सिद्धार्थ बैंकले तनहुँका १२ विद्यालयलाई दियो स्मार्ट बोर्ड
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । उक्त कार्यक्रम जेठ ११ गते श्री नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दिपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिम्खडा, यू.डब्लु.एस. नेपालका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बालबालिका राष्ट्रका कर्णधार भएको उल्लेख गर्दै बैंकले शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सामुदायिक विद्यालयहरूमा स्मार्ट बोर्ड वितरण गरेको जनाएको छ । यस पहलमार्फत विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने लक्ष्य राखिएको छ । उक्त प्रविधिमैत्री सहयोगबाट १२ विद्यालयका प्रत्येक वर्ष १५ सयभन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । स्मार्ट बोर्डको प्रयोगले कक्षाकोठा शिक्षणलाई दृश्यात्मक तथा अन्तरक्रियात्मक बनाउँदै भिडियो, चित्र तथा डिजिटल सामग्रीमार्फत सिकाइ प्रक्रिया अझ प्रभावकारी र रोचक बन्ने विश्वास लिइएको छ । बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकतामा राख्दै समाज विकासमा योगदान पुर्याउने उद्देश्यले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने योजना रहेको बैंकले जनाएको छ ।
नेपाल बैंकमा रहेको निक्षेपमा हकदाबी गर्न माग
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयहरूमा खाता रही हाल मृत्यु भइसकेका निक्षेपकर्ताहरूको खातामा रहेको रकम भुक्तानी तथा हकदाबीका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १११ बमोजिम कानुनी प्रक्रिया पुरा गर्न यो कदम चालेको बताएको हो । विभिन्न मितिमा दिवंगत भएका ती खातावालाहरूको निक्षेप रकम लिनका लागि हकवालाहरूबाट निवेदन परेको र सो उपर अन्य कसैको हकदाबी लाग्ने भएमा वा चित्त नबुझेमा यो सूचना प्रकाशित भएको मिति (२०८३ जेठ १२ गते) ले ३५ (पैंतीस) दिनभित्र आ–आफ्नो सपुत प्रमाणसहित सम्बन्धित शाखाहरूमा हकदाबी गर्न आउनुपर्ने बैंकले जनाएको छ । बैंकद्वारा जारी विवरण अनुसार विराटनगर शाखामा खाता रहेका मृतक राजेन्द्र प्रसाद आचार्य र शान्तादेवि पोखरेलको निक्षेपमा क्रमशः छोराहरू दिनेश प्रसाद आचार्य र विनोद कुमार पोखरेलको हकदाबी परेको छ । त्यस्तै, धरान शाखाका मृतक देश बहादुर राईकी श्रीमती जय कुमारी राई, सिराहा शाखाका मृतक विशेश्वर यादवकी पत्नी गूलाव वती यादव र ठैव शाखाका मृतक दुर्गा लामाकी श्रीमती सरिता गोलेको हकदाबी परेको छ । काठमाडौं बैंकिङ अफिसमा खाता रहेका मृतकहरू हरी कमल शाहीका भाई उमन शाही र देव बहादुर रंजितकारका छोरा दिनेश रंजितकारले दाबी पेश गरेका छन् । यसैगरी, कीर्तिपुर शाखाकी मृतक कमला प्याकुरेलको निक्षेपमा भदा सन्तोष प्रसाद अधिकारी, महेन्द्रनगर शाखाकी मृतक साबित्री बस्नेत (साबित्रा बस्नेत) को निक्षेपमा छोरा शोभित बस्नेत र आदर्शनगर शाखाका मृतक जंग बहादुर राना मगरको निक्षेपमा उनकी पत्नी बसन्ती देवानको हकदाबी परेको छ । तोकिएको ३५ दिनको म्यादभित्र कुनै दाबी वा उजुर नपरेमा ऐन बमोजिम नै बैंकले भुक्तानी प्रक्रिया अगाडि बढाउने र पछि कुनै उजुर नलाग्ने व्यहोरा समेत सूचनामा स्पष्ट पारिएको छ ।
एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा खानेपानी सुविधा विस्तार
काठमाडौं । एनआईसी एशिया बैंकले सुर्खेतको एक विद्यालयमा खानेपानी सुविधा विस्तार गरेको छ । बैंकले वीरेन्द्रनगर–१, धारापानीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरेको हो । विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन गर्दै शैक्षिक तथा स्वास्थ्यअनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ । १६७ भन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले जेठ ८ गते आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिला सुनारलाई पानी ट्यांकी तथा मोटर हस्तान्तरण गरेका थिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दिनेश खत्री, विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, विद्यार्थी तथा बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बैंकले उपलब्ध गराएको उक्त सहयोगबाट विद्यालयमा स्वच्छ खानेपानीको पहुँच सहज हुने र विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य र पठनपाठन वातावरणमा सुधार आउने विश्वास लिएको छ ।