बैंकर, सीए, डाक्टर र शिक्षक पनि पर्दैछन् स्क्यामरको पासोमा, व्यवसायी र धनसम्पत्ति भएकाहरू नै टार्गेटमा

काठमाडौं । काठमाडौंको ठैबका राकेश मगर (नाम परिवर्तन) लाई ६ महिना पहिले ह्वाट्सएपमा एउटा म्यासेज आयो । उनले हत्तपत्त मेसेज खोले । जहाँ लेखिएको थियो- तपाईं भाग्यशाली हुनुहुन्छ, तपाईंले लक्की ड्रमार्फत ५ हजार बोनस जित्नुभएको छ, यो रकम तपाईंले प्राप्त गर्न केही प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।’ राकेश पनि पाँच हजारमा लोभिए । उनले थप कुरा गरे । ह्वाट्सएपमै उनीसँग जोडिएको व्यक्तिले भनेअनुसार उनले त्यही काम गर्दै गए । कुरा हुँदै जाँदा उनलाई पैसा पठाइदिने बैंक डिटेल्स मागियो । राकेशले जे-जे काम उसले लगायो ती सबै काम गर्दै गए । नभन्दै उनको खातामा पाँच हजार रुपैयाँ आयो । उनी खुसी भए । त्यो व्यक्ति को थियो ? रकम केको आधारमा आयो ? उनलाई केही थाहा थिएन र यो विषयमा खोजी पनि गरेनन् । उनलाई फेरि प्रलोभन देखाइयो । ती व्यक्तिले उनलाई अब तपाईं लगानी गर्नुहोस्, त्योबापत तपाईंलाई यति प्रतिशत बानेस आउँछ भन्दै प्रलोभन देखायो । राजेश पनि जसोजसो भन्यो त्यहींअनुसार काम गर्दै गए । सुरुमा उनले केही रकम पाउँदै गए । उनी झन् आकर्षित भए । कामै नगरी पैसा आउन थालेपछि उनको काम दिनभरि अनलाइनमै बस्ने भयो । राकेशलाई यसरी अन्य साथीहरू पनि यो काममा लगाउन भन्यो । उनले अरु साथीहरूलाई पनि सिकाउँदै गए । जब उनले लगानी गर्दागर्दै दुई लाख पुर्‍याए तब एकाएक उनीसँग कुराकानी गर्ने व्यक्तिले उनलाई ब्लक गरे । एउटा अन्जानको व्यक्तिसँग ह्वाट्स एपमा बोलेकै कारण राकेशले आफूसँग भएको पैसामात्र गुमाएनन्, उनले काम गर्न लगाएका अन्य साथीहरूको पैसा पनि गयो । अहिले उनीहरू साइबर ब्यूरोमा धाइरहेका छन् । राकेश त एक प्रतिनिधि पात्रमात्र हुन् । पछिल्लो समय पढेलेखेका मात्र हैन, बैंकर, सीए, शिक्षकदेखि डाक्टरहरू पनि स्क्यामरको पासोमा पर्न थालेका छन् । काठमाडौंको भोटाहिटीमा रहेको साइबर ब्यूरोमा अहिले यस्ता दैनिक ४० भन्दा बढी व्यक्ति यसरी नै फसेको गुनासो लिएर आउने गरेका छन् । धन सम्पत्ति भएकाहरू नै टार्गेटमा ठगी र स्क्यामको जालोमा सर्वसाधारणमात्रै होइन, पढेलेखेका शिक्षित व्यक्ति नै पर्ने गरेका छन् । साइबर ब्यूरोका प्रवक्ता दीपक अवस्थी प्रविधिमा राम्रै दख्खल भएका व्यक्ति पनि यसको सिकारमा पर्ने गरेका बताउँछन् । उनी भन्छन्, ‘स्क्यामरले यस्तो जालो बनाएका छन् कि व्यक्तिको दिमागलाई इमोसनल ब्ल्याकमेलिङ गरेर व्यक्तिलाई आफ्नोबसमा पार्छन् । जो स्क्यामरको जालोमा पर्छ, ऊ तबसम्म त्यहाँबाट उम्कँदैन जब ऊ आफूसँग भएको सम्पत्ति सक्दैन ।’ प्रवक्ता अवस्थीले एकजना डाक्टर एक करोड रुपैयाँ डुबेपछि बल्ल साइबर ब्यूरोमा पुगेको जानकारी गराए । यस्ता ठगहरूले उच्च प्रोफाइल भएका र धनसम्पत्ति भएकाहरूलाई बढी टार्गेट गर्ने गरेको पाइएको छ । ‘उनीहरूसँग यतिसम्मको सूचना हुन्छ कि यो व्यक्ति कस्तो हो, उसले के काम गर्छ, कति सम्म कमाउँछ भन्नेसम्मको जानकारी हुन्छ,’ उनी भन्छन्, ‘हामीले कल्पनासमेत गर्न नसकेका कुराहरू ठगले पत्ता लगाउन सक्छ ।’ अवस्थी यस्ता जालोबाट उम्कन कुनै पनि अपिरिचत व्यक्तिले पठाएको भिडियो, फोटो लिंक नखोल्ने र त्यस्तो मेसेज आउनेबित्तिकै रिपोर्ट गर्ने अथवा ब्लक गर्नुपर्ने बताउँछन् । ठग्ने विदेशी, ठगिने नेपाली नागरिकलाई ठगी गर्ने व्यक्तीको जालो पत्ता लगाउन प्रहरीलाई नै हम्मे हम्मे नै पर्ने गरेको छ । यसमा कारोबार गर्ने व्यक्तिदेखि बैंक खाता समेत नेपाली नै प्रयोग भएको पाइन्छ । नेपाली खाता नै प्रयोग आएको प्रमाण भेटिँदा अपराध कार्यमा संग्लग्न व्यक्ति नेपाली हो वा विदेशी भन्ने नै प्रहरीलाई पहिचान गर्न गाह्रो हुन्छ । अहिलेसम्म भएको अनुसन्धानका आधारमा नेपाली नागरिकलाई प्रयोगमा ल्याइ कारोबार पनि नेपाली बैंकमै भएपनि उनीहरूले पठाएको मेसेज अथवा आवाज सुन्दा विदेशी नै हो भन्ने देखिएको अनुसन्धानमा संलग्न व्यक्तिकोहरूको भनाइ छ । ‘उनीहरूले स्पष्ट नेपाली बोलेको पनि पाइँदैन, गुगल ट्रान्सलेट गरेर नेपाली बोलिरहेको जस्तो देखिएकाले विदेशीहरूले नेपालमा जालो फैलाएको प्रवक्ता अवस्थीको बुझाइ छ । स्क्यामको कुरा गर्दा सबैभन्दा पहिलो सामाजिक सञ्जालमा एउटा विज्ञापन आउँछ । जहाँ घरमै बसेर लगानी गरेर पैसा कमाउन सकिन्छ, त्यहाँ क्लिक गरेपछि त्यो मान्छेसँग कुरा हुन्छ, कुरा गर्दै जाँ ह्वाट्सएप र टेलीग्रामतिर लान्छ । टेलिग्राम ग्रुप बनाएको हुन्छ । अवस्थी भन्छन्, ‘अहिलेसम्मको केस हेर्दा यो सञ्चालन गर्ने व्यक्ति नेपालभन्दा बाहिरको जस्तो देखिने गरको छ । तर, समस्या पैसा नेपालीको खातामा मात्र गएको देखिन्छ । पैसा पठाउँदा नेपाली क्युआर कोड दिन्छ । यसरी हेर्दा नेपाली नै पीडक र पीडित दुवै छन् । बाहिर रहेको मान्छेले खुल्ला बोर्डरका कारण भेटेर पनि लिन सक्ने वा हुण्डीमार्फत लिन सक्ने भएकाले नेपाली खाताबाट लिएको पाइँदैन ।’ ‘मुख्य खेलाडी बाहिरकै हो जस्तो लाग्छ । एउटा यो पनि हुनसक्छ । तर, अर्को बाहिरको नामले नेपालभित्रै यो गेम चलाइरहेको पनि हुन सक्छ,’ उनले थपे । उनी यस्ता सूचना समयमा पनि नआउने भएकाले ट्र्याक गर्न पनि सजिलो नभएको बताउँछन् । उच्चपदस्थ व्यक्तिकै नामबाट ठगी नेपालमा ठगी गर्ने मनसाय भएका व्यक्तिले उच्च पदस्थ व्यक्तिको इमेलबाट समेत ठगी गरेका घटनाहरू छन् । साइबर ब्यूरोका अनुसार नेपाल प्रहरीका उच्च अधिकारीको नामबाट व्यक्तिको इमेलमा तपाईंले यो–यो ठाउँमा गैरकानूनी काम गर्नुभएको छ भन्दै धम्कीपूर्ण इमेलहरू पठाउने र २४ घण्टाभित्र यसको प्रतिउत्तर नदिए यस्तो उस्तो दण्ड जरिवाना र सजाय तोकिने छ भन्दै इमेल पठाउने गरेको पाइएको छ । यसरी पठाएको इमलेमा इमेल प्राप्त गर्ने व्यक्तिले प्रक्रिया जनाउने बित्तिकै व्यक्तिको पुरै विवरण ह्याकरले ह्याक गर्ने गरेको पाइएको छ । अवस्थी भन्छन्, ‘अदालतको आदेशबमोजिम नेपाल प्रहरीको साइबर ब्यूरो, राष्ट्रिय अनुसन्धान केन्द्र, केन्द्रीय अनुसन्धान विभागको दायरामा परेको भन्दै ठग्ने प्रवृत्ति बढेको छ ।’ इमेलबाट डर देखाइ पैसा माग्ने मारमा सबैभन्दा बढी व्यवसायीहरू पर्ने गरेका छन् । यसरी उच्च पदस्थको नामबाट इमेल पठाइ ठग्ने गिरोहको बारेमा अनसन्धान गर्दा जर्मनीको डोमेनबाट आएको पत्ता लागेको छ । डिजिटल अरेस्ट नाम दिइएको यस्तो ठगी नेपालमा पनि बढ्दै गएको अवस्थीले बताए । यस्ता घटनाहरू केही समय पहिले भारतलगायत अन्य देशमा बढ्दै गएको भएपनि नेपालमा पनि यो जालो फैलिएको छ । अवस्थी नेपालमा साइबर सुरक्षासम्बन्धी चेतनाको अभावका कारण यस्ता घटनाहरू बढ्दै गएको बताउँछन् । ७ महिनामा ७८ करोड बढी ठगी नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा मात्र ७८ करोड ४० लाख २० हजार १ सय २७ रुपैयाँ बढीको ठगी भएको छ । योभन्दा अगाडि आर्थिक लागत नराख्ने गरिएकोमा चालु आर्थिक वर्षयता भने आर्थिक रकमको पनि लागत राख्ने गरेको ब्यूरोले जानकारी दिएको छ । साइबर ब्यूरो स्थापना भएयताको हिसाब नराखेपनि अनुमानका आधारमा मात्रै अर्बौं रुपैयाँसम्मको ठगी भएको हुनसक्ने अधिकारीहरू बताउँछन् । ७ महिनामा ७८ करोड बढी रकम ठगीको उजुरी परेपनि पीडितलाई भने जम्मा चार करोड जतिमात्र फिर्ता गर्न सकेको प्रवक्ता अवस्थी बताउँछन् । उनका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ब्यूरोमा दर्ता भएका पाँच हजार एक सय ७३ उजुरीमा यतिको रकम ठगी भएको पाइएको हो । उनी आर्थिक रूपमा डिजिटल, अनलाइनमार्फत ठग्नेक्रम नराम्रो बढिरहेको छ । अब पनि नागरिक सचेत हुने होइन भने अवस्था अझै भयाभह हुन सक्ने उनको भनाइ छ । बर्सेनि बढ्दै उजुरी विश्वमा जति धेरै प्रविधिको विकास भयो, त्यसैगरी अपराधिक गतिविधिको पनि ग्राफ बढेको छ । नेपाली जानी नजानी भए पनि गलत काम गर्दैछन् । आफ्नो खाताको दुरुपयोग गरेर आएको पैसा अर्को खातामा पठाउने १० प्रतिशत, ५ प्रतिशत कमीशन खाने र पैसा कमाइ भइरहेको छ भन्ने सोचले गलत गरिरहेका छन् । यसरी जानअञ्जानमा गरिरहेको काममा भोलिका दिनमा तिर्न पर्यो भने तिनीहरुको थाप्लोमा आउँछ । अहिलेसम्म तिनीहरुको खाताबाट जति पठाइएको छ, त्योअनुसारको तिर्नुपर्ने बाध्यता हुन सक्छ । तीन वर्षको तथ्यांक हर्ने हो भने पनि नेपालमा यस्ता ठगीका घटना बढ्दै गएका छन् । साइबर ब्यूरोको तथ्यांकअनुसार आजभन्दा तीन वर्ष अगाडि अर्थात आर्थिक वर्ष २०७९/०८० मा १ हजार ८ सय १५ उजुरी परेका थिए भने गत आर्थिक वर्ष तथ्यांक बढेर चालु आर्थिक वर्ष २०८०/०८१ मा चार हजार एक सय उजुरी परेका थिए । चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामै पाँच हजार एक सय ७३ उजुरी साइबर ब्यूरोमा उजुरी परेका छन् । तीन वर्षको तथ्यांक मात्र हेर्ने हो भने पनि अवस्था डरलाग्दो देखिएको छ । यस्ता ठगहरूको जालोबाट ठगिनबाट बच्न विज्ञहरू अपिरिचत कुनैपनि व्यक्तिले पठाएका लिंक वा म्यासेजलाई इग्नोर गर्नुपर्ने बताउँछन् ।

बीवाईडीले ल्यायो सुपर चार्जिङ ईभी प्रविधि, ५ मिनेटको चार्जमै ४०० किलोमिटर यात्रा

काठमाडौं । बीवाईडीले सोमबार विद्युतीय सवारीसाधन (ईभी) हरूका लागि नयाँ प्लेटफर्म अनावरण गरेको छ । यसले ईभीलाई पेट्रोल/डिजेल भर्न लाग्नेजत्तिकै छिटो चार्ज गर्न सकिने बताइएको छ । साथै कम्पनीले पहिलो पटक चीनभर चार्जिङ नेटवर्क निर्माण गर्ने घोषणा पनि गर्‍यो । कम्पनीका संस्थापक वाङ चुआनफुले शेन्जेन मुख्यालयबाट लाइभस्ट्रीम गरिएको कार्यक्रमका क्रममा बताएअनुसार, ‘सुपर ई–प्लेटफर्म’ भनिने नयाँ प्रणालीमा एक हजार किलोवाटको अधिकतम चार्जिङ गति हुनेछ । यस प्रणाली प्रयोग गर्ने कारहरूले मात्र ५ मिनेटको चार्जमा ४०० किलोमिटर (२४९ माइल्स) यात्रा गर्न सक्नेछन् । एक हजार किलोवाटको चार्जिङ गति टेस्लाका सुपरचार्जरहरूको भन्दा दोब्बर छ, जसको पछिल्लो संस्करणमा अधिकतम ५०० किलोवाट चार्जिङ क्षमता छ । छिटो चार्ज हुने प्रविधि ईभी अपनाउने दर बढाउनका लागि महत्त्वपूर्ण मानिन्छ । वाङले भने, ‘हाम्रा प्रयोगकर्ताहरूको चार्जिङसम्बन्धी चिन्ता पूर्ण रूपमा समाधान गर्नका लागि हामीले विद्युतीय सवारीसाधनहरूको चार्जिङ समय पेट्रोल सवारीसाधनहरूको इन्धन भर्ने समय जत्तिकै छोटो बनाउने लक्ष्य राखेका छौं ।’ नयाँ चार्जिङ संरचना सुरुमा दुई नयाँ ईभीमा उपलब्ध हुनेछ- हान एल सेडान टाङ एल एसयूभी जसको मूल्य २ लाख ७० हजार युआन (३७ हजार ३२८.९१ डलर) बाट सुरु हुनेछ । साथै बीवाईडीले नयाँ प्लेटफर्मसँग मेल खाने गरी चीनभर ४ हजारभन्दा बढी अल्ट्रा-फास्ट चार्जिङ पाइलहरू (चार्जिङ युनिटहरू) निर्माण गर्ने बताएको छ । तर कम्पनीले यस्ता सुविधाहरू निर्माण गर्न कति लगानी गर्ने र कहिलेसम्म पूरा गर्ने भन्ने बारे कुनै ठोस समयसीमा उल्लेख गरेको छैन । हालसम्म बीवाईडी चलाउनेहरूले अन्य कार निर्माताहरूका चार्जिङ सुविधाहरू वा तेस्रो पक्षको सार्वजनिक चार्जिङ पोलहरूमा भर परेर गाडी चार्ज गर्दै आएका छन् । टेस्लाले सन् २०१४ देखि चीनमा आफ्ना सुपरचार्जरहरू उपलब्ध गराएको छ । साथै बीवाईडीका साना चिनियाँ प्रतिस्पर्धीहरू जस्तै- नीओ, ली अटो, एक्सपेङ्ग र जिक्रले पनि वर्षौंदेखि चार्जिङ सुविधाहरूमा व्यापक लगानी गर्दै निर्माण गरिरहेका छन् । बीवाईडी मुख्य रूपमा प्लग–इन हाइब्रिडमा भर पर्छ, जसको बिक्री गत वर्ष ४.२ मिलियन युनिट पुगेको थियो । यस वर्ष कम्पनीले ५/६ मिलियन युनिट बिक्री गर्ने लक्ष्य राखेको छ । चार्जिङ सिस्टममा परिवर्तन ? वातावरणीय रक्षा कोषकाका अनुसार अमेरिकामा औसत ईभी दायरा ३०० माइल (४८३ किलोमिटर) जति छ, तर ब्याट्री पावर भएका ईभी चार्ज गर्न कारको मोडेल र चार्जिङ पोइन्टको गतिको आधारमा २० मिनेटदेखि केही घण्टासम्म लाग्न सक्छ । डुने इनसाइजट्सका संस्थापक तथा सीईओ माइकल डनले भने, ‘छिटो चार्जिङ पक्कै फाइदाजनक हो तर ईभी मालिकहरूका लागि प्राथमिकतामा यो ब्याट्रीको कुल दायरा र चार्जिङ पोर्टहरूको सुविधा भन्दा पछि आउँछ ।’ ‘बीवाईडी अब आफ्ना प्रविधिसम्बन्धी उपलब्धिहरू सुनाउने मामिलामा धेरै निपुण बन्दै गएको छ । एउटा परम्परागत इन्जिनियरिङ कम्पनीले आफ्नो प्रतिस्पर्धात्मक हतियारमा एउटा महत्त्वपूर्ण मार्केटिङ पक्ष थपेको छ,’ उनले थपे । घोषणासँगै बीवाईडीको सेयर उकालो सुपर चार्जिङ ईभी प्रविधि‍को घोषणा गरेसँगै बीवाईडीको सेयरहरू मंगलबार उकालो लागे । बीवाईडीका हङकङमा सूचीकृत सेयरहरू बजार खुल्नेबित्तिकै ६ प्रतिशतभन्दा धेरैले वृद्धि भए । जसले नयाँ ५२ हप्ते उच्चतम स्तर कायम ग¥यो । पछिल्लो पटक ती सेयरहरू झण्डै २.५ प्रतिशतले माथि कारोबार गरिरहेको देखिएको थियो, जुन यस वर्ष हालसम्म ५१ प्रतिशतले भन्दा धेरै वृद्धि हो । यसैबीच, बीवाईडीका शेन्जेनमा सूचीकृत सेयर मूल्य मंगलबार बिहान २ प्रतिशतभन्दा धेरैले वृद्धि भयो । (एजेन्सीहरूको सहयोगमा) युरोपमा तेस्रो प्लान्ट बनाउनेबारे विचार गर्दै बीवाईडी हाइब्रिडमा सफलतापश्चात ईभीमा जम्दै टोयोटा, २०२५ र २६ मा नौवटा नयाँ ईभी ल्याउने निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा मस्कलाई ट्रम्प प्रशासन घाँडो, वाशिंगटन प्रवेशसँगै टेस्लाका सेयर घट्दै

