काठमाडौं । ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि करिब १९ अर्ब रुपैयाँ बराबरको वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौता भएको छ ।
उक्त आयोजनाका प्रवर्द्धक क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र सहभागी बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सम्झौतामा हस्ताक्षर गरिएको हो ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी र क्रिष्टल पावरका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्यसहित सहअगुवाइ तथा सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
करिब २५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइमा सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड सहअगुवाइमा रहेका छन् भने कृषि विकास बैंक लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेड सहभागी रहेका छन् ।
कन्सोर्टियममार्फत ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकले समान ४/४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ र नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ लगानी गर्नेछन् ।
सम्झौतापछि प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आयोजना निर्धारित समयभित्र सम्पन्न भई देशको ऊर्जा उत्पादन क्षमतामा वृद्धि तथा विद्युत् निर्यात प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुने उक्त आयोजनामा बैंकहरूले ७५ प्रतिशत लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत लगानी प्रवर्द्धक तथा अन्य लगानीकर्ताबाट जुटाइनेछ । १६६ मेगावाट क्षमताको सुपर तमोरको कुल लागत २५ अर्ब ३३ करोड अनुमान गरिएको छ ।
आयोजना निर्माण सुरु भएको मितिबाट ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । समयमा बन्दा आयोजना निर्माण लागत प्रतिमेगावाट १५ कराेड २५ लाख अनुमान गरिएको छ ।
ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ‘बैंक अफ द इयर’, ‘बेस्ट बैंक नेपाल’ तथा ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ लगायतका प्रतिष्ठित पुरस्कारहरू प्राप्त गर्दै आएको जनाएको छ ।