सेलिब्रेटी हुनुको मजा नै बेग्लै, पारसले पाए ७५ लाख पर्ने दीपल सित्तैमा

काठमाडौं । सेलिब्रेटी बन्न गाह्रो । सेलिब्रेटी बनिसकेपछि  विभिन्न अवसरले घेर्छन् । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काको हकमा पनि यो लागू भएको छ । ‘म विगत ६/८ महिनादेखि नयाँ कार किन्ने सोचमा थिए । अबको समय विद्युतीय कारको हो भन्ने लागेको थियो । मैले विभिन्न कारहरू हेरें । मलाई दीपल मन पर्‍याे, ’ पारस खड्काकै शब्द थिए । राजधानीको मेरियट होटलमा आयोजित पत्रकार सम्मेलनमा खड्का आफ्ना विचार राख्दै थिए । ‘गाडीको लुक्स गज्जब छ । कार स्मूथ र कम्फर्टेबल पनि छ । कारमा हुनुपर्ने तर नभएको सुविधा केही पनि छैन, ’ उनले भने । दुई हप्तादेखि यो कार नियमित चढ्न थालेको पनि खड्काले सुनाए । ‘म अग्लो मान्छे, ६.२ फिट अग्लो छु । कारको अगाडि सिटमा बस्दा पनि, पछाडिको सिटमा बस्दा पनि आरामदायी लाग्यो । पावर पनि राम्रो छ । फ्यामली कार हो । पाँचजनाले आरामसँग यात्रा गर्न मिल्छ, ’ उनले भने । ‘कारको मूल्य पनि सस्तो लाग्यो । कम्पनीले ३० प्रतिशत बढी मूल्य राखेको भए पनि ग्राहकको रोजाइमा यो कार पर्दथ्यो होला । राम्रो पनि, सस्तो पनि भएर होला, नेपालको अटो बजारमा दीपल धेरैको रोजाइमा छ, ’ उनले थपे । रोचक विषय यो हो कि खड्काले दीपल कारको मूल्य कम भएको टिप्पणी गरेका थिए । त्योभन्दा रोचक कुरा उनले दीपल एस ०७ कार लिँदा मूल्य नै हाल्नु परेको रहेनछ । दीपलको ब्राण्ड एम्बेस्डर घोषणा कार्यक्रम थियो । ब्राण्ड एम्बेस्डर बन्ने बनाउने विषयमा दीपल कारको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि र पारस खड्काबीच सम्झौता कार्यक्रमपछि खड्का बोल्दै थिए । सेलिब्रेटी खेलाडी वा कलाकारलाई ब्राण्ड एम्बेस्डर बनाउँदा कर्पोरेट हाउसहरूले उनीहरूलाई राम्रो मूल्य तिर्छन् । तर त्यो मूल्य सार्वजनिक गर्न ब्राण्ड एम्बेस्डर बन्नेले पनि मान्दैनन्, कर्पोरेट हाउसले पनि मान्दैनन् । कम्पनीको क्षमता र कलाकारको ख्यातिका आधारमा ब्राण्ड एम्बेस्डरको शुल्क तोकिन्छ । ब्राण्ड एम्बेस्डर कति अवधिका लागि पनि भनेर तोकिन्छ । सामान्यत: कम्पनीहरूले ब्राण्ड एम्बेस्डरसँग १/२ वर्ष अवधिका लागि करार गरेका हुन्छन् । त्यस अवधिका लागि ५ लाखदेखि ५० लाख रुपैयाँसम्म शुल्क कलाकारले लिने गरेको पाइन्छ । कुनै कम्पनी र कलाकारबीच लामो समय ब्राण्ड एम्बेस्डरमा सहकार्य पनि भएको पाइन्छ । खड्काले एमएबडब्लु वृद्धिसँग लामो समय सहकार्य गर्न चाहेको बताए । ब्राण्ड एम्बेस्डर बनेबापत कम्पनीले खड्कालाई