प्रभु बैंकबाट एकैपटक १३ जना संस्थापक सेयरधनी बाहिरिँदै
काठमाडौं । प्रभु बैंकबाट एकैपटक १३ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकका १३ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ७ लाख २७ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका अनुसार सुजित श्रेष्ठले २६ हजार ३५१ कित्ता, बाबुराम महर्जनले २ हजार १९ कित्ता, सुरेश प्रसाद चौधरीले २ लाख ३८ हजार ४२० कित्ता, हरि प्रसाद शर्माले ६ हजार ४६१ कित्ता, जीवन काजी माकजु श्रेष्ठले ३७ हजार ९१९ कित्ता, दुर्गा बहादुर श्रेष्ठले ३३ हजार ३७ कित्ता, हरिहर प्रसाद भण्डारीले ९ हजार ९६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका छन् । यस्तै, अञ्जना भण्डारीले ६ हजार ६४० कित्ता, राजकुमार थापाले १७ हजार २३४ कित्ता, बिनोद थकालीले २ लाख कित्ता, प्रविण कुमार श्रेष्ठले १४ हजार २१८ कित्ता, अनन्त अग्रवालले १ लाख ७ हजार २२० कित्ता र दिपक प्रसाद श्रेष्ठले २८ हजार ६२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । खरिख गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा बिक्री हुन नसकेको खण्डमा सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
आगलागीबाट क्षतिग्रस्त थानकोट प्रहरी वृत्तलाई कृषि विकास बैंकको सहयोग
काठमाडौं । कृषि विकास बैंकले प्रहरी वृत्त थानकोटलाई कम्प्युटर तथा आवश्यक कार्यालय सामग्री सहयोग प्रदान गरेको छ । गत भदौ २४ गते भएको आन्दोलनका क्रममा प्रहरी वृत्तको भवनमा आगलागी भई क्षति पुगेपछि भवनको जीर्णोद्वार तथा सेवा प्रवाहलाई सहज, सुचारु र प्रभावकारी बनाउन बैंकले उक्त सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक मीनराज पोखरेलले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत रहेर सहयोग प्रदान गरिएको जानकारी दिए । उनले यस सहयोगले प्रहरी प्रशासनमार्फत आम नागरिकलाई प्रवाह हुने शान्ति–सुरक्षा तथा अन्य सेवा अझ प्रभावकारी बन्ने विश्वास बैंकले लिएको बताए । त्यसैगरी, प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बैंक तथा विभिन्न सामाजिक संस्था र सहयोगी हातहरूले सुरक्षा निकायप्रति देखाएको सहयोगले समग्र प्रहरी संगठनको आत्मबल बढ्ने बताइन् । उनले विपतको घडीमा प्राप्त सहयोगले नागरिकलाई प्रदान गरिने शान्ति–सुरक्षा सेवामा प्रत्यक्ष टेवा पुग्ने उल्लेख गर्दै सहयोग गर्ने सबै संस्था तथा निकायप्रति हार्दिक आभार व्यक्त गरे । सहयोग हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धकद्वय मीनराज पोखरेल र सुशील हुमागाईं, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, बागमती प्रदेश कार्यालय काठमाडौंका वरिष्ठ शाखा प्रमुख अनिल कुमार पोखरेल, शाखा अधिकृत हरिराज थपलिया तथा थानकोट शाखाका प्रबन्धक दिलबहादुर श्रेष्ठको उपस्थिति रहेको थियो । त्यस्तै, प्रहरी वृत्त थानकोटको तर्फबाट वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक एलिजा गिरी, प्रहरी वरिष्ठ नायब निरीक्षकद्वय अमृत भँडेल र ओमकार चन्द, प्रहरी निरीक्षक दिपेन्द्र थापासहित अन्य प्रहरी कर्मचारीहरूको पनि सहभागिता रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोन ऋण’ सेवा डिजिटल संसार एपमार्फत सुरु
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै ‘आरबीबी फोन ऋण’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ । उक्त सेवा बैंकको आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत उपलब्ध गराइएको हो । यो डिजिटल कर्जा सेवा एफ–वन सफ्ट समूह अन्तर्गतको फोन ऋण प्रालिद्वारा प्रदान गरिएको हो, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा प्रवाह सुनिश्चित गर्ने बैंकले जनाएको छ । यस सेवामार्फत राष्ट्रिय वाणिज्य बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकहरूले हाललाई एक लाख रुपैयाँसम्मको कर्जा कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण नगरी सिधै मोबाइल एपमार्फत तुरुन्तै प्राप्त गर्न सक्नेछन् । औपचारिक कर्जामा सहज पहुँच विस्तार गर्नु सेवाको मुख्य उद्देश्य रहेको छ । कर्जाको सीमा तथा योग्यता बैंकले निर्धारण गरेका मापदण्डका आधारमा तय गरिनेछ । जसमा तलब जम्मा कारोबारको नियमितता, हाल कायम ऋण दायित्व तथा ऋण चुक्ता गर्ने व्यवहारलाई आधार बनाइनेछ । ग्राहकहरूले एक महिनाभित्र एकमुष्ट वा १२ महिनासम्म किस्ताबन्दी प्रणालीमार्फत कर्जा चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन् । साथै, समयअगावै कर्जा भुक्तानी गर्ने सुविधा पनि उपलब्ध रहेको छ । मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकहरूले आरबीबी डिजिटल संसार एपमार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराई सेवा दर्ता गर्न सक्नेछन् । योग्य ग्राहकहरूले एपको ड्यासबोर्डबाटै कर्जा आवेदन दिन सक्ने र स्वीकृतिपछि सेवा उपयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त सेवाको शुभारम्भ बैंकको ६१औँ वार्षिकोत्सव समारोहका अवसरमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गरेका हुन् । सेवाबारे जानकारी दिँदै उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौड्यालले भने, 'आरबीबी फोन ऋण सेवामार्फत ग्राहकहरूलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल कर्जा समाधान प्रदान गर्नु हाम्रो लक्ष्य हो । प्रविधिको प्रयोगमार्फत वित्तीय सेवामा पहुँच विस्तार गर्नु बैंकको प्राथमिकता हो ।' आरबीबी फोन ऋण सेवाको सुरुवातले राष्ट्रिय वाणिज्य बैंकको डिजिटल बैंकिङ रूपान्तरणको यात्रालाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।