काठमाडौं । चैतमा वाणिज्य बैंकहरूको ब्याजदर घटेको छ । आज चैत १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएके बैंकको ब्याजदर सामान्य घटेको हो ।
चैतमा बैंकहरूको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ब्याजदर ५.९८ प्रतिशत र संस्थागततर्फ ४.४३ प्रतिशतमा झरेको छ । जबकी गत फागुनमा व्यक्तिगततर्फ औसत ब्याजदर ६ प्रतिशत र संस्थागततर्फ ४.४९ प्रतिशत थियो । यसआधारमा बैंकहरूको ब्याजदर चैतमा व्यक्तिगततर्फ औसत ०.०२ प्रतिशत र संस्थागततर्फ ०.०६ प्रतिशत घटेको देखिन्छ ।
चैतमा अधिकांश बैंकहरूले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएपनि विभिन्न ४ बैंकले भने सामान्य परिवर्तन गरेका छन् । कुमारी बैंक र लक्ष्मी सनराइज बैंकले ब्याजदर बढाएका छन् भने नेपाल बैंक र हिमालयन बैंकले ब्याजदर घटाएका छन् ।
कुमारी बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ०.२५ प्रतिशत ब्याजदर बढाएका छन् । तर, नेपाल बैंकले ०.१ प्रतिशत र हिमालयन बैंकले ०.७५ प्रतिशत ब्याजदर घटाएका छन् ।