निजी विद्यालय सञ्चालकले गरे आन्दोलन घोषणा, विद्यालय बन्द गर्नेसम्मको चेतावनी
काठमाडौं । निजी विद्यालयका विषमा विद्यालय शिक्षा विद्येयकमा लेखिएका केही बुँदाप्रति आपत्ती जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका छन् । तीन दिनभित्र विद्येयकमा लेखिएका कुरा संसोधन गर्न माग गरेपनि सुनुवाइ नभएको भन्दै प्याब्सन र ऐन प्याब्सनले संयुक्त रुपमा आन्दोलन घोषणा गरेको हो । घोषणा कार्यक्रममा भदौ ७ सम्म बौद्धिक रुपमा ज्ञापनपत्र बुझाउँदै आन्दोलन गर्ने जनाएको छ । असार १३ गते बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले निजी विद्यालयलाई सेवा मुलक, लोक कल्याणकारी,र क्रमशः नाफामुलक गर्ने भन्दै विधेयक पारित गरेको थियो । निजी विद्यालय सञ्चालकहरूले यसमा आपत्ती जनाउँदै यि बुँदा हटाउन तीन दिनको समय दिएको थियो । उनीहरूले विज्ञप्ति निकाल्दै विधेयकमा लेखिएको निजी विद्यालयलाई क्रमशः गैर नाफामुलक बनाइनेछ भन्ने वाक्यंश हटाइनुपर्ने, पूर्ण छात्रवृति दिने शब्द हटाइनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृति दिने प्रावधानलाई निरन्तरता दिनुपर्ने छाज्ञवृति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने भनेका थिए । ति बुँदामा समिति मौन हुँदा प्याब्सन, ऐन प्याब्सनले आन्दोलन घोषणा गरेको हो । बिहीबार पालिका प्रमुख र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाउने जनाएको छ । निजि विद्यालय सञ्चालकहरूले शुक्रबार भोलि जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाउने, भदौ १ गते प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ । यस्तै भदौ २ गते आफ्ना क्षेत्रका सांसदहरूलाई ज्ञापनपत्र बुझाउने भदौ तीन, चार र पाँच प्रदेश स्तरिय आन्दोलन तयारी बैठक बस्ने र ६, ७ गते केन्द्र र प्रदेशस्तरमा अन्तक्रिया गर्ने उल्लेख छ । यति गर्दा पनि यि कुरा हटाइएन भने विद्यालय बन्दसम्म गर्ने चेतावनी दिएको छ ।
अल्फा बिटा इन्स्टिच्युटले अन्तर-कलेज फुटसल प्रतियोगिता आयोजना गर्दै, १६ कलेजले भाग लिने
काठमाडौं । अल्फा बिटा इन्स्टिच्युटले भदौ ४ र ५ गते धुम्बाराहीस्थित सूर्य फुटसलमा अन्तर–कलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलप्रेमी विद्यार्थीलाई प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा १६ कलेजका विद्यार्थी टोलीहरूको सहभागिता रहनेछ । आयोजकले विजेता टोलीलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्ने जनाएको छ । अल्फा बिटाका मार्केटिङ म्यानेजर स्वरुप तिम्सिनाका अनुसार प्रथम हुने टोलीलाई रु। ६० हजार र द्वितीय हुने टोलीलाई ३० हजार नगद पुरस्कार दिइनेछ । साथै, उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । तिम्सिनाले खेलकुद विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने बताए । उनले यसपटकको प्रतियोगिता भव्य र व्यवस्थित हुने उल्लेख गर्दै खेल तालिका तथा सहभागी विद्यालयहरूको सूची सार्वजनिक भइसकेको जानकारी दिए । प्रतियोगिताको प्राविधिक पक्ष व्यवस्थित गर्न अनुभवी प्रशिक्षक, निर्णायक र रेफ्रीहरूको टोली खटाइनेछ । अल्फा बिटाको विश्वास छ कि यस्ता प्रतियोगिताले युवा पुस्तामा खेलप्रतिको रुचि बढाउने मात्र नभई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नेछ । साथै, अन्तर–कलेज फुटसल प्रतियोगिता विद्यालयहरूबीच आपसी समझदारी, सहकार्य, मित्रता, सम्मान र प्रतिस्पर्धात्मक भावना निर्माण गर्ने उत्कृष्ट अवसर पनि हो । यस प्रतियोगितामा सहभागी १६ कलेजमा डीएभी कलेज, युनिग्लोब कलेज, बुढानीलकण्ठ स्कुल, युलेन्स स्कुल, द ब्रिटिश इन्टरनेशनल कलेज, डियरवाक कलेज, स्वस्तीश्री गुरुकुल, कान्जिरोवा कलेज, काष्ठमण्डप स्कुल, प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुल, काठमाडौं वर्ल्ड स्कुल, लिटिल एन्जल्स कलेज, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ट्रिनिटी इन्टरनेशनल कलेज, जेभियर इन्टरनेशनल कलेज र सीसीआरसी रहेका छन् ।
काठमाडौंको एभरेस्ट कलेजलाई आईएलटीएस परीक्षा सञ्चालनको अनुमति
काठमाडौं । काठमाडौंमा रहेकाे एभरेस्ट कलेजले आधिकारिक रूपमा आईएलटीएस परीक्षा सञ्चालनको अनुमति पाएको छ । २७ वर्षदेखि शिक्षण क्षेत्रमा सक्रिय रहेको एभरेस्ट कलेज अब आधिकारिक ब्रिटिश काउन्सिल आईएलटीएस परीक्षा केन्द्र बनेको हो । यस सुविधाले अन्तर्राष्ट्रिय अध्ययन र रोजगारीका अवसर खोज्ने विद्यार्थीलाई तयारीदेखि परीक्षा सम्मको सम्पूर्ण प्रक्रिया स्थानीयस्तरमै सहज र विश्वासिलो बनाउन मद्दत गर्ने कलेजको विश्वास छ । अन्तर्राष्ट्रिय आईएलटीएस तयारीमा संलग्न विद्यार्थीका लागि कलेजले थापाथलीस्थित आफ्नो क्याम्पसमा सम्पर्क गर्न आह्वान गरेको छ ।