अझै घट्यो बैंकहरूको ब्याजदर, चैतमा १६ बैंकले स्थिर राख्दा ४ बैंकले चलाए ब्याजदर

काठमाडौं । चैतमा वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । आज चैत १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएके बैंकको ब्याजदर सामान्य घटेको हो । चैतमा बैंकहरूको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ब्याजदर ५.९८ प्रतिशत र संस्थागततर्फ ४.४३ प्रतिशतमा झरेको छ । जबकी गत फागुनमा व्यक्तिगततर्फ औसत ब्याजदर ६ प्रतिशत र संस्थागततर्फ ४.४९ प्रतिशत थियो । यसआधारमा बैंकहरूको ब्याजदर चैतमा व्यक्तिगततर्फ औसत ०.०२ प्रतिशत र संस्थागततर्फ ०.०६ प्रतिशत घटेको देखिन्छ । चैतमा अधिकांश बैंकहरूले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएपनि विभिन्न ४ बैंकले भने सामान्य परिवर्तन गरेका छन् । कुमारी बैंक र लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएका छन् भने नेपाल बैंक र हिमालयन बैंकले ब्याजदर घटाएका छन् । कुमारी बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत ब्याजदर बढाएका छन् । तर, नेपाल बैंकले ०.१ प्रतिशत र हिमालयन बैंकले ०.७५ प्रतिशत ब्याजदर घटाएका छन् ।  

मुख्य व्यापारिक साझेदारमाथि आक्रामक बने ट्रम्प, स्टील र एल्युमिनियम आयातमा २५ प्रतिशत कर

काठमाडौं । संयुक्त राज्य अमेरिकाले ह्वाइट हाउसले प्रतिबद्धता गरेअनुसार स्टिल र एल्युमिनियमको आयातमा लगाइएको व्यापक करलाई ‘कुनै अपवाद वा छुट बिना’ लागू गर्दै बुधबार आफ्नो करको दायरालाई व्यापक बनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै धातुमा लगाएको २५ प्रतिशत करले घरेलु उपकरण, सवारी साधन र पेय पदार्थमा प्रयोग हुने क्यानसम्मका विभिन्न वस्तुको उत्पादन लागतमा वृद्धि हुने सम्भावना छ । करवृद्धिसँगै मूल्यमा प्रभाव पारेमा यो अचम्मको बिषय हुने छैन,’ उनले भनेका छन् । उनले अमेरिका कार निर्माता र आवासीय र व्यावसायिक दुवै भवन निर्माण गर्ने देशमा इस्पातको विश्वका सबैभन्दा ठूला प्रयोगकर्तामध्ये एक भएको बताएका छन् । युरोपेली आयोगले संयुक्त राज्य अमेरिकाबाट ‘अनुचित व्यापार प्रतिबन्ध’ को प्रतिक्रियामा अप्रिल १ देखि ‘प्रतिकारको शृङ्खला’ लागू गर्ने बताएको अन्तर्राष्ट्रिय माध्यममा उल्लेख छ । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘अमेरिकाले २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाइरहेकोले हामी त्यसको प्रतिकारका लागि त्यति नै रकम बराबरको करवृद्धिका साथ जवाफ दिइरहेका छौँ ।’ ट्रम्पले अमेरिकाका प्रमुख व्यापारिक साझेदार क्यानडा, मेक्सिको र चीनमाथि भारी कर लगाएका छन् । अप्रिल २ देखि नयाँ कर लगाउने वाचा गर्दै आफ्नो छिमेकी मुलुक (मेक्सिको र क्यानडा) का लागि आंशिक रुपमा मात्र कर फिर्ता लिने घोषणा गरेका छन् । ईवाईका प्रमुख अर्थशास्त्री ग्रेगरी डाकोको हालैको प्रषेपण अनुसार पछिल्लो शुल्कले क्यानडालाई निकै ठूलो असर पार्नेछ, क्यानडाले अमेरिकी एल्युमिनियम आयातको लगभग आधा र यसको इस्पात आयातको २० प्रतिशत आपूर्ति