्पनीको लाभांश घोषणा, ५२.५३ प्रतिशतसम्म बाँड्ने

काठमाडौं । लाभांश सिजन सुरु भएसँगै धमाधम कम्पनीहरू लाभांश घोषणा गरिरहेका छन् । गत वर्ष आर्जन गरेको नाफाबाट दुई दर्जनभन्दा बढी कम्पनीले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ५ वटा कम्पनी, सूचीकृत १८ वटा म्युचुअल फण्ड र अन्य ६ कम्पनीले गरी हालसम्म २९ वटा कम्पनीले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएका हुन् । वाणिज्य बैंकहरूमा सबैभन्दा पहिला लाभांश प्रस्ताव एभरेष्ट बैंकले गरेको छ । यस बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँ रहेको छ । भगवती हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको ४ प्रतिशत अर्थात् २ करोड २८ लाख ८२ हजार रुपैयाँ बोनस सेयर र १०.७३ प्रतिशत अर्थात् ६ करोड १४ लाख २१ हजार रुपैयाँ नगद गरी कुल १०.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । माण्डु हाइड्रोपावर कम्पनीले चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सुपरमाई हाइड्रोपावरले चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश (कर सहित) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । अपी पावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट सेयरधनीहरूलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । म्युचुअल फण्ड एनआइएमबि एस क्यापिटलले एनआईविएल ग्रोथ फण्डका इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट करसहित ६.३५ प्रतिशत, सिद्धार्थ क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरूलाई ७ प्रतिशतका दरले ५ करोड ६४ लाख ६ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै आरविवि मर्चेन्ट बैंकिङले आरविवि म्युचुअल फण्ड १ का इकाईधनीहरूलाई ३.८१ प्रतिशतका दरले ४ करोड ७५ लाख ७२ हजार ३२३ रुपैयाँ र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीहरूलाई ८.७४ प्रतिशतका दरले ७ करोड ३९ लाख ४६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सानिमा क्यापिटलले गत वर्षको नाफाबाट सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरूलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई करसहित १० प्रतिशत प्रतिफल अर्थात् नगद लाभांश वितरण गर्ने भएको छ । कुमारी क्यापिटलले कुमारी इक्वीटी फण्डका इकाईधनीहरूलाई कर सहित ९.५० प्रतिशत अर्थात् ९ करोड ५० लाख रुपैयाँ र कुमारी धनबृद्धि योजनाका इकाईधनीहरुलाई ९.५० प्रतिशत अर्थात् ११ करोड ६३ लाख ८१ हजार ८९६ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । लक्ष्मी सनराइज क्यापिटलले सनराइज फस्र्ट म्युचुअल फण्डका इकाईधनीहरूलाई करसहित १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डका इकाईधनीहरूलाई ४.५ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो । यस्तै, लक्ष्मी उन्नति कोषका इकाईधनीहरूलाई करसहित ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ का इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड) ले १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत अर्थात् १० करोड ७१ लाख रुपैयाँ, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने भएको छ । अन्य कम्पनीको लाभांश पुँजी बजारमा सूचीकृत नभएका तर पुँजी बजारसँग सम्बन्धित कम्पनीहरूले पनि आफ्नो नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरिरहेका छन् । गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट एनआईसी एशिया क्यापिटलले चुक्ता पुँजीको ५२.५३ प्रतिशत, मुक्तिनाथ क्यापिटलले ७.५ प्रतिशत, कुमारी क्यापिटलले १५ प्रतिशत (६ करोड रुपैयाँ), सिटिजन्स क्यापिटलले १५.१५ प्रतिशत (३ करोड १० लाख रुपैयाँ), लक्ष्मी सनराईज क्यापिटलको ७.५ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् । यस्तै, सिविआईएल सेक्युरिटिजले चुक्ता पुँजीको ५.२६ प्रतिशत अर्थात् १ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ४ करोड ९५ लाख रुपैयाँको १४.७४ प्रतिशत (कर समेत) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुर्वाञ्चल ल्यूव आयलले चुक्ता पुँजीको १०.५२ प्रतिशत अर्थात् ३ करोड १५ लाख ७८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।