प्रस्तावकको मृत्यु भएमा बाँकी अवधि बीमाशुल्क तिर्नु नपर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो ७औं वार्षिकोत्सवको अवसरमा दुईवटा बीमा पोलिसी सार्वजनिक गरेको छ । कम्पनीले एउटा मुख्य र एउटा अतिरिक्त पोलिसी सार्वजनिक गरेको हो । कम्पनीले बालबच्चाको उज्जवल भविष्यका लागि सन लाइफ सुनौलो बाल समृद्धि जीवन बीमा योजना ल्याएको छ । यसैगरी, मेडिकेयर (आपतमा राहत) नामको अतिरिक्त पोलिसी सार्वजनिक गरेको छ । अतिरिक्त योजना भने म्यादी हो । याे हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । (क) सुनौलो बाल समृद्धि योजना  सुनाैलाे बाल समृद्धि याेजना बच्चा जन्मिएकाे ३१ दिनदेखि १७ वर्षको उमेरसम्मका लागि हाे ।  यसैगरी, प्रस्तावक (आमा वा बुबा) को उमेर १८ वर्ष पूरा भएर ५५ वर्ष ननाघेको हुनुपर्ने छ । यो बीमा अवधि ५ वर्ष देखि २५ वर्ष अवधिसम्मका लागि खरिद गर्न सकिने छ । बीमा अवधिमा बीमितको अधिकतम उमेर २५ वर्ष भन्दा बढी हुनु हुँदैन । यसैगरी, बीमा समाप्तिमा प्रस्तावकको उमेर ६५ वर्ष ननाघेको अवस्था हुनुपर्ने छ । यो पोलिसी न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँ बीमांक रकमको हुनेछ । मासिक, त्रैमासिक, अर्धवार्षिक, वार्षिक र एकमुष्ठ रूपमा बीमाशुल्क भुक्तानी गर्न सकिने छ । १. जोखिम बहन समय बीमा प्रारम्भ मितिबाट २ वर्ष वा बच्चा ६ वर्षको उमेर पूरा मितिमध्ये जुनपछि आउँछ सोही मितिबाट जोखिम बहन हुनेछ । यदि बच्चाको उमेर १० वर्षको भएपछि बीमा प्रारम्भ गरिएको छ भने प्रारम्भ मितिबाट १ वर्षपछि जोखिम बहन हुनेछ । बच्चाको उमेर ११ वर्ष पुरा भएपछि बीमा गरेको हकमा सोही मितिबाट जोखिम बहन हुनेछ । प्रस्तावकको हकमा बीमा प्रारम्भ भएको मितिदेखि नै जोखिम प्रारम्भ हुनेछ । २. प्रस्तावकको मृत्यु भएको अवस्थामा प्रस्तावकको कुनैपनि समयमा मृत्यु भएमा बीमांक रकम कम्पनीले बच्चालाई भुक्तानी दिनेछ । यसैगरी, बाँकी अवधिभर भुक्तानी गर्नुपर्ने बीमाशुल्क बीमितले भुक्तानी गर्नु पर्दैन । साथै, घटना भएको मितिबाट उक्त बच्चाको पढाइका लागि कम्पनीले कुल बीमांक रकमको २ प्रतिशतले हुन आउने रकम हरेक महिना बच्चालाई भुक्तानी दिनेछ । उदाहरणका लागि यदि कसैले २० वर्षका लागि २० लाख रुपैयाँ बीमांक रकमको यो पोलिसी खरिद गरेको छ र ५ वर्षपछि प्रस्तावक तथा बच्चाको बुबा वा आमाको मृत्यु भएमा  २० लाख रुपैयाँ तत्कालै बीमा कम्पनीले सो बच्चालाई भुक्तानी दिन्छ । यसैगरी, २० लाख रुपैयाँको २ प्रतिशत अर्थात ४० हजार रुपैयाँ सो बच्चालाई हरेक महिना बाँकी १५ वर्षसम्म कम्पनीले भुक्तानी दिन्छ । र, बीमितले तिर्नुपर्ने बीमाशुल्क पनि सोही दिनबाट तिर्नु पर्दैन । बीमालेख निरन्तर रहन्छ । २० वर्ष पूरा भएपछि सो बीमांक रकम र आर्जित बोनोस एकमुष्ठ रूपमा कम्पनीले फेरि सोही बच्चालाई भुक्तानी दिन्छ । २. बीमित बच्चाको मृत्यु भएमा जोखिम प्रारम्भ हुनुपूर्व बीमित बाल बालिकाको मृत्यु भएमा भुक्तानी गरेको सबै बीमाशुल्क फिर्ता हुनेछ । र बीमा योजना स्वतः रद्द हुनेछ । जोखिम सुरु भएपछि बालबालिकाको मृत्यु भएमा बीमाङ्क रकमको २५ प्रतिश र आर्जित बोनस वा भुक्तानी गरिएको बीमा शुल्क जुन धेरै हुन्छ, सोही रकम फिर्ता हुनेछ । र, पोलिसी स्वत: रद्द हुनेछ । २. बीमित बच्चा र प्रस्तावकको एकै साथ मृत्यु भएमा पूरै बीमांक रकमको १२५ प्रतिशत रकम र आर्थित बोनस जोड्दा जति हुन्छ उक्त रकम फिर्ता हुनेछ । अर्थात २० लाख रुपैयाँको बीमांक भएमा २५ लाख रुपैयाँ र सो समयसम्म आर्जित बोनस फिर्ता हुन्छ । पोलिसी स्वतः रद्द हुनेछ । छुट वार्षिक रूपमा बीमाशुल्क भुक्तानी गर्दा २ प्रतिशतसम्म छुट हुनेछ । अर्धवार्षिक रूपमा भुक्तानी गर्दा १ प्रतिशत र त्रैमासिक रूपमा भुक्तानी गर्दा छुट पाइने छैन । मासिक रूपमा बीमाशुल्क भुक्तानी गर्दा ५ प्रतिशत थप गर्नुपर्ने हुन्छ । यदि वार्षिक एक लाख रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्ने छ भने वार्षिक रूपमा भुक्तानी गर्दा ९८ हजार रुपैयाँ भुक्तानी गर्दा हुन्छ । यसैगरी, अर्धवार्षिक रूपमा भुक्तानी गरेमा ९९ हजार भुक्तानी गर्नुपर्छ । त्रैमासिक रूपमा १ लाख रुपैयाँ नै भुक्तानी गर्नुपर्ने हुन्छ । मासिक रूपमा भुक्तानी गरेमा १२ महिनासम्म भुक्तानी गरेको रकम १ लाख ५ हजार हुन जान्छ । अर्थात, वार्षिक भुक्तान गर्दा बीमितलाई नै फाइदा हुने देखिन्छ । (ख) मेडिकेयर (आपतमा राहत) ः यो राइडर (अतिरिक्त) पोलिसी हो । यो म्यादी पोलिसी हो । हरके एक वर्षमा यसको नवीकरण गर्नुपर्ने हुन्छ । यो पोलिसीले दुर्घटना र घातक रोकको लागि क्षतिपूर्ति प्रदान गर्दछ । दुर्घटना र घातक रोग गरी १५ वटा अवस्थाको यो पोलिसीले बहन गर्छ । यो पोलिसी अन्य मुख्य पोलिसी खरिद गर्दा सँगसँगै खरिद गर्ने पोलिसी हो । यो मात्र खरिद गर्न पाइँदैन । ५ वर्ष पूरा भएको र ६९ वर्ष ननाघेको व्यक्तिले यो पोलिसी अतिरिक्तको रूपमा लिन सक्नेछ । पोलिसीले क्षतिपूर्ति प्रदान गर्ने दुर्घटना र घातक रोकको सूची: १. सडक, घर वा कार्यस्थलमा हुने दुर्घटना २. एपेन्डिसाइटिस ३. प्यान्क्रियाटाइटिस ४. हृदयाघात ५. मस्तिष्कघात ६. विद्युतीय तथा अन्य जलन ७. डुबान ८. खाद्य विषाक्तता वा विषाधिबाट हुने संक्रमण ९. आन्द्रामा रगत बग्ने १०. कीरारसर्प टोकाइ ११. तापघात १२. मस्तिष्कमा चोट १३. गर्भाशय बाहिरको गर्भ १४. मानसिक स्वास्थ्य संकट १५. घाउमा संक्रमण शुल्क र बीमांक एक लाख रुपैयाँ बीमांक रकमको यो पोलिसी खरिद गर्दा १ हजार ३९३ रुपैयाँ बीमाशुल्क लाग्छ । अर्थात माथि उल्लेखित रोग तथा दुर्घटना भएमा एक लाख रुपैयाँसम्मको उपचार खर्च यस पोलिसीले गर्नेछ । आपतकालीन अवस्थामा निम्न सुविधाहरू पाउन सकिन्छ: शल्यक्रियासहित अस्पतालमा रहँदाः पहिलो २ दिनको लागि प्रत्येक दिन बीमाङ्क रकमको २५५ तत्पश्चात थप ५ दिन सम्मको लागि प्रत्येक दिन बीमाङ्क रकमको १० प्रतिशत । शल्यक्रिया बिना अस्पतालमा रहँदाः १० दिन सम्मको लागि प्रत्येक दिन बीमाङ्क रकमको १० प्रतिशत। यो सुविधा निम्न अवस्थाहरुमा लागू हुँदैनः १. नियमित स्वास्थ्य जाँच भइरहेको स्वास्थ्य समस्याहरूको लागि आपतकालीन भर्ना वा इएम् मार्फत नियमित अस्पताल भर्नाहरूमा लागू हुँदैन । २. गैरकानुनी रूपमा संलग्न भएर घाइते भई बिरामी भएमा लागू हुँदैन, अस्पताल भर्ना अवधि २४ घण्टाभन्दा कम भएमा यो सुविधा लागू हुँदैन ।

