ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश २०८३ सालको क्यालेन्डर सार्वजनिक
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटले संयुक्तरुपमा उक्त २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेका हुन् । पौभा कला नेवार जातिको मौलिक चित्रकला हो । क्यालेण्डरमा विशेषगरी काठमाडौं उपत्यकामा बस्ने नेवाः समुदायसँग गहिरो सम्बन्ध रही आएको पौभा कलाको दुर्लभ चित्रहरु समावेश गरिएको छ । थान्कासँग मिल्दोजुल्दो देखिए पनि पौभाको आफ्नै विशिष्ट पहिचान र दार्शनिक गहिराई रहेको छ । बैंकले विगत केही वर्षदेखि नेपाली कला, साहित्य, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका आफ्नो क्यालेण्डरमा मौलिक चित्रहरु समावेश गर्ने गरेको छ । बैंकले २०७९ मा नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्र, २०८० मा मण्डला चित्रकला, २०८१ मा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचित कलाकृति र २०८२ मा पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश गरी क्यालेण्डर प्रकाशन गरेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गसहित बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
‘स्मार्ट मनी टक्स’ नारासहित कृषि विकास बैंकको वित्तीय सचेतना अभियान
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ‘ग्लोबल मनी विक अभियान २०२६’ अन्तर्गत देशभर १५०० भन्दा बढी विद्यार्थी तथा महिला कृषि व्यवसायीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सातै प्रदेशका सहभागीहरूलाई वित्तीय ज्ञान तथा व्यवहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । विश्वभर हरेक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको थियो । अभियानअन्तर्गत बैंकले बचत गर्ने बानीको विकास, कर्जा लगानी र त्यसको सदुपयोग, डिजिटल बैंकिङ सेवा, वित्तीय ठगीबाट बच्ने उपायलगायत विषयमा विद्यार्थी तथा युवाहरूलाई सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । बैंकका विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको जनाउँदै अभियानलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरतासम्बन्धी सामग्री उत्पादन तथा प्रकाशन–प्रसारणसमेत गर्दै आएको बैंकले उल्लेख गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित बैंकले सामाजिक उद्यमशीलता, विकास, रोजगारी सिर्जना तथा दिगो विकासमा योगदान पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।
वित्तीय साक्षरता अभियानमा एनआईसी एशिया बैंक सक्रिय, देशभर ४ हजार युवासम्म पहुँच
काठमाडौं । एनआईसी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’ को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा आयोजित उक्त अभियानअन्तर्गत बैंकका सातै प्रदेशस्थित शाखाहरूले स्थानीय विद्यालय तथा कलेजहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका हुन् । कार्यक्रममार्फत विद्यार्थी तथा युवाहरूमा वित्तीय ज्ञान, सीप तथा सकारात्मक वित्तीय व्यवहार विकास गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ । बैंकका अनुसार अभियानअन्तर्गत देशभर सञ्चालन गरिएका ६७ भन्दा बढी कार्यक्रममार्फत ४ हजार १ सयभन्दा बढी विद्यार्थी तथा युवाहरू लाभान्वित भएका छन् । यससँगै वित्तीय साक्षरता सम्बन्धी जनचेतना अझ व्यापक बनाउन बैंकले विभिन्न सूचना तथा सचेतनामूलक सामग्री तयार गरी आफ्ना सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेको थियो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आयोजना गरिएका कार्यक्रमहरूले बालबालिका, विद्यार्थी तथा युवामाझ वित्तीय ज्ञान, सीप तथा जनचेतना अभिवृद्धिमा सकारात्मक योगदान पुगेको बैंकले विश्वास व्यक्त गरेको छ ।