कुनै रकम नदिई दीपल एस ०७ दिएको हो । कम्पनीले कारको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । एमएबडब्लु वृद्धिकी बजार प्रमुख पुनम सिंहका अनुसार खड्का दीपलको ब्राण्ड एम्बेस्डर भएर दीपलसँग सहकार्य गरेवापत उक्त कार हस्तान्तरण गरिएको बताइन् । त्यसवापत खड्काबाट कम्पनीले कुनै भुक्तानी लियो कि लिएन भन्ने प्रश्नमा उनले भनिन्, ‘कुनै भुक्तानी लिएको छैन । हामीले खड्कालाई ग्राहक बनाएका होइनौं, ब्राण्ड एम्बेस्डर बनाएका हौ ।’ उनले यसलाई भुक्तानी लिएको वा उपहार दिएको भन्नेभन्दा पनि दुई पक्षबीचको सहकार्य भएको रूपमा बुझ्नु पर्ने बताइन्। ‘कुनै कम्पनीले ब्राण्ड एम्बेस्डरसँग ५०/६० प्रतिशत छुट दिने र बाँकी पैसा लिने गरेको पनि हामीले सुनेका छौं । तर पैसा लिएपछि ग्राहक हुन्छ, ब्राण्ड एम्बेस्डर हुँदैन । हामीले ब्राण्ड एम्बेस्डरसँग पैसा लिएका छैनौं, ‘ कम्पनीका उच्च अधिकारीले भने । कम्पनीका प्रबन्ध निर्देशक विवेक शिकारियाले खड्कालाई ब्राण्ड एम्बेस्डरमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।

जहाँ हुन्छन् दिपेन्द्र अग्रवाल, त्यहाँ हुन्छ उग्रविवाद

काठमाडौं । दिपेन्द्र अग्रवाल पुँजी बजारप्रति चासो दिने धेरैले चिन्ने नाम हो । सेयर बजारमा सक्रिय लगानीकर्ता दिपेन्द्र विभिन्न कम्पनीको सञ्चालकसमेत बनिसके । पुँजी बजारको विकासका लागि बेलाबखत राम्रा विषय उठान पनि गर्छन् । बजारमा छिर्ने नयाँ लगानीकर्ताले उनलाई पछ्याउँछन् पनि । तर, सामाजिक सञ्जालमा उनको सतही र नकारात्मक टिप्पणीले उनको पहिचान खस्किरहेको छ । उनीमाथि बेलाबखत लगानीकर्तालाई फसाउने आरोप पनि लाग्छ । त्यसको उनी खुलेरै आलोचना पनि गर्छन् । तर, जुन किसिममा नयाँ पुस्ताले उनलाई पछ्याइरहेका छन्, त्यो किसिमको पहिचान उनले स्थापित गर्न सकेका छैनन् । सेयर बजार प्राविधिक ज्ञान, विवेक र क्षमता भएकाहरूको लगानी गर्ने साझा प्लेटफर्म हो । यहाँ एकले अर्काको पैसा खोस्ने खोस्ने प्रतिस्पर्धा हुन्छ । एकले गुमाउँदा अर्को कमाउँछ । तर, लगानीकर्ता दिपेन्द्र उदार बन्ने प्रयत्न गर्छन् र समाजिक सञ्जालमा ‘यो सेयर किन, त्यो सेयर बेच’ भन्ने लगायतका भ्रमपूर्ण टिप्सहरू राखेर नयाँ लगानीकर्तालाई ‘सेयरको पासो’मा पार्छन् । त्यस कारण पनि उनी विभिन्न समयमा विवादित बन्छन् । उनी जहाँ आवद्ध हुन्छन्, त्यहीं आलोचित र विवादित बन्ने उनको पहिचान बनिसकेको छ । हालसम्म उनी आवद्ध भएको एक दर्जन बढी ठाउँमा विवादित बनिसकेका छन् । मेगा बैंकबाट निकालिए एक दशकअघि साविक मेगा बैंकको