भारतका ९ ठूला सहरको घरजग्गा कारोबारमा मन्दी, मूल्य आकासिँदा किन्ने घटे

काठमाडौं । कोरोना महामारीपछि भारतमा घरजग्गा बजारमा आएको उछालमा अब ब्रेक लागेको तथ्यांकले देखाएको छ । लामो समयपछि भारतमा घरजग्गा बिक्री घट्ने अनुमान गरिएको छ । घरजग्गा तथ्यांक विश्लेषक कम्पनी प्रोपइक्विटीका अनुसार जुलाई-सेप्टेम्बरको त्रैमासिकमा देशका ९ प्रमुख सहरमा घर बिक्री १८ प्रतिशतले घटेर १ लाख ४ हजार ३ सय ९३ युनिट हुने अनुमान छ । अघिल्लो वर्षको सोही अवधिमा १ लाख २६ हजार ८ सय ४८ युनिट बिक्री भएको थियो । यसमा सबैभन्दा बढी गिरावट हैदराबादमा ४२ प्रतिशत हुनसक्छ । यसपछि बेंगलुरुमा २६ प्रतिशत, कोलकातामा २३ प्रतिशत, पुणेमा १९ प्रतिशत, चेन्नईमा १८ प्रतिशत, मुम्बईमा १७ प्रतिशत र ठाणेमा १० प्रतिशतले गिरावट आउने अनुमान गरिएको छ। तथ्यांकअनुसार, यो वर्ष जुलाई-सेप्टेम्बरमा दिल्ली-एनसीआरमा मात्र २२ प्रतिशत र नवी मुम्बईमा ४ प्रतिशतले घर बिक्री बढ्ने अनुमान गरिएको छ । रियल एस्टेट एक्सपर्ट र प्रोपर्टी ब्रोकरका अनुसार पछिल्लो दुई वर्षमा घरजग्गाको मूल्य ५० देखि ७० प्रतिशतसम्म बढेको छ । घरजग्गा बजारमा किफायती वा कम लागतका प्रोपर्टीहरूको ठूलो अभाव छ । विकासकर्ताहरू लक्जरी परियोजनाहरूमा मात्र केन्द्रित छन् । प्रमुख सहरहरूमा २ बीएचके फ्ल्याटको मूल्य करोड पुगेको छ । जसका कारण मध्यम वर्ग वा मजदुर वर्गले चाहेमा घर किन्न पाउँछन् । लगानीकर्ताहरूले द्रुत रूपमा बढ्दो सम्पत्तिको मूल्यको फाइदा लिन ठूलो मात्रामा पैसा लगानी गरिरहेका छन् । यस्तै, एड यूजर्स बजारबाट गायब हुँदैछन् । लगानीकर्ताको एकल आधारमा कही पनि सम्पत्ति बजार लामो समयसम्म चल्न सक्दैन । त्यसैले अहिले माग घट्दै गएको छ । जनताको आम्दानीमा भएको वृद्धिको अनुपातमा घरजग्गाको भाउ नबढ्ने भएकाले भविष्यमा स्थिति झन् खराब हुनसक्छ । घरजग्गाको मूल्य अव्यवस्थित रूपमा बढेको छ । यसले गम्भीर मन्दी निम्त्याउन सक्छ । समयमै कदम नचाले भारतको घरजग्गा बजारले फेरि एकपटक लामो मन्दीको सामना गर्न सक्ने विज्ञहरूले बताएका छन् । बेंगलुरुमा २५ प्रतिशत गिरावटको आशंका बेंगलुरुमा घर जग्गाबिक्री जुलाई-सेप्टेम्बरमा २५ प्रतिशतले घटेर १३ हजार ३ सय ५५ इकाई हुने अनुमान गरिएको छ जुन अघिल्लो वर्षको अवधिमा १७ हजार ९ सय ७८ इकाई थियो । जबकि चेन्नईमा घर बिक्री १८ प्रतिशतले घटेर ४ हजार ६ सय ३४ इकाई हुन सक्छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५ हजार ६ सय २८ इकाई थियो । यस्तै, हैदराबादमा आवासीय सम्पत्तिहरूको बिक्री समीक्षा अवधिमा ४२ प्रतिशतले घटेर १२ हजार ८२ इकाई हुने अनुमान गरिएको छ । कोलकातामा बिक्री गत वर्षको सोही अवधिमा ४ हजार ६ सय ३४ युनिटको तुलनामा २३ प्रतिशतले घटेर ३ हजार ५ सय ९० इकाई हुन सक्ने अनुमान गरिएको छ । मुम्बईमा आवास बिक्री १७ प्रतिशतले घटेर १० हजार ९ सय ६६ युनिट हुने अनुमान गरिएको छ । उही समयमा, नवी मुम्बईमा बिक्री ४ प्रतिशतले बढेर ७हजार ७ सय ३७ इकाई हुने सम्भावना छ । एजेन्सी

मध्यभोटेकोशी आयोजना अन्तिम चरणमा, १०२ मेगावाटकाे विद्युत उत्पादन हुने

  काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा एक महिनाभित्र विद्युत् उत्पादन गर्नेगरी अन्तिम चरणका कामहरु भइरहेकाे हाे । बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर प्रसारण लाइनमध्ये दुई किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम काम भइरहेको छ । २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको तार तान्ने काम दशैं अगाडि सकिने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ, सिन्धुपाल्चोका–२ का संघीय सांसद मोहनबहादुर बस्नेत, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत तथा वडाध्यक्षहरु, सहायक प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घका अध्यक्ष र आयोजनाबीच गत १३ भदौमा भएको छलफलमा करिब १४ महिनादेखि अवरोध रहेको प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो । बाँधक्षेत्रको निर्माण सकी पानी हालेर परीक्षणसमेत भइसकेको छ । आयोजनाको ७.१२४ मिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न गरी गत वर्षको फागुनमा पानी भरी परीक्षण सुरु गरिएको थियो । परीक्षणका क्रममा मुख्य सुरुङको करिब एक हजार चार सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार सम्पन्न गरिएको छ । हाल सुरुङ सफा गर्न सुरु गरिएको छ । १५ दिनपछि सुरुङमा पानी भर्न थालिने विद्युत प्राधिकरणले जनाएकाे छ । विद्युतगृहमा सिभिल निर्माण कार्य सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान एवम् परीक्षण (ड्राई टेस्ट) सम्पन्न भइरहेको छ । सुरुङबाट पानी आउनसाथ उपकरणहरूको वेट टेस्ट सुरु हुने छ । बाँकी रहेका सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री तामाङ, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सम्मिलित टोलीले शनिबार आयोजना निर्माणस्थल निरीक्षण भ्रमण गरी एक महिनाभित्र जसरी पनि विद्युत् उत्पादन हुने गरी काम गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । राज्यमन्त्री तामाङले बाँकी रहेका काम द्रुत अगाडि बढाउन र आयोजना व्यवस्थापनका सम्पूर्ण कर्मचारी साइटमै बसेर काम सम्पन्न गर्न निर्देशन दिए । मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने छ । २२०/१३२ केभीको बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ । २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युतलाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ । यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ । उक्त कार्य दशैं अगाडि सम्पन्न गर्ने गरी काम भइरहेको हाे । सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौं प्रसारण लाइन सम्पन्न नभएसम्म रहने छ । उक्त लाइनहरू सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुनेछ प्राधिकरणले जनाएकाे छ । जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत सीमानाकामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ को प्रकोप, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनलगायतका कारणले मध्यभोटेकोशीको निर्माण प्रभावित भएको थियो । आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो । कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरुमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रालिको १ र सिन्धु भोटेकोशी हाइड्रोपावरको १ प्रतिशत सेयर रहेको छ । ४९ प्रतिशत साधारण शेयरधनी समुहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५,ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर) रहेका छन् । कम्पनीले साधारण सेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् । आयोजनाबाट वार्षिकरूपमा ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।

जसले आफूलाई घर बनाएनन्, अरूलाई उद्यमी बनाए

काठमाडौं । दुई दशकअघि गुल्मीबाट व्यापार–व्यवसाय गर्न उनी काठमाडौं आएका थिए । सामान्य काममा हात हालेका उनले दिनरात नभनी अथक मिहिनेत र इमान्दारिताका साथ कर्म गर्दै गए । बिस्तारै सफलता पनि हात लाग्दै गयो । काममा उनले कहिल्यै सम्झौता गरेनन् । कामलाई सानो वा ठूलो पनि भनेनन् । मिहिनेत र परिश्रम नै कर्म हो भन्ने मन्त्र सधैं आत्मसाथ गरेर अगाडि बढे । यही मन्त्रले उनलाई सफलताको उचाइतिर अगाडि बढाउँदै लग्यो । र, एकदिन त्यो उनको पोल्टामा परिछाड्यो । जुन, सायद उनले सोचेका पनि थिएनन् होला । अथक मिहिनेत र कडा परिश्रमबाट उनले ‘नाम र दाम’ दुवै कमाए । पैसा कमाएपछि आरामदायी जिन्दगी बिताउने रहर मानवीय स्वभाव हो । पैसा कमाएपछि घरजग्गा जोडौं, देशविदेश शयर गरौं, अब धेरै दुःख किन गर्ने भन्ने भावना आममानिसमा उत्पन्न हुनु अस्वाभाविक पनि होइन । तर, गुल्मीका शंकर भण्डारी भने यो मामलामा ‘अपवाद’ देखिन्छन् । व्यापार–व्यवसाय नै गर्न भनेर काठमाडौं झरेका शंकरले आफन्तसँगै काम सिके । लगनसाथ आतिथ्य सत्कार (हस्पिटालिटी) क्षेत्रमा प्रवेश गर्न ज्ञान सिके, सिप पनि सिके । विडम्बना, आफन्तसँगको उनको सहयात्रा त्यति लामो समय अगाडि जान सकेन । तर, हस्पिटालिटी क्षेत्रमा अहिले पाएको सफलतामा तिनै आफन्तको देन भनेर शंकर भुल्न सक्दैनन् । ‘अहिले पनि म भाडाको घरमा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेस्टुरेन्ट खोल्ने नै मेरो इच्छा हुन्छ, मेरो चाहना नै धेरैलाई व्यवसायी बनाउने, युवालाई रोजगारी दिलाउने र देशमा नै रोजगारी सिर्जना गर्न प्रेरित गर्ने हो,’ शंकरको अठोट छ । ‘मलाई धेरै पैसा कमाउँ, लक्जरियस लाइफ बिताउँ भन्ने नै लाग्दैन,’ शंकर सादगी सुनिन्छन्, ‘म एक सामान्य मान्छे हुँ, मैले कमाएको पैसा म सकेसम्म बिजनेसमै लगानी गरेर यसलाई अझ विस्तार गरौं भन्ने नै रहन्छ ।’ होटल–रेस्टुरेन्टबाट कमाएको पैसा घरजग्गा किन्ने, उपभोगमा खर्च गर्ने सोच उनमा कहिल्यै आएन । ‘अहिले पनि म भाडाको घरमा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेस्टुरेन्ट खोल्ने नै मेरो इच्छा हुन्छ, मेरो चाहना नै धेरैलाई व्यवसायी बनाउने, युवालाई रोजगारी दिलाउने र देशमा नै रोजगारी सिर्जना गर्न प्रेरित गर्ने हो,’ शंकरको अठोट छ । २२ वर्षअघि २०५९ साल । काठमाडौं सुन्धारामा शंकरले आफन्तसँगको साझेदारीमा होटल सुरु गरे । काम गर्दै जाने क्रममा लामो समय सहकार्य नहुने देखिएपछि उनले होटलको साझेदारी छाडे । होटल छाड्दा उनीसँग ८० हजार रुपैयाँ थियो । त्यही पैसाले सुन्धारामै किराना पसल खोल्ने निर्णय गरे । ‘पसल सुरु गर्दा ८० हजार मात्रै थियो, त्यसमा पनि ३५ हजारको त समान राख्न र्याक नै बनाएँ,’ शंकर सम्झिन्छन्, ‘बाँकी ४५ हजार रुपैयाँको सामान हालेँ ।’ पसल उनले सोचेभन्दा राम्रो हुन थाल्यो । त्यो किराना पसल पाँच वर्ष चलाए । त्यो बेला उनको पसल सुन्धारा क्षेत्रकै ‘उत्कृष्ट’ पसल भएको उनी सम्झिन्छन् । ‘मैले यस क्षेत्रका सबैजसो होटललाई किराना सामान सप्लाई गर्थें,’ उनी भन्छन्, ‘त्यसबेला दैनिक डेढ लाखसम्मको व्यापार पनि भयो ।’ किराना पसलबाटै राम्रो व्यापार भए पनि उनको मन भने होटल व्यवसाय कसरी गर्ने भन्नेमै डुलिरहेको थियो । ‘किराना पसल मेरो लक्ष्य होइन, मैलै त योभन्दा राम्रो गर्न सक्छु भन्ने हिम्मत थियो,’ शंकर तत्कालीन योजना सुनाउँछन्, ‘त्यसपछि मैले फेरि होटल व्यवसायमा हात हाल्ने निर्णय गरेँ ।’ शंकरले २०६३ सालमा सुन्धारामै एउटा घर भाडामा लिएर होटल स्थापना गरे । उनको मनमा व्यवसाय गरेपछि ‘ब्रान्ड’ स्थापित गर्नुपर्छ भन्ने सधैं हुन्थ्यो । उनले ‘भोलि म नरहे पनि मैले सुरु गरेको ब्रान्ड रहोस्’ भनेर होटलको नाम राखे ‘प्रेसिडेन्ट होटल’ । उनले होटल सुरु गर्ने समय देशमा पनि विभिन्न आन्दोलन भइरहेका थिए । देशको राज्य सत्ता परिवर्तनसँगै शंकर पनि व्यवसाय गरेर जीवन परिवर्तन गर्ने सुरुमा थिए । ‘होटल सुरु गर्ने बेला पनि मसँग धेरै पैसा थिएन,’ उनी सम्झिन्छन्, ‘६ तलाको घरको दुई तलालाई मैले होटलमा रूपान्तरण गरेँ, बाँकी रहेका चार तलामा चिनेका साथीभाइसँग सरसापट गरेर त्यसलाई बढाउँदै लगेर एक वर्षमा पूर्ण क्षमतामा होटल सञ्चालनमा ल्याएँ ।’ निरन्तरको संघर्ष र मिहिनेतमा उनले सुरु गरेको होटलले राम्रो गति लिन थाल्यो । त्यसपछि यो गतिलाई थप उचाइ दिनुपर्छ भन्ने लाग्यो । २०६५ सालमा उनले फेरि सुनधारामै अर्को घर लिएर थप होटल सुरु गरे । दुवै होटलबाट सफलता मिल्दै गएपछि शंकरले २०६९ सालमा रुपन्देही (लुम्बिनी) मा १५ कोठाको होटल सुरु गरे । त्यसपछि २०७२ सालमा बालाजुमा २० कोठाको अर्को होटल पनि सञ्चालनमा ल्याए । गुल्मीको एक मध्यम वर्गीय परिवारमा जन्मेहुर्केका शंकरको परिवारको व्यापार–व्यवसायमा टाढासम्म कुनै साइनो थिएन । पुस्तादेखि कृषि पेसा अँगाल्दै आएको परिवारमा होटल व्यवसायमा एकपछि अर्को सफलता हासिल