काठमाडौंमा गुल्मी सम्पर्क मञ्चद्वारा १६९ विद्यार्थी सम्मानित
काठमाडौं । नेकपा एमाले गुल्मी-काठमाडौं सम्पर्क मञ्चको आयोजनामा विद्यार्थी सम्मान तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १६९ विद्यार्थीलाई सम्मान गरिएको मञ्चका सचिव प्रेमप्रकाश ढकालले जानकारी दिए । गुल्मीका विभिन्न विद्यालयबाट एसईई उत्तीर्ण गरी काठमाडौंमा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा गुल्मी क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य गोकर्ण बिष्टले विद्यार्थीहरूलाई सम्मान गरेका थिए ।
शुल्क शोषणविरुद्ध त्रिवि उपकुलपति कार्यालयमा अखिल क्रान्तिकारीको रिले अनसन सुरु
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्रा. डा. दीपक अर्यालको कार्यकक्ष अगाडि १७ दिनदेखि धर्ना दिइरहेको माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले बिहीबारदेखि रिले अनसन सुरु गरेको छ । विद्यार्थी संगठनले भनिएको छ कि दुई साताभन्दा बढी धर्ना बसे पनि विश्वविद्यालय प्रशासनले मागप्रति चासो नदेखाएपछि उनीहरू रिले अनसनमा उत्रिएका हुन् । क्रान्तिकारीका अनुसार, अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य र लैङ्गिकता अध्ययन लगायतका चार सेल्फ सस्टेन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिए पनि शुल्कमा कमी नगरी पुरानै दरमा असुल भइरहेको छ । विद्यार्थीहरूले शुल्क घटाउन माग गरे पनि त्रिवि पदाधिकारीले वार्ताका लागि बोलाएका छैनन् । सोहीबीच उपकुलपति अर्याल अघिल्ला दिनदेखि कार्यालय आउनै छोडेको आरोप विद्यार्थीहरूले लगाएका छन् ।
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षक
पर्वत । बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिँदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन् । जिल्लाका सातवटै पालिकामा रहेका ३१ सामुदायिक विद्यालय विद्यार्थीविहीन बनेका हुन् । शून्य विद्यार्थी हुने अधिकांश विद्यालय आधारभूत र प्राथमिक तहका रहेका छन् । लामो समयदेखि विद्यार्थी संख्या शून्य भइसक्दा पनि विद्यालयहरू समायोजन गर्ने प्रक्रियासमेत थालिएको छैन । जिल्लाका सात स्थानीय तहमा २७२ सामुदायिक विद्यालय रहेका छन् । विद्यार्थी शून्य हुनेमा एक माध्यमिक तहको विद्यालय समेत रहेको छ । जिल्ला शिक्षा समन्वय एकाई पर्वतले दिएको जानकारीअनुसार विहादी गाउँपालिकामा दुई सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या शून्य रहेको छ । मोदी गाउँपालिकामा ९ विद्यालयमा विद्यार्थी संख्या शून्य भएको छ । यसैगरी फलेवास नगरपालिकामा ६ वटा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य पुगेको हो भने कुश्मा नगरपालिकामा विद्यार्थी संख्या शून्य भएका आठ सामुदायिक विद्यालय रहेका एकाइले जानकारी दिएको छ । यस्तै जलजला गाउँपालिकामा ४ सामुदायिक विद्यालयमा विद्यार्थी शून्य रहेका छन् भने दक्षिण पर्वतको पैयूँ गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाई पर्वतका प्रमुख मतिलाल चपाईले जानकारी दिए । उनका अनुसार फलेवास नगरपालिका– ५ मा रहेको ध्रुवनमुना माध्यमिक विद्यालयसहित ३१ सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य रहेको भएपनि स्थानीय तहहरूले समायोजन गर्ने वा शिक्षकलाई विद्यार्थी भएको विद्यालयमा खटाउने काम नगरेको बताए । शून्य विद्यार्थी संख्या हुँदा पनि सञ्चालनमै रहने विद्यालयहरूमा कुश्मा नगरपालिकाभित्रकमा हर्राचौर प्रा‍.वि, जनजागृति प्रा.वि, जनकल्याण प्रा.वि, मराङसिंह प्रा.वि, सहिद शुक्र प्रावि ठुलीपोखरी, धौलागिरि प्रा.वि, जनता प्रा.वि रहेका छन् । जलजला गाउँपालिकामा शून्य विद्यार्थी हुने विद्यालयहरूमा जनचेतना प्रा.वि शालिजा, सर्वोदय आधारभूत विद्यालय शालिजा, स्वस्वती आधारभूत विद्यालय धाइरीड रहेका हुन् । यसैगरी फलेवास नगरपालिकामा शून्य विद्यार्थी हुनेमा श्री बाल प्रा.वि, ध्रुव नमूना मा.वि, सूर्योदय प्रा.वि, जनता प्रा.वि लिमिठाना, तीनधारे प्रा.वि, मनकामना प्रा.वि, बेतेयानी प्रा.वि, देउराली प्रा.वि र भवानी प्रा.वि रहेका छन् । यसैगरी दक्षिण पर्वतको पैंयू गाउँपालिकामा शून्य विद्यार्थी हुनेमा बालनयन प्रा.वि, बालज्योति प्रा.वि हुन् । मोदी गाउँपालिकामा शून्य विद्यार्थी हुनेमा सिद्ध आधारभूत विद्यालय, कृष्ण आधारभूत विद्यालय, जनप्रकाश आधारभूत विद्यालय, हरि आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, बालकल्याण प्राथमिक विद्यालय, भूमे आधारभूत विद्यालय, लक्ष्मी आधारभूत विद्यालय, दुर्गाभवानी आधारभूत विद्यालय र सिद्धबराह आधारभूत विद्यालय रहेका छन् । यता विहादी गाउँपालिकामा, जनसेवा प्रा.वि वहाकीठाँटी र बालज्योती प्रा.वि रानीपानीमा विद्यार्थी संख्या शून्य रहेको जिल्ला शिक्षा समन्वय एकाई पर्वतले जनाएको छ । यसरी विद्यार्थी नै नभएका विद्यालयको संख्या ३१ पुगिसक्दा पनि पर्वतका स्थानीय सरकारहरूले विद्यालय समायोजन गराउन कुनै चासो नदिएको फलेवासका स्थानीय धर्म पौडेलले बताए । शिक्षकहरूलाई विद्यार्थी नै नभएका विद्यालयमा राखेर तलब सुविधा दिलाउने गरिएको छ । राज्यको बजेटको दुरूपयोग हुने भएपनि बाध्यतामा परेर शिक्षकहरू राख्नुपरेको फलेवास नगरपालिका– २ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले बताए । अहिले विद्यार्थी नभएपनि आगामी दिनमा विद्यार्थी आउन सक्ने भन्दै विद्यालयलाई समायोजना नगरिएको बुझिएको उनको भनाइ छ । शिक्षकहरूलाई सरुवा गर्नुको सट्टा रित्ता विद्यालय रुँगाएर जनप्रतिनिधिले राजनीतीक संरक्षण गरिरहेको पाइएको छ । करार, राहत शिक्षक र कार्यालय सहयोगीको रोजगारी जाने भएका कारण पनि कतिपय विद्यालय समायोजन नगरिएको कतिपय जनप्रतिनिधिले नै बताउने गरेका छन् ।