सञ्चालक बन्न चाहन्थे दिपेन्द्र । २०७० सालमा साविक मेगा बैंकको सञ्चालक बन्न वार्षिक साधारणसभामा सर्वसाधारण समूहबाट उम्मेदवारी दिए । अन्य कसैले उम्मेदवारी नदिएपछि उनी स्वतः साविक मेगा बैंकको सञ्चालकमा निर्विरोध चयन भए । जब उनी बैंकको सञ्चालक बने त्यसपछि बैंकका लागि उनी टाउको दुखाइको विषय बने । साविक मेगा बैंक स्रोतका अनुसार चार वर्षका लागि सञ्चालक बनेका दिपेन्द्र सञ्चालक बनेपछि बैंकका लागि चिन्ताको विषय बनेको थियो । किनभने उनी सञ्चालक समितिका अधिकांश निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेर विमति जनाउँथे ।  उनले सञ्चालक समितिमा भएका छलफल र निर्णयलाई अडियो रेकर्ड गरेर सार्वजनिक गरेकाे आरोप पनि लाग्थ्यो । बैठक सकिएपछि अडियो रेकर्डलाई सीडीमा राखेर बिक्री गर्ने गरेको आरोप पनि उनले अहिलेसम्म खेप्दै आएका छन् । ‘सञ्चालक समितिको बैठकमा जे विषयमा पनि नोट अफ डिसेन्ट लेख्नुहुन्थ्यो, चार वर्ष सञ्चालक रहँदा बैंकलाई धेरै गाह्रो भयो,’ स्रोतले भन्यो,  ‘अनि सञ्चालक समितिका निर्णयलाई रेकर्ड गरेर सबैलाई बाँड्ने काम गर्नु हुन्थ्यो ।’ पछि साधारणसभा आउनुअगावै बैंकले सञ्चालक समितिबाट दिपेन्द्रलाई बर्खास्त गर्‍याे । आफूलाई बैंकले अन्याय गरेको भन्दै उनले नेपाल राष्ट्र बैंकमा उजुरी समेत दिए । तर, उनको उजुरीलाई राष्ट्र बैंकले चासो नै दिएन । पछि खारेज गर्‍याे । दीपेन्द्र दोस्रोपटक बैंक सञ्चालक बन्न निर्वाचन लडे । तर, पराजित भए । जीआईसीमा सेयर चलखेल मेगा बैंकको सञ्चालबाट निकालिएका दिपेन्द्र साविक जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) को सञ्चालक पनि बने । जीआईसीमा भने उनी संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै सञ्चालक बनेका थिए । रोचक विषय के छ भने उनी यस कम्पनीमा पनि निर्विरोध सञ्चालकमा चयन भएका थिए । तर, उनले सञ्चालक पदमा रहेकै समयमा सेयरमा चलखेल गरेको आरोप उनीमाथि लाग्यो । उनीविरुद्ध उजुरी परेपछि नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति)ले स्थलगत निरीक्षण गर्‍याे । स्थलगत निरीक्षणबाट अग्रवालले निर्देशिका विपरीत सेयर खरिदबिक्री गरेको आरोपमा बीमा प्राधिकरणले अग्रवाललाई कारबाही गर्‍याे । ‘अग्रवाललाई कम्पनीको लगानी समितिको संयोजकको जिम्मेवारी दिइएको थियो । तर, उनले बीमा कम्पनीको फण्ड लगानी गर्न खोलिएको ब्रोकर अकाउन्टको टीएमएस पासवर्डलाई गलत प्रयोग गर्नुभयो । कम्पनीको ब्रोकर टीएमएस खाताबाट व्यक्तिगत रूपमा कारोबार गरेको पाइयो,’ प्राधिकरण स्रोतले भन्यो, ‘त्यसपछि कारबाही गरेका थियौं ।’ निलम्बनमा परेका दीपेन्द्र २ वर्षमै राजीनामा दिएर कम्पनीबाट बाहिरिए । त्यहाँ पनि उनी विवादित बनेर बाहिरिएका थिए । विवाद गर्दै ब्रोकर फेर्दै लगानीकर्ता र ब्रोकर कम्पनीबीच विश्वासका आधारमा कारोबार हुन्छ । त्यसैले पनि लगानीकर्ता र ब्रोकरबीच लेनदेनका विषयमा विवाद भएको खासै सुनिँदैन । तर, लगानीकर्ता दीपेन्द्र जुन ब्रोकर कम्पनीबाट कारोबार गर्छन्, सो कम्पनीमा विवादित भएरै निस्किन्छन् । पछिल्लो समय सिप्ला सेक्युरिटज प्रालि (ब्रोकर नम्बर २०) र दीपेन्द्रबीचको विवाद छताछुल्ल मात्रै भएको छैन, त्यसले एउटा जटिल रूप निर्धारण गरेको छ । ‍यसमा को दोषी र को निर्दोषी भन्ने विषय समयले निर्धारण गर्ला । ब्रोकर कम्पनीले कारोबारबापतको रकम नदिएको आरोप लगानीकर्ता दीपेन्द्रले लगाएका छन् । सिप्ला सेक्युरिटिजले भने दीपेन्द्रले ब्रोकर कम्पनीलाई तिर्नुपर्ने रकम लिनुपर्ने भन्दा बढी रहेको र उनले कम्पनीको चेक चोरेको आरोप लगाएको छ । कम्पनीका अनुसार दिपेन्द्र अग्रवालबाट विगतमा धेरै ब्रोकर कम्पनी पीडित भएका थिए । त्यसैले उनीबाट सचेत रहन र तत्कालै कारोबार रोक्का गरी निजसँगको हिसाब चुक्ता गर्न सबै ब्रोकर कम्पनीलाई सिप्ला सेक्युरिटिजले सुझावसमेत दिएको छ । लगानीकर्ता दीपेन्द्र र २० नम्बर ब्रोकरबीच सेयर कारोबारको हिसाब मिलानका विषयमा विवाद भएको हो । उनीसँगको हिसाब फरकफारक गर्न सिप्लाका प्रतिनिधि एक करोड रुपैयाँका दरले १६ करोड रुपैयाँका १६ वटा चेक लिएर असोज ४ गते ग्लोबल आइएमई बैंकको टोखा शाखामा पुगेका थिए । तर, लगानीकर्ता दीपेन्द्रले प्रतिनिधिलाई झुक्याएर बैंकका शाखा प्रबन्धकसमक्ष गएर हिसाब मिलान गर्न लगाउँछु भन्दै चेक लिएर फरार भएको ब्रोकर कम्पनीको आरोप छ । लगानीकर्ता दीपेन्द्रले भने सेयर कारोबार गरेबापतको ८ करोड रुपैयाँ र केही सेयर नदिएको ब्रोकर कम्पनीमाथि आरोप लगाएका छन् । सिप्ला सेक्यूरिटिज र लगानीकर्ता दीपेन्द्रबीचको विवाद नेपाल स्कट एक्सचेञ्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन) र प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुगिसकेको छ । तर, यो विवादको समस्या समाधान हुन सकेको छैन । दीपेन्द्रका अनुसार सीआईबीमा भएको सहमतिअनुसार एक साताभित्र हिसाब मिलान गर्ने भनेर सिप्ला सेक्युरिटिजले प्रतिबद्धता गरेको थियो । तर, चेक दिएर फेरि एक साता समय मागेको उनले बताए । कम्पनीले आरोप लगाए जसरी चेक लिएर आफू नभागेको उनकाे को दाबी छ । अहिले कम्पनीले दिएको चेक बाउन्सका