सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमुखीकरण तालिम

काठमाडौं । लियो क्लब अफ काठमाडौं सौहार्दले कान्तिपुर इन्टरनेशनल कलेजसँगको सहकार्यमा ‘सौहार्द करिअर फेस्ट २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । सौहार्दले कक्षा १२ को परीक्षा दिएर बसेका झण्डै १५० जना विद्यार्थीलाई अभिमुखीरण तालिम दिएको हो ।  विद्यार्थीहरूलाई ‘प्लस टु’ पछि भविष्यमा के गर्दा राम्रो हुन्छ ? अध्ययन गर्नको लागि कुन विषय छनौट गर्दा राम्रो हुन्छ ? आफूमा भएको क्षमतालाई कसरी निखार्दै लैजाने ? भन्ने विषयमा परामर्श दिनको लागि उक्त कार्यक्रम आयोजना गरेको हो ।  यसका साथै सेयर बजार, स्वस्थ खानपान, एआई, च्याट जीपीटी, फ्रिलाइन्सिङ, इन्टेरियर डिजाइनलगायतका विषयमा सम्बन्धित क्षेत्रका विज्ञद्वारा तालिम पनि दिएको थियो । शनिबार काठमाडौंको इन्द्रेणी बैङ्क्वेटमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।  उक्त कार्यक्रममा सहभागी विद्यार्थीले धेरै नयाँ कुरा सुन्न पाउँदा खुसी व्यक्त गरेका थिए ।  कार्यक्रम सोचेको भन्दा राम्रो र उपलब्धीमूलक भएको भन्दै उपस्थित विद्यार्थीको नाममा छिट्टै वृक्षरोपण पनि गर्ने लियो क्लब अफ काठमाडौं सौहार्दले प्रतिवद्धता जनाएको छ ।  काठमाडौं इन्टरनेशनल कलेजका सीईओ प्रतापराज जोशीले विद्यार्थीलाई आफूलाई रुची भएको विषय छानेर पढ्नको लागि प्रोत्साहन गरेका छन् ।  विद्यार्थी अभिमुखीकरण कार्यक्रम एकदमै उपलब्धीमूलक हुने भएकाले समय समयमा यस्ता कार्यक्रम गर्नुपर्ने र त्यसमा कलेज प्रशासनले पनि सक्दो सहयोग गर्ने उनले बताए ।

शिक्षा विधेयकमार्फत आफ्ना माग सम्बोधन नभए देशव्यापी आन्दोलन चर्काउने राहत शिक्षकहरूको चेतावनी

काठमाडौं । नेपाल राहत शिक्षक राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयकमा राहत शिक्षकका मागहरू समावेश नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।  आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले राहत शिक्षकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराई पेशागत निरन्तरता नदिए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै समितिका महासचिव जीवन तिमिल्सिनाले अनिवार्य वा स्वेच्छिक अवकाश लिने राहत शिक्षकहरूका लागि गोल्डेन ह्याण्डसेकको व्यवस्था गर्नुपर्ने माग राखे । उनले खाली राहत दरबन्दीलाई स्वतः स्वीकृत दरबन्दीमा परिणत गरी खुला प्रतिष्पर्धाबाट स्थायी पदपूर्ति गर्नुपर्ने तथा शिक्षक सेवा आयोगका सबै खुला प्रतिष्पर्धामा कार्यरत राहत शिक्षकहरूका लागि उमेर सीमा हटाई सहभागी हुने व्यवस्था गरिनुपर्ने माग पनि राखे ।  उनले समितिले आफ्ना राहत शिक्षकका मुद्दाहरू शिक्षा ऐनमा समावेश गराउन महासंघमार्फत सरकारलाई दबाब दिने समेत बताए । समितिले शिक्षक महासंघले राहत शिक्षकको पक्षमा आवाज नउठाएमा र विधेयकमा व्यवस्थापन नगरेमा देशभर सरकार प्रमुखको पुत्ला दहन गर्ने, विधेयकको प्रतिलिपि जलाउने, विधेयक पास भएको भोलिपल्ट कालोपट्टी बाँधेर पढाउने तथा शिक्षक महासंघको नाममा एक छाक नुन बार्ने लगायत आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ ।