एक्सेल डेभलपमेन्ट बैंकद्वारा कृष्णद्वैपायन गुरुकुललाई फोटोकपी मेसिन प्रदान
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा भद्रपुर–६, तेलीभिट्टा, झापास्थित श्री कृष्णद्वैपायन गुरुकुल वेद विद्याश्रमका विद्यार्थीहरुको शैक्षिक विकासको लागि एक थान रंगीन फोटोकपी मेसिन हस्तान्तरण गरेको छ । बैंकका बजार व्यवस्थापन अधिकृत गजेन्द्र ढकालले संस्थाका व्यवस्थापन समितिका अध्यक्ष शान्ता बराललाई एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा बैंकका चन्द्रगढी शाखाका कर्मचारी सोनाम वाङ्ग्चुक शेर्पालगायत बैंकका कर्मचारी तथा विद्यालय समितिका अन्य उच्च पदाधिकारी, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । यस कार्यक्रममा संस्थाकी अध्यक्ष शान्ता बरालले बैंकले गरेको कार्यले विद्यार्थीको सिकाइ क्रियाकलापमा अझ बढी योगदान पुर्याउने भएकोले उक्त सहयोगको लागि बैकंलाई धन्यवाद ज्ञापन गरे । बैंकका तर्फबाट गजेन्द्र ढकालले बैंकको यस्तो सहकार्यले शिक्षकहरूलाई शिक्षण प्रक्रिया सुदृढ बनाउन मद्दत गर्ने र स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको साथै बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू निरन्तर गर्दै, समाजको शैक्षिक, आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने दृढ प्रतिबद्धता व्यक्त गर्ने कुरा बताए । कोशी प्रदेश कार्यक्षेत्र रहेको एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना ४७ वटा शाखा र ३ वटा एटिएमबाट २ लाख ५० हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ८ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको एक्सेल डेभलपमेन्ट बैंकले थप शाखाहरु विस्तार गरेर आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत सेवा प्रदान गर्ने जनाएको छ ।
कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा, बोनसभन्दा नगद धेरै
काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक १९ गते बसेको बैठकले १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार रुपैयाँको ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ । यस्तो लाभांश इतिहास बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आव २०७८/७९ मा १३ प्रतिशत, आव २०७७/७८ मा २१.०५ प्रतिशत, आव २०७६/७७ मा १५.७८ प्रतिशत, आव २०७५/७६ मा ३० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आव २०७४/७५, आव २०७३/७४, आव २०७२/७३ मा २१.०५ प्रतिशत, आव २०७१/७२ मा १५.७९ प्रतिशत, आव २०७०/७१ मा १५ प्रतिशत र आव २०६९/७० मा ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज कात्तिक २० गते अन्तिम दिन रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गर्दैछ । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले मंसिर ६ गते बिहान ११ बजे धरान, सुनसरीमा २०औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको करसहित १० प्रतिशतका दरले १२ करोड १७ लाख १० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, बैंकको सभाले कुनै एक वा सो भन्दा बढी उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पूर्ण प्रक्रिया अवलम्बन गरी कार्य अघि बढाउन संचालक समिति तथा यस अन्तर्गतको मर्जर समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै, मर्जर प्रक्रियामा चल अचल सम्पति र दायित्व तथा कारोबारको मूल्याङ्कन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने, निजको पारिश्रमिक तय गर्ने लगायतको सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, गत आर्थिक वर्षमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको १ लाख रुपैयाँभन्दा बढिको खर्च अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । सभाले गत आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।