जनरल इन्स्योरेन्सको आईपीओः पहिलो दिनमै मागभन्दा बढी आवेदन, कतिले भरे ?
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले जारी गरेको प्राथमिक सेयर(आईपीओ)मा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनआईबीएलएस क्यापिटलका अनुसार साँझ ५ बजेसम्ममा ९५ हजार ८ सय ५० जना आवेदकले ३१ लाख ८७ हजार ५ सय सेयरको लागि आवेदन दिएका छन् । जुन संस्थाले माग गरेको भन्दा १.१६ गुणा बढी हो । मेराे सेयरकाे सफ्टवेयरमा समस्या आउँदा पनि कम्पनीकाे सेयरमा मागभन्दा बढी आवेदन परेकाे हाे । कम्पनीले आइतबार (असोज ११ गते) बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको हो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । उक्त सेयरमा आवेदन दिन पिन कोड अनिवार्य चाहिने भएको छ । जनरल इन्स्योरेन्सको आईपीओ भर्न पिन कोड अनिवार्य चाहिने, कसरी लिने ? आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १४ गते बैंकिङ समय पश्चात हुने छ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०४.०२ रुपैयाँ र प्रतिसेयर आम्दानी २.२५ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ११५.९ रुपैयाँ र १७.३८ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।
मुक्तिनाथ रेमिटको सेवा अब अष्ट्रेलियाबाट पनि
काठमाडौं । मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलियाको कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा लगइन गरी गरी वा मोबाईल एप्सबाट नेपालमा रहेका कुनैपनि बैंकको खातामा रकम पठाउन सक्नेछन् । साथै, मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४ हजार भन्दा बढी एजेन्ट मार्फत पनि प्राप्त गर्न सकिनेछ । थप विस्तृत विवरणका लागि मुक्तिनाथ रेमिट अष्ट्रेलियाको वेवसाइटमा पनि हेर्न सकिनेछ । कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले भिसा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।
आरम्भ चौतारी लघुवित्तको आजदेखि सेयर कारोबार रोक्का
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको आज (असोज ११ गते) देखि सेयर कारोबार रोक्का भएको छ । मर्जर प्रक्रियामा जाने प्रयोजनको लागि संस्थाको सो दिनदेखि बुक क्लोज भएको हो । आरम्भ चौतारी लघुवित्त, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने प्रक्रियामा रहेका छन् । जसको लागि गत असोज ९ गते सहमति पत्रमा हस्ताक्षत्र भइसकेको छ । यससँगै, उक्त मर्जर प्रक्रिया सम्पन्न नभएसम्म दोश्रो बजारमा संस्थाको सेयर कारोबार रोक्का हुने छ । सम्बन्धित समाचारः तीन लघुवित्त मर्जरमा जाने, माघ भित्रै एकीकृत काराेबार गर्ने सम्झाैता