हिमाल दोलखा हाइड्रोपावर १७ कराेड नाेक्सानमा, सेयर मूल्य र काराेबारमा भने उछाल
काठमाडौं । वित्तीय विवरण गुपचुप राखेकाे हिमाल दोलखा हाइड्रोपावर कम्पनीकाे सेयर मूल्य र काराेबारमा उछाल आएकाे छ । कम्पनीकाे वेवसाइट वित्तीय विवरण राखिएकाे छैन । नेपाल स्टक एक्स्चेन्ज वा नेपाल धिताेपत्र बाेर्ड लगायत पुँजीबजारका सञ्चालक र नियामक कसैलाई पनि कम्पनीकाे वित्तीय विवरण जानकारी छैन । तर पछिल्ला दिनमा यस कम्पनीकाे सेयर मूल्य र काराेबार दुबैमा उछाल आएकाे छ । बुधबार नेप्से परिसूचक ३.१९ अंकले घट्याे तर हिमाल दाेलखाकाे मूल्य ९.२४ प्रतिशतले बढेर उच्च मूल्य वृद्धि हुनेकाे सूचिमा टप टेनमा चड्याे । विगत ११ महिनामा प्रतिकित्ता ८२ देखि ९२ रूपैयाँसम्मका किनबेच हुँदै आएकाे यस कम्पनीकाे सेयर बुधबार १३० रूपैयाँमा किनबेच भइ काराेबार बन्द भएकाे छ । पछिल्लो समय दोश्रो बजारमा यस कम्पनीको कराेडाैं मूल्य बराबरको सेयर कारोबार भइरहेको छ । बुधबार ८ कराेड २९ लाख ७५ हजारकाे काराेबार भएकाे छ । मंगलबार १० कराेड ६२ रूपैयाँकाे काराेबार भएकाे थियाे भने आइतबार १४ कराेड २७ लाखकाे सेयर किनबेच भएकाे थियाे । बेच्नेकाे चाप उच्च मुल्य वृद्धिसँगै यस कम्पनीकाे सेयर बेच्नेकाे चाप बढेकाे छ । बुधबार मध्यान्नमा कम्पनीको ८५ हजार ८ सय ६० कित्ता सेयर बिक्रीमा रहेको थियाे भने १५ हजार ५० कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका थिए । बुधबार सेयर बजार खुलेकाे करिब ३० मिनेटकाे अवधिमा कम्पनीको एक करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकाे थियाे भने सबैभन्दा बढी सेयर कारोबार हुनेको अग्रस्थानमा देखिएकाे थियाे । कम्पनीले इलाम स्थित माइखोलामा ४.५ मेगावाटको माई खोला स्मल हाइड्रोपावर प्रोजेक्ट र ८ मेगावाटको माई खोला स्मल क्यासकेड हाइड्रोपावर प्रोजेक्ट गरी दुईओटा विद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले २०७६ साल असारमा सर्वसाधारणमा प्राथमिक सेयर(आईपीओ) निष्काशन गरेको थियो । आईपीओ निष्काशन गर्दा कम्पनीले २०७६/७७ को अन्त्यमा प्रतिसेयर आम्दानी ७.५८ रुपैयाँ र नेटवर्थ १०५.३ रूपैयाँ प्रक्षेपण गरेको थियो । र, नाफा ८ करोड ८३ लाख रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण रहेको थियो । तर कम्पनीका वित्त प्रमुख अनन्त कार्कीका अनुसार २०७६/७७ काे अन्त्यमा कम्पनी करिब १७ कराेड रूपैयाँ संचित नाेक्सानमा छ । ‘गत वर्ष करिब २० कराेड भन्दा बढी नाेक्सानमा थियाे । यसपाली संचित नाेक्सान ३ कराेड रूपैयाँले घटाउन सफल भएका छाैं’ उनले विकासन्युजसँग भने । कम्पनीकाे सेयर पुँजी १ अर्ब ६० करोड रहेकाे कम्पनीले वार्षिक ३ कराेड नाफा गर्नु भनेकाे सेयरधनीलाई १.