नेपाल ल्युब आयलको नगद लाभांश घोषणा, पुँजी बढाएर ५ करोड पुर्याउने

काठमाडौं । नेपाल ल्युब आयलले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । असोज १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने घोषणा गरेको हो । बैठकले आगामी कात्तिक ५ गते बुधबार बिहान साढे ११ बजे २९औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सो प्रयोजनको लागि कम्पनीको असोज २२ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज हुने भएको छ । सभामा कम्पनीले हाल ३ करोड रुपैयाँ रहेको जाँरी पुँजी बढाएर ५ करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव गरेको छ । उक्त सभा कात्तिक ५ गते संस्थाको कार्यालय ललितपुरको झम्सिखेलबाट भर्च्युअल माध्यम जुम एपबाट सञ्चालन हुने कम्पनीले जानकारी गराएको छ ।

कात्तिकदेखि दुई वटा सहकारीमा सदस्य बन्न नपाइने

चितवन । आउँदो कात्तिक १ गतेबाट एउटै प्रकृतिका दुई वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहे तीन वर्षभित्र एक संस्थाको मात्रै सदस्यता कायम गर्न व्यवस्था गरिएको छ । सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ मिति २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा तीन वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाएने भएका हुन् । विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले आफूले छनोट गरेको कुनै एक मात्रै सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्थाको सदस्यता अन्त्य गर्न सूचना जारी गरिएको जानकारी दिए । विभागले सबै सहकारीलाई दोहोरो सदस्यता भए सम्बन्धित शेयर सदस्यलाई जानकारी गराएर एउटा सहकारी चयन गर्न आवश्यक प्रक्रिया मिलाउन निर्देशनसमेत गरेको छ । पाण्डेले हाल देशभरका सहकारी सदस्यको विवरण सफ्टवेयरमार्फत अद्यावधिक भइरहेको जानकारी दिए । यो कार्य पूरा भएसँगै सबै सदस्यलाई स्वघोषणा गर्न लगाउने उनले बताए । सहकारीको निर्देशन अटेर गरेमा सहकारी कानून परिपालन नगर्दा हुने कानूनी सजाय गरिने उनको भनाइ छ । यस अन्तरगत दुई लाखसम्म जरिवाना हुने व्यवस्था रहेको छ । शहरी क्षेत्रका अधिकांश व्यक्तिहरु एउटै प्रकृतिका धेरै सहकारीमा सदस्य रहेका छन् । हाल सहकारीका सदस्यको सङ्ख्या ६५ लाखभन्दा बढी भएको पाण्डेले जानकारी दिए । विवरण अद्यावधिक भएपछि कति व्यक्ति दोहोरो सदस्य छन् भन्ने यकिन हुने उनको भनाइ छ । रासस

मिर्मिरे लघुवित्त र श्रृजनशील लघुवित्त मर्जरमा जाने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएको छन् । सो प्रयोजनको लागि दुई संस्थाबीच सोमबार एक आपसमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने(मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम प्राप्ती (एक्विजिशन) गर्ने उद्देश्यले दुई संस्थाबीच उक्त सम्झौता भएको हो । मिर्मिरे लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलान्चोकको बनेपा बजारमा रहको छ । त्यस्तै, श्रृजनशील लघुवित्तको रजिष्टर्ड कार्यालय सिराहाको गोलबजारमा रहेको छ ।