काठमाडौं । गत असारमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राखे । उनको स्टाटसमा भनिएको थियो, ‘डियर स.वि., जीवन यस्तो होस्, तिमीलाई सम्झिने मात्र काम होस्, माया यस्तो होस्, भित्ता–भित्तामा तिम्रो नाम होस् ।’ सडक विभागले काठमाडौं उपत्यकाका सडकका पोल–पोलमा स.वि. (सडक विभाग) लेखेपछि उनले फेसबुकमा त्यस्तो स्टाटस राखेका थिए ।
विभागले काठमाडौं महानगरसँग सडकको विषयमा तिक्तता उत्पन्न भएपछि विभागले यो सडक आफ्नो मातहत पर्नेभन्दै पोल-पोलमा स.वि लेखेको थियो । त्यो विवादको सुरुवात काठमाडौंको न्यूरोडबाट भएको थियो । महानगरले न्यूरोडको फुटपाथ बढाउन सडक खुम्च्याउने काम अगाडि बढाउपछि विभागले सो सडक आफू मातहत रहेको धारणा राखेको थियो ।
यो प्रकरणपछि सचेत बन्दै सडक विभागले संविधानमा व्यवस्था भएअनुसार पालिकालाई सडक हस्तान्तरण गर्ने तयारी गरेको हो । विभागले संविधान निर्माण भएको एक दशकपछि साना तथा भित्री सडक (काठमाडौं चक्रपथ र मुख्य करिडोर) बाहेकका सडक पालिकालाई हस्तान्तरण गर्ने तयारी गरेको हो ।
विभागले १५० किलोमिटर सडक काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरेको हो । सडक विभागको जिम्मेवारीमा मुख्य राजमार्ग भए पनि उपत्यकाका भित्री सडक पनि हेर्दै आएकोमा अब त्यो जिम्मेवारी पालिकामा जाने भएको हो ।
सडक विभागका अनुसार देशभर तीन हजार किलोमिटरभन्दा बढी भित्री सडक पालिकालाई हस्तान्तरण गर्न योग्य छन् । सडक विभागका सूचना अधिकारी एवं सहायक प्रवक्ता अमितकुमार शर्माले पालिकालाई भित्री सडक हस्तान्तण गर्ने कुरा अहिले प्रक्रियाको चरणमा रहेको बताउँछन् ।
उनले भने, ‘पहिलादेखि नै भित्री सडक पालिकालाई हस्तान्तरण गर्ने भन्ने कुरा हो, हस्तान्तरण हुन सकेको थिएन । अब हस्तान्तरण गर्ने कि भनेर छलफल भएको छ ।’
सडक विभाग सम्भार महाशाखाकै उपमहानिर्देशक सिनियर इन्जिनियर अर्जुनप्रसाद अर्यालले पहिलो चरणमा नगरपालिकालाई हस्तान्तरण गर्ने भनेर विभागले नै ललितपुर र काठमाडौं महानगरसँग यस विषयमा छलफल अगाडि बढाएको सुनाए ।
‘पालिकालाई भित्री सडक हस्तान्तरण गर्ने नै भनेर निर्णय भइसकेको छैन, अहिले छलफलको चरणमै छौं,’ उनले भने ।
उपमहाननिर्देशक अर्यालले सबै पालिकाले सडकको जिम्मा लिन सक्ने अवस्था नभएको बताउँदै जिम्मा लिन सक्ने पालिकालाई किन हस्तान्तरण नगर्ने भनेर कुरा अगाडि बढाएको प्रष्टाए ।
सडक विभागको मातहतमा ८० वटा राष्ट्रिय राजमार्ग सडकको जिम्मेवारी भएपनि भित्री तथा अन्य सहायक राजमार्ग, भित्री सडकको निर्माण, मर्मतसम्भार गर्दै आएको छ । नेपालको संविधानमै सम्बन्धित स्थानीय तहलाई साना तथा भित्री सडकको हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ । तर, संविधान निर्माण भएको १० वर्षमा पनि कार्यान्वनमा आउन सकेको छैन । अब भने कार्यान्वयन हुने चरणमा रहेको विभागले जनाएको छ ।
संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका सुपरिन्टेन्डेन्ट इन्जिनियर शुभराज न्यौपाने पनि पालिकालाई भित्री सडकको जिम्मेवारी हस्तान्तरण गर्ने विषय छलफलकै क्रममा रहेको बताउँछन् । उनले चक्रपथभित्रको सडकमा मुख्य राजमार्गबाहेक भित्री सडक विभागले हेर्दै आएकोमा अब भने संविधानको मर्मबमोजिम स्थानीय तह र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी रहेको प्रष्ट पारे ।
‘अहिले हामीले सडक विभाग मातहत रहेका चक्रपथभित्रका साना सडक काठमाडौं र ललितपुर महानगरलाई हस्तान्तरण गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘चक्रपथभित्र ललितपुर र काठमाडौं महानगर मात्रै पर्छ । यी दुई महानगरपालिका क्षेत्रमा पर्ने चक्रपथ र मुख्य करिडोर सडक सडक विभाग मातहत नै रहन्छ ।’
सुपरिन्टेन्डेन्ट इन्जिनियर न्यौपानेका अनुसार काठमाडौं जिल्लाअन्तर्गतका ५९ वटा र ललितपुर जिल्लाअन्तर्गतका २४ वटा सडक हस्तान्तरण गर्न लागिएको हो । उनले भित्री सडक हस्तान्तरण गर्ने सम्बन्धमा ललितपुर र काठमाडौं दुवै महानगरसँग नियमित छलफल भइरहेको र एक÷डेढ महिनापछि निचोड निस्कन सक्ने बताए ।
‘बनाएका पुलहरू मर्मतसम्भारको लागि अहिले पनि प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ, कति सडकहरू प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने छ । त्यो चरणबद्ध रूपमा हामी गर्छौं,’ उनले भने ।
काठमाडौं महानरलाई १०३ किलोमिटर सडक हस्तान्तरण गर्ने प्रस्ताव
काठमाडौं डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारीले करिब १०३ किलोमिटर सडक काठमाडौं महानरलाई हस्तान्तरण गर्ने प्रस्ताव गरेको बताए । यस विषयमा काठमाडौं डिभिजनले महानगरसँग छलफल अगाडि बढाइसकेको छ ।
उनका अनुसार छलफलमा वार्षिक विनियोजन, आगमी वर्ष थप काम गर्न बजेट के कति लगायत विषयमा भएको छ । ‘काठमाडौं महानगरका प्रमुखसँग म आफै नै पुगेर छलफल गरेको छु । छलफल सकारात्मक भएको छ । प्रमुखज्यूले यो विषय आन्तरिक छलफलमा राख्छु भन्नुभएको छ । छिट्टै निर्णय आउँछ भन्नेमा आशावादी छौं ।’
काठमाडौं डिभिजन कार्यालयले कमलादी, ज्ञानेश्वर, मैतीदेवी, अनामनगर-बीआईसीसी, डिल्लीबजार-अनामनगर, प्रर्दशनीमार्ग, न्युरोड गेटसालिक-इन्द्रचोक, त्रिपुरेश्वर, नागपोखरी हात्तीसार, सिनामंगल-तिनकुने, भद्रकाली मन्दिर-गोपीकृष्ण, सिनामंगल-तिनकुने, रुद्रमती पुल- बिजुलीबजार, बिशालनगर-बालुवाटारलगायत ५९ वटा सडक महानगरसँग प्रस्ताव गरेको छ ।
ललितपुर महानगरलाई २४ सडक हस्तान्तरण गर्ने प्रस्ताव
ललितपुर महानगरपालिका प्रमुख र संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका सुपरिटेन्डेन इन्जिनियरसहितको उपस्थितिमा मंसिर २७ गते बैठक बसेको थियो । आर्थिक वर्ष ०८२÷०८३ देखि ललितपुर महानरलाई हस्तान्तरण गर्ने मौखिक सहमति भएको थियो ।
ललितपुर सडक डिभिजन प्रमुख गोपालप्रसाद खकुरेलले ललितपुर महानगरभित्रका भित्री सडक हस्तान्तरण गर्ने विषयमा नगरप्रमुख चिरीबाबु महर्जनसँग छलफल गरेर २४ वटा ४१ किलोमिटरसम्मको सडक हस्तान्तरण गर्ने प्रस्ताव अघि सारेको बताए । ‘पहिलो चरणमा हामीले प्रमुखज्यूसँग सडक हस्तान्तरण गर्ने विषयमा छलफल ग¥यौं, उहाँ यसमा एकदम सकारात्मक हुनुभयो । प्रमुखज्यूले त रिङरोड नै हस्तान्तरण गरे पनि आफूहरू हेर्नको लागि तयार भएको प्रतिक्रिया दिनुभएको छ,’ उनले भने ।
ललितपुर सडक डिभिजनले थापाथाली पुल-जाउलाखेल, जाउलाखेल-एकान्तकुना रिङरोडसम्म, जावलखोलचोक-कुमारमाटी हुँदै ग्वार्कोसम्म, बालकुमारी-बल्खु, ग्वार्को-लुभु, ग्वार्को-लाकुरी भञ्ज्याङ, ग्वार्को–लामाटार, सातदोबाटो-गोदावरी-फुल्चोकी, एकान्तकुना–छम्पी–टिकाभैराव, एकान्तकुना–चापागाउँ– टिकाभैरवलगायत २३ सडकहरू हस्तान्तरण गर्ने प्रस्ताव अघि बढाएको छ ।