भदौमा निर्जीवन बीमा शुल्कमा देखियो कोरोना असर, साउनको भन्दा ६२ करोड कम
काठमाडौ । साउनको तुलनामा गत भदौ महिनामा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क ६२ करोड रुपैयाँले घटेको छ । गत साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । भदौ महिनामा भने २ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको बीमा समितिले जानकारी दिएको छ । भदौ महिनामा २९ करोड बीमा शुल्क संकलन गरेर शिखर इन्स्योरेन्स कम्पनी अग्र स्थानमा रहेको छ । साउनमा शिखरले २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । भदौ महिनामा सगरमाथा इन्स्यारेन्स कम्पनीले १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत साउन महिनामा भने ३० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेर सगरमाथा इन्स्योरेन्स कम्पनी अग्र स्थानमा थियो । भदौ महिनामा सिद्धार्थ इन्स्यारेन्स कम्पनीले १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सिद्धार्थले गत साउनमा २३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । भदौ महिनामा नेको इन्स्यारेसन्स कम्पनीले १७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउनमा सो कम्पनीले २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । एनएलजी इन्स्योरेन्स कम्पनीले भदौ महिनामा १७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सो कम्पनीले साउन महिनामा १८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बिमक संघका सचिव चंकी क्षेत्रीका अनुसार कोरोना महामारीका कारण निर्जीवन बीमा क्षेत्रको बीमा शुल्कमा प्रभाव देखिएको होे । ‘बीमा कम्पनीहरुले कोरोना महामारीको कारण भएको लकडाउनका लागि यातायात बीमा शुल्कलगायत विभिन्न किसिमका छुटहरु प्रदान गरेका थिए, त्यही डिस्काउन्ट तथा बीमा कम्पनीहरुमा कोरोना महामारीले पारेका अन्य प्रभावहरु तथ्यांकले देखाएको हो, विश्वव्यापी रुपमा कोरोना महामारीको प्रभाव देखिएको बेला नेपाली बीमा क्षेत्रमा त्यसको असर देखियो’, सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सले चैतदेखिकाे जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले असोज मसान्तसम्म ग्राहकको प्रिमियम भुक्तानी विलम्ब भएबापत लाग्ने जरिवाना शुल्कमा शतप्रतिशत छुट दिने भएको हो । कोभिड-१९ को कारण आवागमन र आर्थिक मारमा परेर समयमा पोलिसीको नविकरण बीमा शुल्क तिर्न नसकेका बीमितहरुलाई मध्यनजर गर्दै कम्पनीले उक्त छुटको घोषणा गरेको हो । समयमा तिर्नु पर्ने नविकरण बीमाशुल्क नतिरेको कारण लाग्ने बिलम्ब शुल्क असोज १५ गतेदेखि ३० गतेभित्र नविकरण बीमाशुल्क भुक्तान गरेमा बन्दाबन्दी शुरु अवधि अर्थात २०७६ चैत ११ गतेदेखिको बिलम्ब शुल्क पूर्ण रुपमा छुट दिने निर्णय गरेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए । यस अवधिमा नवीकरण बीमाशुल्क भुक्तानी गरी आ-आफ्नो बीमालेख सक्रिय गराई यस अवसरको फाइदा लिन कम्पनीले आफुसँग आवद्ध सबै बीमितहरुलाई आग्रह गरेको छ । साथै, बीमितहरुले आफुलाई पायक पर्ने समयमा घरबाटै इसेवा मार्फत नै बीमाशुल्क भुक्तानी गर्न सक्ने छन् ।
लालीगुँरास सहकारीले शुरु गर्यो एटिएम सेवा र डेरी उद्योग
ललितपुर । श्री लालीगुरास सहकारी संस्थाले एटिएम सेवा शुरु गरेको छ । संस्थाले पुल्चोकस्थित मुख्य कार्यालयमा सो सेवा शुरु गरेको हो । एटिएम बुथको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले गरेका थिए । संस्थाको २२ औ स्थापना दिवसको अवसरमा एटिएम सेवा शुरु गरेको हो। करिब २१ हजार शेयर सदस्यले हिजो सबहीबारबाट एटिएम सेवा प्रयोग गर्न सक्ने संस्थाका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिए । नले निकट भविष्यमा आफ्ना अन्य सुविधा काउण्टरहरुमा समेत एटिएम बुथ स्थापना गरी सेवा दिने बताए । संस्थाले बिहीबारबाटै आफ्नो लगानीमा स्थापना भएको श्री लालीगुँरास दुग्ध प्रशोधन उद्योगको पनि उद्घाटन गरेको छ । उद्योगको संस्थाका अध्यक्ष श्रेष्ठ र कार्यकारी अधिकृत भण्डारीले गरेका थिए । संस्थाले बिहीबारबाटै दुग्धजन्य पदार्थ बिक्रि गर्न शुरु गरेको छ । कार्यकारी अधिकृत भण्डारीले व्यावसायिक रुपमा दुध, दही, मोही, नौनी, ध्युको बिक्रि वितरण शुरु गरेको जानकारी दिए । चितवनको खैरहनीमा नेपालकै सबैभन्दा ठुलो गाई फार्म स्थापना गरेर उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल यस सहकारीले दुग्ध उद्योग स्थापना गरेको हो । सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा गरे । उनले आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउँदै लैजाने बताए । ललितपुरको चापागाँउ, काठमाडौं चाबहिल र न्यूरोड, भक्तपुरको कौशलटार र चितवनको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको छ ।