राष्ट्र बैंकको विश्लेषण : अर्थतन्त्र सुधार हुँदैछ, महँगी घट्दैछ

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सूचक सुधारको बाटोमा रहेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै अर्थतन्त्रका सूचक सही दिशामा अगाडि बढिरहेको सन्देश दिएको हो । नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि घट्दै गरेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सात महिनाको तथ्यांक सार्वजनिक गर्दै २०८१ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको बताएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ६.५९ प्रतिशत र ३.९८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.९६ प्रतिशतले बढेको छ । प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत, मधेश प्रदेशको ३.९१ प्रतिशत, बागमती प्रदेशको ३.३५ प्रतिशत, गण्डकी प्रदेशको ३.४० प्रतिशत, लुम्बिनी प्रदेशको ४.१६ प्रतिशत, कर्णाली प्रदेशको ४.०५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.७१ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, तराईको ४.२५ प्रतिशत, पहाडको ४.११ प्रतिशत र हिमालको ५.२१ प्रतिशत रहेको छ । २०८१ माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.८२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ४.२७ प्रतिशत, ३.११ प्रतिशत र २.९० प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.७२ प्रतिशतले घटेको छ । साढे ९ खर्ब आयो रेमिट्यान्स चालु आर्थिक वर्षको सात महिनामा साढे ९ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र र्बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ९ खर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले वृद्धि भई ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ८५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ खर्ब १० अर्ब ७७ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ४५ रहेको थियो । विदेशी मुद्राको सञ्चिति पनि बढ्दै विदेशी विनिमय सञ्चिति साढे २३ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को माघसम्ममा विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । जबकी २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति थियो । ७ महिनाको अवधिमा १६.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति माघ मसान्तमा ११.७ प्रतिशत बढेर १७ अर्ब ५ करोड पुगेको छ । २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १३.९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग ३७.१ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ गत असारसम्ममा राष्ट्र बैंकसँग १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग .१ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो । शोधान्तर स्थिति बचतमा चालु आर्थिक वर्षको माघसम्म शोधान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ६६ अर्ब ८० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २४ करोडलेबचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.५ अर्ब ८३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.३ अर्ब ८० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.७ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.५ अर्ब १९ करोड रहेको थियो । व्यापार घाटामा वृद्धि आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ६१ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १२.९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १०३ अर्ब ९४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८८ अर्ब १८ करोड बराबरको भएको थियो । आयात निर्यात बढ्यो आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६६.९ प्रतिशत, ८.६ प्रतिशत र ३.५ प्रतिशतले वृद्धि भएको छ । सात महिनामा कुल वस्तु आयात १०.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.३ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ११.२ प्रतिशत र १७.५ प्रतिशतले वृद्धि भएको छ ।

हराएको नागरिकताबाट एकै बैंकमा दुई खाता, यसरी पासोमा परे सन्तोष

काठमाडौं । बैंकमा खाता खोल्दा खेप्नु परेको झन्झट सम्झिनुहुन्छ ? घरी यो कागज पुगेन, घरी त्यो कागज पुगेन । एक दर्जन बढी पृष्ठमा हस्ताक्षर गर्नुपर्ने, हस्ताक्षर नमिल्दा झेल्नुपर्ने अर्को समस्या । बैंकदेखि घरसम्मको नक्सा बनाउँदा त आफूलाई इन्जिनियर नै महसुस पनि गर्नु भएकै होला । आफ्नै पैसा जम्मा गर्न पनि यति झन्झट खेप्नुभन्दा त छाडेर जाने सोंच पक्कै आउँछ । तर, मुक्तिनाथ विकास बैंकमा एक जनाले एउटै नागरिकताबाट सहजै दुईवटा बैंक खाता खोले । त्यो पनि अर्कैको नागरिकताबाट । यो झन्झटको विषय बिर्सिएर एकछिन मुख्य विषयमा प्रवेश गरौं । सिन्धुलीको मरिण गाउँपालिका-६, कपिलाकोटका सन्तोष थापा विसं २०७० सालमा सिन्धुलीबाट काठमाडौं आउँदै थिए, बसमा विभिन्न कागजातसहितको झोला हरायो । उनले झोला खोज्ने धेरै प्रयत्न गरे तर, भेटिएन ।  ससानो काम गर्न पनि नागरिकता आवश्यक पर्ने भएकोले उनी फेरि सिन्धुली फर्केर तत्कालीन गाविस सचिवको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिए । सन्तोष विदेश जाने तयारीमा थिए । प्रतिलिपि नागरिकताबाटै राहदानी बनाए । विसं २०७१ साल जेठमा उनी रोजगारीको सिलसिलामा बहराइन पुगे । यो बीचमा उनको नेपाल र बहराइन आवजजावत भइरह्यो । २०७६ सालमा कोरोनाको महामारी चल्यो । त्यसबाट उनी पनि अछुतो रहन सकेनन् । कोरोना संक्रमित बने । नेपालमा कोरोनाको दोस्रो लहर चलिरहेको थियो । उनी २०७८ सालमा नेपाल फर्किए । भक्तपुरमा भाडामा बस्थे उनी । नेपाल फर्किएपछि उनी भक्तपुरमै बसिरहेका थिए । ‘म भक्तपुरमै बसिरहेको थिएँ, गाउँकै छिमेकी गान्दिब गिरीले सन्तोषले मुक्तिनाथ विकास बैंकमा पैसा हाल्दिएको छ भनेर गाउँमा आमालाई सुनायो । छोरो भर्खरै विदेशबाट आएको छ । के रहेछ म सोधौंला भनेर उसलाई फर्काउनु भयो ।’ सन्तोष थापा । सन्ताेषले गान्दिब गिरीलाई फोन गरे । सिन्धुलीको माडीमा होटल सञ्चालन गरिरहेका नखबहादुर बस्नेतले बैंकमा २ लाख जति हालेको र मान्छे सम्पर्कविहीन भएपछि बैंकबाट नागरिकताको फोटोकपी ल्याएर खोजी गरिरहेको जानकारी गान्दिबले सन्तोषलाई सुनाए । गान्दिबबाटै नखबहादुरको फोन नम्बर मागियो । त्यसपछि सन्तोषले नखबहादुर बस्नेतलाई फोन गर्दा मुक्तिनाथ विकास बैंकमा २ लाख रुपैयाँ जम्मा गरेको जानकारी गराए । सन्तोषले उनीसँग किन जम्मा गर्नुभयो ? के कारोबार गर्नु भयो ? सन्तोष भन्ने मान्छे कस्तो थियो लगायतका प्रश्न गरे । ‘होटलमा बस्नु भएको हो । मोटो हुनुहुन्थ्यो । ५० वर्ष हाराहारीको हुनुहुन्थ्यो । मालपोत कार्यालयको कर्मचारी हुँ भन्नुहुन्थ्यो,’ होटल व्यवसायी नखबहादुरको भनाइ उद्धृत गर्दै सन्तोषले भने । तर, फोन नम्बर माग्दा नखबहादुरले दिन मानेनन् । सामान्य विषय रहेछ भन्दै उनी आफ्नो परिवारको उपचारमा अस्पतालमा व्यस्त हुन थाले । यहीबीचमा काठमाडौं प्रहरी परिसर टेकुबाट सन्तोषलाई फोन आयो । तपाईंको नागरिकता हराएको छ, कसैले दुरुपयोग गरेको छ भन्दै प्रहरीले प्रश्न गर्न थालेपछि आफ्नो नागरिकता हराएको र दुरुपयोग गर्ने व्यक्तिलाई पत्ता लगाएर कारवाही गर्न माग गरे । पैसा कहिले दिने हो भन्दै केही समयपछि फेरि फोन आयो । फोनबाटै गाली गलौज र धम्कीसमेत आउन थाले । तत्कालै उनले नेपाल प्रहरीको आकस्मिक सेवा १ सयमा फोन गरेर आफ्नो बेलिबिस्तार सुनाएपछि नजिकको प्रहरी चौकीमा गएर उजुरी दिन सुझाव आयो । ‘त्यसपछि म प्रहरी वृत्त ठिमी गएर कार्यालय प्रमुखलाई जानकारी गराएँ । भक्तपुर जिल्ला प्रहरी कार्यालयबाट काठमाडौं प्रहरी परिसर टेकुमा जान भनियो । टेकुमा गएर तत्कालीन डीएसपी निरञ्जन दत्त भट्टलाई फेरि घटनाको विषयमा सबै जानकारी गराएपछि ठाडो निवेदन दर्ता गरे,’ उजुरी दिएको विषय जानकारी दिँदै उनले भने । पारिवारिक समस्या थियो । सन्ताेष आफै पनि बिरामी परे । तर, केही समयपछि २ जना व्यक्ति उनको गाउँको घरमा पुगेछन् । नागरिकताको फोटोकपी देखाएर हामी सन्तोषको साथी हो भनेपछि आमाले चिया पकाएर दिएको घटना स्मरण गर्दै उनले भने, ‘मेरो फोन नम्बर मागेपछि आमाले दिनु भएछ । आधा घण्टापछि उहाँहरू निस्किनु भयो । सोही दिन साँझ आमाले फोन गर्नुभयो । तेरो साथीहरू भन्दै थिए, कस्तो कस्तो भाषा बोले, तेरो नम्बर दिएको छु । फोन गर्छु भन्या छन् ।’ उनीहरूले फोन नम्बर लगे पनि लामो समयसम्म फोन आएन । एकदिन एउटा नम्बरबाट फोन आएपछि तपाईंले ००१ नम्बरको फोन नम्बर किन बन्द गर्नु भयो भन्दै प्रश्न गरे । जबकि उनले त्यो नम्बरको सिम कहिल्यै पनि प्रयोग गरेका थिएनन् । ‘पैसा कहिले दिने हो भन्दै धम्की दिनु भयो । फरक-फरक नम्बरबाट फोन गरेर गाली गर्नुभयो,’ फोनमा भएको कुराकानी स्मरण गर्दै सन्तोषले भने, ‘मेरो नागरिकता हराएर दुरुपयोग गरी बैंक खाता खोली कारोबार गरेको छ । म तपाईंले भनेको मान्छे होइन । तपाईंहरू प्रहरीमा गएर उजुरी दिनुहोस् । प्रहरीले अनुसन्धान गरेर मान्छे समात्छ भनेर जवाफ दिएँ ।’ विसं २०७९ माघ ७ गते देवघाटमा लाखबत्ती बाल्ने साइत थियो । खर्चका लागि रकम निकाल्न उनी माघ ४ गते चेक लिएर एनआईसी एशिया बैंकको भक्तपुर शाखामा पुगे । तर, खाता कालोसूचीमा रहेको बैंकले जानकारी गरायो । के कति कारणले खाता कालोसूचीमा परेको हो भनेर सोधपुछ गर्दा महाराजगञ्ज प्रहरी वृत्तले खाता कालो सूचीमा राखिएको बैंकले जवाफ दियो । ‘किन मेरो खाता बन्द गरेको रहेछ भनेर महाराजगञ्ज प्रहरी वृत्तमा जाँदा प्रहरीले म विरुद्ध प्रक्राउ पुर्जी देखाउँछ । तत्कालीन अनुसन्धान अधिकृत हरिप्रसाद भट्टले चेक बाउन्सको मुद्दा परेको छ, तपाईं आज यही बस्नुपर्छ भन्नुभयो । अनि उहाँलाई नागरिकता हराएको र नक्कली खाता खोलेर कारोबार भएको र उजुरीकर्ता रामलाल रोकाया दम्पत्तीलाई नचिन्ने र कारोबार नगरेको जानकारी गराएँ,’ त्यतिबेलाको कुराकानी स्मरण गर्दै सन्तोषले भने । रामलाल रोकाया दम्पती । भोलिपल्ट सनाखत गरियो । ‘उहाँ (रामलाल रोकाया) दम्पतीले मविरुद्ध मुद्दा हाल्नु भएको रहेछ, त्यसपछि रामलालको श्रीमती, अन्य २ जना, प्रहरी र स्थानीय गरी १५/१६ जनाको बीचमा मलाई राखियो । सन्तोष थापा को हो, कस्तो मान्छे हो, किन कारोबार गरेको भनेर एक घण्टा बढी छलफल भयो । तर, उहाँहरूले सन्तोष थापा मलाई होइन भनेपछि माघ ५ गते प्रहरीले निशर्त रिहाइ गर्‍यो,’ सन्तोषले भने । उनका अनुसार जिल्ला न्यायाधीवक्तालाई अनुसन्धान अधिकृत हरिप्रसाद भट्टले फोन गरेर सबै जानकारी गराएपछि फाइल फिर्ता लिइयो । तर, सन्तोषको एनआईसी एशिया बैंक र नबिल बैंकमा भएको खाता कालोसूचीबाट हटाइएन । ‘म कामले उपत्यका बाहिर गएँ । उपत्यका बाहिरबाट फर्किएपछि उहाँ (रामलालको श्रीमती)ले माघ २५ गते मलाई फोन गर्नु भयो । ‘हाम्रो गल्ती भइहाल्यो । तपाईंले केही गर्नु भएको रहेनछ । तपाईंको खाता खोलिदिन्छौं, चौकीमा आउनुहोस् भन्नुभयो,’ सन्तोषले त्यतिबेलाको विषय स्मरण गर्दै भने, ‘म बैंक खाता खुला हुने आशासहित सरासर चौकी पुगें । तर, उनीहरूले मलाई नै आरोप लगाएर पैसा खाने मान्छे यही हो भन्दै गालीगलौज गर्न थाले । जबकि माघ ५ गते रामलाल रोकाया दम्पतीले हामीले चिनेको सन्तोष थापा होइन भनेर बयान दिएपछि नि:शर्त छोडेको थियो ।’ यसअवधिमा अनुसन्धान अधिकृत भट्टको सरुवा भइसकेको थियो । तर, अनुसन्धान अधिकृत भट्टसँग भएको सबै विषय तत्कालीन डिएसपी अंगुर जीसीलाई जानकारी गराउँदा पनि बेवास्ता गरेको सन्तोषले सुनाए । ‘पहिला निःशर्त छोडिएको हो । यी व्यक्तिहरूले मलाई दुःख दिए र अनुसन्धान गरेर यिनीहरूलाई समात्नु पर्‍यो भनेर प्रहरी समक्ष गुनासो गरें । तर, प्रहरीले वेवास्ता गर्‍यो, उल्टै मलाई जबरजस्ती प्रहरी हिरासतमा राखियो, अदालत लगियो ।’ अदालतका तत्कालीन न्यायाधीश जनक पाण्डेसँग पनि सन्तोषले आफूले भोगिरहेको घटना सुनाए । सरकारी वकिलमार्फत तत्कालीन अनुसन्धान अधिकृत हरिप्रसाद भट्टलाई फोन गरेर सोधेपछि सबै जानकारी गराए । उनलाई २० हजार धरौटीमा छाड्न अदालतले आदेश दियो भने प्रहरीमा गएर जाहेरी दिन आदेश दिइयो । ‘अदालतले भने बमोजिम मुद्दा लिएर टेकु चौकी गएँ । तर, प्रहरीले मलाई घुमाएको घुमाई गर्‍यो । आज मुद्दा दिएपछि एक सातापछि दर्ता हुन्छ भनेर फर्काउन थाल्यो, फेरि अर्काे साता जाँदा दर्ता नै भएको हुँदैन,’ उनले घटना सुनाउँदै भने, ‘लामो समयसम्म पनि प्रहरीले उजुरी दर्ता गर्न मानेन, ४/५ महिनापछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गराएँ ।’ त्यसपछि भने प्रहरीले बैंकसँग वास्तविकता खोज्यो । यस विषयमा स्पष्ट पार्न प्रहरीले बैंकलाई पत्र पठायो । बैंकले पनि नागकिरताको आधारमा बैंक खाता खोलिएको हो, सीसीटीभी फुटेज छैन भन्ने जवाफ प्रहरीमा पेस गर्‍यो । यो विषयमा अनुसन्धान गरिदिन भन्दै बैंकले प्रहरीलाई सहयोग माग्छ । फेरि अर्को लफडा रामलाल रोकायाले उजुरी दिएको विषयले उग्र रूप लिइरहेको बेला सन्तोष थापालाई फेरि अर्को विपत आइलाग्यो । काभ्रेको बनेपा बस्ने टिकादेवी चौलागाईं ९ लाख रुपैयाँ साट्न बैंकमा पुग्छिन् । उनलाई पनि बैंकले खातामा पर्याप्त रकम नभएको र चेक बाउन्सको मुद्दा लिएर प्रहरी चौकीमा जान सल्लाह दिन्छ । त्यसपछि बैंकले सन्तोष थापालाई जानकारी गराउँछ । सोही विषय लिएर उनी टेकुमा पुग्छन् । तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) आदित्यराज विष्टलाई चेक साट्न आएको विषय र फोन नम्बरसहित जानकारी गराएर अनुसन्धान गर्न आग्रह गरे । विष्टले टिकादेवीलाई प्रहरी चौकीमा बोलाएर सन्तोष थापालाई देखाउँछन् । तर, उनले उक्त व्यक्ति आफूले कारोबार गरेको सन्तोष थापा नरहेको प्रहरीमा मौखिक बयान दिन्छिन् । आफूले कारोबार गरिरहेको व्यक्तिको सबै हुलिया टिकादेवीले बताएपनि प्रहरीले भने अनुसन्धान गर्न मानेन । टिकादेवीको भनाइ उद्धृत गर्दे सन्तोषले भने, ‘सन्तोष थापा सिंहदरबारको कर्मचारी हो । ५० वर्ष हाराहारीको, होचो, मोटो हुनुहुन्छ र आइडी कार्ड लगाएर सिंहदरबारको पूर्वी गेटबाट छिर्नु भएको थियो । यो विषय तत्कालीन इन्स्पेक्टर आदित्यराज विष्टलाई जानकारी गराइएको थियो । तर, उहाँले कुनैपनि एक्सन लिनु भएन ।’ यहीबीचमा अदालतले पनि सन्तोष थापाले उजुरी नदिएको र जिकिर गर्न नसकेको कारणले स्याहार्नु पर्ने देखियो भनेर फैसला गर्‍यो । उनले न्यायाधीशसँग धेरै अनुरोध गरेपछि कानुनका बाटा खुला रहेको, फेरि पुनरावेदन गर्न पाउने र निर्दाेषले न्याय पाउँछ भन्दै फर्काए । त्यसपछि सन्तोषले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत फेरि अर्काे जाहेरी दर्ता गराए । ‘धेरै समयपछि मात्रै प्रहरीले मेरो छानबिन गर्न थाल्यो । मेरो नागरिकता, हस्तलिखित, हस्ताक्षर, औंठा छाप, कारोबार, मेरो फोन नम्बरदेखि सबै छानबिन गर्‍यो । कुनैपनि नमिलेपछि प्रहरीले मुद्दा चलाउने र मान्छे खोजेर समात्ने भनेर विश्वास दिलाउँछन् । कारोबार गर्ने व्यक्तिहरूले सबै हुलिया र फोन नम्बर उपलब्ध गराउँदा पनि प्रहरीले अनुसन्धान गरेर मान्छे समात्दैन,’ सन्तोषले भने, ‘बैंकका कर्मचारीहरू पनि जाहेरी दिएका छौं, प्रहरीले मान्छे खोज्दैछ भनेर जवाफ दिन्छ ।’ बैंकका कानुन विभाग प्रमुख डण्डपाणि ढकालले मुद्दा दर्ता भएको भने पनि दर्ता नम्बर भने दिन नमानेको सन्तोषले गुनासो गरे । एउटा चेकको मुद्दा पुनरावेदनमा रहेको, अर्काे ९ लाखको चेक बाउन्सको मुद्दा तयारी अवस्थामा रहेको र अझै बैंकको सिस्टममा ७ वटा चेक छन् । घरजग्गा बेच्दा पनि तिर्न नसक्ने गरी करोडको चेक आए भने सुकुम्बासी बन्नुपर्ने आवस्था आउन सक्ने र कानुनी अल्झन हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे । ‘मुद्दा लड्डालड्दै मेरो भिसा नै रद्द भयो । मैले खाडी मुलुकमा गएर काम गर्न पनि नपाउने हो ? कति वर्ष मुद्दा लडेर काठमाडौंमा बस्ने हो ? मुद्दा लड्नका लागि पैसा कहाँबाट ल्याउने ? वकिलले एउटा जाहेरी लेखेको न्यूनतम १० हजार रुपैयाँ लिन्छ । पैसा नदिए जाहेरी नै छुँदैन । यस्ता जाहेरी मैले १० वटा भन्दा बढी लेखिसकें । एक/दुई वटा च्यातेको पनि छु । ३/४ वटा प्रमाणको लागि राखेको छु,’ उनले भावुक हुँदै भने, ‘मैले न्याय पाउनका लागि कहाँ जाने ?’ नागरिकता हराएपछि भोग्नु परेको समस्या विसं २०७० सालमा हराएको सन्तोषको नागरिकता ८ वर्षपछि मुक्तिनाथ विकास बैंकको ढुङ्गेअड्डा र टोखा शाखामा भेट्टियो । जसले हराएको नागरिकता पाएका थिए तिनै व्यक्तिले बैंकको ढुङ्गेअड्डा र टोखा शाखामा बैंक खाता खोलेको देखिन्छ । नागरिकता देखाएर आफू नै सन्तोष थापा भएको दाबी गरेपछि खाता खोलिएको बैंकका कानुन विभाग प्रमुख डण्डपाणि ढकाल बताउँछन् । तर, एउटै नागरिकताबाट कसरी दुइटा बैंक खाता खोलियो भन्ने प्रश्नमा बैंकका कर्मचारीबाट गल्ती भएको हुन सक्ने उनको भनाइ छ । ‘नागरिकता लिएर बैंकमा खाता खोल्न आउनु भयो । कोरोना महामारीको समयमा खाता खोलिएको देखिन्छ । त्यतिबेला माक्स लगाउनु पर्ने बाध्यता थियो । अब मेरो नागरिकता हो भनेर दाबी गरेपछि बैंकका कर्मचारीले खाता खोले,’ ढकालले भने, ‘सन्तोष थापाले मेरो हराएको नागरिकताबाट कसैले खाता खोलेको गुनासो गरेपछि बैंकले पनि प्रहरीमा उजुरी दिएको छ ।’ ढुङ्गेअड्डा र टोखा शाखामा खोलिएको खातामा हराएको नागरिकता र फोटो एउटै प्रयोग भएको देखिन्छ । उनका अनुसार प्रहरीले बैंकका कर्मचारीहरूलाई बोलाएर सोधपुछ गरिसकेको र अनुसन्धान गरिरहेको छ । प्रहरीले हराएको नागरिकता लिएर आउने मान्छेको खोजी भइरहेको जानकारी गराउने गरेको उनले बताए । प्रहरीले मान्छे खोजिसकेपछि मात्रै सन्तोष थापाले न्याय पाउने ढकालको भनाइ छ । सन्तोष थापाको नागरिकताको दोस्रो प्रतिलिपी । घटनामा जोडिएका रामलाल रोकायासँग घटनाका विषयमा बुझ्दा उनले अदालतमा गएर बुझ्न भने । आफूले दिएको पैसा फिर्ता माग्दा चेक दिएको उनले बताए । तर, खातामा पैसा नभएपछि चेक बाउन्समा मुद्दा हालेको उनको भनाइ छ । ‘समस्या पर्‍यो भनेर रकम दिएको हो । सन्तोष थापासँग पहिला नै चिनजान हो । भक्तपुरमा बस्नुहुन्छ । अब पैसा लिएर चेक दिएपछि रकम नहुँदा बाउन्स गरेको हो । उहाँलाई सहयोग गरेकै छु । भनेको बेलामा प्रहरी चौकी र अदालतमा गएकै छु,’ उनले भने, ‘उच्च अदालतबाट फैसला भएर सर्वाेच्च अदालतमा पुनरावेदनका लागि मुद्दा दिनु भएको छ । विचाराधीन अवस्थामा छ । अब अदालतले के निर्णय गर्छ त्यसकै पर्खाइमा छौं ।’ तत्कालीन अनुसन्धान अधिकृत हरिप्रसाद भट्टका अनुसार आफू महाराजगञ्जमा हुँदा उक्त मुद्दा सल्टिएको बताउँछन् । तर पछि के भयो थाहा नभएको जानकारी गराए । ‘सबै पक्षलाई बोलाएर छलफल गरिएको हो, हामीले सन्तोष थापा पीडित व्यक्ति ठहर्‍याएका थियौं, हराएको नागरिकताबाट खाता खोलेर एक अर्कामा चिनजान नै नभएको व्यक्तिबीच कारोबार भएको देखिन्छ, सरकारी वकिलसँग समन्वय गरेर फाइल बन्द गरिएको करिब तीन वर्ष भइसक्यो । त्यतिबेला फाइल नै बन्द गरिएको थियो,’ उनले भने, ‘उहाँले क्लिनचिट पाउनु भएको हो जस्तो लाग्छ । तर, फाइल हेर्नुपर्छ ।’ काठमाडौं प्रहरी परिसर टेकुका तत्कालीन प्रहरी निरीक्षक आदित्यराज विष्टका अनुसार सन्तोष थापाको मुद्दा बैंकिङ कसुरको कोर बैंकिङ मुद्दा हो । त्यतिखरे प्रमाण नपुगेर मुद्दा नचल्ने निर्णय भएको थियो । साथै डिजिटल फरेन्सिक ल्याबबाट हस्ताक्षर, ल्याप्चे लगायत सबै परीक्षण गर्दा पुष्टि नभएपछि जिल्ला सरकारी वकिल कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको उनको भनाइ छ । ‘नागरिकता हराएर दुरुपयोग भएको भन्ने उहाँको आरोप हो । त्यसमा प्रहरी मात्रै नभएर बैंक पनि जिम्मेवार हुन्छ । किनभने बैंकमा खाता खोलिएको छ । उहाँले मुद्दा हालेको मान्छे रामलाल रोकायाको पनि फरेन्सिक चेक गर्दा हस्ताक्षर, फोटो केही मिलेन,’ उनले भने, ‘यी सबै अध्ययन गर्दा खाता अर्कै व्यक्तिले खोलेको देखिन्छ । त्यो कसको हस्ताक्षर हो भनेर हामीले कहाँ खोज्न जाने ? त्यो अनुसारको संयन्त्र पनि छैन ।’ उनका अनुसार यस्ता मुद्दा बैंकले सबैभन्दा पहिला ध्यान दिनुपर्छ । नागरिकता बमोजिमको मान्छे होकी होइन भनेर बैंकले पुष्टि गर्न सक्नुपर्ने उनको भनाइ छ । ‘नागरिकतामा भएको फोटो र हालसालैको मान्छेको अनुहार नमिल्न सक्छ । तर, नागरिकता बाहक हो कि होइन भेनर भेरिफाइ गर्नुपर्छ । नागरिकता दुरुपयोग सबैभन्दा पहिला बैंकबाट हुने हो,’ उनले भने, ‘हामीले अनुसन्धानका लागि सीसीटिभी फुटेज माग्यौं । तर, त्यहाँबाट कुनै आधार बैंकबाट प्राप्त भएन । त्यसपछि हामीले डिजिटल फरेन्सिक ल्याबमा पठाउँदा त्यहाँ पनि मिलेन ।’ अहिले सन्तोष थापा हराएको नागरिकताले दिएको सकस भोगिरहेका छन् । उनको समस्या न बैंकले समाधान गर्न सकेको छ न प्रहरीले न अदालतले नै । उनी एक दशकअघि हराएको नागरिकता अर्कैले भेटाएर त्यसको दुरुपयोग गरेको भार बोकिरहेका छन् । हो, सन्तोष पीडित हुन् भन्ने विषय बैंकलाई पनि थाहा छ, प्रहरीलाई पनि थाहा छ र अदालत पनि यो विषयमा कन्भिन्स छ । तर, यसको यथेष्ट प्रमाण भने कुनैसँग पनि छैन । अहिले सन्तोष अर्कैले गरेको उनको नागरिकताको दुरुपयोगको दुःख खेप्दैछन् । उनलाई थाहा छैन कि यो दुःख उनले कहिलेसम्म भोग्नु पर्ने हो । यो पासोमा कहिलेसम्म बस्नुपर्ने हो ।

लघुवित्तको एनपीएल सुधारको बाटोमा, ३१ संस्थाले घटाए

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) साढे ६ प्रतिशत बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा ६.६८ प्रतिशत बढेर औसत ६.१९ प्रतिशत बिन्दुमा पुगेको हो । गत आवको पुसमा लघुवित्तहरूको औसत खराब कर्जा ६.६३ प्रतिशत थियो । ५१ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये समीक्षा अवधिमा २१ वटा लघुवित्त संस्थाहरूको खराब कर्जा बढेको देखिन्छ भने ३० वटा लघुवित्तले खराब कर्जा घटाएका छन् । यस अवधिमा वीन नेपाल लघुवित्तको खराब कर्जा सबैभन्दा धेरै बढेको छ । गत पुससम्म वीन नेपाल लघुवित्तको खराब कर्जा १३८.६९ प्रतिशत बढेर ६.२३ प्रतिशत बिन्दुमा पुगेको हो । जबकि गत वर्षको सोही अवधिमा लघुवित्तको खराब कर्जा २.६१ प्रतिशत बिन्दुमात्रै थियो । यस्तै, स्वस्तिक लघुवित्तको १३२.८७ प्रतिशत बढेर ८.५ प्रतिशत बिन्दु, इन्फिनिटी लघुवित्तको ९८.९८ प्रतिशत बढेर ९.८५ प्रतिशत बिन्दु, युनिक नेपाल लघुवित्तको ६१.२९ प्रतिशत बढेर १६ प्रतिशत बिन्दु, हिमालयन लघुवित्तको ५६.५४ प्रतिशत बढेर ५.६२ प्रतिशत बिन्दु, फस्र्ट माइक्रोफानान्स लघुवित्तको ५४.७० प्रतिशत बढेर ४.४४ प्रतिशत बिन्दु, जीवन विकास लघुवित्तको ५४.५७ प्रतिशत बढेर ४.५६ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ । यस्तै, आरएसडीसी लघुवित्तको ४८.९० प्रतिशत बढेर २.७१ प्रतिशत बिन्दु, उपकार लघुवित्तको ४६.०९ प्रतिशत बढेर ४.१२ प्रतिशत बिन्दु, नेष्डो समृद्ध लघुवित्तको ३८.७६ प्रतिशत बढेर १६.६१ प्रतिशत बिन्दु, समता घरेलु लघुवित्तको ३०.०६ प्रतिशत बढेर ७.८३ प्रतिशत बिन्दु, मातृभूमि लघुवित्तको २९.४३ प्रतिशत बढेर ९.६३ प्रतिशत बिन्दु, साना किसान विकास लघुवित्तको १३.५ प्रतिशत बढेर २.२७ प्रतिशत बिन्दु, सपोर्ट लघुवित्तको १२.९८ प्रतिशत बढेर १.७४ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको तथ्याङ्क छ । पुससम्मको तथ्याङ्क अनुसार धौलागिरी लघुवित्तको ११.५६ प्रतिशत बढेर ५.५ प्रतिशत बिन्दु, स्वाभिमान लघुवित्तको १०.६७ प्रतिशत बढेर ३.४२ प्रतिशत बिन्दु, मिथिला लघुवित्तको ८.५० प्रतिशत बढेर ४.८५ प्रतिशत बिन्दु, विजय लघुवित्तको ५.६९ प्रतिशत बढेर ८.३५ प्रतिशत बिन्दु, महुली लघुवित्तको ५.३८ प्रतिशत बढेर ४.८९ प्रतिशत बिन्दु, आत्मनिर्भर लघुवित्तको ४.५७ प्रतिशत बढेर १५.०९ प्रतिशत बिन्दु र समाज लघुवित्तको १.६५ प्रतिशत बढेर ४.९ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको हो । ३१ लघुवित्तले घटाए खराब कर्जा समीक्षा अवधिमा ३१ वटा लघुवित्त संस्थाहरूले भने खराब कर्जा घटाएका छन् । जसमध्ये सामुदायिक लघुवित्तको खराब कर्जा ६६.६२ प्रतिशत घटेर ४.८९ प्रतिशत बिन्दुमा झरेको छ । जबकी गत वर्षको पुसमा लघुवित्तको खराब कर्जा १४.६५ प्रतिशत बिन्दुमा थियो । यस्तै, महिला लघुवित्तको ६२.४२ प्रतिशत घटेर १.८६ प्रतिशत बिन्दु, सीर्जनशील लघुवित्तको ६१.५७ प्रतिशत घटेर ६.९७ प्रतिशत बिन्दु, ग्रामीण विकास लघुवित्तको ४६.९९ प्रतिशत घटेर ४.१५ प्रतिशत बिन्दु, अभियान लघुवित्तको ४२.२५ प्रतिशत घटेर ४.१४ प्रतिशत बिन्दु, डिप्रोक्स लघुवित्तको ४१.४९ प्रतिशत घटेर ६.०९ प्रतिशत बिन्दुमा खराब कर्जा झरेको छ । पुससम्मको तथ्याङ्क अनुसार आरम्भ चौतारी लघुवित्तको ३७.२८ प्रतिशत घटेर २.९१ प्रतिशत बिन्दु, फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ३०.६० प्रतिशत घटेर ५.३५ प्रतिशत बिन्दु, स्वाबलम्बन लघुवित्तको २७.११ प्रतिशत घटेर ८.२८ प्रतिशत बिन्दु, मानुषी लघुवित्तको २५.९४ प्रतिशत घटेर ५.८५ प्रतिशत बिन्दु, सूर्योदय वोमी लघुवित्तको २५.८८ प्रतिशत घटेर ५.४४ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् । गुराँस लघुवित्तको २५.८५ प्रतिशत घटेर २.७८ प्रतिशत बिन्दु, जनउत्थान सामुदायिक लघुवित्तको २५.७९ प्रतिशत घटेर ५.८४ प्रतिशत बिन्दु, एनएमबि लघुवित्तको २४.०७ प्रतिशत घटेर ५.९६ प्रतिशत बिन्दु, नाडेप लघुवित्तको १९.६७ प्रतिशत घटेर ८ प्रतिशत बिन्दु, निर्धन उत्थान लघुवित्तको १९.६५ प्रतिशत घटेर ९.४ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् । यस्तै, नेशनल लघुवित्तको १८.७१ प्रतिशत घटेर ३.०४ प्रतिशत बिन्दु, उन्नति सहकार्य लघुवित्तको १५.८५ प्रतिशत घटेर ४.८३ प्रतिशत बिन्दु, स्वरोजागर लघुवित्तको १४.४३ प्रतिशत घटेर ५.०४ प्रतिशत बिन्दु, लक्ष्मी लघुवित्तको १२.०४ प्रतिशत घटेर ८.४७ प्रतिशत बिन्दु, गणपति लघुवित्तको ११.३७ प्रतिशत घटेर ४.१३ प्रतिशत बिन्दुमा खराब कर्जा कायम राखेका छन् । सीवाईसी नेपाल लघुवित्तको ८.८० प्रतिशत घटेर ४.३५ प्रतिशत बिन्दु, छिमेक लघुवित्तको ७.७९ प्रतिशत घटेर २.७२ प्रतिशत बिन्दु, नेरुडे मिर्मिरे लघुवित्तको ४.०७ प्रतिशत घटेर ८.४७ प्रतिशत बिन्दु, कालिका लघुवित्तको ३.११ प्रतिशत घटेर ४.६७ प्रतिशत बिन्दु, एनआईसी एशिया लघुवित्तको २.८३ प्रतिशत घटेर १३.३७ प्रतिशत बिन्दु, ग्लोबल आइएमई लघुवित्तको २.६१ प्रतिशत घटेर ४.१ प्रतिशत बिन्दुमा एनपीएल रहेको तथ्याङ्क छ । यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तको १.१४ प्रतिशत घटेर ७.७८ प्रतिशत बिन्दु, सम्पदा लघुवित्तको ०.८६ प्रतिशत घटेर ४.५६ प्रतिशत बिन्दु, आशा लघुवित्तको ०.२० प्रतिशत घटेर ४.९२ प्रतिशत बिन्दुमा खराब कर्जा झारेका छन् । नेपाल राष्ट्र बैंकले खराब कर्जा बढी भएका संस्थालाई निरन्तर निरीक्षण गरिरहेको हुन्छ । खराब कर्जा बढी भएका संस्थालाई राष्ट्र बैंकले नजिकबाट निरीक्षण गरिरहेको हुन्छ । जुन संस्थाको खराब कर्जा बढी छ, त्यो संस्थालाई भन्दा पनि बढी चिन्ता चासो हुने गरेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । खराब कर्जाको सीमा नतोकेको भएपनि शीघ्र सुधारात्मक कारवाही (पीसीए)का आधारमा कारवाहीमा पर्ने गरेको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेल बताउँछन् । खराब कर्जा १० प्रतिशत भएपनि अन्य सूचकमा संस्था राम्रोसँग सञ्चालन भइरहेको छ भने त्यस्ता संस्थालाई कारवाही हुँदैन । तर, विशेष कारणले असुल नभएर केही समयमा कर्जा असुली हुने देखिन्छ भने संस्थालाई समस्या भएको मानिँदैन ।