गरिमा विकास बैंकले परिवर्तन गर्यो लोगो र छाप
काठमाडौं । गरिमा विकास बैंकले आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । संस्थागत पहिचानलाई समयसापेक्ष थप सशक्त बनाउने उद्देश्यसहित बैंकले बिहीबार (माघ १) देखि लागू हुने गरी नयाँ लोगो र छाप प्रयोगमा ल्याएको हो । बैंकका अनुसार लोगो तथा छाप परिवर्तनसम्बन्धी विशेष प्रस्ताव गत कात्तिक २७ गते सम्पन्न १९औँ वार्षिक साधारणसभाबाट पारित भएको थियो । त्यसपछि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरी नयाँ लोगो र छाप कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ । परिवर्तित लोगोले बैंकको आधुनिक, सरल र विश्वसनीय पहिचानसँगै गुणस्तरीय बैंकिङ सेवाप्रतिको प्रतिबद्धता झल्काउने विश्वास बैंकले लिएको छ । बैंकद्वारा जारी विज्ञप्तिमा ग्राहक तथा सरोकारवालाप्रति निरन्तर विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
रिलायन्स फाइनान्सको १६औं साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव सर्वसम्मत रूपमा पारित
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०८१०८२ को सोह्रौं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफलसहित पारित भयो । साथै बाह्य लेखापरीक्षकको नियुक्ति तथा विशेष प्रस्तावतर्फ वित्तीय संस्थाहरूबीच मर्जरसम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ । सभामा प्रस्तुत विवरणअनुसार विगत वर्षहरूमा व्यवसाय तथा वित्तीय सूचकमा उतारचढाव भए तापनि चालु आर्थिक वर्षमा संस्थाको कार्यसम्पादन उल्लेखनीय रूपमा सुधारिएको छ । गत आर्थिक वर्षको तुलनामा संस्थाको निक्षेप १.०३ प्रतिशतले वृद्धि भई ८ अर्ब ६४ करोड पुगेको छ भने कर्जा ८.७० प्रतिशतले वृद्धि भई ७ अर्ब ९ करोड पुगेको छ । त्यस्तै, संस्थाको मुनाफा ६१ प्रतिशतले वृद्धि भई ६ करोड ८६ लाख पुगेको छ । सभामा सेयरधनीहरू डा. बालकृष्ण चापागाईं र दीपक आचार्यले वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै संस्थाको प्रगति र भविष्यका योजनाप्रति शुभकामना व्यक्त गरे । साथै अन्य विभिन्न सेयरधनीहरूले लिखित सुझावसमेत प्रस्तुत गरेका थिए । सभाको अवसरमा संस्थामा १० वर्षभन्दा बढी समय सञ्चालकका रूपमा योगदान पुर्याएका पूर्व सञ्चालक विष्णुमान जोशीलाई सम्मान गर्दै कदरपत्र प्रदान गरिएको थियो । त्यस्तै, १० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको थियो । साथै कार्यसम्पादनका आधारमा उत्कृष्ट कार्य गर्ने तीनवटा शाखा कार्यालयलाई ‘बेस्ट ब्रान्च अवार्ड’ प्रदान गरिएको छ ।
नेपाल बैंकको ६६औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल बैंक लिमिटेडको ६६औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्मालेको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ । त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त तथा सुविधा पारित गर्दै महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भएपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ । सभाले बैंकको नियमावलीको नियम ३१ अनुसार सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलका सुझाव प्राप्त भएमा सोही अनुरूप आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।