कृषि विकास बैंकद्वारा मण्डन देउपुरमा २३२ विद्यार्थीलाई स्कुल ब्याग वितरण

काठमाडौं । कृषि विकास बैंकले विभिन्न सामाजिक कार्यहरू सञ्चालन गरेको छ । सोही क्रममा जेठ ७ गते बिहीबार मण्डन देउपुर नगरपालिका–८ स्थित डेडी थुम्का माध्यमिक विद्यालयका २३२ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ । उक्त विद्यालयमा स्थानीय दनुवार समुदायसहित गरिब तथा सिमान्तकृत वर्गका बालबालिका अध्ययनरत छन् । स्रोत अभावका बीच अध्ययन गरिरहेका विद्यार्थीलाई प्रदान गरिएको यस सहयोगले उनीहरूलाई प्रत्यक्ष लाभ पुगेको विद्यालयले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रम विद्यालय परिसरमै आयोजना गरिएको थियो । कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका मेयर टोक बहादुर वाइवाको प्रमुख आतिथ्यता रहेको थियो । उनले नगरपालिकाको मुख्य आयस्रोत कृषि रहेको उल्लेख गर्दै कृषि विकास बैंकसँगको सहकार्यले स्थानीय विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै, कृषक तथा कृषि क्षेत्रमा सहकार्य विस्तार गर्न बैंकलाई आग्रह गरे । कार्यक्रममा बैंकका सञ्चालक विनोद कुमार गुरागाईंले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै विद्यालयसँग दीर्घकालीन सहकार्यमार्फत गरिब विद्यार्थीको क्षमता अभिवृद्धिमा काम गर्न इच्छुक रहेको उल्लेख गरे । बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईंले विद्यार्थीहरूको उत्साह र आवश्यकतालाई ध्यानमा राख्दै सही स्थान छनोट गरिएकोमा खुशी व्यक्त गरे । सहयोग कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैप्रति उनले धन्यवाद पनि व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल सापकोटाले विभिन्न स्रोत जुटाएर विद्यालय विकासमा काम गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रममा नगरपालिकाका उपमेयर विष्णु मणि नेपाल, कृषि विकास बैंकका मार्केटिङ तथा सेल्स विभाग प्रमुख वीणा शर्मा, बागमती प्रदेश कार्यालयका निर्देशक चन्द्र सिंह थापा, पाँचखाल शाखा प्रमुख विनोद कोइराला लगायत अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

तरलता व्यवस्थापनका लागि १ खर्ब रकम उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि शुक्रबार एक खर्ब रुपैयाँ बराबरको रकम उठाउन लागेको छ । केन्द्रीय बैंकले सूचनामार्फत कूल ६१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागिएको जनाएको छ ।       आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत रकम बोलकबोल हुनेछ । उक्त रकमको साँवा तथा ब्याज भुक्तानी भने आगामी साउन ६ गते हुनेछ । घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ ।  

महालक्ष्मी विकास बैंक ३२औँ वर्षमा प्रवेश, विविध सामाजिक कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक ३२औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले जेष्ठ २ गतेदेखि जेष्ठ ७ गतेसम्म विभिन्न सामाजिक, वित्तीय तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाएको छ । वार्षिक उत्सवअन्तर्गत जेष्ठ २ गते बैंकको केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा तथा विप्रेषणलगायत बैंकिङ सेवासम्बन्धी जानकारी प्रदान गरिएको बैंकले जनाएको छ । त्यसैगरी, जेष्ठ ४ गते केन्द्रीय कार्यालयमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा जेष्ठ ५ गते दन्त तथा आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो। यी शिविरहरूबाट करिब २०० जनाले लाभ लिएका थिए । वार्षिकोत्सवकै अवसरमा जेष्ठ ६ गते देशभरका विभिन्न कार्यालयहरूमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो, जसबाट करिब २०० पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ । रगत व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । यसै अवसरमा बैंकले विभिन्न स्थानका महालक्ष्मी मन्दिरहरूमा सरसफाइ सामग्री वितरण गर्नुका साथै ललितपुरको महालक्ष्मीस्थानस्थित मन्दिरमा बगैंचा व्यवस्थापन र डिजिटल दक्षिणा प्रवर्द्धनका लागि सहयोग गरेको छ । जेष्ठ ७ गते बैंकका कर्मचारीहरू स्थानीय भेषभूषामा उपस्थित भई सांस्कृतिक विविधता झल्काउने कार्यक्रम आयोजना गरिएको थियो । सोही दिन नारायणहिटीस्थित गुठी व्यवस्थापन समितिलाई खानेपानी व्यवस्थापनका लागि पानी ट्यांकी हस्तान्तरण गरिएको छ । यसैबीच, बैंकले 'महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता' अन्तर्गत संकलित तस्बिरहरूको प्रदर्शनी समेत केन्द्रीय कार्यालयमा आयोजना गरेको छ, जसको उद्देश्य स्थानीय साना तथा मझौला व्यवसायको प्रवर्द्धन गर्नु रहेको छ । बैंकले विगत चार वर्षदेखि सञ्चालन गर्दै आएको महालक्ष्मी कर्पोरेट क्रिकेट प्रतियोगिताको पाँचौँ संस्करण पनि यही जेष्ठ महिनामा आयोजना गर्ने जनाएको छ ।