सिटिजन्स बैंकको लाभांश घोषणा, यस्तो छ इतिहास

काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यससँगै बैंकले आफ्नो लाभांश वितरणमा निरन्तरता दिएको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारितपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ । विगत १८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले सर्वसाधारणलाई आईपीओ जारी गर्नेदेखि नै निरन्तर लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औषत लाभांश दर ११.५६ प्रतिशत रहेका बैंकले जनाएको छ । प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औषत लाभांश दर १२.१० प्रतिशत हुन आउने बैंकको दाबी छ । यसअघि बैंकले आर्थिक वर्ष २०७९/८० मा ५.७९ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा ९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ३ प्रतिशत बोनस र १२ प्रतिशत नगद गरि कुल १५ प्रतिशत, आर्थिक वर्ष २०७४/७५ मा ३.६२८ प्रतिशत बोनस सेयर र १.६३५ प्रतिशत नगद गरी कुल ५.२६३ प्रतिशत, आर्थिक वर्ष २०७३/७४ मा १६ प्रतिशत बोनस र १ प्रतिशत नगद गरि कुल १७ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष २०७२/७३ मा १५.८ प्रतिशत बोनस र ०.८३ प्रतिशत नगद गरि कुल १६.६३ प्रतिशत लाभांश, आर्थिक वर्ष २०७१/७२ मा २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरि कुल २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७०/७१ मा १३ प्रतिशत बोनस र ५.९५ प्रतिशत नगद गरि कुल १८.९५ प्रतिशत लाभांश वितरण गरेको थियो । यसैगरी, आर्थिक वर्ष २०६९/७० मा १५ प्रतिशत, आर्थिक वर्ष २०६८/६९ मा ८.४२ प्रतिशत नगद र आर्थिक वर्ष २०६७/६८ मा ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद गरि कुल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

विश्वको सबैभन्दा ठूलो सहकारी, ५ महादेशमा व्यवसाय बिस्तार

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले सन् २०२४ मा सार्वजनिक गरेको विश्वका तीन सय ठूला सहकारीहरूको सूचीअनुसार कूल वार्षिक कारोबार २.४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ । यो अघिल्लो आधार वर्षभन्दा बढी हो । सन् २०२३ मा सार्वजनिक गरिएको प्रतिवेदनमा ३ सय ठूला सहकारीहरूको संयुक्त कारोबार वार्षिक करिब २.१७ ट्रिलियन अमेरिकी डलर थियो । आईसीएले सहकारी तथा सामाजिक उद्यमसम्बन्धी युरोपियन रिसर्च इन्स्टिच्युट (यूरिक्स) को प्राविधिक सहयोगमा विश्वका ३ सय ठूला सहकारीहरूको सूची २०२३ सार्वजनिक गरेको हो । आईसीएले वार्षिक कारोबारको आधार र कूल ग्रार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात गरी दुई आधारमा ‘वर्ल्ड कोअपरेटिभ मनिटर २०२३’ सार्वजनिक गरेको हो । दुबै आधारमा कृषि क्षेत्रमा काम गर्ने सहकारीहरूको बाहुल्यता रहेको छ । सन् २०२१ लाई आधार मानेर आईसीएले हालै अभौतिक रूपमा सार्वजनिक गरेको ३ सय ठूला सहकारीहरूको सूची समावेश भएको प्रतिवदेनले कारोबारको आधारमा ३ सय ठूला सहकारीहरूमध्ये १०५ कृषि सहकारीहरू रहेको देखाएको छ । त्यस्तै, कूल