गर्नेछ । क्यानाडाबाहेक, ब्राजिल र मेक्सिको पनि स्टीलको प्रमुख अमेरिकी आपूर्तिकर्ताहरू हुन् । त्यसैगरी, संयुक्त अरब इमिरेट्स (युएई) र दक्षिण कोरिया एल्युमिनियमको प्रमुख प्रदायकहरू मध्ये एक हुन्। बुधबारको कर पहिलेको भन्दा माथि छ । यसको मतलब केही क्यानाडा र मेक्सिको स्टील र एल्युमिनियम उत्पादनहरूले यूएस–मेक्सिको–क्यानाडा सम्झौता (यूएसएमसीए) को अनुपालन नगरेसम्म ५० प्रतिशत कर दरको सामना गर्न सक्दछन् । ट्रम्पको व्यापार योजनामा अनिश्चितता र यसले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई मन्दीमा धकेल्न सक्ने चिन्ताले वित्तीय बजारलाई तहसनहस पारेको छ, ‘वाल स्ट्रिट इन्डेक्स’ मङ्गलबार लगातार दोस्रो दिन ओरालो लागेको छ । तर ट्रम्पले वाल स्ट्रिटमा मङ्गलबार भएको नोक्सानीलाई नकार्दै अर्थतन्त्रलाई सम्हाल्ने विषयमा आफूले कुनै मन्दी नदेखेको बताएका छन् । ‘बम्पी’ सङ्क्रमण ट्रम्पका व्यापार निर्णयहरू अस्थिरताका साथ आएका छन्, राष्ट्रपतिले क्यानाडाको इस्पात र एल्युमिनियममा कर दरलाई दोब्बर गरेर ५० प्रतिशतमा झार्ने चेतावनी दिएका छन् । क्यानडाको ओन्टारियो प्रान्तले यसअघि अमेरिकी करको बदलामा तीन वटा अमेरिकी राज्यमा विद्युत महशुल लगाउने निर्णय गरेको थियो । वासिङ्टन र ओटावाले व्यापार तनाव बढेसँगै दिनभर व्यापक करका चेतावनी आदानप्रदान गरे र ट्रम्पले आफ्नो देशको उत्तरी छिमेकीलाई गाभ्ने उत्तेजक योजनाहरूबारे भनाइहरूलाई दोब्बर गरे । तर, वासिङ्टनसँगको वार्तापछि ओन्टारियोले करवृद्धिलाई रोकेको थियो । ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले ट्रम्पले अमेरिकी जनतालाई जिताउनका लागि ‘अमेरिकी अर्थतन्त्रको लाभ’ प्रयोग गरेको बताएका छन् । ओन्टारियोका सरकार प्रमुख डग फोर्ड, अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरबीच बिहीबार वासिङ्टनमा भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसका वरिष्ठ सल्लाहाकार पिटर नाभारोले ट्रम्पले कर वृद्धिबारे गरेको प्रश्नको जवाफमा यो प्रक्रिया ‘वार्ता’ भएको बताए । ‘यो सङ्क्रमण हो’ उनले भने, ‘यो कहिलेकाहीं हुन्छ । शायद यो एक सानो राजनीतिक उथलपुथल हो ।’ व्यापक अनिश्चितता पछिल्लो कर लागू हुनुअघि नै, निर्माताहरूले लागत प्रभावी घरेलु आपूर्तिकर्ताहरू फेला पार्न सङ्घर्ष गरिरहेका छन् । काटो इन्स्टिच्युटको प्याकार्डका अनुसार संरक्षणवादको धम्कीले अमेरिकी स्टिल र एल्युमिनियम कम्पनीहरूलाई आफ्नो मूल्य बढाउन अनुमति दिएको छ। ‘यसले ठूलो मात्रामा अनिश्चितता सिर्जना गरिरहेको छ,’ उनले भनेका छन् । अमेरिकी स्टिल प्रयोग गर्ने केही अमेरिकी उत्पादकहरूले करवृद्धिलाई सकारात्मक विकास मान्छन् किनकि यसले उनीहरूको व्यवसायलाई बढावा दिएको छ। अन्यले भने करले आयातको लागत बढाउने र अमेरिकी निर्मित सामानहरू पनि त्यत्तिकै महँगो हुने चेतावनी दिएका छन् । ईवाईका डाकोले पनि नयाँ स्टिल र एल्युमिनियमको कर ट्रम्पले सन् २०१८ मा लागू गरेको कदमभन्दा बढी भएको उल्लेख गरेका छन् । यस पटक एल्युमिनियम आयातमा पनि उच्च दर छ र विद्यमान प्रतिबन्धहरूमा तहगत शुल्कको साथ यसले ‘धेरै उद्योगहरूमा विदेशी स्रोतहरूलाई अधिक महँगो बनाउने सम्भावना छ । अस्ट्रेलिया र जापानजस्ता अमेरिकी साझेदारहरूले हालैका दिनमा बहिष्करणका लागि दबाब दिन वासिङ्टनको भ्रमण गरे तापनि बुधबार लागू करमा उनीहरूलाई पनि छुट मिलेको छैन । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कर ‘पूर्णतया अनुचित’ भएको तर आफ्नो देशले त्यसको प्रतिकार नगर्ने बताएका छन् । ट्रम्पले आफ्नो पहिलो प्रशासनमा जस्तै अन्ततः केही देशलाई राहत दिने र अन्य देशसँगको सम्झौता कटौती गर्ने वा नगर्ने भन्ने स्पष्ट छैन । ट्रम्पले वासिङ्टनले अनुचित ठानेको व्यापार अभ्यासलाई सुधार गर्न अप्रिल २ सम्ममा छुट्टै पारस्परिक कर लगाउने वाचा गरेका छन्, जसले थप उत्पादन र व्यापारिक साझेदारहरूलाई विशेष रूपमा लक्षित गर्ने सम्भावना बढाएको छ । एजेन्सीकाे सहयाेगमा ।

बीएन घर्ती : फोकटमा फँसे, जबरजस्त जमे

काठमाडौं । नेपाली कथन छ, ‘हुने हार, दैव नटार ।’ हो, बैंकर बालनरसिंह (बीएन) घर्तीको जीवनमा पनि यस्तै भयो । जे नहुनु थियो, त्यही भयो । तर, उनी त्यसबाट रत्तिभर पनि विचलित भएनन् । उनले आफूलाई जबरजस्त तेजमात्रै बनाएनन्, नेपाली समाज र सिंगो बैंकिङ क्षेत्रलाई पनि एउटा गतिलो पाठ सिकाए । र, ‘१२ वर्षपछि बगेको खोला पनि फर्कन्छ’ भन्ने कथनलाई पुनः स्मरण गराउन विवश बनाए । एउटा ऊर्जावान बैंकर बीएन घर्ती केही गरौं, पृथक र रचनात्मक गरौं, जे गरे पनि स्वदेशमै गरौं भन्ने मानसिकताका साथ बैंकिङ क्षेत्रमा प्रवेश गर्छन् । करिब ६ वर्ष पाल्पामा शिक्षण पेसामा बिताएका बिएनले २ वर्ष काठमाडौंमा बसेर एउटा प्रकाशन गृहमा मार्केटिङ म्यानेजरको काम गरे । विसं २०५३ सालमा त्रिभुवन विश्वविद्यालयबाट एमबीए पास गरेका उनी विसं २०५४ सालमा बैंकिङ क्षेत्रमा प्रवेश गरे । उनले तत्कालीन नेपाल बंगलादेश बैंकबाट बैंकिङ करिअर सुरु गरे । त्यसपछि तत्कालीन एनआईसी बैंकमा काम गरे । एनआईसी बैंकमा हुँदा उनी नेपाली बैंकिङ क्षेत्रका एक अब्बल बैंकरको रूपमा परिचित भइसकेका थिए । बैंकरसँगको मिजासिलो सम्बन्ध र बैंकिङ क्षेत्रमा उनले देखाएको अब्बलताको तारिफ गर्नेहरू त्यतिखेर पनि धेरै थिए । त्यतिखेर अधिकांशले अनौपचारिक गफगाफमा कुरा गर्ने गरेका थिए, ‘बीएन घर्ती छिट्टै नै वाणिज्य बैंकको सीईओ बन्छन् ।’ उनी एनआईसी बैंकमा गनेमानेको बैंकरका रूपमा परिचित भइसकेका थिए । उनी सञ्चारमाध्यमको आँखामा परिसकेका थिए । बैंकका उच्च व्यवस्थापकको रोजाइमा पर्न थालिसकेका थिए । बैंकका लगानीकर्ताले पत्याउन थालिसकेका थिए । उनमा पनि थप फड्को मार्ने महत्त्वाकांक्षा पलायो । त्यतिबेलै उनको भेट भयो कमल ज्ञवालीसँग । कमल ज्ञवाली तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक थिए । बैंकका मूख्य लगानीकर्ता, सीईओ वा व्यवस्थापक उनै ज्ञवाली थिए । अहिलेजस्तो बैंकको सीईओ र सञ्चालक  फरक-फरक व्यक्ति हुने नीति त्यतिखरे बनिसकेको थिएन । त्यसैले पनि किष्ट बैंकमा कमलको राज चल्थ्यो । उनी बैंकिङ क्षेत्रकै राजकुमारका रूपमा उदाइरहेका थिए । सञ्चारमाध्यम पनि कमल ज्ञवालीको सफलताको कथा सुन्न र सुनाउन तारान्तार गर्थे । तिनै ज्ञवालीसँग सहकार्य गरेर बैंकिङ क्षेत्रको नेतृत्व गर्ने योजना बीएनले पनि बनाए । र, सुरु भयो उनीहरूको सहकार्य । एनआईसी बैंकमा एक किसिमको छवि निर्माण गरेका बीएन विसं २०६६ सालमा किष्ट बैंकको सहायक महाप्रबन्धक बने । जसरी बीएनले छिट्टै नै बैंकिङ क्षेत्रको नेतृत्व गर्ने महत्त्वाकांक्षा बनाएका थिए, त्यसमा भरपुर साथ ज्ञवालीले पनि दिए । सह-महाप्रबन्धक भएको एक वर्षमै उनी नायब महाप्रबन्धक बने । बैंकको नेतृत्व गर्ने बीएनको रहर नजिकिँदै थियो । त्यहीबीचमा ज्ञवालीले प्रबन्ध सञ्चालकबाट राजीनामा दिएपछि विसं २०७० सालमा घर्ती किष्ट बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए । किष्ट बैंकमा प्रत्येक वर्ष भएको उनको बढुवाले उनको मिहिनेत र इमानदारिता देखाउँथ्यो । बीएन बैंकिङमा कति इमान्दार र संवेदनशील छन् भन्ने विषय उनको बढुवाबाट बुझिन्थ्यो । तर विडम्बना, बैंकिङ क्षेत्रमा नाम, दाम कमाएका कमल ज्ञवाली अन्ततः बदनाम बने । त्यसबाट बैंकर बीएन घर्ती पनि अछुतो रहन सकेनन् । भएको के थियो ? किष्ट बैंकले जम्को प्रकाशनलाई १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । नियामक नेपाल राष्ट्र बैंकमा धितोको मूल्यांकनभन्दा बढी कर्जा प्रवाह भएको उजुरी परेपछि राष्ट्र बैंकले सो कर्जा र उच्च व्यवस्थापकमाथि छानबिन गर्‍यो । यो कर्जा ज्ञवाली प्रबन्ध सञ्चालक रहेकै बेला प्रवाह भएको थियो । नेपाल राष्ट्र बैंकले छानबिन गर्दा ज्ञवालीले १२ करोड रुपैयाँ पर्ने धितोमा १५ करोड रुपैयाँ ऋण दिएको देखियो । राष्ट्र बैंकले किष्ट बैंकलाई तीन करोड रुपैयाँ फिर्ता ल्याउन निर्देशन दिएपछि साे रकम फिर्ता पनि आयो । तर, राष्ट्र बैंकले ज्ञवालीलाई पाँच लाख रुपैयाँ जरिवाना गर्‍यो भने ऋणी जम्कोका सञ्चालक किशोर ढकाललाई बैंकिङ कसुरअन्तर्गत मुद्दा दायर गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई पत्राचार गर्‍यो । पछि अनुसन्धानको क्रममा सो ऋण पनि ज्ञवालीले नै प्रयोग गरेको खुलेपछि उनी पनि अनुसन्धानमा तानिए । उनले बैंकको प्रबन्ध सञ्चालकबाट राजीनामा दिए । बैंकका निक्षेपकर्ताबीच बैंकप्रतिको विश्वास गुम्न नदिन बैंकर घर्तीलाई कार्यवाहकसीईओको जिम्मेवारी दिइयो । तर, विषय त्यतिमै सेलाएन । अब ज्ञवालीसँगै बैंकको उच्च व्यवस्थापन र कर्मचारीमाथि पनि अनुसन्धान हुने भयो । बीएन पनि अनुसन्धानमा तानिए । अनुसन्धान गर्दा जम्कोको कर्जा स्वीकृत समितिमा संयोजक ज्ञवालीसँगै बैंकर घर्ती र अन्य दुई जना बैंकर पनि रहेको खुल्यो । बीएनले पनि कर्जाको फाइलमा हस्ताक्षर गरेको भेटेपछि उनी पनि अनुसन्धानमा तानिए । ज्ञवालीले ऋणीलाई राम्रोसँग चिनेको भनेर तलकाे कर्मचारीलाई कन्भिन्स गराएर ऋण स्वीकृत गराउन भूमिका खेलेको बयानको क्रममा बाहिरियो । सोही आधारमा बीएनले पनि कर्जाको फाइलमा ज्ञवालीको विश्वास गरेर हस्ताक्षर गरेका थिए । त्यही एउटा हस्ताक्षरले बीएनसँगै