युवा विद्यार्थीलाई वित्तीय ज्ञान दिँदै लुम्बिनी विकास बैंक

काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसरमा लुम्बिनी विकास बैंक लिमिटेडले देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सातै प्रदेशमा रहेका शाखा कार्यालयमार्फत विभिन्न विद्यालयमा अध्ययनरत करिब एक हजार विद्यार्थीलाई लक्षित गर्दै वित्तीय साक्षरता अभिवृद्धि, वित्तीय ज्ञान तथा सकारात्मक वित्तीय मनोवृत्ति विकास गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत युवा विद्यार्थीलाई बैंकिङ प्रणालीबारे जानकारी गराउँदै बचत निक्षेप, कर्जा लगानी, विप्रेषण सेवा, डिजिटल बैंकिङलगायत विषय समेटेर विद्यालयमै वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको थियो । साथै, बैंकका शाखा कार्यालयहरूले वित्तीय जानकारीमूलक प्लेकार्ड प्रदर्शन गर्दै प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरेका थिए । 'स्मार्ट मनी टक्स' भन्ने नारासहित सन् २०२६ को ग्लोबल मनी वीक मार्च १६ देखि २२ सम्म सञ्चालन गरिएको थियो । सोही अवसरमा बैंकले युवा विद्यार्थीलाई लक्षित गरी विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । बैंकका अनुसार यस अभियानले बैंकिङ प्रणालीप्रति विश्वास बढ्नुका साथै विद्यार्थीमा वित्तीय ज्ञानको विकास भएको अपेक्षा गरिएको छ । हाल देशका सातै प्रदेशमा सेवा विस्तार गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडका विभिन्न स्थानमा ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) सञ्चालनमा रहेका छन् । बैंकले 'निरन्तर सहयात्रा' भन्ने नाराका साथ आधुनिक प्रविधिमा आधारित सुरक्षित तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ग्राहकलाई अधिकतम प्रतिफल उपलब्ध गराउने उद्देश्यले बैंकले बचत निक्षेप खातामा आकर्षक ब्याजदर सहितका विशेष योजनासमेत सञ्चालनमा ल्याएको जनाएको छ । 

सातै प्रदेशमा सिटिजन्स बैंकको वित्तीय साक्षरता अभियान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘स्मार्ट मनी टक्स २०२६’ भन्ने मूल नारासहित चैत २ देखि ८ गतेसम्म सञ्चालन गरिएको कार्यक्रममा बैंकका १०८ शाखा कार्यालयमार्फत विभिन्न स्थानमा वित्तीय सचेतनामूलक गतिविधि आयोजना गरिएको बैंकले जनाएको छ । कार्यक्रममार्फत करिब ६ हजार सर्वसाधारण तथा लक्षित वर्ग लाभान्वित भएका छन् । ग्लोबल मनी वीक अन्तर्गत कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विशेषगरी युवा तथा विद्यार्थीलाई वित्तीय साक्षरताको आवश्यकता, सुरक्षित बैंकिङ अभ्यास, डिजिटल बैंकिङको प्रयोग, वित्तीय जोखिम तथा विद्युतीय कारोबारसँग सम्बन्धित सावधानीबारे जानकारी गराइएको बैंकले जनाएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषणजस्ता वित्तीय गतिविधि बैंकिङ प्रणालीमार्फत गर्न आग्रह गर्दै यस्ता कार्यक्रमले वित्तीय प्रणाली सुदृढ हुनुका साथै युवामा वित्तीय ज्ञान विस्तार हुने विश्वास बैंकले व्यक्त गरेको छ । सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । बैंकले हालै विभिन्न डिजिटल सेवा तथा नवप्रवर्तनात्मक बचत खातासमेत सञ्चालनमा ल्याएको छ ।  

नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकको वित्तीय अभियान

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंकको संयोजनमा बैंकले चैत २ देखि चैत ८ गतेसम्म सातै प्रदेशका विभिन्न शाखामार्फत विद्यालय तथा क्याम्पसहरूमा वित्तीय सचेतनामूलक कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा तीन हजारभन्दा बढी विद्यार्थी सहभागी भई वित्तीय साक्षरतासम्बन्धी जानकारी प्राप्त गरेका थिए । कार्यक्रमअन्तर्गत केही विद्यार्थीलाई बैंक शाखा अवलोकन गराई बैंकिङ सेवा तथा सञ्चालन प्रक्रियाबारे व्यावहारिक जानकारीसमेत प्रदान गरिएको थियो । ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा युवाहरूलाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति विकास, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबार तथा बैंकिङ सेवाको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको बैंकले जनाएको छ । एभरेष्ट बैंकका हाल करिब १४ लाख ग्राहक रहेका छन् । बैंकले देशभर १३३ शाखा, चार एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय तथा १६३ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सेवासहित बैंकले ३३ राजस्व सङ्कलन केन्द्रमार्फत सरकारी राजस्व सङ्कलन सेवा पनि सञ्चालन गर्दै आएको जनाएको छ । साथै भारतको नयाँ दिल्लीसहित विभिन्न मुलुकमा प्रतिनिधि कार्यालय स्थापना गरी सेवा विस्तार गर्दै आएको बैंकले जानकारी दिएको छ ।