एनआईसी एशिया क्यापिटलको दुई फण्डले ईकाईधनीको खातामा पठाउन थाले लाभांश
काठमाडौं । एनआईसी एशिया क्यापिटलको दुई म्युचुअल फण्डले आफ्ना ईकाईधनीको बैंक खातामा लाभांश पठाउन शुरु गरेका छन् । एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड फण्डले आज(असोज ६ गते) देखि ईकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गर्न शुरु गरेको हो । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यी दुई फण्डले गत आर्थिक वर्ष २०७६/७७ को लाभांश सम्बन्धित ईकाईधनीलाई पठाउन थालेको हो । यी दुबैले ईकाईधनीको हितग्राही खाता(बीओआईडी) मा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अध्यावधिक भएका इकाईधनीहरुको हकमा उक्त लाभांश सम्बन्धित ईकाईधनीहरुको बैंक खातामा जम्मा गर्न शुरु गरेको जानकारी गराएको छ । त्यसैले आफ्नो बैंक खातामा लाभांश प्राप्त भए वा नभएको यकिन गर्न क्यापिटलले सम्बन्धित ईकाईधनीहरुलाई आग्रह गरेको छ । साथै, हालसम्म पनि आफ्नो हितग्राही खातामा बैंक तथा वित्तीय संस्थाको खाता अध्यावधिक(अपडेट) नगराएका इकाईधनीहरुले अपडेट गराउन आग्रह गरेको छ । उनीहरुले आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्य कहाँ सम्पर्क गरी हितग्राही खातामा बैंक खाता अपडेट गराई समयमै लाभांश प्राप्त गर्न सक्नेछन् । एनआईसी एशिया ग्रोथ फण्डले कर सहित १२ प्रतिशतका दरले र एनआईसी एशिया ब्यालेन्सड फण्डले कर सहित ८ प्रतिशतका दरले आफ्ना ईकाईधनीको बैंक खातामा लाभांश जम्मा गराउने भएका छन् ।
सहकारीको व्याज बढीमा १४.७५ प्रतिशत, नेस्फ्कून अध्यक्ष भन्छन्ः यो अल्पकालिन व्यवस्था हो
काठमाडौं । सहकारी विभागका रजिष्टार संयोजक रहेको एक समितिले सहकारी संस्थाहरुले लिन पाउने अधिकतम व्याजको सीमा तोकेको छ । समुदायमा आधारित र स्वनियमनमा बस्नुपर्ने सहकारी संस्थाहरुको व्याजदर सरकारी अधिकारीहरुको वाहुल्यता र सहकारीको क्षेत्रका संघ संस्थाका प्रतिनिधि सम्मिलित समितिले तोकेको हो । समितिले बढीमा १४.७५ प्रतिशत व्याज लिन पाउने गरी तोकेको छ । सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिको भदौ ५ को निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा सन्दर्भ व्याजदर तोकिएको समितिको भनाइ छ । तोकिएको यस्तो व्याजदर आगामी कात्तिक १५ गतेदेखि लागू हुनेगरी सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको छ । ऋण र बचतको व्याजदरको अन्तर ६ प्रतिशत भन्दा घटी रहने गरी सन्दर्भ व्याजदर तोकिएको समितिको भनाइ छ । अघिल्लो वर्षको साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् व्याजदर १६ प्रतिशत कायम थियो । सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिको निर्णय बमोजिम व्याजदर पुनरावलोकन गरिएको हो । सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय सहकारी महासङ्घ, राष्ट्रिय सहकारी बैङ्क, केन्द्रीय विषयगत सङ्घहरूबाट प्रतिनिधि र सहकारी विभागका उप–रजिष्ट्रार सदस्य–सचिव रहेको सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिको गठन भएको थियो । सो समितिको पहिलोे बैठक गत साउन ६ गते बसेको थियो । त्यसपछि समितिका थप ४ बैठक तथा प्राविधिक उपसमितिको २ वटा वैठक सम्पन्न भई ऐन तथा नियमावलीको व्यवस्था बमोजिम ब्याजदर निर्धारण भएको बताइएको छ । सहकारी संस्थाहरुले सहकारीको मर्म, सिद्धान्त र अन्तराष्ट्रिय अभ्यास अनुसार काम गरेकोले सिद्धान्त विपरित व्याजदर तोक्नुपर्ने वाध्यता आइपरेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले बताए । ‘सहकारी ऐन २०४८ ले सहकारी संस्थाहरुलाई सदस्य बाहिर पनि कारोबार गर्न छुट दिएको थियो, त्यसैकारण विकृति बढेका थिए, सहकारीको अन्तराष्ट्रिय मूल्य र सिद्धान्तभन्दा पनि राष्ट्रिय कानुन र देशको आन्तरिक सन्दर्भ बढी महत्वपूर्ण हुन्छ, त्यसैले सहकारी संस्थाहरुलाई पनि समस्या नपर्ने, सहकारी संस्थाहरुमा कारोबार गर्नेहरुलाई पनि सहयोग पुग्ने गरी अल्पकालको लागि सन्दर्भ व्याजदर तोकिएको हो,’ अध्यक्ष पौड्यालले भने ।
सांग्रिला डेभलपमेन्ट बैंकले सञ्चालनमा ल्यायो ग्रिन पिन सेवा, कसरी पाउने ?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रिन पिन सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्ग सेवालाई थप मजबुत गर्दै बैकले उक्त सेवा सञ्चालनमा ल्याएको हो । यस सेवा अन्तर्गत ग्राहकले बैंकबाट डेबिट कार्ड लिदा पिनको जानकारी आफ्नो मोबाईलमा पाउन सकिने छ । यसबाट कागजबाट लिईने पिन लिन ग्राहकहरु बैंक आई राख्नु नपर्ने र सजिलै आफ्नो मोबाईलबाट डेबिट कार्डको पिन पाउन सकिने बैंकले जनाएको छ । कसरी पाउने पिन ? ग्राहकले आफ्नो नयाँ कार्ड कुनै पनि सांग्रिला डेभलपमेन्ट बैंकको एटीएममा हाल्ने बित्तिकै बैंकमा दर्ता गरेको मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन प्राप्त गर्न सकिने छ । सम्बन्धित व्यक्तिको मोबाईल नम्बरमै पिन जाने हुँदा यो सेवा पहिले भन्दा अझै सुरक्षित हुने विश्वास बैंकले लिएको छ । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।