विदेशी कम्पनीले लिए डेढ खर्ब बढी लाभांश, उत्पादनमूलक क्षेत्रबाट बाहिरियो सबैभन्दा धेरै
काठमाडौं । नेपालमा लगानी गरेवापत विदेशी कम्पनीहरूले ८ वर्षको अवधिमा डेढ खर्ब बढी रकम लाभांशका रूपमा फिर्ता लिएका छन् । राष्ट्र बैंकका अनुसार विदेशी कम्पनीहरूले नेपालको कृषि, निर्माण क्षेत्र, विद्युतीय उपकरण, उत्पादनमुलक क्षेत्र, खानीजन्य क्षेत्र, खाद्य सेवा, शिक्षा, बैंक तथा बीमा सेवा, स्वास्थ्य तथा सामाजिक कार्य, सूचना तथा प्रविधि र यातायात क्षेत्रमा लगानी गरेका छन् । उक्त क्षेत्रमा लगानी गरेवापत विदेशी कम्पनीहरूले नाफाको रूपमा ८ वर्षको अवधिमा १ खर्ब ६२ अर्ब ७९ करोड रुपैयाँ बराबरको लाभांश लगेका हुन् । तर, विगत वर्षको तुलनामा पछिल्ला वर्ष विदेशी कम्पनीहरूले लिएको लाभांश भने घटेको देखिन्छ । नेपालमा प्रत्यक्ष लगानी गरेर विदेशी कम्पनीहरूले आर्थिक वर्ष २०७९/८० मा १७ अर्ब ३३ करोड रुपैयाँ, आव २०७८/७९ मा १५ अर्ब ६७ करोड रुपैयाँ, आव २०७७/७८ मा २६ अर्ब ७ करोड रुपैयाँ, आव २०७६/७७ मा १२ अर्ब ९० करोड रुपैयाँ लाभांश लिएका थिए । यस्तै, आव २०७५/७६ मा २७ अर्ब ७८ करोड रुपैयाँ, आव २०७४/७५ मा ३९ अर्ब ५३ करोड रुपैयाँ, आव २०७३/७४ मा १७ अर्ब २४ करोड रुपैयाँ र आव २०७२/७३ मा ६ अर्ब २५ करोड रुपैयाँ लाभांश नेपालबाट विदेशी कम्पनीहरूले लिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यस अवधिमा विदेशी कम्पनीहरूले सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रबाट लाभांश फिर्ता लिएका छन् । आठ वर्षको अवधिमा विदेशी कम्पनीहरूले यस क्षेत्रबाट ५२ अर्ब १३ करोड रुपैयाँ लाभांश फिर्ता लिएका हुन् । यस क्षेत्रबाट विदेशी कम्पनीहरूले आव २०७९/८० मा ८ अर्ब ८४ करोड रुपैयाँ, आव २०७८/७९ मा ७ अर्ब ३१ करोड रुपैयाँ, आव २०७७/७८ मा ६ अर्ब ७४ करोड रुपैयाँ, आव २०७६/७७ मा ७ अर्ब ५२ करोड रुपैयाँ, आव २०७५/७६ मा ९ अर्ब ७७ करोड रुपैयाँ र आव २०७४/७५ मा ११ अर्ब ९१ करोड रुपैयाँ लाभांश लिएका थिए । यातायात क्षेत्रबाट आव २०७९/८० मा ४ करोड २९ लाख रुपैयाँ, आव २०७८/७९ मा २ करोड ५७ लाख रुपैयाँ, आव २०७६/७७ मा ४१ लाख रुपैयाँ, आव २०७५/७६ मा १ अर्ब २५ करोड रुपैयाँ, आव २०७४/७५ मा २३ अर्ब ६४ करोड रुपैयाँ गरी कुल यातायात क्षेत्रबाट ३६ अर्ब २६ करोड रुपैयाँ लाभांश लिएका छन् । यस्तै, सूचना तथा प्रविधि क्षेत्रबाट विदेशी कम्पनीहरूले आव २०७९/८० मा ३ अर्ब ६७ करोड रुपैयाँ, आव २०७८/७९ मा ५ अर्ब ४० करोड रुपैयाँ, आव २०७७/७८ मा १३ अर्ब ९८ लाख रुपैयाँ, आव २०७३/७४ मा ८ अर्ब ६९ करोड रुपैयाँ र आव २०७२/७३ मा १ अर्ब ६९ करोड रुपैयाँ गरी कुल ३३ अर्ब ४४ करोड रुपैयाँ लाभांश फिर्ता लिएका छन् । त्यस्तै, विद्युतीय क्षेत्रमा लगानी गरेर विदेशी कम्पनीले आव २०७९/८० मा १३ करोड १ लाख रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ६७ करोड रुपैयाँ, आव २०७७/७८ मा ३ अर्ब ८१ करोड रुपैयाँ, आव २०७६/७७ मा ३ करोड २३ लाख रुपैयाँ, आव २०७५/७६ मा २ अर्ब ७६ करोड रुपैयाँ, आव २०७४/७५ मा २ अर्ब ९२ करोड रुपैयाँ, आव २०७३/७४ मा ३ अर्ब २६ करोड रुपैयाँ र आव २०७२/७३ मा ३ अर्ब १५ करोड रुपैयाँ गरी कुल १७ अर्ब ७६ करोड रुपैयाँ नाफा लिएका छन् । यस्तै, बैंक तथा बीमा क्षेत्रबाट आव २०७९/८० मा ३ अर्ब ५० करोड रुपैयाँ, आव २०७८/७९ मा १ अर्ब ८ करोड रुपैयाँ, आव २०७७/७८ मा ८६ करोड ८३ लाख रुपैयाँ, आव २०७६/७७ मा ४ अर्ब ७९ करोड रुपैयाँ, आव २०७५/७६ मा २ अर्ब १६ करोड रुपैयाँ, आव २०७४/७५ मा ८८ करोड ६६ लाख रुपैयाँ, आव २०७३/७४ मा १ करोड ३७ लाख रुपैयाँ र आव २०७२/७३ मा १ करोड ३६ लाख रुपैयाँ गरी कुल १३ अर्ब ३३ करोड रुपैयाँ लाभांश विदेशी कम्पनीले लिएका छन् । औद्योगिक क्षेत्रबाट आव २०७३/७४ मा ५ अर्ब १६ करोड रुपैयाँ र आव २०७२/७३ मा १ अर्ब ३८ करोड रुपैयाँ गरी कुल ६ अर्ब ५४ करोड रुपैयाँ लाभांश विदेशी कम्पनीले लिएका छन् । विदेशी कम्पनीहरूले अन्य क्षेत्रबाट १ अर्ब ९५ करोड रुपैयाँ लाभांशका रूपमा फिर्ता लिएका छन्। यस क्षेत्रबाट आव २०७९/८० मा १ अर्ब ११ करोड रुपैयाँ, आव २०७८/७९ मा १० करोड ६६ लाख रुपैयाँ, आव २०७७/७८ मा ३५ करोड ७३ लाख रुपैयाँ, आव २०७६/७७ मा ९ करोड ७१ लाख रुपैयाँ, आव २०७५/७६ मा १ करोड २८ लाख रुपैयाँ, आव २०७४/७५ मा १५ करोड २८ लाख रुपैयाँ, आव २०७३/७४ मा १० करोड ८४ लाख रुपैयाँ र आव २०७२/७३ मा ४१ लाख रुपैयाँ लाभांशका रुपमा विदेशी कम्पनीले लिएका छन् । नेपालमा लगानी गरेर नाफाका रूपमा विदेशी कम्पनीहरूले ८ वर्षको अवधिमा शिक्षा क्षेत्रबाट ९९ करोड ८४ लाख रुपैयाँ, निर्माण क्षेत्रबाट २६ करोड ३९ लाख रुपैयाँ, खाद्य सेवाबाट ७ करोड ९० लाख रुपैयाँ, स्वास्थ्य तथा सामाजिक कार्यबाट ५१ लाख रुपैयाँ र कृषि क्षेत्रबाट ३ अर्ब रुपैयाँ फिर्ता लिएका छन् ।
एक वर्षमा शाहरुखले ९२ करोड र विराटले ६६ करोड भारू कर तिरे, यी हुन् बढी कर तिर्ने टप भारतीय सेलिब्रेटी
काठमाडौं । भारतमा सन् २०२४ मा सबैभन्दा बढी आयकर तिर्ने सेलिब्रिटीहरूको सूची सार्वजनिक भएको छ । सार्वजनिक सूचीअनुसार सबैभन्दा बढी आयकर तिर्नेमा अभिनेता शाहरुख खान शीर्ष स्थानमा छन् । शाहरुखले ९२ करोड रुपैयाँ कर तिरेको दिएफर्च्युन इन्डियाको प्रतिवेदनले देखाएको छ । शाहरुखपछि धेरै कर तिर्नेमा विजय, सलमान खान र अमिताभ बच्चनजस्ता कलाकारहरू छन् । आफ्नो राजनीतिक यात्रा सुरु गर्ने संघारमा रहेका विजयले ८० करोड रुपैयाँ कर तिरेका छन् भने पछिल्लो पटक टाइगर-३ मा देखिएका सलमान खानले ७५ करोड रुपैयाँ तिरेका छन् । अमिताभ बच्चनले ७१ करोड भारु कर तिरेका छन् । यस्तै, भारतमा सबैभन्दा बढी