८७ प्रतिशत लाभांश दिन पुग्छ । तर संचित नाेक्सान पूर्ति नभएसम्म सेयरधनीले केही पनि पाउँदैनन् । गत साताकाे अनुपातमा कम्पनीले नाफा गर्ने हाे भने संचित नाेक्सान पूर्ति गर्न अबकाे ६ वर्ष लाग्छ । बैंककाे ऋण १ अर्ब १५ करोड रुपैयाँ रहेकाे छ । वित्तीय रूपमा यति धेरै कमजाेर कम्पनीकाे सेयर मूल्य र काराेबारमा किन उछाल आएकाे छ ? नेपाल धिताेपत्र बाेर्डले यसबारे जानकारी मागेकाे प्रबक्ता निरज गिरीले जानकारी दिए । यस विषयमा सम्पर्क गर्न खाेज्दा कम्पनीकाे अध्यक्ष कल्याण न्याैपानेसँग सम्पर्क हुन सकेन । कम्पनीका एक कर्मचारीले दिएकाे उनकाे माेवाइल नम्बर ९८१०२६६०८१ मा पटक पटक फाेन गर्दा उनले उठाएनन् । कम्पनीले विगत २ वर्षदेखि साधारणसभा पनि गरेकाे छैन । सर्वसाधारणमा सेयर बेचेर कराेडाैं रूपैयाँ संकलन गर्ने, वित्तीय विवरण पनि सार्वजनिक नगर्ने, लेखापरिक्षण पनि नगराउने, साधारणसभा पनि नगराउने, भित्र भित्र मनपरी खर्च गरेर सञ्चालक र प्रमाेटरले मालामाल कमाउने विकृति जलविद्युत क्षेत्रमा माैलाउँदै जादा साधारण लगानीकर्ता भने उच्च जाेखिममा परेका छन् । यसाे भन्छन् नेप्से र धिताेपत्र बाेर्ड सूचीकृत कम्पनीको वित्तीय विवरण प्रत्येक त्रैमासमा सार्वजनिक गर्नुपर्छ । यदी सो अवधिसम्म नगरेमा उक्त त्रैमास सकिएको ३५ दिनभित्रमा सार्वजनिक गरिसक्नु पर्ने नियम छ । त्यसपछि पनि वित्तीय विवरण सार्वजनिक नगरेकोलाई के गर्ने भन्ने विषयमा अहिलेसम्म कानुन मौन नै रहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् । ‘कम्पनीले किन नगरेको भन्ने हामीलाई थाहाँ भएन । त्यो कम्पनीको समस्या भयो । धितोपत्र बोर्डले पनि सार्वजनिक गरेकोलाई गरेको भन्ने नगरेकोलाई नगरेको भन्ने बाहेक अहिलेसम्म कुनै कानुन छैन । हामीले सोध्नसम्म सक्छौं किन नगरेको भनेर त्यहाँ भन्दा बढी गर्ने केही नै छैन । सोध्ने हो भने पनि धितोपत्र बोर्डले सोध्नु पर्यो त्यो धितोपत्र बोर्डको नियम हो ।’, प्रवक्ता पराजुलीले बताए । यस विषयमा विद्युत नियमन विभाग, प्रधानमन्त्री कार्यालय, धितोपत्र बोर्ड, नेप्से लगायत सबैतिर यो कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेन भनेर निवेदनहरु परिसकेको छ । तर, विवरण सार्वजनिक नगरेकोलाई के गर्ने भन्ने विषयमा अहिलेसम्म कानुन मौन नै रहेको प्रवक्ता पराजुलीले विकासन्युजसँग भने । उता नेपाल धितोपत्र बोर्डले भने केही दिन अघि मात्रै वित्तीय विवरण सार्वजनिक नगरेको कारण सोध्दै हिमाल दोलखालाई पत्र पठाएको बताएको छ । ‘यस विषयमा हामीले हिजो मात्र कम्पनीमा पत्र पठाएका छौं । के भएको हो, किन वित्तीय विवरण सार्वजनिक नगरेको भन्ने विषय उल्लेख गर्दै तीन दिन भित्र जवाफ पठाउन निर्देश गरेका छौं । सो समयमा पत्र आएन भने कारवाहीको प्रक्रिया अघि बढाउँछौं ’, बोर्डका प्रवक्ता निरज गिरीले बताए । ‘सूचीकृत कम्पनीले तोकिएको समयमा आफ्नो वित्तीय विवरण सार्वजनिक गरेनन् भने सचेत गराउने र त्यसपछि जरिवाना गराउने नियम छ । निर्देशनहरुको पालना नगरेकोलाई एक लाख ५० हजार रुपैयाँसम्म जरिवना रहेको छ भन्ने लाग्छ तर ठ्याक्कै याद भएन, हेर्नै पर्छ’, प्रवक्ता गिरीले विकासन्युजसँग भने । ( असाेज १५ गते ८ः१५ अपडेट गरिएकाेः सम्पादक)
