कुलमान र हितेन्द्र : दुई सहकर्मीको १७ वर्षे ‘हेड टु हेड’ प्रतिस्पर्धा
काठमाडौं । नेतृत्व र प्रभावको लडाइँ कहिलेकाहीँ संस्थागतभन्दा पनि व्यक्तिगत स्वभाव, सम्बन्ध र प्रतिस्पर्धाले निर्देशित गर्छ । नेपाल विद्युत् प्राधिकरणमा पछिल्लो डेढ दशकयता यस्तै एउटा असाधारण प्रतिस्पर्धाको कथा सिर्जना भएको छ । तपाईं हामीलाई थाहा भएकै कुरा हो, प्रतिस्पर्धा सहपाठी, सहयात्री र सहकर्मी सबैसँग हुन्छ । तर, यति धेरै लामो प्रतिस्पर्धा भने दुर्लभ नै हुन्छ । आज हामी तपाईंलाई त्यही दुर्लभ प्रतिस्पर्धाको विषय उल्लेख गर्दैछौं- कुलमान घिसिङ र हितेन्द्रदेव शाक्यबीचको प्रतिस्पर्धा । यी दुई जनाबीचको प्रतिस्पर्धा एउटा बढुवादेखि सरकार नै धर्मराउने स्थितिसम्म पुग्यो । यो प्रतिस्पर्धा दुई जना इञ्जिनियरको मात्रै होइन, एक संस्थागत नेतृत्वको दौड मात्रै होइन, यो एक सहकर्मी र सहप्रत्यासीबीचको विगत १७ वर्षदेखिको इगो र एकले अर्कालाई पछार्ने खेल पनि हो । कुलमान घिसिङ र हितेन्द्रदेव शाक्य दुवै नेपाल विद्युत् प्राधिकरणमा उच्च क्षमता भएका पावर सिस्टम इन्जिनियर हुन् । कुलमान २०५१ सालतिर प्राधिकरणमा सात तहको इन्जिनियरको रूपमा प्रवेश गरेका थिए । त्यतिबेला हितेन्द्र प्राधिकरणमै आठौं तहमा थिए । दुवै जनामा पृथक किसिमको जोश र जाँगर थियो । भारतमा बीएस्सी इलेक्ट्रिकल इन्जिनियर गरेर नेपाल फर्केका कुलमानसँग पढाइको घमण्ड थियो । त्यही समयमा उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गरे । २०६४ सालमा प्राधिकरणले १०औं तहमा बढुवाका लागि आन्तरिक प्रतिस्पर्धा गरायो । त्यो प्रतिस्पर्धामा कुलमान र हितेन्द्रले नाम निकाले । त्यहीबेलादेखि हो उनीहरूबीच प्रतिस्पर्धा हुन थालेको । त्यही बेलादेखि हरेक नियुक्ति, सरुवा, परियोजना जिम्मेवारी वा रणनीतिक अवसरमा यी दुई जनाको ‘हेड टु हेड’ भिडन्त जस्तै देखिँदै आएको छ । ‘हाम्रो ग्रह-कुण्डली नै मिलेर आएको जस्तो छ,’ हितेन्द्रले हालैको एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन्, ‘२०६४ सालदेखि हामीबीच प्रतिस्पर्धा चलिरहेको छ ।’ चिलिमेदेखि प्राधिकरणसम्म हितेन्द्र पहिलो पटक चिलिमे जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृत बने । पछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बनिन् राधा ज्ञवाली र प्राधिकरणको कार्यकारी निर्देशक थिए रामचन्द्र पाण्डे । त्यहीबेला हितेन्द्रलाई फिर्ता बोलाएर कुलमानलाई चिलिमेको जिम्मेवारी दिइयो । आफूले चिलिमेमा काम गरेको अनुभवकै कारण कुलमानले नेतृत्व गरेपछि आफूले बाहिरबाट सहयोग गरेको हितेन्द्रको दाबी छ । चिलिमेको पावर प्वाइन्टमा समस्या आउँदा आफूले ठूलो सहयोग गरेको उनले बताएका छन् । तर, कुलमानको जीवनमा भने चिलिमे टर्निङ प्वाइन्ट नै बन्यो । उनले नेपालको लगानीबाट पनि विद्युत परियोजना सफल रूपमा बनाउन सकिन्छ भनेर प्रमाणित गरिदिए । सर्वसाधारणको नजरमा उनी परे । काम गर्न सक्छ भन्ने विश्वास कुलमानले त्यतिखेरै दिए । तर, विडम्बना कुलमानलाई त्यतिखेरै प्राधिकरणमा तानेर जिम्मेवारीविहीन बनाइयो । उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् । झण्डै २ वर्ष कार्यालय गएर हाजिर गर्ने र घर फर्कने उनको दैनिकी बन्यो । प्राधिकरणले फेरि चिलिमेमा हितेन्द्रलाई पठाएको थियो । त्यहीबीचमा ऊर्जामन्त्री बने जनार्दन शर्मा । उनले २०७३ सालमा कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाए । हितेन्द्र एमसीसीमा सरुवा भए । त्यतिखेर देशमा व्याप्त लोडसेडिङ थियो । १८ घण्टाको लोडसेडिङमा देश थियो । कुलमानले प्राधिकरणभित्र फेरि सक्रियता बढाउने मौका पाए । चार वर्षे कार्यकालमा कुलमानले लोडसेडिङ अन्त्य गरेर आफ्नो नाम जनताको मनमा राखे । हितेन्द्रको पुनरागमन कुलमानको कार्यकाल सकिएपछि २०७७ साल कात्तिक ११ गते हितेन्द्र शाक्य प्राधिकरणको कार्यकारी निर्देशक बने । त्यतिबेला पनि प्रधानमन्त्री थिए केपी शर्मा ओली । कुलमानलाई दोहोर्याउनुको सट्टा हितेन्द्रलाई कार्यकारी निर्देशक बनाएको भन्दै चौतर्फी विवाद भयो । हितेन्द्र कार्यकारी निर्देशक बनेको तीन महिनापछि सरकार परिवर्तन भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र ऊर्जामन्त्री पम्फा भुसाल बनिन् । ऊर्जामन्त्री भुसालको आग्रहमा राजीनामा दिन नमानेपछि उनलाई पदमुक्त गरेर फेरि कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाइयो । तर हितेन्द्र चुप लागेनन् । सर्वोच्च अदालतमा रिट दायर गरे । मुद्दा १३ पटक पेसीमा चढ्यो तर दुईपटक मात्र सुनुवाइ भयो । अन्ततः उमेर हदका कारण उनी गत माघमा अनिवार्य अवकाशमा गए । फेरि फागुनमा पुनरागमन २०७८ साउनमा हटाइएका शाक्यलाई पुनः २०८१ फागुनमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ । चार महिना कार्यकाल बाँकी हुँदा नै कुलमानलाई हटाएर हितेन्द्रको पुनरागमनले विद्युत् प्राधिकरणमा ‘ग्रह कुण्डली’को चक्र फेरिएको देखिएको छ । अहिले सरकारको आलोचना बढिरहेको छ । धेरैले कार्यकारी निर्देशक हितेन्द्रलाई तारो बनाइरहेका छन् । सामाजिक सञ्जालमा शाक्यलाई ‘ओलीको सालो’ भनेर आलोचना पनि भइरहेको छ । तर, उनले सालो भनेर गरिएको शब्दप्रति हाँस्दै टारेका छन् । हितेन्द्रले हालै सार्वजनिक गरेको श्वेतपत्रले प्राधिकरण ५ अर्ब २६ करोड घाटामा रहेको देखाउँदा थप आलोचना भएको छ, किनभने कुलमानले आफ्नो कार्यकालमा कुल ४७ अर्बको नाफा देखाएका थिए । व्यक्तिगत लडाइँ, संस्थागत द्वन्द्व हितेन्द्र इलामका स्थायी बासिन्दा हुन्, उनी प्रसारणलाइन इन्जिनियरिङका विज्ञ मानिन्छन् । उनले एमसीसी अन्तर्गत निर्माण हुने प्रसारण लाइन योजनाको प्रारूप तयार गरेका थिए । कुलमान रामेछापका दुर्गम गाउँ बेथानमा जन्मिएका हुन् । उनी लोडसेडिङ अन्त्य गर्ने अभियानका कारण जनस्तरमा ‘नायक’को रुपमा स्थापित छन् । दुवै जनाको प्रतिस्पर्धा सधैं व्यक्तिगत नभएर राजनीतिक शक्ति सन्तुलनमा आधारित देखिन्छ । एमालेको सरकारमा हितेन्द्र, देउवा र प्रचण्डको सरकारमा कुलमान, फेरि ओलीको प्रभावमा हितेन्द्रको पुनरागमन यिनै चक्रमा उनीहरूको करियर घुमिरहेको छ । यी दुवै जनाबीच संवाद र सम्पर्क नभएको पनि खुलेको छ । केवल 'हाइ-हेलो’को सम्बन्ध मात्र बाँकी रहेको हितेन्द्र बताउँछन् । तर, यो प्रतिस्पर्धाको खेल भने अझै अन्त्य भएको छैन । सत्ता फेरियो भने फेरि कुण्डली पल्टिने सम्भावना कुलमानको पनि देखिन्छ । नेपाल विद्युत् प्राधिकरणको नेतृत्वको लडाइँ अब केवल पदको मात्रै हो कि नीति, योजनाको पनि हो भन्ने विषयमा भने उनीहरू पनि अनभिज्ञ छन् ।
चियामा नयाँ ट्रेण्ड : गफ, गेम र गिलास
काठमाडौं । तपाईंको फेभरेट चिया कुन हो ? यो प्रश्न अहिले काठमाडौंका युवाबीचको सबैभन्दा प्रचलित ‘आइसब्रेकर’ जस्तो बनिसकेको छ । अदुवा, मसला, ब्ल्याक, लेमन, ग्रीन, मट्का, बबल वा ‘डम्प टी’ ! नाम जेसुकै होस्, भेटघाट गर्ने थलो भने चिया पसल नै । अहिले युवा जगतको आदत बनेको छ चियाको चुस्की र चुरोट । स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएपनि काठमाडौंको अधिकांश ठाउँमा खुलेका चिया पसलमा चिया र चुरोटसँग मस्त देखिन्छ युवा पुस्ता । कसैले चिया पिउँछ थकान मेट्न, कसैले गफको बहाना गर्न, कसैले तनाव मुक्त गर्न, कसैले टाइम पास गर्न त कसैले चिया पिउँछन् आदत भुलाउन र मन डुलाउन । जे होस्, अहिले काठमाडौंमा सबैभन्दा बढी व्यापार कुनै चिजको चम्केको छ भने त्यो हो चियाको । गन्हाउने काठमाडौंका गल्लीगल्लीमा उकुसमुकुस बनेर चियाको बाफ सुँघ्न युवा जगत लागि परेको छ । जहाँ चियाको स्वादमात्रै होइन, सम्झना र सम्भावनाको बातचित पनि पर्याप्त बुनिन्छन् । स्कुले जीवनका चार जना साथीहरू, जुन समयसम्म उनीहरू जीवनको दिशाबारे मात्र होइन, चियाको स्वादबारे पनि निश्चित थिएनन् । स्कुले जीवन सकिएसँगै उनीहरूको गोरेटो पनि बदलियो । तर, सपना भने