प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/७९ मा आइसिटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आईटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको दाबीसहित सोमबार मुद्दा दायर गरेको हो ।      प्रधानाध्यापक ठाकुरसँगै तत्कालीन लेखापाल अरूणकुमार कुशियैतविरूद्ध जनही रु आठ लाख ६२ हजार १५२ बिगो रकमसहित विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ । अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आव २०७८/७९ को आइसिटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको रु ८७ हजार ५००  बराबरको प्रोजेक्टर तथा आव २०७९/८० मा आइटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको रु एक करोड, २४ लाख ६ सय ५२ बराबरको स्कस्ल सफ्ट्वयर र स्टान्ड हाल विद्यालयको अभिलेखमा नदिखिएको हुँदा सजायको माग दाबीसहित आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।' ठाकुर र कुशियैतले आपसी मिलेमतो तथा योजनामा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना, हानीनोक्सानी तथा दुरूपयोग गरेको हुँदा निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर भएकाले निज प्रतिवादीलाई सजायको मागसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । 

इन्फोरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह सम्पन्न

काठमाडौं । इन्फोरमेटिक्स कलेज पोखराको दीक्षान्त समारोह २०२५ सम्पन्न भएको छ । बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त इन्फोरमेटिक्स कलेज पोखराले वार्षिक दीक्षान्त समारोह गत शुक्रबार पोखरास्थित ग्रान्ड होटेलमा आयोजना गरेको हो । समारोहमा स्नातक तहअन्तर्गत बीए (अनर्स) बिजनेस प्रशासन तथा बीएससी (अनर्स) कम्प्युटिङ कार्यक्रम सफलतापूर्वक पूरा गरेका विद्यार्थीहरू दीक्षित भएका थिए । दीक्षान्त समारोहमा विद्यार्थीका अभिभावकहरूको उल्लेखनीय र उत्साहपूर्ण उपस्थिति रहेको थियो । इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित कलेजले आफ्नो परम्पराअनुसार यस वर्ष पनि उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गर्दै सम्मान गरेको छ । उक्त छात्रवृत्ति यस वर्ष मनिष धमलालाई प्रदान गरिएको हो । उनले इस्लिङ्टन कलेजमा एमएससी आईटी अध्ययनलाई निरन्तरता दिनेछन् । छात्रवृत्तिसँगै उनलाई इनोभेट नेपाल ग्रुपअन्तर्गतका संस्थामध्ये कुनै एकमा कार्यानुभव प्राप्त गर्ने अवसरसमेत प्रदान गरिनेछ । समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीलगायत शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले स्नातक विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सीपमूलक तथा अन्तर्राष्ट्रियस्तरको शिक्षाको महत्वमा जोड दिएका थिए । इन्फोरमेटिक्स कलेज पोखराले सूचना प्रविधि, व्यावसायिक प्रशासन तथा सम्बन्धित क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका स्नातक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय साझेदारी तथा विश्वव्यापी प्रतिस्पर्धामा विद्यार्थीलाई सक्षम बनाउने ज्ञान र सीप प्रदान गर्नु कलेजको प्रमुख प्रतिबद्धता रहेको कलेजले जनाएको छ ।

टियागो ईभी अन्तर–स्कुल चित्रकला प्रतियोगिता 'कार्टनिभल'का आशिम र समय्यालाई पी एस ५ पुरस्कार

काठमाडौं । टियागो ईभी कार्निभल अन्तर–स्कुल चित्रकला कार्यक्रमअन्तर्गत चित्रकला प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ । सिप्रदीयन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित उक्त अन्तर–स्कुल चित्रकला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । कार्यक्रम चित्रकला प्रतियोगिता, उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा विशेष पुरस्कार वितरण समारोहसहित सम्पन्न गरिएको थियो । प्रतियोगिताअन्तर्गत कक्षा ५ देखि ८ सम्मको समूहमा त्रियोग हाईस्कुलका आशिम सुन्दास प्रथम भएका छन् भने कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ स्कुलकी समया थापा प्रथम हुन सफल भइन् । दुवै समूहका प्रथम विजेतालाई पुरस्कारस्वरूप प्लेस्टेसन–५ (पी एस ५) प्रदान गरिएको थियो । दुई चरणमा सञ्चालन गरिएको यस कार्यक्रमको पहिलो चरणअन्तर्गत गत मङ्सिर १३ गते चित्रकला प्रतियोगिता तथा कार्यशाला आयोजना गरिएको थियो । दोस्रो चरणमा पौष २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको हो । कक्षा ५ देखि ८ को समूहमा काठमाडौं युरो स्कुलकी ब्रिशा भट्ट द्वितीय, नेशनल ब्लुमिङ फ्लावर एकेडेमीका सामिक कुँवर तृतीय, बुढानिलकण्ठ स्कुलका दक्ष चौधरी चौथो तथा त्रियोग हाईस्कुलकी आश्वी घले पाँचौँ स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी, कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ द्वितीय र राजन मुखिया तृतीय भएका छन् । उक्त कार्यक्रम बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङ प्रालिका पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापति, शैक्षिक व्यक्तित्व, अभिभावक, सहभागी विद्यालयका विद्यार्थी तथा कला क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो ।