बैंकले घर बनाउन आधारदरमै ऋण दिए पनि आएनन् ग्राहक, दशैं-तिहारमा छैन विगतको जस्तो उमंग

काठमाडौं । दशैंतिहार घर आँगनमै आइसकेकाे छ । दशैंतिहारमा विभिन्न योजनाहरू बनाइन्छ । अरूबेला काममा व्यस्त भएपनि यसबेला केही मान्छेहरूले आफ्नो नयाँ घर बनाउने योजना पनि बनाउँछन् । घर निर्माणका लागि बजेट चाहिन्छ । बजेट कम वा अभाव भएकाे अवस्थामा मानिसहरूले बैंकबाट ऋण लिएर घर बनाउने योजना गरेका हुन्छन् । त्यसका लागि ऋणीहरूले कुन बैंकको घरकर्जाको ब्याजदर कम छ भनेर अध्ययन गर्छन् । बैंकहरूले पनि ग्राहकहरूको अपेक्षाअनुसार घरकर्जामा न्यून ब्याजदर तोकेका हुन्छन् । पछिल्लो समय बैंकहरूले कम ब्याजदरमा घरकर्जाका योजना ल्याइरहेका छन् । तर, कम ब्याजदरमा घरकर्जाका योजना ल्याएपनि माग नआएको बैंकरहरू बताउँछन् । नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा योजना ल्याएको छ । बैंकले आधार दर सरह नै कम ब्याजदरमा घर कर्जा उपलब्ध गराइरहेको छ । ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजनाअन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराइरहेको बैंकले जनाएको छ । भदौ महिनाका लागि बैंकको आधार दर ७.६३ प्रतिशत छ । बैंकले कर्जा प्रवाह गर्दा आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम लिने गरेको छ । तर, घरकर्जाका लागि भने ७.९९ प्रतिशत मात्रै ब्याजदर तोकेको हो । ७.९९ प्रतिशत ब्याजदरमै ‘ढुक्क घर कर्जा’ योजना ल्याएपनि माग भने नआएको नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) सुजित शाक्य बताउँछन् । दशैंतिहारको सिजन भएकाले घर निर्माणका लागि बैंकबाट कर्जा लिने धेरै हुनुपर्ने भएपनि माग नआएको उनको भनाइ छ । ‘दशैंमा नयाँ घर बनाउने वा घर निर्माण गर्ने योजना बनाउने समय हो, दशैंतिहारको समय घरकर्जाको सिजन पनि हो । ७.९९ प्रतिशत ब्याजदरमा कर्जाको माग ह्वारह्वारती आउनुपर्ने हो । तर, आकर्षक रूपमा कर्जाको माग आएको छैन,’ वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शाक्य बताउँछन् । उनका अनुसार अर्थतन्त्र चलायमान गर्न ‘ग्रासरुट’ मा मनोबल उच्च हुन जरूरी रहेको छ । विगत २ वर्षमा घाटा खाएर व्यापार राम्रो भएन । सबै सामान स्टकमा बसेको छ । बिक्री भएको सामानको पैसा पनि उठ्न सकेको छैन । त्यसैले नयाँ घर बनाउने योजना नबनाएको हुन सक्ने उनले बताए । साथै युवापुस्ता विदेश पलायन भएकाले बैंकको कर्जा प्रवाहमा प्रभाव परेको उनको भनाइ छ । ‘युवाहरू खपत गर्ने पिल्लर हुन्, ती युवाहरू अष्ट्रेलिया, क्यानडा, जापान गए, त्यहाँ काम गरेर पैसा फिर्ता पठाएर यहाँ घरघडेरी किन्ने समूह होइन, उल्टै यहाँको पैसा विदेश लैजान्छन्, त्यसको