ओली-देउवाको सिकार बनेका काबिल थिंकट्याङ्क, गभर्नर नियुक्तिमा भद्दा मजाक

काठमाडौं । ‘तपाईंलाई गभर्नर बनाउने सहमति भयो, बधाइ छ । राम्रोसँग काम गर्नू ।’ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा. गुणाकर भट्टलाई भनेको वाक्य हो यो । सम्भवतः अब गुणाकर भट्टको यस पटक गभर्नर बन्ने बाटो बन्द भएको छ । सुरुमा गभर्नर बन्ने निश्चित भयो भनेर खुसी हुँदै राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. भट्ट सोमबार साँझ निराश हुँदै अमेरिका उडे ।  उनको अब केही दिन रिफ्रेसमेन्टका नाउँमा अमेरिकामै बित्नेछ । उनले आफूले गभर्नर पदका लागि गरेको संघर्षको स्मरण अब अमेरिकामै गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम घडीमा देउवालाई गुणाकरको विकल्प दिन आग्रह गरेपछि उनको गभर्नर बन्ने सपनामात्रै तुहिएन, नेपाल राष्ट्र बैंकले एक काबिल, क्षमतावान र अनुभवी पात्र पनि गुमायो । अनेक स्वार्थ समूह र राजनीतिक दलका सदस्यहरुको ट्याग लागेकाहरुमाझ एक निर्विरोध र स्वच्छ छविको परिचय बनाएका पात्र भट्टको गभर्नर बन्ने सपना तुहाउने हस्ती बनिन् कार्यवाहक गभर्नर नीलम ढुङ्गाना ।  डा. भट्टको राजीनामा स्वीकृत नगर्न ओलीको आदेश पालना गरेर उनले एमाले निकट भएको प्रमाणित मात्रै गरिनन्, संस्थागत रुपमै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको राजीनामा स्वीकृत नगर्ने एउटा गलत नजीरको बिजारोपण पनि गरिन् । ओलीले चाहेको खण्डमा निलमले सेकेण्डमै भट्टको राजीनामा स्वीकृत गर्न सक्ने दाबी पनि काँग्रेसका नेताहरुको छ । डा. गुणाकर भट्टको नाम चर्चामा आउनेबित्तिकै मुद्दा हालिनुले ओलीको निर्देशनबाटै यो सबै भइरहेको होकि भन्ने शंका पनि धेरैको छ ।  यसमा पनि ओलीको त्रुपले काम गर्यो । काँग्रेसले भनेको पात्र भट्टलाई पछार्न ओली सफल बने । नयाँ त्रुपका रुपमा अर्का पात्रलाई गभर्नरका रुपमा ल्याउन गरेको ओलीको आग्रहअनुरुप देउवाले पनि गभर्नर सिफारिस समितिकै सदस्य विश्व पौडेलको नाम अघि सारे । सोही सहमति अनुसार पौडेलले पनि सदस्यबाट राजीनामा दिइसकेका छन् ।  यसअघिका क्यान्डिडेटलाई धोका दिइसकेका ओलीले पौडेललाई पनि धोका दिन्नन् भन्ने आधार छैन । राष्ट्र बैंकभित्रकै बलियो क्याडरलाई गभर्नर नस्वीकारेका ओलीले विश्व पौडेललाई राष्ट्र बैंक थमाउँछन् भन्ने कुरामा ठूलो शंसय छ । धेरैले ओलीको यो नयाँ त्रुपका रुपमा मात्र बुझेका छन् ।  ‘ओलीले नियुक्ति प्रक्रियालाई लम्ब्याउन खोजिरहेका छन्, राष्ट्र बैंकको गभर्नरको नियुक्तिभन्दा अगाडि उनी बजेट ल्याउन चाहन्छन्, त्यसपछिको परिदृश्य नियालिसकेपछि गभर्नरको नियुक्ति गर्ने उनको चाहना देखिन्छ,’ अहिले सहमति भयो भनिएका पात्र गभर्नर बन्ने सम्भावनाभित्र पनि अनेक शंसय छ,’ काँग्रेसकै एक उच्च स्रोतले भन्यो ।  उसो त ओली र देउवाको सहमति भयो भनिएका विश्व पौडेलकै योग्यता, क्षमता र कानूनी रुपमा पनि प्रश्न उठिरहेको छ । उनलाई कोर बैंकिङसँगै नेतृत्व क्षमता नरहेको भन्नेहरु पनि बैंकिङ क्षेत्रमा प्रयाप्त छन् । नेपाल राष्ट्र बैंक ऐनले कुनै राजनीतिक दलमा सदस्य नभएको व्यक्ति मात्रै गभर्नर बन्न सक्ने व्यवस्था गरेको छ ।  तर, पौडेल काँग्रेसीको ट्याग लागेका मात्रै होइन, चुनाव नै लडेर पराजित भएका उम्मेदवार हुन् । त्यसैले पनि उनी प्रष्ट रुपमा काँग्रेसी हुन् । उनीसँग नेपाली काँग्रेसको सदस्यता छ । उनले २०७९ मा भएको आम निर्वाचनमा चितवन १ बाट कांग्रेसबाट उम्मेदवारी दिएका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरी ढकालसँग पराजित भएका थिए । कोर बैंकिङ बुझेका र कुनै पनि राजनीतिक पार्टीको ट्याग नलागेका व्यक्तिलाई समेत इग्नोर गरेका ओलीले विश्वलाई सहजै स्वीकार गर्छन् भन्ने कुरामा धेरैको विश्वास छैन । उनको यो समय लम्ब्याउने खेलमात्रै रहेको बुझाइ अधिकांशको छ ।  स्रोतका अनुसार काँग्रेसले प्रस्ताव गरेका अनेक नामलाई अनेक प्रकारले गिजोलेर एमाले निकट पात्रलाई नै गभर्नर बनाउन ओली सक्रिय छन् । उनले देउवासामू गभर्नर काँग्रेसलाई दिने सहमति गरे पनि प्रक्रिया लम्ब्याएर अन्तिममा एमाले निकट पात्रलाई नै राष्ट्र बैैंक सुम्पिने रणनीति बुनिरहेको बुझिएको छ ।   ओली र देउवाकै बोलीमा लागेर पछारिएका अर्का व्यक्ति हुन् ज्ञानेन्द्र ढुङ्गाना । ढुङ्गानाले विभिन्न शीर्ष नेताहरुबाट ग्रिन सिग्नल पाएपछि नबिल बैंकबाट राजीनामा दिएर गभर्नर बन्ने दौडमा लागेका थिए । तर, अब उनको गभर्नर बन्ने सम्भावना पनि लगभग सकिएको छ । गभर्नर सिफारिस समिति बनेको एक दिनपछि अर्थात् चैत १२ गते उनले पदबाट राजीनामा दिएर गभर्नर बन्ने दौडमा लागेका थिए । उनलाई गभर्नर बनाउनका लागि काँग्रेसकै कोषाध्यक्ष उमेश श्रेष्ठ, विनोद चौधरी लगायत व्यक्तिहरु सक्रिय बनेका थिए ।  ढुङ्गानाको राजीनामा पछि राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले पनि राजीनामा दिए । उनले चैत १३ गते पदबाट राजीनामा दिएर गभर्नर बन्ने दौडमा होमिएका थिए । उनलाई पनि प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णु पौडेलले पनि गभर्नर बनाउने आश्वासन थियो । तर, उनी अहिले चुपचाप छन् । उनी गभर्नर बन्ने दौडबाट पछि हटिसकेको बुझिएको छ ।  डा.गुणाकर भट्ट, डा. प्रकाश श्रेष्ठ र  ज्ञानेन्द्र ढुङ्गानाले गभर्नरकै दौडमा लाग्दा पद गुमाएका छन् । यी तीनै जनाले नेपाली बैंकिङ क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । डा. भट्ट र श्रेष्ठ नेपाल राष्ट्र बैंकका काबिल कार्यकारी निर्देशक हुन् । उनीहरुको बहिगर्मनले राष्ट्र बैंकमात्रै होइन, देशकै आर्थिक क्षेत्रमा पनि प्रभाव पर्छ ।  उनीहरु हरेक आर्थिक तथा वित्तीय नीति निर्माणमा सक्रिय हुने गरेका थिए, मौद्रिक नीति निर्माण, वित्तीय स्थायित्व अध्ययन तथा समष्टिगत अर्थतन्त्र विश्लेषणमा उनीहरुको भूमिका महत्वपूर्ण हुन्थ्यो । तर, अब राष्ट्र बैंकले त्यो अनुभव, ज्ञान, सीप र क्षमताको अभाव महसुस गर्नेछ । ढुङ्गानाको छाप पनि नेपाली बैंकिङ क्षेत्रमा ठूलो छ । उनले राष्ट्र बैंकसँगै विभिन्न बैंकमा नेतृत्व गरेर महत्वपूर्ण टेवा पुर्याएका छन् । अब बैंकिङ क्षेत्रले उनको पुर्नआगमनको अपेक्षा गरेको छ ।  आफैमा क्षमतावान भए पनि यी तीन जना नेपाली गलत राजनीतिक अभ्यास र राजनीतिक भागबण्डाको सिकार बने । नेपाली वित्तीय क्षेत्रले काबिल र अनुभवी व्यक्ति गुमाएको छ ।  चैत ११ गते गभर्नर सिफारिस समिति गठन भएको थियो । डेढ महिना बितिसक्दा पनि अहिलेसम्म समितिको बैठक बस्न सकेको छैन । सुरुमा अर्थमन्त्री विष्णु पोडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल सदस्य थिए । तर, यो अवधिसम्म बैठक नै नबसेपछि भट्टराईले रबरस्ट्याम्प नबन्ने भन्दै सदस्यबाट नै राजीनामा दिए ।  ‘यो किसिमको चलखेल गभर्नरको नियुक्तिमा हुनु दुःखद विषय हो, मैले पनि त्यही भएर राजीनामा दिएको हुँ, यसले अन्तर्राष्ट्रिय जगतमै पनि बदनामी र बेइज्जत हुन्छ,’ डा. भट्टराईले भने ।  अर्का सदस्य पौडेलले पनि राजीनामा दिइसकेका छन् । अब समिति अपूर्ण बनेको छ । भट्टराईको राजीनामा पछि सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नै सिफारिस समितिको सदस्यमा नियुक्त गरेको छ । तर, अहिले पनि समिति अपूर्ण नै छ । अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै अहिले पनि अदालतमा रिट परेको छ । सरुमा सरकारले अर्थ मन्त्रालयसम्बद्ध निकायका पदाधिकारी एवं कर्मचारी नियुक्तिसम्बन्धी मापदण्डबाट ६५ वर्षीय उमेरहद खारेज गरेर ६५ वर्ष उमेर नाघेको व्यक्तिलाई गभर्नर बनाउने तयारी गरेको थियो । तर, सर्वोच्चले त्यसमा रोक लगाएपछि उक्त च्याप्टर बन्द भयो ।  पछि गुणाकरको विषयमा सहमति भएको भन्दै सञ्चार माध्यममा चर्चा भएपछि गुणाकरकै योग्यतामाथि पनि प्रश्न उठाउँदै रिट दायर भयो । तर, अदालतले उक्त रिटलाई खारेज गरिदियो । अहिले फेरि अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट परेको छ । सरकारले आफैले गभर्नर नियुक्तिको प्रक्रियालाई थप शंसयपूर्ण र रहस्यमयी बनाउँदै गएकाे छ ।  सम्बन्धित सामग्री :  तत्काल गभर्नर नियुक्त गर्न नसक्ने तीन कारण, ओलीसँग एकपछि अर्को तुरूप स्वायत्तताको हत्या, ओली र पौडेलको नाङ्गो नाच

गुणाकर भट्टले देश छाडे, सुदूरपश्चिममा आक्रोश

काठमाडौं । डा. गुणाकर भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट वैशाख १२ गते राजीनामा दिए।यस विषयले सञ्चार माध्यममा निकै महत्व पायो ।  उक्त विषयले महत्व पाउनुमा दुईटा मुख्य कारण थिए । पहिलो, राष्ट्र बैंकको नयाँ गभर्नर उनी नै हुन्, गभर्नर बन्ने पक्का भएपछि पदबाट राजीनामा दिए । दोस्रो, भट्ट गभर्नरको लागि योग्य मात्र होइनन्, ओजनदार व्यक्ति हुन्, जसले बैंकिङ क्षेत्र मात्र होइन, समग्र अर्थतन्त्र बुझेका छन् । उनी सहि निर्णय लिन र कार्यान्वयन गर्न काबिल छन् । अहिलेसम्म उनको छवि स्वच्छ भएकाले अरूको स्वार्थमा उनी प्रयोग हुँदैनन् भन्ने पनि धेरैको बुझाइ थियो ।  तर, गभर्नर नियुक्ति सिधा बाटोबाट अगाडि बढेन । राजनीतिक स्वार्थको चलखेल, स्वार्थ समूहको चलखेल, दवाव समूहहरूको चलखेलमा गभर्नर नियुक्त प्रक्रिया गिजोलिँदै गयो । सिफारिस समितिका सदस्यद्वय विजयनाथ भट्टराई र विश्व पौडेलको राजीनामादेखि नियुक्ति प्रक्रियामा सरकारले गरेका कानुनी त्रुटी विरुद्ध एकपछि अर्को गर्दै सर्वोच्च अदालतमा मुद्दाको चाङ थपिँदै गए । अर्कोतिर कामु गभर्नर डा. निलम ढुंगानाले भट्ट र प्रकाश श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरिनन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको समन्वयमा कामु गभर्नर ढुंगानाले भट्ट र श्रेष्ठको राजीनामा स्वीकृत नगरी फाइल थन्क्याएको आरोप लाग्दै आएको छ । आफू पनि गभर्नरको प्रतिस्पर्धामा रहेकी कामु गभर्नर निलमले कार्यकारी निर्देशकहरूको राजीनामा नयाँ गभर्नर आएपछि मात्रै स्वीकृत गर्ने बताउँदै पन्छिएकी छिन् । गभर्नर नियुक्तिमा भएको खिचातानीले शक्तिशाली सरकारको क्षमता सर्वसाधारणले दुख्नेगरी छताछुल्ल भएको छ । यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा पनि सत्ताधारी दलहरुबीचको विवादले सरकार नै ढलेको थियो । राजनीतिक दल र नेताहरूको लागि यस्ता घटना सामान्य भएपनि दक्षता, क्षमता भएको र व्यवसायीक आचरणमा बसेर काम गर्नेलाई व्यक्तिलाई कति पीडा हुन्छ भन्ने तथ्य डा.गुणाकर भट्टले देश छोडेको समाचारले संकेत गर्दछ । उनको राजीनामाको फाइल रोकेर अवरोध सिर्जना गर्ने र डा विश्व पौडेललाई गभर्नर बनाउने भन्दै गभर्नर सिफारिस समितिबाट राजीनामा गराउने काम भएपछि विरक्तिएका डा. भट्ट अमेरिका गएका छन् । विश्व पौडेलको राजीनामासँगै भट्टले मोबाइल स्विच अफ गरेका थिए । उनी सामाजिक सञ्जालको सम्पर्कमा समेत छैनन् । डा. भट्ट सोमबार अमेरिका उडेको पारिवारिक स्रोतले जनाएको छ । मनमा अशान्ति हुँदासम्म उनी अमेरिकामा पढिरहेकी छोरीको साथमा रहने सम्भावना रहेको स्रोतले बतायो ।  ‘नेताहरूले राम्रा मान्छे देशमा बस्न नदिने भए । गुणाकर यसको उदाहरण हुन्’ उनका एक सहकर्मीले भारी मन बिसाउँदै भने । सुदूरपश्चिममा आक्रोश गुणाकर भट्ट गभर्नरको प्रतिस्पर्धामा पछाडि परेपछि सुदूरपश्चिममा आक्रोश बढेको छ । नेपाली कांग्रेस निकट सुदूरपश्चिमका मानिसहरूले नेपाली कांग्रेसले गभर्नरमा भट्टको विकल्प खोजे सुदूरपश्चिमका मतदाताले नेपाली कांग्रेसको विकल्प खोज्ने भन्दै सामाजिक सञ्जालमा अभिमत राख्न थालेको छन् । धनगढीका मोहनराज जोशीले लेखेका छन्‌, 'नेपाल राष्ट्र बैंकको गभर्नरमा डा.गुणाकर भट्टको विकल्प खोजियो भने भोलि धनगढीमा जनताले कांग्रेसका उम्मेदवारको विकल्प खोज्ने छन् । सरकार भन्दा माथि कामु गभर्नर हुँदैन । कामु गभर्नरले डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न मानेन भन्नु हास्यास्पद कुरा मात्र होइन, लाजमर्दो कुरा पनि हो । डा. गुणाकर भट्टको विकल्प खोजियो भने भोलि धनगढीका जनताले कांग्रेसका उम्मेदवारको विकल्प खोजे के हुन्छ  ?  गभर्नर बनाउन कार्यकारी निर्देशकबाट राजीनामा दिन लगाएर अहिले आएर भट्टको विकल्प खोज्नु सरासर बेइमानी हो । कुनै अमुक व्यक्तिको स्वार्थको लागि डा. गुणाकर भट्टको विकल्प खोजिए दुर्भाग्य हुनेछ ।’ धनगढी मात्र होइन सुदूरपश्चिम प्रदेशभरी विकल्प खोजिने टिप्पणी गौरव रावलले गरेका छन् । भाउजू (आरजु राणा देउवा) को सिरानीमा दक्षिणा नपुगेकाले भट्टको नियुक्ति रोकिएको मनि राज बडूको टिप्पणी छ । उनी लेख्छन्, 'गुणाकर भट्टको विकल्प खोज्नु भनेको कांग्रेसी मित्रहरूले दायाँबायाँ हेर्नु पर्दैन भाउजूको सिरानीमा दक्षिणा पुगेको छैन, बुझे हुन्छ ।'

११.९३ प्रतिशत बढ्यो जीवन बीमाको नाफा, एशियनको आक्रामक वृद्धि, २ कम्पनीको घट्यो

काठमाडौं । जीवन बीमा कम्पनीहरूले ९ महिनामा पौने ५ अर्ब रुपैयाँ नाफा गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १४ वटा जीवन बीमा कम्पनीले ४ अर्ब ८८ करोड ७२ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ३६ करोड ६२ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरूको नाफा ११.९३ प्रतिशत बढेको हो ।  समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा नेपाल लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । नेपाल लाइफले चैत मसान्तसममा ६५ करोड २२ लाख २३ हजार रुपैयाँ नाफा गरेको हो । जुन जीवन बीमा कम्पनीहरूमध्येकै सबैभन्दा धेरै हो । गत वर्षको चैतमा यस कम्पनीले ६० करोड ३ लाख ५७ हजार रुपैयाँ नाफा गरेको थियो ।  तर, यस अवधिमा सबैभन्दा धेरै नाफा वृद्धि भने एशियन लाइफले गरेको छ । एशियन लाइफको ५९.५० प्रतिशत बढेर ३३ करोड ४७ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको चैतमा यस कम्पनीले २० करोड ९८ लाख ४४ हजार रुपैयाँ नाफा गरेको थियो ।  रिलायबल नेपाल लाइफको ३६.८७ प्रतिशत बढेर ४६ करोड ५७ लाख ६९ हजार रुपैयाँ, सूर्यज्योति लाइफको ३१.८९ प्रतिशत बढेर २९ करोड ५७ लाख ५० हजार रुपैयाँ, अमेरिकन मेट लाइफको २७.६० प्रतिशत बढेर ३४ करोड ५१ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यस्तै, सिटिजन लाइफको २७.१३ प्रतिशत बढेर ३५ करोड ७६ लाख ४८ हजार रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) को २२.६५ प्रतिशत बढेर २३ करोड ६० लाख २२ हजार रुपैयाँ, सानिमा रिलायन्सको १०.७६ प्रतिशत बढेर ३३ करोड ७६ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् । यस्तै, आइएमई लाइफको १०.४८ प्रतिशत बढेर ३६ करोड ६३ लाख ३३ हजार रुपैयाँ, हिमालयन लाइफको ८.४९ प्रतिशत बढेर ४७ करोड २४ लाख रुपैयाँ, नेशनल लाइफको ५.१८ प्रतिशत बढेर ४० करोड ८५ लाख २२ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ०.६७ प्रतिशत बढेर २७ करोड ७ लाख २३ हजार रुपैयाँ नाफा गरेका छन् । तर, समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफको नाफा भने घटेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको ३७.१० प्रतिशत घटेर १ करोड ५४ लाख १९ हजार रुपैयाँ र सन नेपाल लाइफको ३३.३५ प्रतिशत घटेर ३२ करोड ८९ लाख ९७ हजार रुपैयाँ मात्रै नाफा गरेका हुन् ।