काठमाडौं उपत्यकाका विद्यालयहरूमा पठनपाठन शुरु
काठमाडौं । जेनजी आन्दोलनका कारण बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरू क्रमशः सञ्चालन हुन थालेका छन् । सोमबारबाट काठमाडौं उपत्यकाका विद्यालयहरू सुचारु हुन थालेका हुन् । जेनजी आन्दोलनले त्रस्त विद्यालयहरू केही दिनका लागि बन्द गरिएको थियो । जेनजी आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायत सरकारी निकायहरू जलेर ध्वस्त भएसँगै विद्यालयहरुले केही दिनका लागि पठनपाठन बन्द गरेका थिए । अहिले अवस्था सामान्य बनेसँगै विद्यालयहरु पुनः सञ्चालन भइ पठनपाठन शुरु गरेका छन् । तर जेनजीका मागहरु पूरा नभएको भन्दै आइतबार साँझ जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ समूहले आन्दोलन गर्दै नाराबाजीसहित प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेसँगै स्थिति पुनः जटिल बन्नेतर्फ अग्रसर भएको कतिपयको आँकलन छ । प्रधानमन्त्री कार्कीले जेनजीसँग छलफल नै नगरी मन्त्रीपरिषद् विस्तार गरेको भन्दै गुरुङ समूहले नाराबाजी गरेको थियो । उनीहरुले आफूहरुका माग पूरा नभए आन्दोलन नरोकिने पुनः सडकमा आउने चेतावनी दिएका छन् ।
सुमना श्रेष्ठले रास्वपा त्याग्दै लेखिन् -'मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला, मैले पार्टी छोडें'
काठमाडौं । केही महिना पहिले व्यापक असन्तुष्टि जनाउँदै सहमहामन्त्री पदबाट राजीनामा दिएकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अर्को झट्का दिएकी छन् । उनले पार्टीका केन्द्रीय सदस्यहरूको म्यासेन्जर ग्रुपमा केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दै पार्टीलाइ सरप्राइज दिएकी हुन् । उक्त सरप्रराइजपछि आफ्नो फेसबुकमा समेत स्टाटस लेख्दै सुमनाले पार्टीबाट राजीनामा दिएको उनले उल्लेख गरेकी छन् । श्रेष्ठले भनिन्, ‘कहिलै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने ।’ ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्र्याल हुन थाल्यो । यो स्विकार्य छैन । अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला । मैले पार्टी छोडें,’ उनले थपिन् ।
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई निर्देशन दिएको छ । महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो । विद्यालयमा कुनै क्षति भए/नभएको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले सूचनामार्फत अनुरोध गरेको छ । महानगरको शिक्षा विभागले विभिन्न चार बुँदामा सबै विद्यालयलाई कक्षा सञ्चालन, भदौ २३ र २४ गतेदेखि देशमा सिर्जित अवस्थाका कारण विद्यालयमा क्षति भए/नभएको एकिन गर्न र कक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न सूचित गरेको हो । महानगरले यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा श्रव्य दृश्यका माध्यमबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।