ज्योति विकास बैंकका ग्राहकलाई चितवनको राइनो लज एन्ड होटलमा २५ प्रतिशतसम्म छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चितवनको सौराहास्थित राइनो लज एन्ड होटल (Rhino Lodge and Hotel) सँग आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले उक्त होटलमा उपलब्ध सेवा तथा सुविधामा २५ प्रतिशतसम्म छुट पाउनेछन् । सौराहाको रमणीय प्राकृतिक दृश्य, शान्त वातावरण र उच्चस्तरीय आतिथ्य सेवाका कारण राइनो लोज एन्ड होटल चितवनको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ । बैंक–होटलबीचको सहकार्यले ग्राहकलाई गुणस्तरीय सेवा किफायती दरमा उपलब्ध गराउने विश्वास बैंकले लिएको छ । ज्योति विकास बैंकले संस्थागत सुशासन, सामाजिक उत्तरदायित्व र दिगो विकासलाई प्राथमिकतामा राख्दै विभिन्न नवीन कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । बैंकले आफ्नै मुनाफाबाट सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम छुट्याएर समाजमा सकारात्मक योगदान पुर्‍याउँदै आएको दाबी गरेको छ । स्वस्थ र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको आधार भन्ने मान्यताका साथ बैंकले नवजात शिशुको जीवन रक्षा गर्ने उद्देश्यले ‘न्यानो नानी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रममार्फत हरेक वर्ष २ हजार ५ सय ९० भन्दा बढी नेपाली शिशुको जीवन रक्षा हुँदै आएको बैंकको भनाइ छ । राष्ट्रप्रतिको दायित्व निर्वाह गर्दै ज्योति विकास बैंकले गत आर्थिक वर्षमा ४१ करोड रुपैयाँ कर योगदान गरेको छ । हाल बैंकले उपत्यका तथा उपत्यकाबाहिर गरी ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकको मोबाईल एपमा ‘लाइभ मार्केट’ सुविधा, आईपीओ आवेदन पनि दिन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सेयर बजारसँग सम्बन्धित लाइभ मार्केट सुविधा उपलब्ध गराएको छ । यस सुविधाबाट प्रयोगकर्ताले सेकेन्डरी बजारमा कारोबार भइरहेको सेयरको सम्पूर्ण जानकारी वास्तविक समयमा पाउनेछन् । बैंकका अनुसार लाइभ मार्केट सुविधामा नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, पोर्टफोलियो, वाचलिष्ट, स्टक कम्प्यारिजन, क्यालकुलेटर र ब्रोकर लिस्ट लगायतका जानकारीहरू समेटिएका छन् । यसबाट लगानीकर्ताले बजारका अवसरहरू र आफ्नो लगानीको अवस्था सजिलै ट्र्याक गर्न सक्नेछन् । यस सुविधामा प्रयोगकर्ताले आफ्नो व्यक्तिगत सेयर लगानी खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरी कुल लगानीको वर्तमान मूल्य र नाफा–घाटा रियल–टाइम हिसाब पाउन सक्नेछन् । क्यालकुलेटर सुविधाले सेयर किन्ने वा बेच्ने क्रममा सही हिसाब–किताब गर्न सहयोग गर्दछ भने वाचलिष्ट सुविधाले लगानीकर्तालाई मनपर्ने सेयरहरूको मूल्य परिवर्तन र बजार ट्रेन्ड निगरानी गर्न सुविधा दिन्छ । स्टक कम्प्यारिजनले विभिन्न सेयरको तुलनात्मक विश्लेषणमा मद्दत गर्ने बैंकले जनाएको छ ।  त्यस्तै, ग्लोबल स्मार्ट प्लसबाट अब आईपीओ आवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ । प्रयोगकर्ताले आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि सीआरएन नम्बर तुरुन्तै प्राप्त गरी खुल्ला भएको आईपीओमा सजिलै आवेदन दिन सक्नेछन् । बैंकले एपमार्फत आईपीओ खुला भएको जानकारी समेत उपलब्ध गराउने छ, जसले लगानीकर्तालाई अन्य माध्यम प्रयोग नगरी आवेदन दिन सहज बनाउँछ । ग्लोबल स्मार्ट प्लस मार्फत यसअघि उपलब्ध बैंकिङ सेवाहरू जस्तै रकमान्तरण, क्युआर भुक्तानी र दैनिक उपभोग्य शुल्क भुक्तानी अब सेयर बजार र आईपीओ सुविधासँग जोडिएर प्रयोगकर्ताका लागि थप उपयोगी बनेको छ ।     

२० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब निक्षेप तान्दैछ । निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले बुधबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो ।  अहिले कुल निक्षेप ७६ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा बुधबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज  २०८३  चैत्र १८  गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।