८ लाख बढीले भरे जनरल इन्स्योरेन्सको आईपीओ
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले निष्काशन गरेको आईपीओले रेकर्ड ब्रेक गरेको छ । कम्पनीको आईपीओमा ८ लाख १३ हजार ५ सय जनाले आवेदन दिएका छन् । जुन आईपीओमा यति धेरै लगानीकर्ताको आवेदन परेको यो नै पहिलो पटक हो । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्ममा ८ लाख १३ हजार ५ सय जनाले २ करोड २४ लाख ७६ हजार ९ सय ५० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन कम्पनीले माग गरेको भन्दा ८.२३ गुणा बढी हो । कम्पनीले आइतबार (असोज ११ गते) बाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको थियाे । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणमा बिक्री गरेकाे हाे । यसमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।
धितोपत्र व्यवसायीकाे जाेखिम कम गर्न बोर्डले असोज १५ गतदेखि आरबीएस म्यानुअल लागू गर्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले असोज १५ गतदेखि ‘रिक्स बेसड सुपरभिजन (आरबीएस) म्यानुअल’ लागू गर्ने भएको छ । बजारमा सम्पत्ति शुद्धीकरणको जाखिमहरुलाई नियन्त्रण तथा कम गर्न बोर्डले उक्त व्यवस्था लागू गर्न लागेकाे हाे । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले विकासन्युजसँग कुरा गर्दै सो कुरा बताएका हुन् । ‘बोर्डले धिताेपत्र व्यवसायीहरूको सम्पत्ति शुद्धीकरण सम्बन्धी विवरणहरुको जोखिम आधारित पर्यवेक्षण गर्नुपर्छ । त्यसको म्यानुअल अहिलेसम्म थिएन । जुन असोज १५ गते लागू गर्न लागेका छौं ।’, उनले भने । सम्पत्ति शुद्धीकरणको आधारमा सुपरिवेक्षण गरिने यसमा जुन संस्थाको जोखिम धेरै छ त्यसमा पटक पटक गएर जोखिमहरु पहिचान गर्ने, यो एउटा अन्तर्राष्ट्रिय अभ्यास हो । कुनै कम्पनीले ठूलो कारोबार गर्छ, संस्थामा केही तल माथि पर्यो भने बजारलाई नै असर पर्छ भने त्यसलाई उच्च जोखिममा राखेर पटक पटक हेरिरहनु पर्ने बोर्डले जनाएको छ । यस अन्तर्गत बोर्डले विभिन्न मापदण्डहरुको आधारमा लाइसेन्स दिएका धितोपत्र व्यवसायीहरु कुन कस्तो जोखिममा छन् भनेर गणना गर्छ । यसमा बोर्डले मोड्युल बनाएको छ । जसअनुसार उनीहरुको तथ्याङ्कहरु लिएर जोखिम निकाल्छ । त्यसको आधारमा बोर्डले उक्त कम्पनीहरुको सुपरिवेक्षण गर्छ, जुन उच्च जोखिममा रहेका छन् । ब्रोकर, मर्चेन्ट बैंक तथा बोर्डबाट अनुमति लिएका धितोपत्र व्यवसायीहरुले निर्देशनहरु बनाएका छन् वा छैनन्, आफ्नो आन्तरिक निर्देशनहरु पालना गरेका छन् वा छैनन् । यी सबैको आधारमा बोर्डले त्यो कम्पनी कुन जोखिम स्तरमा छ, भोलि बजारमा तल माथि भयो भने के हुन्छ भन्ने हिसावमा हेर्छ । र, यसकै आधारमा बोर्डले सुपरिवेक्षण गर्ने बाेर्डले जनाएकाे छ । रिक्स बेसड सुपरभिजन भयो भने बजारमा सम्पत्ति शुद्धिकरणको जाखिमहरुलाई नियन्त्रण तथा कम गर्न सहयोग गर्ने बोर्डकाे भनाइ छ । [pdf id=240130]