बदलिएन । स्कुले जीवनमा छुटिएका चार जना साथीहरू पनि मिलेर ललितपुरको इमाडोलमा दुई वर्षअघि खोले ‘चिया पसल’ । सिंगो घर, सेकेन्ड ह्यान्ड सामान र केही गरौं भन्ने हुटहुटी भएका चार जना युवाले खोलेको चिया पसलले अहिले राम्रै कमाइ गरिरहेको छ । उनीहरूले अहिले कपनमा पनि एउटा चिया पसलको शाखा खोल्न भ्याइसकेका छन् । उनीहरू फरक-फरक पेसामा छन् । समय र स्रोतको उपयोग गरेर चिया पसलमा लगानी गरिरहेका छन् । चिया पसललाई विस्तार गर्दै लैजाने योजना छ उनीहरूको । उनीहरूले पकाएको चिया सबैले मन पराएका छन् । शिक्षक, विद्यार्थी, अन्य र घरपरिवारले पनि चिया पसलमा चिया पिउने गरेको सञ्चालक अनिश सुवेदीले बताए । चियासँगै आलुचप, समोसा, पकौडा र भेज मःम बिक्री गर्ने गरेका छन् । चिया पसलजस्तै युवाहरूको जमघटको केन्द्र बनेको छ ‘चिया बाटिका’ । घट्टेकुलो चोक नजिकै रहेको चिया बाटिका अहिले स्थानीय युवाहरूको जमघटको केन्द्र बनेको छ । जहाँ चियामात्रै होइन विभिन्न खेलको पनि सुविधा छ । लुँडो, चेस र क्यारमसँगै विभिन्न खेलहरू राखेर सञ्चालकले युवाको ध्यान तानेका छन् । पाँच जना साथी-दाजुभाइ मिलेर सुरु गरिएको ‘चिया बाटिका’ अहिले रमाइला गफ र खेलले भरिएको मिनी क्लब बनेको छ । पाँच महिनाअघि खोलिएको चिया बाटिकाले राम्रो व्यापार गरिरहेको छ । सञ्चालक अनिश माझीका अनुसार अहिले दैनिक चार हजार बढीको व्यापार हुने गरेको छ । पाँच जना दाजुभाइ तथा साथीहरू मिलेर खोलिएको चिया बाटिकामा अहिले साँझ ९ बजेसम्म युवाहरूको भीड लाग्ने गरेको छ । माझी भन्छन्, ‘कुनै बेला विदेश जाने सोच थियो । अब विदेश गए पनि केही सीप सिकेर स्वदेशमै केही गर्नुपर्छ भन्ने मानसिकता बनिसक्यो, देशमै केही पृथक काम गर्न सकिन्छ भन्ने जाँगर आइसक्यो ।’ काठमाडौंको थापागाउँमा सञ्चालित ‘रस्टटी चिया’को चियाको स्वादमा पनि युवाहरू लिप्त बनिसकेका छन् । जसले चिया मात्र होइन, लोकल स्वाद पनि बिक्री गर्ने गरेको छ । ‘रस्टटी चिया’का सञ्चालक विवश रायमाझी पहिलेदेखि नै व्यापार गरिरहेको बताउँछन् । ‘पहिला घरको माथिनिर सानो पसल थियो, अहिले भीड बढ्न थालेपछि यसलाई विस्तार गर्यौं,’ उनले भने, ‘ पहिलेको तुलनामा अहिले चिया पिउनेको संख्या धेरै बढेको छ ।’ मसला चिया, चटपटे, आलुचप र बटारे यस चिया पसलका उत्पादन हुन् । जहाँ शिक्षक, विद्यार्थी, अफिसर र व्यापारीहरु पनि आउने गरेका छन् । उनले पनि नेपालमा धेरै सम्भावना रहेकोले काम गर्न सकिने धारणा राखे । बुद्धनगरको चिया गुफाको पनि आफैमा रहस्यमयी नाम छ । नाममै रहस्य र कथा पनि छ । सो चिया पसलका सञ्चालक महेन्द्र खड्का एक दिन साथीसँग चिया पिउँदै गफिरहेका थिए । त्यतिबेलै उनको साथीले भने, ‘पाँच दिनपछि मेरो चिया पसलको ओपनिङ छ निमन्त्रणा छ ।’ महेन्द्रले सो कुरा सुनेपछि आफ्नो साथी आफूभन्दा एक स्टेप अगाडि भएको महसुस गरे । त्यहाँबाट उठ्ने बित्तिकै साथीभन्दा अगाडि चिया पसल खोलेर देखाउने प्रतिज्ञा गरे । त्यसपछि सुरु गरे ‘लोकेसन’ खोज्न । बालकुमारीमा ठाउँ भेट्टाए र साथीको भन्दा अगाडि पसल सुरु गरे । ‘बाघ गुफामा बस्छ र गुफामा ढोका हुँदैन, ग्राहकलाई पनि केही प्राइभेट ठाउँमा बस्न मनपर्छ, सोही कारणले मैले पसलको संरचना नै त्यस्तो बनाएँ,’ उनले भने, ‘रङ्ग पनि कालो र सेतो मात्र प्रयोग गरें ।’ उनको पसलमा ८० प्रतिशत ग्राहक युवा नै हुन् । सूचना प्रविधि क्षेत्रमा काम गर्ने बढी आउने गरेको उनले सुनाए । एक वर्ष अगाडि मात्रै उनले पसल सारेर बुद्धनगर ल्याएका छन् । अहिले बुद्धनगरमै पसल राखेका छन् । शंखमूलमा रहेको टी टक पनि अहिले युवाको रोजाइमा छ । स्कुले साथीहरू अंकित, राहिन र निसानको संयुक्त प्रयासले सञ्चालनमा आएको टी टकमा अहिले युवाहरूको भीड लाग्छ । उसो त उनी आफू पनि यसअघि चिया पसलमा गएर चिया पिउँदै गफ गर्थे । त्यसैबाट आफूहरूले पनि चिया पसल खोल्ने योजना उनीहरूले बनाए । चियाको चुस्की सँगैको गफगाफले उनीहरूलाई व्यवसायी बनायो । अब उनीहरू यसको शाखा विस्तार गर्ने योजना बुनिरहेका छन् । उनीहरू पनि युवाहरू विदेश जानुको सट्टा नेपालमै केही रचनात्मक काम गर्न सुझाव दिन्छन् । उनीहरू चियालाई एउटा आदतभन्दा पनि आफूलाई रचनात्मक र सिर्जनशील बनाउने एउटा प्लेटफर्मका रुपमा अगाडि बढाउन सुझाव पनि दिन्छन् । अहिले काठमाडौंका गल्लीगल्लीमा खोलिएका नयाँ-नयाँ चिया पसलहरू स्वाद र सम्बन्धका सारथीमात्रै बनिरहेका छैनन्, संघर्ष र सफलताका संवाहक पनि बनिरहेका छन् । नयाँ चिया संस्कृतिले युवाहरूको सोच र सिर्जनासँगै सम्भावनालाई सार्थक बनाउने साहस पनि दिइरहेको छ ।
ईभी संसारमा फरारीको उदय, २०२६ बाट ग्राहकको हातमा
काठमाडौं । विश्वप्रसिद्ध लक्जरी स्पोर्ट्स कार निर्माता फरारीले आफ्नो पहिलो पूर्ण रूपमा विद्युतीय मोडेलको डेलिभरी सन् २०२६ को अक्टोबरबाट सुरु गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत बेनेडेट्टो विग्नाले मंगलबार यस्तो जानकारी दिएका हुन् । कम्पनीले यो घोषणा पहिलो त्रैमासिकमा १५ प्रतिशत मुनाफा वृद्धिसँगै गरेको हो । फेब्रुअरीमा विग्नाले घोषणा गरेका थिए कि पेट्रोल इञ्जिनका लागि प्रसिद्ध फरारीको पहिलो इलेक्ट्रिक कार “क्यापिटल मार्केट डे“ का अवसरमा अक्टोबर ९ मा सार्वजनिक गरिनेछ । यद्यपि मंगलबार उनले भनेअनुसार अक्टोबरमा केवल उक्त कारको टेक्नोलोजिकल कोर मात्र देखाइनेछ । तीन चरणमा कारको सार्वजनिक गरिने बताइएको छ । 