जनरल इन्स्योरेन्सकाे आईपीओ भाेलिदेखि भर्न पाइने
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले निष्काशन गर्न लागेको प्राथमिक सेयर (आईपीओ)मा भोलि (असोज ११ गते)देखि आवेदन दिन पाइने भएको छ । कम्पनीले भोलिदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले गत भदौ २५ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको थियो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १४ गते बैंकिङ समय पश्चात हुने छ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०४.०२ रुपैयाँ र प्रतिसेयर आम्दानी २.२५ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ११५.९ रुपैयाँ र १७.३८ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।
कर्पोरेट डेभलमेन्ट बैंकको साधारण सभा असोज २९ गते
काठमाडौं । कर्पोरट डेभलपमेन्ट बैंकको १२औं वार्षिक साधारण सभा आगामी असोज २९ गते बस्ने भएको छ । उक्त सभा सो दिन बिहान ७ः३५ बजे पर्साको वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा हुने भएको छ । सभाले अरूसँग गाभ्ने तथा गाभिने वा प्राप्ति गर्ने वा प्राप्ति हुने लगायतका सबै काम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ । साथै, सभाले आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गर्ने सामान्य प्रस्तावलाई स्वीकृत गर्ने भएको छ । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को लागि वर्तमान लेखापरीक्षक जे.एन. उपाध्याय एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टसका सीए जगन्नाथ उपाध्यायलाई पुनः नियुक्त गर्ने सञ्चालक समितिको प्रस्तावलाई सभाले पारित गर्ने भएको छ ।
तीन लघुवित्त मर्जरमा जाने, माघ भित्रै एकीकृत काराेबार गर्ने सम्झाैता
काठमाडौं । तीन वटा लघुवित्त वित्तीय संस्थामा एक आपसमा मर्जरमा जाने भएका छन् । काभ्रेपलान्चोक केन्द्रिय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, बागलुङमा केन्द्रिय कार्यालय रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र म्याग्दीमा केन्द्रिय कार्यालय रहेको शालीग्राम लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका हुन् । मर्जर सम्बन्धी तीन संस्थाबीच शुक्रबार(असाेज ९ गते) समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा आरम्भ चौतारी लघुवित्तका अध्यक्ष जगतवहादुर पोखरेल, सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष पद्मनाथ शर्मा र शालीग्राम लघुवित्तका अध्यक्ष कृष्णवहादुर थापाले शुक्रवार बागलुङ बजारमा हस्ताक्षर गरेका हुन् । गाभ्ने/गाभिने (मर्जर) सम्वन्धमा नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न/गाभिने तथा प्राप्ति (एक्विजिसन) र विलय (मर्जर) सम्बन्धी नियमावली २०७३ (चौथो संशोधन २०७५) को विनियमावली ५ बमोजिम त्रीपक्षीय रुपमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । हाल आरम्भ चौतारी र सिवाईसी नेपालको राष्ट्रिय स्तरको कार्यक्षेत्र छ भने शालीग्रामको गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्षेत्र रहेको छ । मर्जर पश्चात एकिकृत संस्थाको चुक्ता पुँजी ३५ करोड २ लाख ६५ हजार हुनेछ । आरम्भ चौतारीले यस पूर्वनै सर्वसाधारणका लागि आईपीओ निश्कासन गरिसकेको छ भने सिवाईसी नेपाल र शालिग्रामको सर्वसाधारणका लागि छुट्टाएको सेयर रकम एफपीओको मार्फत पुर्याउने संस्थाले जनाएकाे छ । वित्तीय संस्थाको संयुक्त कारोबार माघ महिना भित्र गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ । समझदारी पत्रमा हस्ताक्षर समारोहका क्रममा बोल्दै सिवाईसीका अध्यक्ष पद्मनाथ शर्माले मर्जर पश्चात संस्था एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुने बताए । सोही अवसरमा सिवाईसीको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले संस्थालाई समयक्रमानुसार नीति विधि र प्रविधिको प्राधानता भित्र सञ्चालन गर्नुपर्ने कुरामा जोड दिए । त्यस्तै, आरम्भ चौतारीका अध्यक्ष पोखरेलले एकीकृत संस्थालाई देशकै नमुना संस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसैगरी, शालिग्रामका अध्यक्ष कृष्णवहादुर थापाले गरिव तथा विपन्न सदस्यहरुको आर्थिक उत्थान र दुवै संस्थाको विकासका लागि मर्जर समझदारी कोशेढुङ्गा सावित हुने बताए ।