प्रभाव घरकर्जामा देखिएको छ । किनभने परिवारमा मेरो छोरालाई घर बनाउनुपर्छ भन्ने नलागेर पनि कर्जाको माग नआएको हामीले महसुस गरिरहेका छौं,’ वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शाक्यले भने । ग्लोबल आइएमई बैंकले घरकर्जाका लागि ग्रिन होम लोन योजना ल्याएको छ । बैंकले ५ वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदर र सोभन्दा माथिको अवधिका लागि आधार दरमा १.७५ प्रतिशत प्रिमियम दर तोकिने जनाएको छ । त्यस्तै, निश्चिन्त आवास योजनामा १० वर्ष अवधिका लागि ७.९९ प्रतिशत र सोभन्दा माथिको ८.४९ प्रतिशत ब्याजदर तोकिएको बैंकको छ । साथै १५ वर्ष भन्दा माथिको लागि ८.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । एनएमबि बैंकले ८.९२ प्रतिशत घर कर्जा योजना ल्याएको छ । सिटिजन्स बैंकको ८.९९ प्रतिशत घर कर्जा योजना ल्याएको छ । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ योजना ल्याएको छ । बैंकका अनुसार यो योजनाअन्तर्गत कायम रहेको ब्याजदर ७ वर्षसम्म स्थिर रहने छ । सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन अधिकांश बैंकले घर कर्जाको ब्याजदर एकल अंकमा झारेका छन् । घरजग्गा क्षेत्र चलायमान भएपछि समग्र अर्थतन्त्र नै चलायमान हुने अपेक्षा बैंकरहरूको छ । किनभने घर बनाउँदा आवश्यक पर्ने स्टिल, सिमेन्टलगायत क्षेत्र पनि चलायमान हुन्छ । मजदूरहरूले पनि काम पाउँछन् । सानिमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवन कुमार आचार्य सस्तो ब्याजदरमा घर कर्जा ल्याएपनि माग नआएको बताउँछन् । उपभोग घटेका कारण व्यापार व्यवसाय घटेको उनले बताए । साथै युवा पुस्ता पलायन भएर घरको आवश्यक नभएकाले पनि कर्जाको माग घटेको उनको भनाइ छ । ‘देशभरि नै व्यापार व्यवसाय हुन सकेको छैन, उपभोग गर्ने लाखौं मान्छे विदेश पलायन भएका छन् । उपभोग कम भएपछि व्यापार व्यवसाय कम हुन्छ, व्यापार व्यवसाय कम भएपछि अन्य लगानी गर्न सकिँदैन,’ उनले भने, ‘विदेश गए माग पनि घट्यो, विदेश गएका युवा पुस्तालाई घर बनाउनु नपर्ने वा आवश्यक नपर्ने भयो । विदेश गएपनि फर्किँदैनन्, अमेरिका, अष्ट्रेलिया, क्यानाडा जापान जाने युवा छन् अनि छोराछोरीका लागि घर नबनाएको पनि देखिन्छ ।’

साउनमा १५४ करोडको बीमा सरेण्डर, कुन कम्पनीबाट कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को साउन महिनामा एक अर्ब ५४ करोड ११ लाख रुपैयाँ बढीको बीमा सरेण्डर (बीमा त्याग) भएको छ । १० हजार २९३ जना बीमितले उक्त रकम बराबरको बीमा सरेण्डर गरेका हुन् । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालका बीमितले सबैभन्दा धेरै बीमा सरेण्डर गरेका छन् । साउन महिनामा एलआईसीका २ हजार ७१५ जना बीमितले ५१ करोड ३४ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका हुन् । यसैगरी, नेपाल लाइफबाट २ हजार ७ सय ३१ बीमितले ४८ करोड ४१ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । यसैगरी, एशियन लाइफका ९ सय ७९ बीमितले १३ करोड ५५ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीका ७ सय ६७ बीमितले ७ करोड ८७ लाख रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सका ८ सय ४७ बीमितले ७ करोड ७ लाख रुपैयाँ बढीको बीमा सरेण्डर गरेका छन् । बीमा सरेण्डर कम हुने कम्पनीम सन लाइफ नेपाल र प्रभु महालक्ष्मी लाइफ रहेका छन् । सन लाइफका ६९ जना बीमितले ५७ रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन् । यसैगरी, प्रभु महालक्ष्मीका ८७ बीमितले १ करोड ५ लाख रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन् । सरेण्डरबारे के भन्छ बीमा प्राधिकरण ? नियामक निकाय नेपाल बीमा प्राधिकरणले भने बीमा सरेण्डर हुनु सामान्य विषय भएको बताएको छ । कुल जारी पोलिसीको २ प्रतिशत सरेण्डरलाई अन्तराष्ट्रिय मान्यताअनुसार सामान्य मानिने उल्लेख गर्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपालको बीमा सरेण्डर सामान्य अवस्थाको रहेको बताउँछन् ।  सरेण्डर बढ्न नदिन र घटाउनका लागि प्राधिकरण लागि परेको पनि उनले जानकारी दिए । उनका अनुसार सामान्यता सरेण्डर हुनुको पछाडि आर्थिक मन्दी, अभिकर्ताको फोर्स सेलिङ, बीति तथा अभिकर्तामा जनचेतनाको अभाव आदि कुराहरूले भूमिका खेलेको हुन्छ । ‘त्यसका लागि प्राधिकरणले गत आर्थिक वर्षमा मात्रै ३०० भन्दा धेरै पालिकामा गएर बीमासम्बन्धी चेतना दिएको छ,’ उनले थपे, ‘केही नीतिगत सुधार गरेको छ ।’ अभिकर्तालाई तालिमको अभाव पोलिसी सरेण्डर हुनुको मुख्य कारण अस्वस्थ प्रतिस्पर्धा रहेको अभिकर्ताहरूको भनाइ छ । पेशागत बीमा अभिकर्ता संघका महासचिव ‌ओमबहादुर केसीका अनुसार अभिकर्ताहरूले नै अस्वस्थ्य प्रतिस्पर्धा गर्ने भएकाले पनि बीमा सरेण्डर हुने गरेको छ । उनका अनुसार एक कम्पनीमा बीमा गरेका बीमितलाई अर्का कम्पनीका अभिकर्ताले खोसेर लैजाने प्रविधिले सरेण्डर हुने गरेको छ । यसका लागि बीमा कम्पनीले सरेण्डर रोक्न डेक्स खडा गर्नुपर्ने, नेपाल बीमा प्राधिकरणले र बीमा कम्पनीहरूले अभिकर्तालाई प्रोफेशनल बनाउन त्यसअनुसारको तालिम दिनुपर्ने महासचिव केसीकाे भनाइ छ । यसरी अभिकर्ताको क्षमता वृद्धि, अभिकर्ताको भूमिका आदिका बारेमा तालिम दिएमा केही हदसम्म सरेण्डर रोकिने उनले उल्लेख गरे । उनले भने, ‘अहिले ८० प्रतिशत अभिकर्ता प्रोफेशनल छैनन् । उनीहरूले अन्य कम्पनीका बीमितलाई विभिन्न प्रलोभन देखाएर आफ्नो कम्पनीमा ल्याएर बीमा गराउने पनि गर्दछन् । त्यस किसिमको अस्वस्थ्य प्रतिस्पर्धा रोक्न नियमित तालिम दिनु पर्दछ ।’