मुद्दा फैसलामा प्राधिकरणको सुस्तता, एक हजारभन्दा बढी मुद्दाको लागेन किनारा

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणमा बीमा कम्पनीले दिने सुविधामा असन्तुष्टि जनाउँदै उजुरी दिने बीमितको संख्या वार्षिक रूपमा बढ्दै गएको छ । प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो ६ आर्थिक वर्ष अर्थात आव २०७५/७६ देखि आव २०८०/८१ सम्ममा १ हजार ८०४ कुल उजुरी दर्ता भएको छ । प्राधिकरणले समयमै उजुरीको सम्बोधन नगर्दा वार्षिक उजुरीको संख्यासमेत बढ्दै गएको हो । ६ आर्थिक वर्षमा प्राधिकरणमा बीमितले दिने उजुरीको संख्या १३३ प्रतिशतले बढेको तथ्यांकमा देखिन्छ । तथ्यांकअनुसार आव २०७५/७६ मा १८७ उजुरी दर्ता भएकोमा आव २०८०/८१ मा उजुरी दर्ताको संख्या बढेर ४३७ वटा पुगेको छ । दर्ता भएका कुल उजुरीमध्ये ७२० वटा मुद्दाको फैसला भएको छ भने १ हजार ८४ मुद्दाको अझै फैसला हुन बाँकी छ । कुन वर्ष कति उजुरी परे ? आव २०८०/८१ प्राधिकरणमा जम्मा उजुरी संख्या ४३७ वटा रहेको थियो, जसमध्ये उक्त आवमा मात्रै २४४ वटा नयाँ उजुरी दर्ता भएको देखिन्छ । २४४ वटा उजुरीमध्ये पनि १५९ वटा निवेदन केन्द्रीय कार्यालय र ८५ वटा प्रादेशिक कार्यालयमा दर्ता भएका उजुरी हुन् । पहिलेको वर्षको बाँकी निवेदन १९२ वटा थियो । यसरी कुल उजुरीमध्ये १५० वटा मुद्दाको फैसला भइसकेको छ । १५० वटा मुद्दामध्ये १०१ वटा फैसलाबाट र ४९ वटा मध्यस्थताबाट सहमति भएकोे हो । २८७ मुद्दा भने हेर्न बाँकी रहेको र त्यो मुद्दा चालु आव २०८१/८२ मा सरेको प्राधिकरणले जनाएको छ । आव २०७५/७६ मा बीमा प्राधिकरणमा १८७ वटा निवेदन दर्ता भएको देखिन्छ । जसमध्ये ८३ वटा मुद्दा पुरानो निवेदन, ४ वटा पुनरावेदनबाट आएको र बाँकी एक सय निवेदन सोही वर्षमा दर्ता भएको थियो । प्राधिकरणमा बीमितले दर्ता गरेका कुल उजुरीमध्ये ८५ वटाको मात्रै फैसला भएको छ । १०१ उजुरीको भने उक्त वर्षमा फैसला हुन सकेनन् । आव २०७६/७७ मा १८७ वटा कुल निवेदनमध्ये १२६ नयाँ निवेदन दर्ता भएको देखिन्छ भने १०१ वटा निवेदन पुरानो निवदेन हो । उक्त आवमा कुल उजुरीमध्ये ९१ वटा उजुरीको फैसला भएको थियो । १३५ वटा उजुरीको सो वर्ष फैसला हुन सकेन । त्यस्तै, आव २०७७/७८ मा दर्ता