कर तिर्ने सेलिब्रिटी क्रिकेटर विराट कोहली हुन्, उनले ६६ करोड रुपैयाँ तिरेका छन् । सूचीमा अर्को अभिनेता अजय देवगन छन्, जसले ४२ करोड भारु कर तिरेका छन् । उनीपछि रणवीर कपुरले ३६ करोड रुपैयाँ कर तिरेका छन् । ऋतिक रोशन र कपिल शर्माले क्रमशः २८ करोड र २६ करोड कर तिरेका छन् । पछिल्लो पटक क्रुमा देखिएकी करीना कपुरले २० करोड भारु कर तिरिन् भने उनका श्रीमान् अभिनेता सैफ अली खान यस सूचीमा छैनन् । शाहिद कपूरले १४ करोड भारु तिरेका छन् । कियारा आडवाणीले १२ करोड रुपैयाँ तिरिन् । त्यसपछि अभिनेत्री क्याट्रिना कैफ र अभिनेता पंकज त्रिपाठी, जसले ११/११ करोड रुपैयाँ कर तिरेका छन् । यसअघि यस्ता धेरै लिस्टमा देखा परेका अक्षय कुमार यस वर्ष उक्त सूचीमा छैनन् । सन् २०२२ मा अक्षय कुमारले देशको ‘सबैभन्दा बढी कर तिरेकोमा आयकर विभागबाट सम्मान पत्र पाएका थिए । एजेन्सीकाे सहयाेगमा
ब्याज बोझले थिचिँदै बैंकहरू, सकसमा पनि प्राइम र सिटिजन्सको उत्कृष्ट ‘पफर्मेन्स’
काठमाडौं । कुनै बेला कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत पार भएर सकसमा रहेका बैंकहरू अहिले सीडी रेसियो कम भएर दबाबमा छन् । हाल वाणिज्य बैंकहरूको सीडी रेसियो ६० देखि ८० प्रतिशतको बीचमा छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको औसत सीडी रेसियो ७९.१४ प्रतिशत कायम भएको हो । पछिल्लो तथ्यांकअनुसार सबैभन्दा कम सीडी रेसियो राष्ट्रिय वाणिज्य बैंकको छ । यस बैंकको सीडी रेसियो ६०.३९ प्रतिशत छ । राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाल बैंकको ७२.४४ प्रतिशत, नेपाल एसबिआई बैंकको ७३.५६ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७५.८६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७६.८४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ७७.७४ प्रतिशत, कृषि विकास बैंकको ७८.४६ प्रतिशत, एनआइसी एसियाको ७९.१४ प्रतिशत र प्रभु बैंकको ७९.७९ प्रतिशत सीडी रेसियो छ । यस्तै, सिद्धार्थ बैंकको ८०.२ प्रतिशत, एभरेष्टको ८०.२७ प्रतिशत, नेपाल इनभेष्टमेन्ट मेगा बैंकको ८०.४६ प्रतिशत, सानिमाको ८०.८३ प्रतिशत र कुमारी बैंकको ८२.९३ प्रतिशत सीडी रेसियो कायम भएको छ । राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार माछापुच्छ्रे बैंकको सीडी रेसियो ८३.२१ प्रतिशत, नबिलको ८३.६ प्रतिशत, हिमालयनको ८३.७८ प्रतिशत, एनएमबिको ८३.८९ प्रतिशत, सिटिजन्सको ८४.०७ प्रतिशत र प्राइम कमर्सियलको ८६.