लहानमा आधुनिक ब्लड बैंक बन्ने: ४० लाख दान, डेढ करोडका उपकरण ल्याइने
काठमाडौं । सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर-आत्माराम मुरारका ब्लड बैंक’ निर्माण हुने भएको छ । रगतको अभावमा बिरामीले भोग्नुपरिरहेको सास्तीलाई दृष्टिगत गर्दै सोमबार लहान नगरपालिका, लायन्स क्लब र स्थानीय दाता परिवारबीचको त्रिपक्षीय समन्वयमा परियोजना अघि बढाइएको छ । ब्लड बैंक स्थापनाका लागि लहान नगरपालिका र लायन्स क्लबबीच औपचारिक सम्झौतासमेत भएको छ । यसका लागि लहान नगरपालिका-१० स्थित निर्माणाधीन नगर अस्पतालसँगै जोडिएको तीन कट्ठा जग्गा उपलब्ध गराउने सहमती भएको छ । भौतिक संरचना निर्माणका लागि लहानका प्रतिष्ठित उद्योगपति एवं समाजसेवी मुरारका परिवारले ४० लाख रुपैयाँ सहयोग गर्ने र उक्त भवनको नाम स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाको स्मृतिमा राखिने जनाइएको छ । यसैगरी, लायन्स क्लबले बैंकका लागि आवश्यक पर्ने एक करोड ५० लाखभन्दा बढी मूल्यका अत्याधुनिक प्राविधिक उपकरण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले ब्लड बैंकको स्थापनाले यस क्षेत्रको स्वास्थ्य उपचारमा ठूलो योगडदान पुग्ने विश्वास व्यक्त गरे । ‘लहान आसपासका सय किलोमिटर क्षेत्रसम्म भरपर्दो ब्लड बैंक नहुँदा आकस्मिक उपचारमा ठूलो समस्या छ’, उनले भने, ‘अब स्थापना हुने ब्लड बैंकले आपत्कालीन अवस्थामा रगत खोज्दै भौतारिनुपर्ने समस्यालाई समाधान गर्नेछ ।’ समाजसेवी मुरारीलाल मुरारकाले आफ्ना पिता र काकाको नाममा स्वास्थ्य क्षेत्रमा सेवामा लगानी गर्न पाउनु गौरवको विषय भएको बताए । उनका अनुसार स्वर्गीय प्रमेश्वर मुरारका र आत्माराम मुरारकाले लहानको प्रादेशिक अस्पताल, जेएस मुरारका बहुमुखी क्याम्पस, विज्ञान प्रयोगशाला र माडवाडी सेवा सदन जस्ता संस्थाहरूको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका थिए । ब्लड बैंक सञ्चालनमा आएपछि लहानसहित छिमेकी जिल्लाहरू सप्तरी, धनुषा र उदयपुरका बिरामीसमेत लाभान्वित हुनेछन् ।
एनआईसी एशिया बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को अवसरमा लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजामार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नयाँ वर्ष २०८३ ले सम्पूर्ण ग्राहक, सरोकारवाला तथा आम नेपालीमा नयाँ आशा, भरोसा र उत्साह थपोस् भन्ने शुभेच्छासहित बैंकले नेपाली लोक बाजा संग्रहालयको सहयोगमा उक्त क्यालेन्डर सार्वजनिक गरेको जनाएको छ । बैंकका अनुसार देशका विभिन्न क्षेत्र, समुदाय तथा चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक तथा ऐतिहासिक महत्व बोकेका लोकप्रिय एवं लोपोन्मुख लोक बाजा र तिनका बजाउने शैली झल्किने तस्बिरहरू समेटेर भित्ते तथा टेबल क्यालेन्डर तयार गरिएको हो । उक्त क्यालेन्डर बैंकको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । नेपालका विविध समुदायमा प्रचलित