कामना सेवा विकास बैंकद्वारा लम्की मानव सेवा आश्रमलाई न्यानो सामग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय लम्कीमार्फत कैलालीस्थित लम्की मानव सेवा आश्रममा आश्रित असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्ध–वृद्धा र टुहुरा बालबालिकालाई न्यानो सामग्री वितरण गरेको छ । बैंकका लम्की शाखा प्रमुख भिमराज जैसीले आश्रमका सञ्चालक विनोद थापालाई ब्लाङ्केट, म्याट्रेस, सिरक तथा चिसो मौसममा आवश्यक अन्य न्यानो सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै शाखा प्रमुख जैसीले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमले लम्की मानव सेवा आश्रमलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । यस अवसरमा आश्रमका सञ्चालक थापाले जाडोयाममा प्राप्त न्यानो सामग्रीले आश्रममा बसोबास गर्दै आएका बेसाहारा वृद्ध तथा बालबालिकाको जीवनमा न्यानोपन, सुरक्षा र आत्मबल थपिने उल्लेख गर्दै बैंकको मानवीय पहलप्रति आभार व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, मानव सेवा आश्रमका प्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

वाणिज्य बैंक र चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच सम्झौता, तलबी खाता र पेशाकर्मी कर्जा सुविधा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाबीच तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौता भएको छ । बुधबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका कार्यकारी निर्देशक बिमल डंगोलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका कर्मचारीहरूका लागि तलबी बचत खाता सञ्चालन गर्नुका साथै पेशाकर्मी सरल कर्जा र अन्य बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराउनेछ । सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका निर्देशकद्वय विनोद प्रसाद न्यौपाने र सिए किरण कुमार खत्री, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, उप–कार्यकारी अधिकृतहरू विनयरमण पौडेल, दुर्गा कुमारी कंडेल र रामकुमार थापा, ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदी, उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौडेललगायतको उपस्थिति रहेको थियो । राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रहरूमा ३१२ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३२२ एटीएम र ९९ शाखारहित बैंकिङ एकाइमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल इन्भेष्टमेण्टको साधारण सभा सम्पन्न, ४ अर्ब ३३ करोड खुद नाफा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ३९औं वार्षिक साधारण सभा बुधबार काठमाडौंको एलिस रिसेप्सनमा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा सम्पन्न सभामा सेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरू प्रस्तुत गर्दै आवश्यक छलफल गरिएको थियो । बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । स्रोत परिचालनतर्फ बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले वृद्धि भई ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । कर्जा प्रवाहतर्फ २० अर्ब ८४ करोड रुपैयाँको विस्तारसँगै खुद कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ । यसैगरी, बैंकले लगानी ३५ अर्ब ८७ करोड रुपैयाँले वृद्धि गरी १ खर्ब ४२ अर्ब रुपैयाँ पुर्‍याएको छ । संस्थाको इक्विटी पक्षमा ३४ अर्ब १३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको कुल सेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । हाल बैंकले देशभर २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ एकाइमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।