३ प्रतिशत सीडी रेसियो छ । नेपाल राष्ट्र बैंकले बैंकहरूको सीडी रेसियोको अधिकतम सीमा ९० प्रतिशत तोकेको छ । यदि सीडी रेसियोले ९० प्रतिशतको सीमा नाघ्यो भने बैंकहरूलाई राष्ट्र बैंकले कारबाही गर्छ । ९० प्रतिशतको सीडी रेसियोको सीमा पार हुनु राष्ट्र बैंकको व्यवस्थाले राम्रो मान्दैन । सीडी रेसियोको न्यूनतम सीमा भने तोकिएको छैन । बैंकको सीडी रेसियो ५०/६० प्रतिशतमा झरेर समस्या सिर्जना हुन सक्ने विषयको राष्ट्र बैंकले कल्पना नै नगरेर सीडी रेसियोको न्यूनतम सीमा तोकेको छैन । तर, अब यस विषयमा पनि सोंच्नुपर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता भागवत आचार्यले बैंकहरूको सीडी रेसियो ९० प्रतिशत सीमा नाघेमा राष्ट्र बैंकले हेर्ने भए पनि कम सीमा हेर्दा खासै चासो नहुने बताए । ‘अहिले बैंकिङ क्षेत्रबाट कर्जा प्रवाह सोंचेजस्तो नभएका कारण सीडी रेसियो पनि कम भएको हो, सीडी रेसियो कम हुँदै जाँदा बैंकको व्यवसायमा पनि केही कमी पक्कै आउँछ, न्यूनतम बिन्दुभन्दा कममा आयो भने यसले जोखिम पनि ल्याउन सक्छ,’ उनले भने । बैंकहरूका अनुसार कर्जा लगानी हुन नसक्दा सीडी रेसियो न्यूनतम बिन्दुमा झरेको हो । सीडी रेसियो कम हुँदा बैंकको ब्याज आम्दानी बढ्ने हुन्छ । यसले समग्र बैंकको व्यवसाय र नाफामै प्रभाव पार्ने उनीहरूको भनाइ छ । ‘सीडी रेसियो न्यूनतम बिन्दुमा झर्नु भनेको बैंकले निक्षेप संकलन गरेर कर्जा लगानी गर्न नसकेको बुझ्न सकिन्छ, अहिले अधिकांश बैंकले कर्जा लगानी हुन नसकेको समस्या भोगिरहेका छन्, बैंकमा कर्जाको माग छैन,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले विकासन्युजसँग भने । उदाहरणका लागि कुनै बैंकले १०० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ र उसको सीडी रेसियो ६० प्रतिशत छ भने उसले ६० करोड रुपैयाँ मात्रै कर्जा लगानी गरेको बुझ्नुपर्छ । सो बैंकले ३० करोड रुपैयाँ निक्षेप लगानी गर्न सकेको हुँदैन । बैंकले ४० करोड रुपैयाँको ब्याज भार मात्र बाेकेकाे हुन्छ । पछिल्लो तथ्यांकअनुसार प्राइम कमर्सियल बैंक र सिटिजन्स बैंकको सीडी रेसियो सन्तोषजनक नै छ । किनकि बैंकको अधिकतम् सीमाभन्दा धेरै तल छैन । यसले बैंकहरूले निक्षेप संकलन गरेवापत लगानी पनि गरिरहेका छन् भन्ने बुझिन्छ । तर, सीडी रेसियो ६० प्रतिशत रहेको राष्ट्रिय वाणिज्य बैंक भने लगानी गर्न नसकेर ठूलो समस्यामा रहेको बुझिन्छ । अहिले बैंकिङ क्षेत्रमा साढे ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । विगतमा तरलताको समस्यामा बजारमा कर्जाको माग धान्न नसकेका बैंकहरू अहिले कर्जा प्रवाह हुन नसकेर व्यवसायीको घरमै पुगेर कर्जा लिनका लागि आग्रह गर्ने अवस्था देखिएको एक बैंकरले बताए । कर्जाको माग नभएर लगानीयोग्य रकम थुप्रिएकै कारण अहिले बैंकहरूले निरन्तर ब्याज पनि घटाइरहेका छन् । यसले निक्षेपकर्तालाई प्रवाहित गरिरहेको छ । किनकि निक्षेपको ब्याज निरन्तर घटिरहेको छ । विगतमा बढी ब्याज हुँदा ब्याज आम्दानीबाटै मनग्य कमाउने निक्षेपकर्ताहरू अहिले न्यूनतम ब्याजमा पनि बैंकमा पैसा राख्न बाध्य छन् ।