निजी स्रोतका शिक्षक र कर्मचारी अब सासु कोषमा, उपचारदेखि ऋणसम्मको सुविधा

काठमाडौं । सामुदायिक विद्यालयमा अध्यापन गराउने निजी शिक्षक र कर्मचारी अब सामाजिक सुरक्षा कोषमा आवद्ध हुने भएका छन् । शिक्षकले बुधबार साँझ सरकारसँग गरेको ९ बुँदे सहमति गरेसँगै अब निजी स्रोतका शिक्षक र कर्मचारीको पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुने भएका हुन् । तर, उनी आबद्ध हुनुअघि केही नीति बनाएर काम गर्ने तयारी सरकारको छ ।  अब सामुदायिक विद्यालयमा रहेका करिब ३५ हजार कर्मचारी र अनुमानित ३० हजार निजी स्रोतका शिक्षकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशभर करिब ३५ हजार विद्यालय कर्मचारी छन् ।  जसमा कक्षा १ देखि ८ कक्षासम्मका २० हजार विद्यालयमा एक एक जना कार्यालय सहयोगी र कक्षा ९ देखि १२ सम्म पढाइ हुने ७ हजार २ सय १३ विद्यालयमा एक जना कार्यालय सहयोगी र अर्को एकजना सहायक गरी ३४ हजार ४ सय ६६ कर्मचारी छन् । अब शिक्षा मन्त्रालयले यी सबै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुने गरी नीति बनाउने भएको छ ।  अन्य शिक्षकहरूमा स्थायी शिक्षक पहिले नै यो कार्यक्रममा आबद्ध छन् भने, अस्थायी शिक्षकलाई पनि स्वतः स्थायी बनाउने भएकाले अन्य शिक्षक पनि यो सेवामा प्रवेश गर्ने भएकाले निजी स्रोतका शिक्षक र कर्मचारीलाई मात्र यो कार्यक्रममा समावेश गर्ने सहमति भएको नेपाल शिक्षक संघका महासचिव तुल थापाले बताए ।  उनी भन्छन्, राहतले यो कार्यक्रममा आबद्ध नहुने पहिले नै भनिसकेको थियो, अरु अस्थायी र करार शिक्षकलाई थायी बनाएर एक मुष्ट पेन्सन उपलब्ध गराइने भएपछि अरु शिक्षकको हकमा यो लागू भएन ।’ छैन यकिन तथ्याङ्क शिक्षकहरूले निजी स्रोतका शिक्षकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णय गरेपनि निजी स्रोतका शिक्षक कति छन् भन्ने तथ्याङ्क कोहीसँगै छैन । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी निजी स्रोतका शिक्षक कति छन् भन्ने तथ्याङ्क आफूहरूसँग नभएको बताउँछन् । शिक्षकको हकहितका लागि भन्दै एक महिनासम्म सडक आन्दोलन गरेका शिक्षकहरूसँगै पनि यकिन डाटा छैन । शिक्षक कर्मचारीको संख्या चार लाख बढी रहेको दाबी गर्दै आएको शिक्षक महासंघले निजी स्रोतका शिक्षक र विद्यालय कर्मचारीको संख्या पनि यकिन नभएको जनाएको छ ।  महासंघका अध्यक्ष लक्ष्मी किशोरी सुवेदी निजी स्रोतका शिक्षकको संख्या यकिन नरहेको बताउँदै अब यो संख्या यकिन गर्ने बताउँछन् । उसो त शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग पनि निजी शिक्षकहरूको संख्या कति भन्ने तथ्यांक छैन । विकास केन्द्रका सूचना अधिकारी हरि प्रसाद अर्याल विद्यालयहरूलाई शिक्षक संख्या पठाउन भने पनि नपठाउँदा तथ्याङ्क नरहेको बताउँछन् । उनी कर्मचारीको संख्या करिब ३५ हजार भने पनि विद्यालयमा त्यो भन्दा बढी हुन सक्ने बताउँछन् ।  ‘केन्द्रबाट तलब जाने संख्या भनेको करिब ३५ हजारमात्र हो,’ उनी भन्छन् ‘आजभोलि धेरै विद्यालयले स्कुल बस सञ्चालन गरेका छन् ड्राइभर राखेका छन्, सेक्युरिटी गार्डहरू राखेका छन्, ठूला विद्यालयले अझ त्यो भन्दा धेरै संख्यामा कर्मचारी राखेका भएपनि दरबन्दी अनुसार संख्या थोरै छ ।’  कोषमा आवद्ध हुँदा फाइदा  सामाजिक सुरक्षा कोष एउटा यस्तो कार्यक्रम हो, जसले आम श्रमिकहरूको जीवन सुरक्षामा टेवा पुर्याउँछ । यो कोष २०७५ साल मंसिर ११ गतेदेखि सञ्चालनमा आएको हो । यो कोषमा औपचारिक र अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकहरू यसमा आबद्ध हुन्छन् । सरकारले श्रमिकहरूका लागि ल्याएको यो कार्यक्रममा श्रमिकले आफ्नो कमाइको ११ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्छ भने रोजगारदाताले २० प्रतिशत थपेर कुल ३१ प्रतिशत रकम श्रमिकको खातामा जम्मा गर्नुपर्छ ।  अब निजीस्रोत र विद्यालय कर्मचारीको हकमा पनि यही व्यवस्था लागू हुनेछ । शिक्षक र कर्मचारीले आफ्नो कमाइको ११ प्रतिशत र बाँकी सम्बन्धित विद्यालयले थपेर ३१ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने छ । यो गरेवापत कर्मचारीले विभिन्न सुविधा पाउन सक्ने छन् । योगदानमा आधारित यो कोषमा आबद्ध भएको व्यक्तिले सामाजिक सुरक्षा योजना अन्तर्गत चारवटा सुविधा पाउँछन् । जसमा स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आकस्मिक तथा दीर्घरोग योजना र आवासीय वृद्धावस्था पेन्सन तथा परिवार सहायता योजना सम्बन्धी सेवा दिइरहेको छ ।  औषधी उपचारमा छुट सामाजिक सुरक्षा कोषमा आवद्ध व्यक्तिलाई स्वास्थ्य समस्या हुँदा जाँच गर्नदेखि औषधी किन्न समेत छुट हुन्छ । तर, यसका लागि उपचार गर्न जाने अस्पताल यो कोषमा आबद्ध भएको हुनुपर्छ । बिरामी अस्पताल भर्ना हुँदा रोगको परीक्षण तथा उपचार, औषधी, गर्भवती परीक्षण प्रसूति तथा शल्यक्रिया सुत्केरी खर्च र तीन महिनाको शिशुको उपचार पनि गरिन्छ ।  यस्तै, योगदानकर्ता दुर्घटनामा परे कार्यालयमै काम गर्दा भएको दुर्घटना भए सबै खर्च उपचार खर्च र क्षतिपूर्ति पाइन्छ  भने कार्यालय बाहिर हुँदा ७ लाख रुपैयाँसम्मको उपचार खर्च कोषले बेहोर्छ । दुर्घटना पछि काम गर्न सक्ने अवस्था नभए जीवनभर आधारभूत तलबको ६० प्रतिशत रकम बराबर हरेक महिना उपलब्ध गरिने उल्लेख छ ।  ऋण पनि पाइने  सामाजिक कोषमा आबद्ध भएका व्यक्तिलाई ऋण आवश्यक परे पनि कोषले सहजै दिने गर्छ । तर यसका लागि योगदाकर्ता कोषमा आवद्ध भएको तीन वर्ष भइसकेको हुनुपर्छ । कोषले जम्मा गरेको रकमको ८० प्रतिशत सम्म योगदानकर्तालाई ऋण दिन सक्छ । जसवापत ब्याज भने तिर्नुपर्छ । तर अन्य बैंकबाट लिएको ऋणभन्दा सस्तो ब्याज पर्ने कोषको भनाइ छ ।  अवकाशपछिको सुविधा योगदान कर्ता ६० वर्ष पुगेपछि कामबाट अवकाश लिँदा उसले पेन्सन पाउने सुविधा पनि कोषमा उल्लेख छ । तर, यो बीचमा यदि योगदानकर्ताको मृत्यु भएको खण्डमा भने कोषमा जम्मा भएको रकम र त्यो रकम प्राप्त प्रतिफल समेत जोडेर आउने रकम योगदानकर्ताको हकवालालाई दिइने व्यवस्था छ ।  कोषलाई पनि टेवा पुग्छ सामाजिक सुरक्षा कोषमा शिक्षक र कर्मचारी आबद्ध हुँदा कोषलाई पनि केही हदसम्म फाइदा हुन्छ ।  सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी कोषमा जति धेरै रोजगारदाता आबद्ध भयो उति कोष दिगो हुने बताउँछन् ।  ‘कोषमा आबद्ध हुँदा विद्यालय र शिक्षक दुवैका लागि फाइदा हुने नै भयो कोषलाई पनि फाइदा पुग्छ,’ उनी भन्छन्, धेरै पुलिङ हुँदा  तथा यो सुविधाको उपभोग गर्दा यो कार्यक्रमको पनि दिगोपना हुन्छ, जति धेरै व्यक्ति यसमा आवद्ध हुनुभयो त्यति नै सजिलो हुन्छ ।’ अधिकारीका अनुसार सामुदायिक विद्यालयका धेरै शिक्षकहरू अहिले पनि यसमा आबद्ध छन् ।  कोषमा जोसुकै व्यक्ति आबद्ध भएपनि सेवासुविधा भने सबैलाई एकनासको हुने उनको भनाइ छ ।  कोषमा आबद्ध, शिक्षक हुन् या डाक्टर वा साधारण श्रमिकले काम गर्ने कामदार जोसुकै भएपनि उनीहरूले पाउने सेवासुविधा भने सबै एकखालको उनको उनले जानकारी दिए ।  निजी र सामुदायिक विद्यालय अहिले पनि आबद्ध भएकाले अहिलेको यो निर्णयपछि ठ्याक्कै यति शिक्षक कर्मचारी आबद्ध हुन्छन् भन्ने विश्लेषण भने कोषले गरेको छैन । अधिकारी भन्छन्, ‘शिक्षक र सरकारबीच निर्णय भएको छ, अब ऐन बन्नुपर्ला, नियम बन्दैछ, त्यसपछि आबद्ध हुनेक्रम बढ्ला यो राम्रो कार्य हो ।’  

मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड

काठमाडौं । टेस्लाको प्रमुख कार्यकारी अधिकृत (सीईओ )एलन मस्कको नेतृत्वमाथि उठेका शंका र आलोचनाबीच कम्पनीको बोर्डले बिहीबार मस्कको बचाउ गर्दै उनीप्रति 'उच्च विश्वास' रहेको बताएको छ । वाल स्ट्रीट जर्नलको रिपोर्टअनुसार बोर्डले मस्कलाई प्रतिस्थापन गर्ने विचार गरेको दाबी गरिएको थियो, जसलाई बोर्ड अध्यक्ष रोबिन डेन्होल्मले अस्वीकार गरिन् । यद्यपि डेन्होल्म आफै बोर्डको निष्क्रियता र मस्कलाई जवाफदेही बनाउन असफल भएको आरोपमा आलोचित हुँदै आएकी छन् । मस्कको लामो अनुपस्थिति, विवादास्पद राजनीतिक अभिव्यक्ति र टेस्लाको घट्दो ईभी बिक्री र मुनाफाले लगानीकर्ता चिन्तित भइरहेका छन् । खासगरी यूरोपमा टेस्लाको ईभी बिक्रीमा तीव्र गिरावट आएको छ, जहाँ मस्क र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पप्रति जनविरोध बलियो छ ।  मस्क पछिल्लो समय ट्रम्पको सल्लाहकार भूमिकामा केन्द्रित देखिएका छन्, जसले टेस्लाका उदारवादी ग्राहकहरूलाई टाढा बनाएको बताइएको छ । टेस्ला अहिले एक जटिल संकटमा फसेको विश्लेषकहरूको भनाइ छ- मस्कको नेतृत्वबिना कम्पनीको पहिचान कमजोर हुनसक्छ, तर उनको व्यवहारले व्यवसायलाई पनि हानी पुर्‍याइरहेको छ । 'मस्क टेस्लाभन्दा ठूलो' डीपवाटर एसेट म्यानेजमेन्टका जीन मुनस्टर भन्छन्– 'मस्कलाई प्रतिस्थापन गर्नु असम्भवजस्तै छ । उनी टेस्लाभन्दा पनि ठूलो व्यक्तित्व हुन् ।’ ज्याक्स इन्भेस्टमेन्ट म्यानेजमेन्टका ब्रायन मुलबेरीका अनुसार मस्कको विकल्प खोज्नु १० बुँदे कठिनाइ स्केलमा '८ वा ९' हुनसक्छ । 'त्यस्तो व्यक्तिले आफ्नै करिश्मा लिएर आउनुपर्छ,’ उनले बताए । कार्यकारीहरूको बहिर्गमन गत वर्षदेखि टेस्लाबाट धेरै वरिष्ठ कार्यकारीहरू बाहिरिएको पाइएको छ, जसमा कम्पनीलाई ईभीकेन्द्रित राख्न चाहनेहरू थिए । उनीहरूले बोर्डसँग मस्कको रणनीति बदल्न आग्रह गरे पनि बोर्डले मस्ककै पक्ष लिएको स्रोतहरूले जनाएका छन् । स्रोतका अनुसार केही कार्यकारीहरूले मस्कलाई मुख्य कार्यकारीबाट हटाई उनको स्थानमा दिनहुँको सञ्चालन सम्हाल्न सक्षम व्यक्तिलाई नियुक्त गर्न सुझाव दिएका थिए- जसरी स्पेशएक्समा गुयन्न शटवेल सञ्चालन प्रमुखका रूपमा कार्यरत छिन् । तर मस्कले टेस्लामा त्यो मोडल अस्वीकार गरेका छन् । भविष्यप्रति आशा र शंका  टेस्लाका कट्टर समर्थकहरूले मस्कलाई भविष्य ल्याउने ‘जीनियस’ मान्छन् । यद्यपि, मस्कले वर्षौंअघिदेखि वाचा गरेका रोबोट, रोबोट्याक्सी र पूर्ण स्वचालित ड्राइभिङ अझैसम्म व्यवसायिक रूपमा सुरु भएका छैनन् । फ्युचर फण्डका ग्यारी ब्ल्याक लेख्छन्– 'टेस्ला भित्र यस्तो कोही व्यक्ति देखिँदैन जससँग मस्कसरह व्यापक रणनीतिक, प्राविधिक, र कार्यान्वयन क्षमताहरू छन् ।’ निजी लगानीकर्ता जेम्स म्याकरिचीले बोर्ड मस्कको प्रभावमा रहेको र उनीहरूले मस्कविरुद्ध जान नचाहने सम्भावना औंल्याउँदै भने, 'टेस्लाको सेयर मूल्य मस्कप्रतिको प्रेम र उनको रोबोट सपना प्रति आशामाथि आधारित छ ।’ बोर्ड अध्यक्ष डेन्होल्मले भनेका छन्- 'हामी मस्कले आगामी विकास योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नसक्नेमा अत्यन्तै विश्वस्त छौं ।’ ईयूमा शुल्कबाट बच्न प्लग-इन हाइब्रिड बढी बेच्दै चिनियाँ अटो कम्पनी नयाँ सीईओको खोजीमा टेस्ला

१६ वर्षपछि खाद्यको नाममा हस्तान्तरण, ट्रेड टावरमा लगानी गरेका जनताको पैसा के हुन्छ ?

काठमाडौं । ट्रेड टावर लिमिटेडले वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्‍यो । कम्पनीले आईपीओ बिक्री खुला गरेपछि एक लगानीकर्ताले सामाजिक सञ्जाल फेसबु्कमा लेखे, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गामा ३० वर्षका लागि ट्रेड टावरको भवन बनाइएको छ । अब १२/१५ वर्ष मात्रै बाँकी छ । त्यस्ता कम्पनीलाई आईपीओ निष्काशनका लागि स्वीकृति दिएको छ । तर, भवन खाली छ । भाडामा लागेको छैन । कसैले किनेको छैन ।’ अबको डेढ दशकपछि भवनसहित सबै सम्पत्ति खाद्य कम्पनीलाई बुृझाउनु पर्ने उनको बुझाइ छ । तर, भवन चुहिएर काम नलाग्ने भइसकेको उनले दाबी गरे । आईपीओ निष्काशनको प्रक्रियामा रहेका बेला लगानीकर्ताहरूमा नकारात्मक असर पर्ने देखेपछि कम्पनीका एक सञ्चालकले फोन गरेर स्टाटस हटाउन लगाए । अहिले ती लगानीकर्ताले आफ्नो स्टाटस हटाइसके ।  ट्रेड टावरले लिजिङ्ग एण्ड फाइनान्सिङ्ग, प्रोजेक्ट डेभलपमेन्ट, पूर्वाधार विकासका क्षेत्रहरू लगायत होटल, हस्पिटालिटी र पर्यटन क्षेत्रमा समेत कार्य गर्दै आएको छ । कम्पनीको पहिलो परियोजना हो, थापाथलीस्थित ट्रेड टावर । उक्त परियोजना नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविक खाद्य संस्थान)को जमीन ३० वर्षका लागि लिजमा लिई कर्पोरेट कम्प्लेक्स निर्माण गरी विगत १५ वर्षदेखि सञ्चालनमा छ । थापाथली परियोजनाको लिज अवधि २०८१ असारसम्म १६ वर्ष बाँकी छ । १६ वर्षपछि थापाथली परियोजनाको सबै सम्पत्ति खाद्य कम्पनीको नाममा हस्तान्तरण हुनेछ । त्यसपछि कम्पनीको सम्पत्ति खाद्यमा हस्तान्तरण भएपछि पुँजी बजारमा कारोबार हुन्छ कि हुँदैन भन्ने विषयले लगानीकर्ताहरूलाई अन्याैल बनाएको छ । यस्तो छ सम्झौता  खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सम्पत्ति व्यवस्थापन विभाग प्रमुख दीपक कार्कीका अनुसार २०६५ सालमा थापाथलीको ११ रोपनी ६ आना क्षेत्रफल जग्गा ट्रेड टावर कम्पनीलाई लिजमा दिइएको हो । सम्झौतामा खाद्य पहिलो पक्ष र कञ्चनजङ्घा हाउजिङ दोस्रो पक्ष हुने उल्लेख छ । खाद्यको तर्फबाट तत्कालीन महानिर्देशकले हस्ताक्षर गरेका थिए भने २ जना साक्षी थिए ।  यस्तै, कञ्चनजङ्घा हाउजिङकोतर्फबाट मुख्य व्यक्ति गुरु न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका थिए भने साक्षी थिए शिवहरि दंगालसहित अन्य २ जना । दंगाल हाल ट्रेड टावर कम्पनीको अध्यक्ष छन् । खाद्यले थापाथलीको भवन भोगचलन गर्ने समयसम्म अर्थात् ३० वर्षको अवधि सकिँदासम्म ट्रेड टावरबाट कुल २० करोड रुपैयाँ भाडा असुल गर्नेछ । ‘खाद्यको नाममा रहेको थापाथलीस्थित ११ रोपनी ६ आना जग्गा व्यावसायिक, कार्यालय र आवासीय भवन प्रयोजनका लागि लिजमा दिएको हो । अहिले खाद्यको स्वामित्वमा जग्गा मात्रै छ । ट्रेड टावरले भोगचलन गर्दै आएको भवनसहित सबै सम्पत्ति ३० वर्षपछि खाद्यले भोगचलन गर्नेछ,’ कार्कीले भने, ‘कबुलियत गरेको रकम प्रत्येक ५/५ वर्षमा परिवर्तन हुने सर्त छ । पहिलो २ वर्षका लागि १६ लाख ४० हजार रुपैयाँ, ३ देखि ७ वर्षका वार्षिक ६० लाख ४८ हजार रुपैयाँ र अन्तिममा २७ देखि ३० वर्षका लागि ७७ लाख ८६ हजार रुपैयाँ गरेर ३० वर्षमा कुल १९ करोड ३७ लाख रुपैयाँ भाडावापत असुल हुनेछ ।’  कार्कीका अनुसार ट्रेड टावरले थापाथलीको जग्गामा निर्माण गरेका संरचनाहरू जे जस्तो अवस्थामा छ सोही अवस्थामा खाद्यलाई बुझाउनु पर्नेछ । साथै हस्तान्तरणको समयमा सम्पत्तिहरूमा कुनै क्षति पुगेको छ भने सम्बन्धित कम्पनीले पुन: निर्माण गरेर बुझाउनुपर्ने उनको भनाइ छ । भूकम्प लगायत प्राकृतिक विपत्तिले कुनै समय राम्रोसँग चलाउन पाएको छैन भने उक्त अवधि थप समय उपलब्ध हुन सक्ने सम्झौता रहेको कार्कीले बताए । कार्कीका अनुसार कम्पनीले नियमित भाडा तिर्दै आएको छ । आईपीओबारे छैन जानकारी  ट्रेड टावर कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशत अर्थात् ३९ करोड ७१ लाख ६९ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ ।  कुल सेयरमध्ये कम्पनीमा कार्यरत कर्मचारीलाई २ प्रतिशत अर्थात् ७९ हजार ४३३.८६ कित्ता, सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात् १ लाख ९८ हजार ५८४.६५ कित्ता, विदेशमा बसी रोजगारी गरिरहेका नेपालीलाई १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९.३० कित्ता र बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । कम्पनीले पहिलो चरणमा वैशाख ८ गतेदेखि सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९ कित्ता सेयर बिक्री खुला गरेको छ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू वैशाख २२ गतेसम्म आवेदन दिन पाउनेछन् । साथै, उक्त सेयर वितरणपश्चात् सर्वसाधारण लगानीकर्तालाई कम्पनीले आईपीओ बिक्री गर्नेछ ।  तर, खाद्यको जग्गामा भवन निर्माण गरी  भाडाको आम्दानी देखाइरहेको ट्रेड टावरले आईपीओ निष्काशनको बारेमा खाद्यलाई जानकारी गराएको छैन । कम्पनीले आईपीओ गर्ने विषय खाद्यलाई जानकारी नरहेको कार्कीले बताए । खाद्यको सञ्चालक सवनम शिवाकोटी ट्रेड टावरले थापाथलीको सम्पत्तिलाई मूल्याङ्कन गरेर आईपीओ जारी गर्न नपाउने बताउँछिन् ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्यका अनुसार ट्रेड टावर कम्पनीमा रहेको सबै जग्गा खाद्यको हो । ट्रेड टावरले आईपीओ जारी गर्न लागेको विषय खाद्यलाई जानकारी नरहेको उनले बताए । उनका अनुसार बुल्ट अन अपरेटर ट्रान्सफर (बुट) मोडलमा बनाइएको बिल्डिङ हो । ३० वर्षपछि थापाथलीमा भोगचलन गरिरहेको ट्रेड टावरको सबै सम्पत्ति खाद्यको हुन्छ ।  ‘ट्रेड टावरले आईपीओ जारी गर्न लागेको विषय खाद्यलाई जानकारी छैन । त्यस्तो चिठ्ठी पत्र केही आएको छैन,’ उनले भने, ‘३० वर्षको लिज अवधिमा वार्षिक भाडा रकम तोकिएको छ । सोही अनुसार खाद्यले भाडा पाइरहेको हुन्छ । ३० वर्षपछि सम्झौता सकिन्छ । त्यसपछि त्यो भवन हामीलाई ह्याण्डओभर गरे छोडेर जानु हुन्छ । ट्रेड टावर जाँदाखेरी खाली हात जाने हो ।’  सीईओ आचार्यका अनुसार ट्रेड टावर थापाथलीको भवन देखाएर सर्वसाधारणलाई दिग्भ्रमित गर्नु हुँदैन । किनभने त्यो भवन भोलिका दिनमा खाद्यको नाममा आउने हो । तर, धितोपत्र बोर्डले अध्यन गरेरै अनुमति दिएको हुनुपर्ने उनको विश्वास छ । १६ वर्षपछि पनि कारोबार हुन्छ : अध्यक्ष दंगाल  ट्रेड टावर कम्पनीका अध्यक्ष शिवहरि दंगालका अनुसार ट्रेड टावर लिमिटेड एउटा कम्पनी हो । यसको एउटा प्रोजेक्ट हो थापाथलीको ट्रेड टावर । थापाथलीको एउटा भवन मात्रै हो । यो खाद्य संस्थानको जग्गामा बनाइएको हो । लिज अवधि १६ वर्ष बाँकी छ । हाम्रो अर्काे प्रोजेक्ट गौशालामा सञ्चालित भइरहेको छ, होटल क्रिष्टल पशुपति गौशाला । त्यसको ३१ वर्ष बाँकी छ । तेस्रो प्रोजेक्ट भनेको जर्सिङ पौवामा इको रिसोर्ट बनिरहेको छ । यस्तै, पाँच तारे होटल पनि सञ्चालनमा आउँदैछ इटहरीमा । त्यसैले १६ वर्षमा कम्पनी सकिने होइन । यी सबै कम्पनी सतप्रतिशत ट्रेड टावर अन्तर्गत हुन् । धितोपत्र बोर्डमा यिनै कम्पनीलाई उल्लेख गरिएको छ । अधिकांशले ट्रेड टावर भनेपछि थापाथली नै बुझेका छन् । यो बिल्डिङको ब्राण्डिङ ट्रेड टावर भनेर गरिएको हो । जति पनि प्रोजेक्ट आएका छन् ती सबै ट्रेड टावर अन्तर्गत हुन् । यी सेरिजमा आएका प्रोजेक्ट हुन् ।  खाद्यसँगको सम्झौता ३० वर्षसम्म हो । अब १६ वर्ष बाँकी छ । १६ वर्षपछि दोस्रो पक्षले लिन चाह्यो भने पहिलो प्राथमिकता हामीलाई हुनेछ । यदि लिन चाहेन भने फरक विषय हो । १६ वर्षपछि ट्रेड टावर अन्तर्गत रहेका सबै सम्पत्ति खाद्यको नाममा जाने होइन । थापाथलीमा रहेको सम्पत्ति मात्रै खाद्यको नाममा जाने हो । त्यो एउटा मात्र प्रोजेक्ट जाने हो । १६ वर्षपछि लगानीकर्ताको सेयर भ्यालू शून्य हुने भन्ने बुझाइ छ । त्यो हुँदैन । कम्पनी रहिरहन्छ । कम्पनीसँग सिरिज प्रोजेक्ट छन् । होटल क्रिस्टल लगायत अन्य प्रोजेक्ट छुट्ट कम्पनी होइनन् । ती सबै ट्रेड टावर अन्तर्गत हुन् । सबैको एउटै प्यान नम्बर हो, एउटै टयाक्स नम्बर हो ।  यी हुन् कम्पनीका आधारभूत सेयरधनी कम्पनी ऐन, २०६३ अन्तर्गत २०६३ सालमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएर २०६७ जेठ १७ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको थियो । साथै, विसं २०७८ माघ १२ गते नाम परिवर्तनपछि हाल ट्रेड टावर लिमिटेडको नाममा सञ्चालन हुँदै आएको छ । कम्पनीमा विभिन्न ५ जना आधारभूत सेयरधनी रहेका छन् । जसमा शिवहरि दंगालको ३०.८८ प्रतिशत अर्थात् १२ लाख ९२ हजार १५७ कित्ता, सुष्मा लम्सालको २३.०९ प्रतिशत अर्थात् ९ लाख ६६ हजार ३६६ कित्ता, सौगात दंगालको ८.७१  प्रतिशत अर्थात् ३ लाख ६४ हजार ४९८ कित्ता, सतिस न्यौपानेको ३.४३ प्रतिशत अर्थात् १ लाख ४३ हजार ३२५ कित्ता र फ्युचर स्टार डिजाइन एण्ड डेभलपर्स प्रालिको ३.८० प्रतिशत अर्थात् १ लाख ५८ हजार ८०५ कित्ता सेयर स्वामित्व छ ।  जसमा शिवहरि दंगाल कम्पनीको अध्यक्ष छन् भने सतिस न्यौपाने, नवराज विष्ट, सुष्मा लम्साल र भरत राज कोइराला सञ्चालक समिति सदस्य छन् ।  के छन् योजना ?  कम्पनीले देशको ७ वटै प्रदेशमा कम्तिमा एक–एक वटा पर्यटन सम्बन्धी परियोजना विकास गर्ने लक्ष्य राखेको छ । तत्काल नगरकोट र जर्सिङ्गपौवामा इको भिलेज, अर्गानिक फर्म हाउस र एभेञ्चर टुरिज्म परियोजना सुरु गर्ने रणनिति रहेको छ । इटहरीमा स्वदेशी तथा विदेशी पर्यटकहरूका लागी सुविधा सम्पन्न पाँच तारे होटल परियोजनाको विकास गर्ने लक्ष्य रहेको छ । यस कम्पनीद्वारा हाल सञ्चालित ट्रेड टावर थापाथली र होटल क्रिष्टल पशुपतिबाट आर्जित नाफाले धार्मिक पर्यटकीय क्षेत्र जनकपुरमा आधुनिक करिब २ हजार जना अट्न सक्ने विवाह मण्डप सहितको सभा हलको निर्माण गर्ने रणनीति रहेको छ । स्वदेशी तथा विदेशी संघ संस्था, बैंक, इन्सोरेन्स, नेपाल सरकार तथा व्यक्ति विशेषको समेतको सहभागितामा संयुक्त रुपमा पर्यटन व्यवसाय, पर्यटकीय केबुलकार, तथा अन्य पुर्वाधार निर्माण तथा लिजमा लिई सञ्चालन  गर्ने गराउने साथै सम्बन्धित परामर्शदाताका रूपमा कार्य गर्ने लक्ष्य रहेको छ । कम्पनीले आफ्नो उद्देश्य प्राप्तिका लागि व्यावसायीक रूपमा देखिएको अन्य व्यावसायीक क्षेत्रमा पनि लगानी गर्ने सम्भाव्य रणनीति रहेको छ ।