राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल विजयी

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालक पदमा डा. परितोष पौड्याल विजयी भएका छन् । 

आज सम्पन्न निर्वाचनमा आफ्ना प्रतिस्पर्धी रामशरण शर्मा घिमिरेलाई २७५ मतको प्रष्ट अन्तरले पराजित गर्दै डा. पौड्याल सञ्चालक पदमा निर्वाचित भएका हुन् । 

निर्वाचनमा विजयी डा. पौड्यालले कुल १ हजार ८२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी शर्माले १ हजार ५५२ मत मात्रै प्राप्त गरे ।

डा. पौड्यालले अब बैंकलाई अझ बढी सुदृढ र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे । 

उनले सहकारी बैंकमार्फत वित्तीय सुशासन प्रवर्द्धन गर्ने र नीतिगत स्थिरता कायम गर्न विशेष पहल गर्ने स्पष्ट पारे । 

आगामी दिनमा बैंकलाई पूर्ण रूपमा सदस्यमैत्री बनाउने बताउँदै उनले सहकारी अभियानमा आफ्नो तीन दशकभन्दा लामो अनुभव नै आगामी सफल नेतृत्वको मुख्य आधार भएको उल्लेख गरे ।

प्रारम्भिक सहकारी संस्थादेखि राष्ट्रिय स्तरका विभिन्न संघसंस्थाहरूमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका डा. पौड्यालले सहकारी क्षेत्रको वित्तीय व्यवस्थापन, संस्थागत विकास र सदस्य सेवामा व्यापक सुधार ल्याउनु नै आफ्नो प्रमुख प्राथमिकता रहने बताए । 

null


 

Share News