गर्दै आएका शंकर मात्रै थिए । यो सफलता होटलमा मात्रै सीमित राख्न चाहेनन् शंकरले । त्यसपछि शंकरको मन रेस्टुरेन्ट व्यवसायतिर मोडियो । २०७३ सालमा सुन्धारामा ‘पे्रसिडेन्ट सेकुवा’ रेस्टुरेन्ट सञ्चालन गरे । ‘स्वच्छ वातावरण, सरल ठेगाना, स्तरीय सेवा, स्वादिष्ट खाना’ को नारा राखेर सञ्चालनमा ल्याइएको प्रेसिडेन्ट सेकुवाले छोटो समयमै ग्राहकको मन जित्न सफल भएपछि यसका आउटलेट पनि खुल्दै गए । करिब दुई दशकको यात्रामा प्रेसिडेन्टका १४ आउटलेटमा सञ्चालनमा छन् । सेकुवाको स्वादले धेरैको मन जितेपछि शंकरलाई थप रेस्टुरेन्ट खोल्ने हौसला मिल्दै गयो । उनले क्रमशः कलंकीको रविभवन, पुरानो बानेश्वरको बत्तीसपुतली, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा सुरु गरे । काठमाडौंमा मात्रै २० वटा आउटलेट खोल्ने शंकरको योजना छ । प्रेसिडेन्ट सेकुवा काठमाडौंमा ‘स्थापित ब्रान्ड’ भएको उनको दाबी छ । प्रेसिडेन्टकै नामबाट बेकरी पनि सञ्चालनमा ल्याएका छन् । आज  (असोज ५ गते) शनिबारदेखि सिनामंगल एयरपोर्टमा प्रेसिडेन्ट होटल सञ्चालनमा आएको छ । यसलगत्तै लुम्बिनीमा मायादेवी मन्दिरबाट ५ मिनेट दुरीमा प्रेसिडेन्ट होटल सञ्चालनमा ल्याउँदैछन् । साझेदारी बढाउँदै व्यावसायिक यात्राले सफलता पाउँदै गएपछि ‘अब एक्लै धान्न सकिँदैन, साझेदार पनि चाहिन्छ’ भन्ने शंकरलाई लाग्यो । त्यसपछि उनको प्रेसिडेन्ट बिजनेस ग्रुपमा विभिन्न साझेदार जोडिए । साझेदार संख्या अहिले २५ पुगेको छ । प्रेसिडेन्ट बिजनेस ग्रुप र गैरआवासीय नेपालीहरूको सहकार्यमा नेपालभरि १ अर्ब रुपैयाँ लगानीमा एयरपोर्टमा खुलेको होटलसहित १० होटल खोल्न लागिएको शंकर खुसीसाथ सुनाउँछन् । ‘कुल १ अर्बको लगानीमा आगामी दुई वर्षभित्र नेपालभरि १० नयाँ होटल र रेस्टुरेन्ट खोल्ने घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं, यी होटल काठमाडौं, पोखरा, चितवन, बुटवल, धनगढी, सुर्खेत, विराटनगर, जनकपुर लगायत प्रमुख सहरमा बन्नेछन्,’ शंकर योजना सुनाउँछन्, ‘गैरआवासीय नेपाली र प्रेसिडेन्ट बिजनेस ग्रुपबीचको यस सहकार्यले नेपालको होटल उद्योगलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास छ ।’ प्रेसिडेन्ट ग्रुपमा हाल करिब ३ सय युवाले रोजगारी पाएका छन् । त्यसमा २५ देखि ३० जना फरक क्षमता भएका व्यक्ति छन् । शंकरसँग सुरुवातदेखि जोडिएका धेरै कर्मचारी साथीहरू नै उनको बिजनेसमा साझेदार छन् । ‘हामीले धेरै ठूला होटलभन्दा साना होटल र रेस्टुरेन्टलाई फोकस गरेर काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘यसमा नै सफलता हासिल गर्ने हाम्रो लक्ष्य हो ।’ प्रेसिडेन्ट सेकुवामा टिपिकल नेपाली स्वादका विभिन्न आइटम पस्किने जमर्को गरेको शंकर बताउँछन् । नेपाली खाना र त्यसको स्वादलाई इन्डियन, कन्टिनेन्टल, चाइनिज, इटालियन, थाई खानाहरूले पनि ग्राहकलाई सन्तुष्ट पार्ने कोसिस रहेको उनी बताउँछन् । ‘नेपाली खाना स्वाद मात्रै नभएर पहिचान समेत भएकाले यसैलाई हामीले सिग्नेचर डिसका रूपमा विस्तार गर्दै लगेका छौं,’ उनी भन्छन्, ‘प्रेसिडेन्ट सेकुवामा आउने ग्राहकलाई हामी सकेसम्म नेपाली खाना खान प्रेरित गर्छौं, पिज्जा, बर्गर हाम्रो पहिचान होइन, त्यसैले हामीले प्रेसिडेन्ट सेकुवामार्फत नेपाली मौलिक खाना पस्केका हौं । प्रेसिडेन्टले खानाको क्वालिटी, हाइजिन र क्वान्टिटीलाई मेन्टेन गरेको छ ।’ पर्यटनमा शंकरले देखेको सम्भवाना विगत कोट्याएर हेर्ने हो भने नेपालको पर्यटन क्षेत्रमा धेरै ठूला दुर्घटना भए । यसले पनि यस क्षेत्रमा धेरै असर पारेको शंकर बताउँछन् । तर, नेपालमा पर्यटन क्षेत्रमा धेरै सम्भावना भएकाले आत्तहिाल्नुपर्ने अवस्था नरहेको उनी बताउँछन् । ‘हरेक कुराका नकारात्मक र सकारात्मक पक्ष हुन्छन्, कोभिडपछि पर्यटन क्षेत्र चलायमान बन्दैछ, कमीकमजोरी त अझै पनि छन्,’ उनी भन्छन्, ‘नेपालीहरूमा पनि रेस्टुरेन्टमा खाने, घुम्ने, रमाउने कल्चरमा वृद्धि हुँदै गएको छ, जुन हिसाबले अन्य देशमा छ त्यो चाहिँ अहिले नभए पनि भोलिका दिनमा हुन्छ भन्नेमा हामी आशावादी छौं ।’ पाँच–सात वर्षदेखि नेपालको हस्पिटालीटी क्षेत्रमा काम गर्ने व्यवसायीहरूले एकाध बाहेक खासै मुनाफा आर्जन गर्न नसकेको शंकर बताउँछन् । तर, बिस्तारै यस क्षेत्रले फड्को मार्ने र धेरै मुनाफा आर्जन गर्नेमा उनी विश्वस्त छन् । ‘यो क्षेत्र आज लगानी गरेर भोलि नै प्रतिफल आइहाल्ने क्षेत्र होइन,’ उनी भन्छन्, ‘यसमा जसले धैर्य गर्न सक्यो, प्यासनमा अडिग रहन सक्यो, त्यसले नै प्रगति गर्न सकेको देख्दै आइरहेका छौं ।’ पछिल्लो समय नेपालको हस्पिटालिटी क्षेत्रमा ठुल्ठूला ब्रान्ड र लगानी भित्रिने क्रम जारी छ । भएका नाम चलेका चारतारे–पाँतारे होटल बन्द भएका पनि छन् । यो प्रस्पिर्धात्मक क्षेत्र हो । यहाँ आउने जाने क्रम चलिरहने शंकर बताउँछन् । ‘नेपाल आउने पर्यटक सबै पाँचतारे, चारतारेमा बस्ने मात्रै हुन्छन् भन्ने छैन, साना तथा मझौलामा बस्ने पर्यटक पनि आउँछन्,’ उनी भन्छन्, ‘यसै कारणले पनि यस क्षेत्रका सानादेखि ठूला व्यवसायीलाई व्यवसायमा थप हौसला मिलेको छ, दुर्घटनाले केही असर पारेको छ तर यसको असर लामो समय रहँदैन ।’ भर्खरै नेपाल पर्यटन बोर्डले नयाँ सीईओ पाएको छ । नेपालको पर्यटन प्रचार प्रसारमा बोर्डले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा शंकर आशावादी छन् । एयरपोर्टमा प्रेसिडेन्ट होटल काठमाडौंको एयरपोर्ट गेट नजिकै शनिबारदेखि सञ्चालनमा आउन लागेको प्रेसिडेन्ट होटलमा करिब ५ करोड लगानी रहेको छ । २५ कोठा रहेको उक्त होटलले ग्राहकलाई सस्तोमा सेवा उपलब्ध गराउने शंकर बताउँछन् । नयाँ होटलले यात्रुका लागि विकल्पहरूको रोजाइ सुनिश्चित गर्ने उनले विश्वास व्यक्त गरे । उक्त होटलमा पर्यटकहरूले तीनतारे र चारतारे आवास सेवा प्राप्त गर्नेछन् । कोठाको शुल्क पनि बजारको प्रतिस्पर्धात्मकताका आधारमा चारदेखि पाँच हजार रुपैयाँको बीचमा राखिएको उनी बताउँछन् ।