अन्य कर्मचारीलाई पनि जेल पुर्‍यायो । निकै विश्वास गरेका कमल ज्ञवालीको एउटा वचनले हस्ताक्षर गर्दा बीएनको जीवनमा धब्बा लाग्यो । त्यो धब्बा टकटक्याउन उनलाई एक दशक समय लाग्यो । यो एक दशकको समयमा उनले भोगेको शारीरिक, मानसिक र सामाजिक क्षतिको फेहरिस्त बताइनसक्नु छ । तर, उनले अन्ततः आफू स्वच्छ छविको बैंकर भएर प्रमाणित गराएका छन् । कर्जा अपचलन तथा बैंकिङ कसुरमा उनीसहित प्रगुण, मधुसुधन र ईश्वर गुरुङलाई तत्कालीन पुनरावेदन अदालत पाटनले दुई वर्ष कैद सजाय सुनाएको थियो । त्यसमा चित्त नबुझेपछि उनीहरू सो फैसलाविरुद्द सर्वोच्च पुगेका थिए । सर्वोच्चले केही महिनाअघि मात्रै उनीहरूलाई सफाइ दियो । अर्थात् कर्जा अपचलनमा उनीहरूको संलग्नता नरहेको प्रमाणित गरिदियो । ज्ञवालीसहितका केही सञ्चालक भने दोषी ठहर भए । फेरि बैंकिङमै फर्किए उसो त एक दशकको समय बीएन घर्तीका लागि सम्झनलायक बनेन । तथापि, उनले त्यो समयमा पनि हरेस खाएनन् । बैंकिङ क्षेत्रबाट धेरै टाढा भएनन्, गुमनाम बनेन् । बैंकिङ क्षेत्रका प्यारा बनिरहे उनी । विभिन्न बैंकरलाई पढाउने, तालिम तथा प्रशिक्षण दिने कलेजका विद्यार्थीहरूलाई अनुभव प्रदान गर्ने काममा उनी सरिक बनिरहे । यहीबीचमा उनले ‘बैंकिङ अनुशान दीगो विकासका लागि’ पुस्तक पनि सार्वजनिक गरे । आफूमाथि लागेको निराधार आरोप एकदिन खुइलिएर जान्छ र आफू निर्दोष प्रमाणित हुन्छु भन्नेमा विश्वस्त थिए उनी। त्यसैले पनि उनले एक दशकको अवधिमा कुनै हार मानेनन् । निर्धक्कका साथ अगाडि बढे, आफ्नो काम गरे । बैंकिङ क्षेत्रको विकास र बैंकरको क्षमता अभिवृद्धिमा उनी लागिरहे । उसो त बैंकिङ क्षेत्र पनि ‘बीएनले गलत गरेको छैन’ भन्नेमा विश्वस्त थियो । किनकि आफ्ना कुरा तटस्थरूपमा राख्ने र आफ्नो बुद्धि र विवेकले भ्याएसम्म गलत नगर्ने ‘क्यारेक्टर’ बीएन घर्तीमा छ । धेरैले उनको यही स्वभाव मन पराउँछन् । आफू सकसमा हुँदा पनि बैंकिङ क्षेत्रको सुधारमा लाग्ने उनै घर्तीलाई गत पुसमा सामना बैंकिङ गुठीले ७५ हजार रुपैयाँ राशिको सामना बैंकिङ पुरस्कार प्रदान गर्‍यो । आफ्नो व्यक्तिगत विषयमा सामाजिक सञ्जालमा खासै राख्न नरुचाउने बीएनले पुरस्कार पाएको विषय सार्वजनिक गर्दै भनेका थिए, ‘विगत ११ वर्ष संघर्षपूर्ण रह्यो, जस्तोसुकै परिस्थितिमा पनि म बैंकिङभन्दा टाढा रहन सकिनँ, यसैलाई मेरो धर्म र कर्म सम्झें, प्रत्यक्ष-अप्रत्यक्षरूपमा यही क्षेत्रमा क्रियाशील रहें, मेरा दुःखका दिनहरूमा प्रेरणा दिनु हुने, तन, मनले सहयोग र उत्प्रेरित गर्नुहुने सम्पूर्णलाई यो पुरस्कार समर्पित गर्न चाहन्छु ।’ अहिले बैंकर बीएन घर्ती पुनः बैंकिङमा फर्किएका छन् । उनी चार वर्षका लागि बेष्ट फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् । बितेको एक दशकलाई भुल्दै बैंकिङ क्षेत्रले बैंकर बीएनलाई पुनः स्वागत गरेको छ । बैंकिङ क्षेत्रले पुनः एउटा अनुभवी, क्षमतावान र अब्बल बैंकर पाएको छ । बैंकिङ क्षेत्र र बैंकरले गरेको भरोसा र विश्वासलाई पुनःस्थापित गर्नुपर्ने चुनौती बैंकर बीएन घर्तीमाथि छ ।