लागि उजुरी समेत दिइसकेको उनले बताए । लगानीकर्ता दीपेन्द्रले विवाद गरेको सिप्ला सेक्यूरिटिज मात्रै पहिलो ब्रोकर कम्पनी होइन । यसअघि पनि थुप्रै ब्रोकर कम्पनीसँग उनको विवाद परेको थियो । विवाद भएपछि उनी ब्रोकर कम्पनी फेर्दै आएका छन् । यसअघि उनले श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नम्बर २८) र साउथ एशियन बुल्स (ब्रोकर नम्बर ४३)सँग पनि विवाद गरेका थिए । स्रोतका अनुसार साउथ एशियन बुल्ससँगको विवाद मारवाडी सेवा समुदायको मण्डलले सल्टाएको थियो । ‘४३ नम्बर ब्रोकर पनि अग्रवालकै हो, उनी दिपेन्द्रकै आफन्त पर्छन्, सिप्लाको जस्तै विवाद ४३ नम्बर ब्रोकरसँग भएको थियो,’ नेप्से स्रोतले भन्यो,  ‘त्यो लफडा नेप्सेबाट सेबोनमा गयो । तर, नसल्टेपछि मारवाडी सेवा समुदायमा लगेर सल्टाएको थियो । आफूहरूको बेइज्जत गर्नु हुँदैन भनेर मिलाएका थिए ।’ एक पीडित ब्रोकरका अनुसार लगानीकर्ता दीपेन्द्रले आफ्नोसहित आफ्ना नाता पर्ने आफन्त र विभिन्न व्यक्तिको थुप्रै टीएमएस खाता खोल्छन् । उनकै विश्वासमा अन्य व्यक्तिको कारोबार पनि ब्रोकर कम्पनीबाट गर्छन् । तर, कारोबारको भुक्तानी दिने बेलामा भने सम्बन्धित व्यक्तिसँगै माग्नु भनेर रकम तिर्नबाट पन्छिने गरेको ती ब्रोकर व्यवसायीको गुनासो छ । आफ्नो नामबाट भएको कारोबार रकम तत्काल भुक्तानी गर्न ब्रोकर कम्पनीलाई ताकेता गरिरहन्छन् । ‘सबैको नाममा खाता खोलेर कारोबार गर्न लगाउँछन्, सेयर कारोबारमा कतिपय लिनुपर्ने हुन्छ भने कतिपयमा दिनुपर्ने हुन्छ । दिनुपर्ने रकमका बारेमा म जान्दिनँ भन्छन् । जसको नाममा कारोबार गरेको हो उसैसँग माग्नु भन्छन्,’ पीडित ब्रोकरले भने, ‘आफूले लिनुपर्ने रकम भने धम्काउँदै माग्छन् ।’ गोल्ड म्यान इन्भेष्टमेन्टमा धितोपत्र बोर्डको हस्तक्षेप लगानीकर्ता दीपेन्द्रले पूर्वउपप्रधानमन्त्री उपेन्द्र महतोलाई बोलाएर २०७८ पुसमा गोल्डम्यान इन्भेष्टमेन्ट प्रालि सञ्चालनमा ल्याएका थिए । तर, कम्पनीले धितोपत्र ऐन विपरीत कार्य गरेको भन्दै नेपाल धितोपत्र बोर्डले कारोबार रोकी अनुसन्धानका लागि सीआईबीमा फाइल पठाएको थियो । पछिल्लो समय प्रतिनिधिसभा सदस्य तथा सांसद अमरेस सिंहसँग पनि उनको विवाद चुलिएको छ । सांसद सिंहले उनलाई कम्पनीहरूको सेयरमा चलखेल गरेको आरोप लगाएका छन् । आफू ३० वर्षदेखि सेयर बजारमा सक्रिया रूपमा कारोबार गर्दै आएको र कसैको एक रुपैयाँ नखाएको लगानीकर्ता दीपेन्द्र बताउँछन् ।

टप कम्पनीबाट दर्जनौं कर्मचारी ‘हन्टिङ’ गर्दै सन नेपाल, फुयाँल डीसीईओ बन्दै

