काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कर्मचारीहरूलाई अतिरिक्त समयमा काममा लगाउँदा अतिरिक्ति सेवा सुविधा दिनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै कार्यालय समयका अतिरिक्त काममा खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्ति पारिश्रमिक दिन भनिएको हो ।
‘कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्ने व्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।
साथै बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्ना कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन नं. १४ को बुँदा नं. ३. बमोजिम हुने गरी काममा लगाउनु पर्नेछ ।
यस्तै, राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
‘ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रुपले बैंकिङ्ग सुविधा उपलब्ध गराउन संस्थाले त्यस्ता ग्राहकहरूका लागि विशेष काउण्टर तोकी सेवा प्रदान गर्नुपर्नेछ,’ निर्देशनमा उल्लेख छ ।
बैंक वित्तीय संस्थाले एकापसमा सहकार्य गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्न राष्ट्र बैंकको निर्देशन छ ।
बैंक तथा वित्तीय संस्थाले ‘एटिएमलाउञ्ज’ भएका स्थानमा ब्रेललिपिका सङ्केत तथा ध्वनि सहयोगसहितका कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो विवरण पनि आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ ।
राष्ट्र बैंकका अनुसार अपाङ्गता भएका व्यक्तिले एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत वित्तीय सेवा व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्नसक्ने स्वघोषणा गरेको खण्डमा इजाजतप्राप्त संस्थाले त्यस्तो सेवा उपलब्ध गराउनुपर्नेछ । आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एप दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिलेसमेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ । त्यस्तै, क्रेडिट र डेबिट कार्डमा दृष्टिविहीनमैत्री प्रविधिसमेत जडान भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।