लघुवित्तका सञ्चालकलाई राष्ट्र बैंकको पाठः शिष्ट बोल्नु, घृणा उत्पन्न हुने काम नगर्नु

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुलाई शिष्ट बोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज लघुवित्तहरुका लागि एकिकृत निर्देशन जारी गर्दै लघुवित्तका सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार,कार्यशैली र आचरण प्रस्तुत गर्नु पर्ने जनाएको हो । निर्देशिका भनिएको छ, ‘सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नु पर्नेछ । संस्थाको कार्य वातावरण बिग्रने, घृणा, द्वेष उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु /गराउनु हुँदैन ।’ यस्तै बैंकले घृणा, द्वेष उत्पन्न हुने कुनैपनि किसिमको गतिविधि गर्नु /गराउनु नहुने पनि उल्लेख गरेको छ ।

समाज लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कहिलेदेखि हुन्छ काराेबार ?

काठमाडौं । समाज लघुवित्तको २ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड गरे पश्चात साे मात्राकाे सेयर आज (असोज ८ गते) नेप्सेमा सूचीकृत भएको हो । यससँगै, साधारण सेयर सूचीकरण विनियमावली अनुसार कम्पनीको उक्त सेयर आइतबार(असोज ११ गते)देखि दोश्रो बजारमा किनबेच हुनु पर्ने तर संस्था मर्जर प्रक्रियामा जान लागेकाेले साे दिनदेखि काराेबार नहुने भएकाे छ । समाज लघुवित्त स्वस्तीक लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान लागेकाे छ। जसको लागि दुई संस्थाबीच असोज ५ गते सम्झौता भइसकेकाे छ । उक्त मर्जरमा जाने प्रयाेजनकाे लागि समाज लघुवित्तको आज (असोज ८ गते) देखि बुक क्लाेज भएकाे छ । यससँगै, उक्त मर्जर प्रक्रिया सम्पन्न भए पछि मात्रै कम्पनीकाे सेयर दोश्रो बजारमा किनबेच हुनेछ । नेप्सेले सेयर काराेबारकाे लागि कम्पनीको सिम्बोल ‘एसएएमएजे’ दिएको छ । संस्थाको सेयर रजिष्ट्रारकाे काम धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) बिओके क्यापिटल मार्केटले गर्ने भएकाे छ ।

गोर्खाज फाइनान्सले तोक्यो वार्षिक साधारणसभाको मिति, सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । गोर्खाज फाइनान्सले आफ्नो २५औं वार्षिक साधारणसभा आगामी कात्तिक ५ गते बोलाएको छ । सो प्रयोजनको लागि फाइनान्सले असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म संस्थाकाे बुक क्लोज गर्ने निर्णय गरेको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६को वार्षिक साधारणसभा गर्न लागेकाे हाे । उक्त सभा सो दिन बिहान ११ बजे काठमाडौंको होटेल क्राउन ईम्पेरियलमा भर्चुअल(भिडियो कन्फरेन्स) माध्यमबाट हुने भएको छ । सभामा फाइनान्सले बोनस, नगद लाभांश तथा हकप्रद सेयर केहीको पनि प्रस्ताव लगेको छैन । हाल संस्थाको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेको छ ।