लोक तथा सांस्कृतिक बाजा हाम्रो संस्कृति, परम्परा र पहिचानका महत्वपूर्ण प्रतीक हुनुका साथै अमूल्य सांस्कृतिक सम्पदा भएकाले यस पहलले तिनको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । क्यालेन्डरमा नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित सार्वजनिक बिदा, चाडपर्व, दिवस तथा पञ्चाङ्ग तिथिसमेत समावेश गरिएको छ । ग्राहक तथा सरोकारवालाले बैंकको वेबसाइटमार्फत भित्ते र टेबल क्यालेन्डर सजिलै डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
एनआईसी एशिया बैंकका ४४ वटा शाखा मर्ज हुने, ५ वटा एउटै शाखामा गाभिने
काठमाडौं । एनआईसी एशिया बैंकले देशका ६ महानगरपालिका भित्र रहेका ४४ वटा शाखा कार्यालय मर्ज गर्ने भएको छ । बैंकले आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया अघि बढाएको हो । बैंकका अनुसार काठमाडौं महानगरपालिकामा २६, ललितपुरमा ६, पोखरामा ६, विराटनगरमा ३, विरगञ्जमा २ र भरतपुरमा १ शाखा मर्ज गरिने छन् । बैंकका अनुसार काठमाडौं महानगरपालिकाका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर र बागबजार शाखा मर्जरपश्चात् कमलादी शाखाबाट सेवा प्रवाह हुनेछ । यस्तै, बोहोरा टार, माछापोखरी, ढुङ्गेधारा-नर्सरी चोक शाखा मर्जरपश्चात् बालाजु शाखा, न्यूरोड खिचापोखरी, भोटाहिटी, किलागल शाखा मर्जरपश्चात् न्युरोड विशालबजारबाट सेवा सञ्चालन हुने बैंकले जनाएको छ । यस्तै, तिनचुली र चाबहिल शाखा बौद्ध शाखामा मर्ज हुनेछ । साथै नरेफाट शाखा कोटेश्वर शाखामा, बालुवाटार शाखा लाजिम्पाट शाखामा, अनामनगर, शंखमुल, मध्य बानेश्वर शाखा नयाँ बानेश्वर शाखामा, खसी बजार शाखा कलंकी शाखामा मर्ज हुने बैंकले जनाएको छ । बैंकका अनुसार कपन शाखा सुकेधारा शाखामा, गाेंगबु शाखा सामाखुसी शाखामा, सोह्रखुट्टे शाखा ठमेल शाखामा, टेकु शाखा त्रिपुरेश्वर शाखामा मर्जर भएर बैंकिङ सेवा सुचारु हुनेछ । साथै सिनामंगल, मित्रपार्क र कालोपुल शाखा मर्जरपछि बत्तिसपुतली शाखाबाट सेवा सुचारु हुनेछ । बैंकका अनुसार ललितपुर महानगरपालिकाका लगनखेल र मंगलबजार शाखा मर्जरपश्चात् जावलाखेल शाखा, सानेपा र ग्वार्काे शाखा मर्जरपश्चात् सातदोबाटो शाखा, खोकना शाखा मर्जरपश्चात् भैँसेपाटी शाखाबाट सेवा सुरु हुनेछ । यस्तै, पोखरा महानगरपालिकाका पावरहाउस चोक र बुढीबजार शाखा मर्जरपश्चात् लेखनाथ शाखा, बाझापाटन शाखा अमरसिंह चोक शाखा, महेन्द्रपुल-पोखरा र बगर शाखा मर्जरपश्चात् न्यूरोड पोखरा शाखा, बिरौटा शाखा मर्जरपश्चात् लेकसाइड शाखाबाट सेवा सुचारु हुनेछ । बैंकका अनुसार भरतपुर महानगरपालिकाको बसेनी शाखा मर्जरपश्चात् हाकिम चोक शाखा, विराटनगर महानगरपालिकाको विराटनगर मेनरोड र हाटखोल शाखा मर्जरपश्चात् विराटनगर शाखा, रानी मिल्स शाखा मर्जरपश्चात् रोडशेष चोक शाखा, विरगन्ज महानगरपालिकाको लिङ्ग रोड र पावरहाउस चोक शाखा मर्जरपश्चात् वीरगन्ज शाखा आदर्शनगरबाट बैंकिङ सेवा सुचारु हुनेछ ।