'त्यसपछि केही महिनामै कारको डेलिभरी सुरु हुनेछ- अक्टोबर २०२६ बाट,' विग्नाले आम्दानी विवरण सार्वजनिक गरेपछि विश्लेषकहरूसँगको कुराकानीमा बताए । यो पहिलो पटक हो- जब फरारीले नयाँ कार ग्राहकहरूसम्म कहिले पुग्ने भन्ने समयावधि स्पष्ट गरेको हो । एक विश्लेषकले नाम नखुलाउने शर्तमा भने, 'यो भनेको फरारीको योजनामा केही ढिलाइ भएको संकेत हो, किनकि धेरैले कार यसै अक्टोबरमा पूर्ण रूपमा देखिने अपेक्षा गरेका थिए ।' तथापि फरारीले कार अनावरण गरेपछि लगभग तीन क्वार्टरपछि मात्र डेलिभरी गर्ने चलन छ । फरारीले भविष्यमा पनि पेट्रोल र हाइब्रिड कारहरू सँगै ईभी बेच्ने योजना बनाएको छ । कम्पनीले २०१९ देखि बेच्न सुरु गरेका हाइब्रिड मोडेलहरूले २०२४ मा कुल बिक्रीको ५१ प्रतिशत हिस्सा ओगटेका थिए । वार्षिक आर्थिक लक्ष्य कायमै फरारीले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको ट्यारिफले कम्पनीको सन् २०२५ को मुनाफा मार्जिनबाट ५० बेसिस पोइन्ट कटौती गर्न सक्ने चेतावनी दिएको छ । तर मर्सिडिज, फोर्ड र स्टेलान्टिसजस्ता अन्य कार निर्माता कम्पनीहरूले हालै आर्थिक पूर्वानुमान फिर्ता लिँदा पनि फरारीले आफ्नो वार्षिक आर्थिक लक्ष्य कायम राखेको छ । कम्पनीले सन् २०२५ सम्म कम्तीमा २.६८ अर्ब युरो (३.०४ अर्ब डलर) को ईबीआईटीडीए र कम्तीमा ३८.३ प्रतिशत मार्जिन कायम रहने विश्वास व्यक्त गरेको छ । 'फरारी आत्मविश्वासी देखिन्छ,' बर्नस्टीनका विश्लेषकहरूले भने । मिलानको स्टक एक्सचेञ्जमा फरारीको सेयर मूल्य १.६ प्रतिशतले बढेर बन्द भएको थियो । कम्पनीको पहिलो त्रैमासिकमा मूल आम्दानी ६९३ मिलियन युरो पुगेको छ, जुन रोयटर्सको सर्भेअनुसार अपेक्षित ६८९ मिलियन युरोसँग मिल्दोजुल्दो छ । फरारीले गत साता नयाँ २९६ स्पेसियल प्लग-इन हाइब्रिड मोडेल र त्यसको कन्भर्टिबल संस्करण सार्वजनिक गरेको थियो । कम्पनीले यस वर्षभित्र कुल ६ नयाँ मोडेल, जसमा पहिलो ईभी पनि समावेश छ सार्वजनिक गर्ने वाचा गरेको छ । बीवाईडीलगायत अन्यसँग प्रतिस्पर्धा फरारीलाई बीवाईडीसँग प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्नु पर्दैन किनकि दुवैका ग्राहक फरक छन् । तर ईभी प्रविधिमा प्रभुत्व राख्नका लागि ईभी बजारमा बीवाईडीजस्ता कम्पनीहरूको गति र नवप्रवर्तनको सामना गर्नुपर्ने देखिन्छ । यदि भविष्यमा फरारीले मिड-रेञ्ज ईभी उत्पादन गर्यो भने त्यसले बीवाईडीसँग केही हदसम्म प्रतिस्पर्धा गर्नसक्ने देखिन्छ ।