ह्याम्सले किन्यो नागरिक अस्पताल, भक्तपुरको उत्कृष्ट हस्पिटल बन्दै

काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा नयाँ लगानीकर्ता भित्रिएका छन् । काठमाडौंमा सुविधा सम्पन्न स्वास्थ्य सुविधा प्रदान गर्दै आएको ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी नेतृत्वको समूहले नागरिक अस्पतालको ४३ प्रतिशत सेयर खरिद गरेर सो अस्पताललाई नयाँ व्यावसायिक रणनीतिका साथ अगाडि बढाएको हो । भण्डारीको समूहले सो अस्पतालमा १० करोड रुपैयाँ लगानी गरेर भदौ १ गतेदेखि सेवा दिन सुरु गरिसकेको छ । ७ रोपनी जग्गामा १ लाख ४० हजार स्क्वायर फिटको अन्डरग्राउण्डबाहेक भवनको लागि नक्साको तयारी भइरहेको छ । कार्तिकसम्म भवनको जग खन्न सुरु गर्ने उद्देश्य बनाइएको छ भने आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । सो अस्पताल हेलिप्याडसहितको टर्सरी लेभलको बन्नेछ । अस्पतालमा बच्चादेखि वृद्धवृद्धाका लागि सबै किसिमको स्वास्थ्यसेवा प्रदान गरिने बताइएको छ । ‘अहिले काठमाडौंमा जुनस्तरको ह्याम्स अस्पताल छ, जसरी यसले सेवा प्रदान गरिरहेको छ, त्यही स्तरको अस्पताल र सेवा अब भक्तपुरको नागरिक अस्पतालबाट पाइनेछ,’ ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले विकासन्युजसँग भने । यस्ता हुनेछन् सेवा नागरिक अस्पताल ह्याम्स अस्पतालको स्वामित्वमा आएसँगै जिल्लामै पहिलो एमडीजीपी फ्यामली फिजिसियन डाक्टरको २४सै घण्टा सेवा सुरु भइसकेको छ । अहिले इमरजेन्सी विभागमा सेवा सुधारको काम भइरहेको भण्डारीले बताए । असोजको दोस्रो सातासम्म नयाँ बनिरहेको पूर्वाधारमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म फुल टाइमर डाक्टर र पार्ट टाइमर डाक्टर राखेर सेवा दिने तयारी भइरहेको अध्यक्ष भण्डारीले बताए । ‘अब भक्तपुरवासीले छिट्टै सेवा पाउनेछन्,’ भण्डारी भन्छन्, ‘स-सानादेखि गम्भीर खालको उपचार गर्न पनि त्यहाँका नागरिक काठमाडौं अनि लतिलपुर धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ । हामीले टर्सरी लेभलको अस्पताल त्यहाँका नागरिकलाई लक्षित गरी सुरु गरेका हौं ।’ नागरिक १ सय शैयाको अस्पतालसँगै कलेज अफ हेल्थ साइन्स छ । भवन निर्माणपश्चात बेड शैया पनि बढाउने योजना भण्डारीको छ । राज्य र निजी क्षेत्रको कमजोर उपस्थिति काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये स्वास्थ्य सेवा क्षेत्रमा भक्तपुर जिल्लामा राज्य र निजी क्षेत्रको उपस्थिति कमजोर छ । काठमाडौं र ललितपुरमा निजी अस्पतालसँगै सरकारी राम्रा अस्पताल भएपनि भक्तपुरमा भने राम्रा अस्पताल छैनन् । कोटेश्वरभन्दा उता जाने हो भने राज्यको उपस्थितिसँगै निजी क्षेत्रको उपस्थिति पनि देखिँदैन । ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी । तस्बिर : सौगात पुडासैनी । त्यहाँको आवश्यकता र जनसंख्याको चापलाई मध्यनजर गर्दै ह्याम्सले सेवा सुरु गर्न लागेको जनाएको छ । ह्याम्सको अहिलेसम्मको अनुभव र नागरिक अस्पताललाई क्लिनिकबाट अस्पताल बनाउनुपर्छ भन्ने हिसाबमा आफै सेयरधनी भएकाले पनि यो कामको सुरुवात गरेको अध्यक्ष भण्डारीले बताए । ट्रमालक्षित सेवा हाइवे र धेरै जिल्लाको मुभमेन्ट भक्तपुर पर्ने भएकाले यहाँ दुर्घटनाका घटनाहरू धेरै भइरहेका हुन्छन् । काभ्रे अनि भक्तपुरमा सडक दुर्घटना हुँदा घाइतेहरूलाई काठमाडौंको ट्रमा सेन्टर वा ललितपुरको बि एण्ड सी पुर्‍यानुपर्ने बाध्यता छ । अब यो अस्पतालले तिनै सम्भावित घटनालाई मध्यनजर गर्दै ट्रमा सेवा दिने योजना बनाएको छ । ‘मान्छेको जीवन पाँच मिनेटले बाँच्ने र मर्नेसँग सवाल राख्छ तर त्यत्रो जनसंख्याकासँगै हाइवे भएको ठाउँमा राम्रो अस्पताल छैन,’ अध्यक्ष भण्डारी भन्छन्, ‘हाइवे हेर्ने हो भने सिन्धुली बर्दिवासको मुभमेन्ट त्यहीबाट छ, अरनिको हाइवे त्यहीबाट छ । जिल्लाको हिसाबले हेर्ने हो भने, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप पर्छन् । एउटा उपत्यकाको हिसाबले भक्तपुरमा उत्कृष्ट सेवा दिने अस्पताल भएन, त्यसैले पनि हामी सेवा दिने तयारी गरेका हौं ।’  जनशक्तिको समस्या छैन ह्याम्सले भक्तपुरमा पूर्वाधार निर्माण सुरु गरेसँगै अस्पताल जनशक्तिको तयारी पनि गरिरहेको छ । जनशक्ति तयार पार्न कुनै समस्या नभएको अस्पतालको दाबी छ । अहिले ह्याम्स अस्पतालमा डाक्टरसहित ८ सय जनाको जनशक्तिले सेवा दिरहेको छ । अब भक्तपुरका लागि पनि यति नै कर्मचारी आवश्यक पर्छ । ‘हामीसँग काम गर्न चाहने धेरै डाक्टर नर्सहरू हुनुहुन्छ, कतिपय हाम्रो सहकर्मीसँग चिनजानको हुनुहुन्छ, कतिपय हाम्रो यताकै साथीले उता हेर्नुहुनेछ,’ अध्यक्ष भण्डारी भन्छन्, ‘जनशक्तिका लागि हामीलाई कुनै चिन्ता छैन, अहिले नै हामीले सिनियर डाक्टर लगायतको टोली परिचालन गरिसकेका छौं, असोज दोस्रो सातादेखि थप डाक्टर तथा नर्स पनि तयार पारिसकेका छौं । बाँकी आवश्यकताका आधारमा व्यवस्थापन गरिन्छ ।’ नागरिकको अनुरोध स्वीकार नागरिक अस्पतालको सुरुवात मुनाल क्लिनिकबाट भएको हो । मुनाल सहकारी फण्डको ३० लाख रुपैयाँ र अन्य सेयर सदस्यको ६५ लाख रुपैयाँबाट यो अस्पताल सुरु भएको थियो । त्यो बेला क्लिनिकबाट बिहान बेलुका ओपीडी सेवा मात्र दिइन्थ्यो । क्लिनिकमा बिरामीको चाप बढ्दै गएपछि लगानीकर्ताले अस्पतालको योजना बनाए । क्लिनिकलाई अस्पताल बनाउन १५ शैया अस्पताल दर्ता गरियो । त्यहीबेला भक्तपुरमा रहेको ५१ शैयाको अस्पताल बिक्रीमा रहेको कुरा थाहा भयो । पछि त्यही अस्पताल र मुनाल क्लिनिकका सेयर सदस्य मिलेर नागरिक अस्पतालको निर्माण गरिएको थियो । यसरी सुरु भएको अस्पताल बीचमा राम्रो चल्यो । सेवा पनि राम्रै दियो तर, बिस्तारै लगानी घाटामा जाने अवस्था आयो । अध्यक्ष भण्डारी नागरिक अस्पतालको सुरुवातीदेखिका सेयर सदस्य थिए । नागरिक अस्पताल बोर्डले भण्डारीलाई अनुरोध गरेपछि ह्याम्सले ४३ प्रतिशत सेयर किनेर अस्पतालको जिम्मा लिएको हो । ‘नागरिकका सञ्चालकको अनुरोध र हामीलाई पनि भक्तपुरमा राम्रो आवश्यक्ता भएको हुँदा नागरिक अस्पताल खरिद गरेका हौं,’ उनले भने । व्यक्तिगत नभई ह्याम्सकै अस्तपाल अब यो अस्पताल नागरिक अस्पताल भनेरै चिनिने कि ह्याम्स भनेर भन्ने विकासन्युजको जिज्ञासामा अध्यक्ष भण्डारीले नामको बारेमा अहिल्यै नसोंचेको र पछि सेवा सुरु गरेपछि निर्णय गर्ने बताए । उनका अनुसार अहिलेको प्राथमिकता कसरी गुणस्तरीय सेवा दिने भन्नेमा छ । संरचना निर्माणमा ह्याम्स अस्पतालले ७० प्रतिशत बैंकबाट ऋण लिएर र बाँकी ३० प्रतिशत सेयर होल्डरको रकम गरी कुल २ अर्ब रुपैयाँ खर्च हुने बताएको छ । अध्यक्ष भण्डारीले नागरिक अस्पताल आफूले नकिनी ह्याम्सले किनेको र उसैको नाममा रहेको जानकारी दिए । कोभिडपछि ह्याम्सको फड्को नागरिक अस्पताल भक्तपुर । विशेषगरी कोरोना महामारीपछि नेपालका धेरैजस्तो व्यवसाय धरापमा परे । यसमा अस्पताल व्यवसाय पनि अछुतो रहेन । धेरैजसो निजी अस्पताल अहिले आर्थिक संकट खेपिरहेका छन् । कतिपयले थाहै नदिई अस्पताल बेच्ने तयारी पनि गरिरहेको खबर बाहिर आएका छन् । तर, काठमाडौंको ह्याम्स अस्पतालले भक्तपुरमा समेत सुरुवात गर्न लागेको छ । यो अस्पतालमा २२ जना सेयर होल्डरको लगानी छ । जहाँ सुरुवातीमा ८० प्रतिशत लगानी बैंकको थियो । अध्यक्ष भण्डारी सेवा सँगसँगै अस्पताल व्यवसाय भएको बताउँछन् । ‘जुन बैंकले लगानी गर्‍याे त्यसलाई यो व्यवसाय हो । यसले यति वर्षभित्र सावाँ ब्याज फिर्ता गर्छ भन्ने नपारिकन बैंकले पैसा दिँदैन,’ उनी भन्छन्, ‘हामी कुनै ठाउँमा सामान किन्न जाँदा पैसा दिएर मात्र उसले सामान दिन्छ तर अस्पताल भनेको पहिले सेवा दिएर त्यसपछि पैसाको कुरा आउँछ, नेचरमा अलि फरक छ तर व्यवसाय व्यवसाय नै हो ।’ २०७३ साउन १ गतेबाट ह्याम्स अस्पतालको अध्यक्षको जिम्मेवारी सम्हालेका भण्डारीको नागरिकलाई ह्याम्सभन्दा उत्कृष्ट अस्पताल बनाउने योजना छ । कोभिडको समयमा सबैभन्दा पहिले कोभिडको बिरामीको उपचार यो अस्पतालले गरेको थियो । ह्याम्सले महामारीमा सबैभन्दा राम्रो भूमिका निर्वाह गर्दा नै अस्पताल यहाँसम्म पुगेको बताउँदै अध्यक्ष भण्डारी नागरिकको सेवाका लागि भक्तपुर पस्न लागेको बताए । कोरोनापछि अस्पतालले मल्टी डिपार्टमेन्ट सर्भिस दिन थालेको थियो । अहिले अस्पतालले दैनिक ६ सय बिरामीलाई ओपिडीमा सेवा दिइरहेको छ । यसैगरी, महिनामा साढे ३ सयको दरमा अप्रेसन हुँदै आएको छ । लगानी नफस्नेमा ढुक्क ह्याम्स अस्पतालले करिब १० करोडको सेयरखरिद गरेर नागरिक अस्पताल खरिद गर्दा भौतिक संरचनाका लागि मात्र २ अर्ब बढी लाग्ने अनुमान छ । यसरी लगाएको लगानी डुब्ने जोखिम कति देख्निुभएको छ भन्ने प्रश्नमा अध्यक्ष भण्डारी भन्छन्, ‘व्यवसायका रूपमा हेर्दा चिन्ता पनि लाग्छ तर कर्म राम्रो गरेर लगानी गरेको पैसा सही सदुपयोग गर्ने हो भने भोलि के होला कसो होला भन्ने लाग्दैन ।’ उनी लगानी गर्दा दुई–तीन कुरामा ध्यान दिनुपर्ने बताउँछन् । पहिलो, जुन क्षेत्रमा लगानी गर्ने योजना छ त्यो क्षेत्रबारे अनुभव हुनुपर्छ । दोस्रो, परियोजनाको आवश्यकता कति हो भन्ने कुरामा विश्वस्त हुनुपर्‍याे । तेस्रो, त्यसलाई व्यवस्थापन कसरी गर्ने र त्यसमा कति आफ्नो समय दिन सकिन्छ भन्ने कुरामा भर पर्छ । कुनैपनि लगानीकर्ताले कुनै व्यवसायमा लगानी गर्दा यस्ता कुरामा ध्यान दिँदा यी तीन कुराले सफल र असफल भन्ने हुन्छ । आफ्नो लगानी नडुब्नेमा ढुक्क छन् उनी । किन छिर्दैनन् ठूला लगानीकर्ता ? आरएस भण्डारी सिन्धुपाल्चोकबाट २०५१ सालमा एसएलसी पास गरेर काठमाडौं आए । उनले स्कुल पढेदेखि नै हेल्थ केयरमा काम गर्न सुरु गरे । हरेक हेल्थ केयरहरूसँग उनको पहुँच बढ्दै गयो । उनी आफू आवद्ध र अनुभव भएको क्षेत्रमै लगानी गर्नुपर्ने बताउँछन् । ‘मेरो अनुभव, रुचि, क्षमता सबै यही क्षेत्रमा भयो, त्यसैले यही क्षेत्रमा लागें,’ उनी भन्छन्, ‘योभित्रको चुनौती अन्य व्यवसायको हिसाबमा धेरै हुन्छ ।’ तर, मान्छेलाई नयाँ जीवन दिनुभन्दा अरू कुनै व्यवसाय ठूलो हुन नसक्ने उनी बताउँछन् । यस्तो चुनौतीको सामना गर्दै एउटा अस्पताललाई उत्कृष्ट बनाएर अर्को अस्पताल बनाउने योजनामा रहेका उनी नाफा घाटासँग जुझ्दै अघि बढ्ने बताउँछन् । ‘यो व्यवसाय निकै चूनौतिपूर्ण हो । लगानी, लगानी पछिको नाफाको कुरामा पनि निकै संम्वेदनशील छ । सानो कुराले मान्छेको जीवन सकिन्छ । मानव गल्ती हरेक ठाउँमा हुन्छ तर, स्वास्थ्यमा एउटा डाक्टर वा एउटा नर्सले सानो गल्ती गर्दा मान्छे जीवन सकिन्छ,’ उनले भने । बैंकबाट कर्जाको भारी बोकेर यो व्यवसाय गर्नु भनेको निकै गाह्रो हुने भण्डारी बताउँछन् । त्यसैले पनि नेपालमा ठूल्ठूला लगानीकर्ताहरू स्वास्थ्य क्षेत्रमा लगानी गर्न नसकेको उनको भनाइ छ ।