काठमाडौं । सन नेपाल लाइफ इन्स्यारेन्सले बीमा क्षेत्रमा उत्कृष्ट काम गरिरहेका कर्मचारीलाई राम्रो तलब सुविधासहित भित्र्याउने रणनीति बनाएको छ । कम्पनीले विभिन्न बीमा कम्पनीमा काम गर्ने कर्मचारीलाई आकर्षक तलब सुविधा तथा अफरहरू सुनाएर आफ्नो कम्पनीमा आकर्षित गरिरहेको हो । अहिले पनि धेरै कम्पनीबाट सन नेपालमा प्रवेश गरिसकेका छन् । अहिले धेरैजसो आईएमई लाइफ इन्स्योरेन्सका कर्मचारी सन नेपालमा प्रवेश गरेका छन् । सिटिजन लाइफ इन्स्योरेन्सका पनि आधा दर्जन बढी कर्मचारी सनमा भित्रिएको बुझिएको छ । आइएमई लाइफका माइक्रो इन्स्योरेन्स विभाग र वैदेशिक रोजगार म्यादी जीवन बीमा विभाग प्रमुख बनेका जनक फुँयालले कम्पनी छोडेका छन् । उनी आइएमई लाइफ छोडेर सन नेपाल लाइफ गएको स्रोतले जानकारी दिएको छ । यसैगरी, आइएमईको वैदेशिक रोजगार म्यादी जीवन बीमा विभागको ताहाचल शाखा प्रमुख ज्ञानेन्द्र गौतम, भक्तपुरको एरियल म्यानेजर सनत सत्याल र कम्पनीको बजार प्रमुखको रूपमा रहेका गणेश चौलागाईं पनि सन नेपालमा गरिसकेका छन् । सन नेपालले आइएमईको भन्दा राम्रो सेवा सुविधा दिने सर्तमा उनीहरूलाई बोलाएको हो । उनीहरूबाहेक आइएमईका अन्य कर्मचारीलाई सन नेपालले विभिन्न अफर गरिरहेको बुझिएको छ। स्रोतका अनुसार हालसम्म एक दर्जन कम्पनीले आईएमई छोडेर सनमा गइसकेका छन् भने थप अन्य कर्मचारी पनि सनमा जाने तयारी गरेका छन् । डीसीईओ बन्दै फुयाँल केही साताअघि आइएमईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका कवि फुँयाल कम्पनीबाट बाहिरिए । उनी आइएमईबाट बारिरिएसँगै कुन कम्पनीमा जालान् भन्ने निकै चासोको विषय थियो । अन्ततः उनी सन नेपालमा जाने पक्कापक्की भइसकेको बुझिएको छ । तर, कुलिङ पिरियडका कारण उनी रोकिएका छन् । फुँयाल वरिष्ठ नायब प्रमुख कार्यकारी (डीसीओ)को रूपमा सन नेपाल लाइफमा प्रवेश गर्ने तयारी भइरहेको स्रोतको दाबी छ । यद्यपि सन नेपालले उनलाई डीसीईओलाई ल्याउने विषय हल्ला मात्रै भएको औपचारिक जवाफ दिएको छ । सिटिजनका कर्मचारी पनि सनमा जाँदै सिटिजन लाइफको काठमाडौं एरियल म्यानेजरको रूपमा रहेकी लोकमाया अधिकारी पनि सनमा प्रवेश गरेकी छन् । उनी सनको बागमती प्रदेश प्रमुखको रूपमा सनमा भित्रिएकी हुन् । उनीसँगै अन्य कर्मचारीहरू पनि सनमा भित्रिसकेका छन् । हाल सन नेपाल लाइफको व्यवस्थापकीय नेतृत्व राजकुमार अर्यालले गरिरहेका छन् भने बोर्डको नेतृत्व अनुज केयालले गरिरहेका छन् । राम्रा कर्मचारीलाई भित्र्याएर आक्रामक ढंगले अगाडि बढ्ने रणनीति सन नेपालले बनाएको बुझिएको छ ।