त्रिविको जग्गा हिनामिना : ओली सरकारले लुकाएको प्रतिवेदन कार्की सरकारले कार्यान्वयन गर्ने

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो । समितिको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाउने निर्णय भएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।  समितिले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदन सार्वजनिक नभएपछि खोजी भएको थियो । काठमाडौंमा मात्र १ हजार रोपनी त्रिविको जग्गा हिनामिना भएको छ ।  यस्तै, सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ । बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता खरेलले जानकारी दिए । बिहीबार नै बसेको बैठकले इलाम जिल्लालाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ । केही दिनअघिको बाढीपहिरोबाट सबैभन्दा ठूलो क्षति इलाममा भएको थियो । बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो । एमालेका नेता सुहाङ नेवाङले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई आग्रह गर्दै आएका थिए ।  यस्तै, सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता खरेलले जानकारी दिए ।  बिहीबारको बैठकले नेपाल प्रहरीका चार डीआईजी एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकले अध्यागमन र भिजिट भिसाको सन्दर्भमा देखिएका समस्या समाधान गर्न गठित छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृहमन्त्रालयमा पठाउने निर्णय गरेको छ ।  नागरिक उड्ययन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिले पेश गरेको प्रतिवेदन २०८२ कार्यान्वयनका लागि पर्यटन मन्त्रालयमा पठाउने निर्णय पनि भएको छ ।

एम्बार्क अनम्याथ ग्लोबल म्याथ डिबेटको दोस्रो संस्करण हुने, हजारौं विद्यार्थीलाई जोड्दै

काठमाडौं । शिक्षाको क्षेत्रमा अग्रणी संस्था एम्बार्क अनम्याथले गणित सिकाउने र सिक्ने तरिकालाई नै बदल्दै आएको छ । गणितका कठिन कुराहरूलाई रचनात्मक र दैनिक जीवनसँग जोडेर सिकाउने यो संस्थाले अहिले आफ्नो सबैभन्दा नयाँ र रोमाञ्चक कार्यक्रम ग्लोबल म्याथ डिबेट लिग (जीएमडीएल) मार्फत नेपालमा पहिलो पटक गणितीय सोच र बहसलाई एकसाथ ल्याएको हो ।  यसको मुख्य उद्देश्य भनेको गणितको भाषालाई विश्वभर फैलाउनु हो । गणित शिक्षालाई नयाँ रूप दिँदै ग्लोबल म्याथ डिबेट लिगले गणितलाई विचार, तर्क र कुराकानीलाई बोल्ने र बुझाउने भाषा बनाउँछ । यो कार्यक्रमले विद्यार्थीहरूलाई गणितलाई समस्या समाधानको माध्यमको रूपमा मात्र नभई आफ्ना विचार व्यक्त गर्ने र नयाँ कुरा सिर्जना गर्ने माध्यमको रूपमा प्रयोग गर्न चुनौती दिन्छ । एम्बार्क अनम्याथका सह-संस्थापक दिवेश बठिजाले भने, ‘ग्लोबल म्याथ डिबेट लिगले हाम्रो दृष्टिकोणलाई झल्काउँछ कि गणित भनेको अङ्क र हिसाबभन्दा धेरै माथिको कुरा हो । यो लिग एउटा खास राष्ट्रिय मञ्च हो जहाँ विद्यार्थीहरूले देखाउन सक्छन् कि गणित भनेको तार्किक सोच र समस्या समाधानको रोमाञ्चक क्षेत्र हो, जुन परम्परागत कक्षाकोठाभन्दा धेरै उन्नत र गतिशील छ ।’ गणित र सोचको लागि राष्ट्रिय मञ्च यस वर्ष, ग्लोबल म्याथ डिबेट लिगले नेपाल भरका विद्यालयबाट ५ हजार भन्दा बढी विद्यार्थीहरूलाई एक संरचित, बहु-चरणको प्रतियोगितामा जोड्दैछ । जसले बहसमार्फत गणितीय तर्कको शक्ति देखाउँछ । प्रतियोगिता तीन चरण स्क्रीनिङ  राउण्ड, क्षेत्रीय छनोट र राष्ट्रिय राउण्डमा हुनेछ । यसले सहकार्य, रचनात्मकता र आलोचनात्मक सोचको लागि मञ्च तयार गर्नेछ । यस प्रक्रियामा विद्यार्थीहरूले आफ्नो विचार शील सोच तीखो पार्छन्, सार्वजनिक स्थानमा बोल्ने क्षमता बढाउँछन् र गणितले वास्तविक जीवनका समस्याहरूमा कसरी लागू हुन्छ भन्ने कुरा गहिरो रूपमा बुझ्छन् । भविष्यको बारेमा सोचविचार गर्नेहरूलाई सशक्त बनाउँदै गणित र कुराकानीको कलालाई जोडेर, ग्लोबल म्याथ डिबेट लिगले अर्को पुस्ताका नेतृत्वकर्ताहरू तयार गर्दैछ । जसले विश्लेषणात्मक रूपमा सोच्न र प्रभावकारी रूपमा कुराकानी गर्न सक्छन् । यो कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक आधार बलियो बनाउनुका साथै गणितलाई रचनात्मकता, नवप्रवर्तन र नेतृत्वको माध्यमको रूपमा मनाउँछ ।  नेपालमा यस किसिमको पहिलो कार्यक्रमको रूपमा, ‘जीएमडीएल’ले युवा सोचविचार गर्नेहरू, बहस गर्नेहरू र समस्या समाधानकर्ताहरूको राष्ट्रव्यापी समुदाय सिर्जना गर्दैछ जसले गणितलाई विषय मात्र नभई जीवनको लागि एउटा सोचाइको रूपमा हेर्छन् ।  सन् २०१२ मा स्थापित उन्म्याथ स्कुल एउटा अग्रणी शैक्षिक संस्था हो जसले विद्यालयहरूमा गणित सिकाउने तरिकालाई नयाँ रूप दिइरहेको छ । एम्बार्क उन्म्याथ यसै विश्वव्यापी मिशनको विस्तार हो, जसले ग्लोबल म्याथ डिबेट लिग, म्याथ म्याराथन, र स्पेस म्याथ जस्ता कार्यक्रमहरू मार्फत सबै उमेरका विद्यार्थीहरूलाई गणितप्रति रोचक, अर्थपूर्ण र परिवर्तनकारी बनाउँछ ।

चाडपर्वमा पनि तलब नपाएको ५०० भन्दा बढी गुनासो, छानबिन गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैं, तिहार र छठ जस्ता चाडपर्वमा समेत शिक्षक र कर्मचारीले तलब नपाएको गुनासो आएको भन्दै छानबिन गर्ने बताएका छन् । मन्त्री पुनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ५०० भन्दा बढी गुनासो आफूलाई फोन र इमेलबाट प्राप्त भएको जानकारी दिएका हुन् । उनका अनुसार सबैभन्दा धेरै गुनासो मधेश प्रदेशबाट आएको छ । उनले लेखेका छन्, 'तलब पाइएन भनेर मलाई सबैभन्दा धेरै फोन मधेशबाट आएको छ। वर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्व जस्तो महान चाडपर्वको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाइ तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन र इमेलबाट आयो । शिक्षा मन्त्रालयले सबै पालिकालाई पैसा पठाइसकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु ।' मन्त्री पुनले पालिकाबाट देखिएको ढिलासुस्ती र गैरजिम्मेवारीकै कारण शिक्षाकर्मी प्रभावित भएको भन्दै तत्काल छानबिन प्रक्रिया अघि बढाइने बताएका छन् ।