भएको कुल २७३ उजुरीमध्ये ९३ उजुरीको फैसला भएको छ । आव २०७८/७९ मा दर्ता भएको ३३८ उजुरीमध्ये १५२ र आव २०७९/८० मा ३४१ उजुरीमध्ये १४९ वटा उजुरीको फैसला भएको प्राधिकरणको तथ्यांक छ । प्राधिकरणमा दर्ता भएको दर्ता उजुरीसम्बन्धी विवरण निर्जीवन बीमाविरुद्ध उजुरी धेरै फैसला हुन नसकेर हरेक वर्ष थाँती रहँदै आएका धेरैजसो उजुरीहरू निर्जीवन बीमा कम्पनीसँग सम्बन्धित रहेका छन् । बीमा दाबी भुक्तानीमा बीमकले समयमै भुक्तानी नगर्ने, कम भुक्तानी दिने गरेपछि बीमितले कम्पनीविरुद्ध उजुरी दिने गरेको पाइएको छ । प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारी समयमै दाबी भुक्तानी भएन भन्दै बढीजसो उजुरी आउने गरेको बताउँछन् । ‘समयमै दाबी भुक्तानी भएन भन्दै उजुरी आउने गरेको छ । साथै भुक्तानी भएतापनि दाबीभन्दा कम भुक्तानी दियो भनेर पनि गुनासो आउने गरेको छ,’ उनले भने । यसबाहेक सर्भेयरले झुठो विवरण दिएको, अभिकर्ताले सुरुमा बीमा गरेपछि डबल रकम फिर्ता हुन्छ भनेर गरेपछि पाउने बेला पाइएनन भनेर पनि उजुरी आउने गरेको उनले बताए । प्राधिकरणका सूचना अधिकारी अधिकारीले प्राधिकरणमा आउने उजुरीहरूलाई सकेसम्म छिट्टै नै सम्बोधन हुने गरी काम गर्दै आएको बताए । उनले भने, ‘प्राधिकरणमा उजुरीको संख्या बढ्दै गएसँगै हामीले पनि उजुरीउपर कारबाही प्रक्रियालाई तीव्रता दिँदै आएका छौं । पुरानो उजुरी फैसलामा केही ढिलाइ भएपनि यसमा छिटो हुने गरी काम गर्ने हाम्रो प्रयास जारी छ ।’ प्राधिकरणमै इजलास सञ्चालन हुँदै प्राधिकरणमा उजुरीको चाप बढ्दै गएसँगै त्यसलाई थप व्यवस्थित बनाउने भन्दै प्राधिकरणले आगामी वैशाख १ गतेदेखि इजलास सुरु गर्ने भएको छ । प्राधिकरणमा यो सेवा सुरु भएसँगै बीमितले छिटो र प्रभावकारी रूपमा सेवा पाउने विश्वास प्राधिकरणले लिएको छ । इजलाश सञ्चालनको लागि आवश्यक तयारीसमेत प्राधिकरणले गर्दैछ । प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि इजलाश सञ्चालन गरिने प्राधिकरणका सूचना अधिकारी अधिकारीले जानकारी दिए । यसअघि बैठक कक्षमा सञ्चालक समितिको बैठकलाई इजलाशकै रूपमा सञ्चालन गर्दै मुद्दाको छिनोफानो हुँदै आएको थियो । प्राधिकरण सञ्चालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेशी सूची र निर्णयहरू प्राधिकरणको वेबसाइटमार्फत प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ । प्राधिकरणका अनुसार यो निर्णय भएसँगै अब बीमितले अनलाइनबाटै आफ्नो मुद्दाको पालो कहिले आउनेछ भनेर सहजै पत्ता लगाउन सक्नेछन् ।