ग्राहस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात आधारमा पनि ३ सयमध्ये १०३ कृषि सहकारीहरू नै छन् । पहिलो आधारमा बीमा सहकारीहरू ९६ वटा, थोक तथा खुद्रा सहकारी व्यवसायहरू ५७ वटा रहेका छन् । यस्तै, दोस्रो आधारका ३ सय ठूला सहकारीहरूमा कृषिपछि ८७ वटा बीमा सहकारी परेका छन् । थोक तथा खुद्रा सहकारी व्यवसाय ५६ वटा रहेका छन् । ३९ वटा वित्तीय सहकारी यो आधारमा ‘उच्च ३ सय भित्र’ परेका छन् भने वार्षिक कारोबारको आधारमा २७ वटा वित्तीय सहकारी मात्र परेको आईसीएको प्रतिवदेनमा उल्लेख छ । कूल ग्राहस्थ उत्पादनमा प्रतिव्यक्ति आयको कारोबार अनुपात आधारमा भारतका इफ्को तथा अमूल क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् । तेस्रो नम्बरमा फ्रान्सको ग्रुप एग्रिकोल रहेको छ । यसैगरी, वार्षिक कारोबारको आधारमा सूचीको पहिलो नम्बरमा फ्रान्सको ग्रुप क्रेडिट एग्रिकोल रहेको छ । दोस्रो नम्बरमा जर्मनीको रेभे रहेको छ । तेस्रो नम्बरमा ग्रुप बीपीसीई रहेको छ । १२औं संस्करणको वर्ल्डकोअपरेटिभ मनिटर जुम प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो । यसैगरी, वार्षिक कारोबारको आधारमा युरोपका १ सय ६६ देशका सहकारीहरू ३ सय ठूलाभित्र परेका छन् भने दक्षिण र उत्तर अमेरिकाका गरी ९४ वटा सहकारी तथा एशिया प्रशान्तका ४० सहकारी सूचीमा अटाएका छन् । विश्वव्यापी सहकारी कारोबारमा फ्रेन्चहरूको २५ प्रतिशत हिस्सा फ्रान्सेली (फ्रेन्च) सहकारीहरूले विश्व सहकारी अभियानको २५ प्रतिशत कारोबार हिस्सा ओगटेका छन् । हालै सार्वजनिक तथ्यांक अनुसार फ्रेञ्च सहकारीहरूले संयुक्त रूपमा ३४४.७५ विलियन अमेरिकी डलरको वार्षिक कारोबार गर्दछन् । कारोबारका आधारमा फ्रेञ्च अन्य युरोपेली मुलुकहरूसँगै विश्वका १ सय ठूला सहकारीहरूको तुलनात्मक अध्ययनले उक्त तथ्य पुष्टि गरेको हो । युरोपको मात्र कुरा गर्ने हो भने १ सय ठूला सहकारीहरूको तुलनात्मक अध्ययनका आधारमा फ्रेञ्च सहकारीको योगदान ३६.६ प्रतिशत रहेको पाइएको छ । युरोपका १ सय ठूला सहकारीहरूमा २३ वटा फ्रेन्च १४ वटा जर्मन र १२ वटा डच (नेदरल्याण्ड्सका) रहेका छन् । विश्वका १ सय ठूला सहकारीहरूले करिब ३० लाखलाई रोजगारी प्रदान गरेका छन् । जसमध्ये २५ लाख बढी (८० प्रतिशत) त युरोपेली सहकारीहरूमै खपत भएको छ । रोजगारीका आधारमा फ्रान्स जर्मनीभन्दा पछि छ । जर्मनीले ८ लाख ५७ हजार बढीलाई रोजगारी प्रदान गरेको छ । फ्रान्सेली सहकारीहरूले ६ लाख १३ हजार ३ सय ५१ जनालाई रोजगारी उपलब्ध गराएका छन् । स्वीट्जरल्याण्डले २ लाख २३ हजार ५ सय २२ जनालाई रोजगारी उपलब्ध गराएको छ । जर्मनीले १५.९ प्रतिशत, जापानले ११ प्रतिशत तथा अमेरिकाले १०.१ प्रतिशत कारोबार योगदान गरेको पाइएको छ । विश्वको सबैभन्दा ठूलो श्रमिक सहकारी मोन्डड्रागन स्पेनको बास्क क्षेत्र (रिजन) मा सन् १९५६ मा माेन्डड्रागन सहकारी स्थापना भएको हो । यो श्रमिक सहकारीहरूको केन्द्रीय संघ (फेडरेशन) हो । अहिले ९८ वटा श्रमिक सहकारीहरू यसका सदस्य छन् । यसले १४३ वटा सहायक कम्पनी र २५ वटा व्यावसायिक इकाईकासाथ विश्वका विभिन्न ५ महादेशमा आफ्नो व्यवसाय बिस्तार गरेको छ । यो सहकारीको छातामुनि कूल ८० हजार ८१८ श्रमिक काम गर्दछन् । स्पेनभित्र मात्र ६७ हजार बढी कर्मचारी काम गर्दछन् । यसले विशेषगरी वित्त, औद्योगिक प्रतिष्ठान, बिक्री केन्द्रहरू र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । यसले सञ्चालन गरेको माेन्डड्रागन विश्वविद्यालयमा ४७ सय भन्दा बढी विद्यार्थीहरू अध्ययन गर्दछन् भने १५ वटा अनुसन्धान तथा विकास केन्द्रहरू सञ्चालनमा रहेका छन् । यी केन्द्रहरू व्यावसायिक तालीम र अध्ययन अनुसन्धानको कार्यमा केन्द्रित छन् । यो स्पेनको दशौं ठूलो व्यावसायिक संगठन हो । यो विश्वकै सबैभन्दा ठूलो श्रमिक सहकारी पनि हो । यसको वार्षिक १२.२२ अर्ब यूरोको कारोबार रहेको छ । कार्यरत श्रमिकहरूमध्ये ४० प्रतिशत जति सहकारीका सदस्य छन् । औद्याेगिक सहकारीतर्फ भने ८० प्रतिशत श्रमिकहरू सहकारीका सदस्य रहेका छन् । सन् १९४३ मा जोसे मारिया एरिजमेन्डिएरेटा नाम गरेका क्याथोलिक पादरीले सहकारीको विकासको लागि योजना बनाएका हुन् । उनले सर्वप्रथम पहिले एउटा सहकारी प्राविधिक विधालयको स्थापना गरे । स्थानीय युवाहरूलाई रोजगारीको अवसरका साथै श्रमिक सहकारीको स्थापना उनको लक्ष्य रहेको थियो । सन् १९४८ मा यो विद्यालय दर्ता भएर सञ्चालनमा आयो । यसै विद्यालयबाट पहिलो पटक ११ जना सबैभन्दा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीहरूले स्पेनको जारागोजा विश्वविद्यालयमा औधोगिक इन्जिनियरिङ अध्ययन गर्ने अवसर पाए । सन् १९५५ मा तिनै ११ जना विद्यार्थीहरूमध्ये ५ जनाले एउटा टाट पल्टिएको हिटर र स्टोभ बनाउने फर्म खरिद गरे । एक वर्षभित्र उनीहरूले यो फर्म मोन्डड्रागनमा सारे । सन् १९५८ मा यो फर्म नै सहकारीमा रूपान्तरण गरियो जसको नाम फेगर राखियो । यही सहकारी पछि गएर स्पेनको सबैभन्दा ठूलो घरेलु सामान उत्पादन र बिक्री गर्ने व्यावसायिक संगठन बन्न पुग्यो । इरोस्की मोन्डड्रागनको श्रमिक उपभोक्ता सहकारी हो । यो स्पेनको सुपरमार्केट, हाइपर मार्केट र मलहरूको चेन हो । यसका २ हजार भन्दा बढी आउटलेटहरू विश्वभर फैलिएका छन् । त्यसैगरी यही समूह भित्रको काजा लेवर क्रेडिट युनियन (सहकारी) स्पेनको ९ औं ठूलो बैंक बन्न पुगेको छ । अन्तर वित्तीय सहकार्यका कारण, संस्थागत सुरक्षा पद्धतिका कारण संकटको बेला पनि एकले अर्कोलाई सहयोग गर्दै आइरहेका छन् । यसमा आबद्ध प्राय: सबै सहकारीहरूले विविध कठिनाइको सामना गरेका छन्। सायद यो सहकार्यको संस्कृति नभएको भए कतिपय सहकारीको अस्तित्व समाप्त हुने थियो । सन् १९९७ मा तीनवटा शिक्षा सहकारीहरू मिलेर मोन्डड्रागन विश्वविधालयको स्थापना भएको हो । प्राविधिक अनुसन्धान क्षेत्रमा विश्व प्रख्यात प्राविधिक केन्द्रहरू इकेरलान, इडेको र लोरटेक यसका सहायक संगठनहरू हुन्। यो विश्वविद्यालयको स्थापनामा तीन किसिमका साझेदारहरू रहेका छन् । विश्वविद्यालयको स्थापनामा श्रमिकको रूपमा शिक्षक, अनुसन्धानकर्ता र कर्मचारीहरू छन् भने अन्य लगानीकर्तामा सम्बन्धित सहकारी र सहायक कम्पनीहरू रहेका छन् । विद्यार्थीहरूसमेत यस विश्वविद्यालयका सदस्यहरू हुन् । (सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदनबाट)