‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’

म्याग्दी । धवलागिरि गाउँपालिका–२ मुनाको धवलागिरि माविका शिक्षक र विद्यार्थीले तरकारीखेती गरेका छन् । मुनामा वार्षिक रु पाँच हजार भाडा तिर्नेगरी दुई रोपनी जग्गा भाडामा लिएर तरकारीखेती गरेका हुन् । एक रोपनीमा बन्दा, काउली, रायोसाग, मुला, गाजर र दुईवटा पलास्टिक टनेलमा गोलभेँडाका बिरुवा रोपिएको प्रधानाध्यापक रुपेश सुवेदीले जानकारी दिए । 'गत हप्ता कक्षा ८, ९ र १० का विद्यार्थीका साथै शिक्षकले खाली समयमा श्रमदान गरेर जग्गा तयार गरेर तरकारीका बिरुवा लगाएका छौँ', उनले भने, 'बाँकी एक रोपनी जमिनमा प्याजका बिरुवा उत्पादन गरेर बिक्री गर्ने योजना छ ।' विद्यार्थीलाई तरकारीखेतीसम्बन्धी व्यावहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफैँ उत्पादन गर्ने र तरकारी बिक्री गरेर विद्यालयको कोष वृद्धि गर्ने उद्देश्यले तरकारीखेती थालिएको प्रअ सुवेदीले बताए । तरकारीखेतीका लागि धवलागिरि गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ भन्ने कार्यक्रममार्फत सहयोग गरेको थियो । गाउँपालिकाले उपलब्ध गराएको रु एक लाख ५० हजारबाट मल, बीउ, टनेल खरिद, जग्गा भाडा तिरेको छ । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमूना आवासीय मावि र धवलागिरि माध्यमिक विद्यालयमा ‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’ कार्यक्रम सञ्चालन गरेको बताए । हेम नमूना आवासीय माविको झिनडाँडास्थित छात्रावासमा बस्ने ५० विद्यार्थीले छ रोपनी पाखोको झाडी फाडेर तरकारीखेती गरेर हराभरा बनाएका छन् । गत वर्ष रु तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले बताए । रासस

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको बोर्ड बैठकको निर्णयपछि नतिजा प्रकाशन गरिएको हो । बोर्डको पूर्व निर्धारित तालिकाअनुसार नतिजा साउन १५ गतेभित्रै प्रकाशन हुनुपर्ने थियो । तर गत चैत २० गतेदेखि शिक्षकहरूले गरेको २९ दिने आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएकाले नतिजा समयमा आउन सकेको थिएन । सोही आन्दोलनका कारण गत वैशाख ११ गतेका लागि तय भएको परीक्षा पनि २१ गतेदेखि सुरु भएको थियो । यस वर्षको परीक्षामा कुल ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए ।

१२ कक्षाको नतिजा सार्वजनिक गर्न बैठक जारी

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ । अहिले बैठक बसेकाले कुनै प्राविधिक समस्या नआए बैठक सकिने बित्तिकै नतिजा सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।  बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र १२ कक्षाको नतिजा सार्वजनि हुनुपर्ने हो । तर, केही दिन ढिला गरी नतिजा सार्वजनिक हुन लागेको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । २१ वैशाखदेखि सुरु भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । यसरी हेर्न सकिन्छ नतिजा ? परीक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने छ । राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ । यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ । यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिनेछ । यूएसएसडी सेवा अन्तर्गत ८१६०१३ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।