विकास बैंकको नाफा साढे ७८ करोड, कुनको कति ?

काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा नाफा प्रभावित देखिएको छ ।  चालु आवको पहिलो त्रैमासमा राष्ट्रियस्तरका ८ विकास बैंकहरूले ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ४५.२० प्रतिशतले कमी हो । गत आवको पहिलो त्रैमासमा विकास बैंकहरुले १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँको नाफा आर्जन गरेको थियो ।  यस अवधिमा सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले गरेको छ । गरिमाले असोजसम्ममा २५ करोड ५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यही अवधिमा कम्पनीले २२ करोड ५७ लाख ४३ हजार रुपैयाँको नाफा कमाएको थियो । गत आवको तुलनामा चालु आवको पहिलो त्रैमासमा गरिमाको नाफा ११ प्रतिशतले बढेको छ । दोस्रो धेरै नाफा कमाउने विकास बैंक मुक्तिनाथको गत आवको तुलनामा नाफा घटेको छ । मुक्तिनाथले गत आवको पहिलो त्रैमासमा २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आवको पहिलो त्रैमासमा २०.२४ प्रतिशतले घटेर २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ रहेको छ । पहिलो त्रैमाससम्ममा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा १५.१७ प्रतिशतले घटेर २० करोड ३० लाख रुपैयाँ पुगेको छ । गत आवको यही अवधिमा बैंकले २३ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको थियो ।  त्यस्तै, असोजसम्ममा कामना सेवा विकास बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा १२.९२ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो । महालक्ष्मी विकास बैंकको नाफा ३.४२ प्रतिशतले बढेर ९ करोड ७५ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत आवको यही अवधिमा बैंकले ९ अर्ब ४२ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवको पहिलो त्रैमासमा ६ करोड १ लाख रुपैयाँ नाफा कमाएको सांग्रिला विकास बैंकले चालु आवको यही अवधिमा ४६.५८ प्रतिशतले बढाएर ८ करोड ८२ लाख ११ हजार रुपैयाँ नाफा पुर्‍याएको छ । ज्योति विकास बैंकको नाफा ५३.४८ प्रतिशतले घटेर ७ करोड ३ लाख  ३४ हजार रहेको छ । गत आवको यही अवधिमा बैंकले १५ करोड १९ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो ।  पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकको नाफा ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत आवको यही अवधिमा बैंकले २० करोड १९ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।             

६ बैंकले घटाए खराब कर्जा, ८ बैंकको ५ प्रतिशत नाघ्यो

काठमाडौं । ‘विगतमा हाम्रो बैंकको पनि १ प्रतिशत भन्दा कम खराब कर्जा थियो । तर, आजको दिनमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि १ प्रतिशतभन्दा बढी पुगिसक्यो । अब १ प्रतिशतभन्दा कम खराब कर्जा रहेको एभरेष्ट बैंक मात्रै हो,’ एक बैंकका उच्च व्यवस्थापकले भने, ‘यो आर्थिक वर्षदेखि समाधान हुन खोजिरहेको थियो । तर, जेनजी आन्दोलनको प्रत्यक्ष तथा अप्रत्यक्ष असर परेको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष असर जति परेको छ, त्यहि नै प्रोभिजन राख्नु भनेर राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले रिस्ट्रक्चरिङ गर्न नपाउने भनिएको छ ।’  उनका अनुसार आन्दोलन पछि ऋण असुलीमा ठूलो सकस भोगिरहनु परेको छ । अहिलेको जस्तो स्थिति आफ्नो बैंकिङ अनुभवमा कहिले पनि नदेखेको उनी बताउँछन् । बैंकिङ क्षेत्रमा देखिएको सकस साम्य हुन १/२ वर्ष लाग्न सक्ने उनले बताए ।  ती बैंकरले भने जस्तै बैंकहरुको खराब कर्जा उच्च विन्दुमा पुगेकाे छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) ४.६ प्रतिशत पुगेको छ । जुन गत वर्षको असोज मसान्तको तुलनामा १७.६६ प्रतिशत बढेर ४.७ प्रतिशत विन्दुमा पुगेको हाे । गत वर्षको असोजसम्म बैंकहरुको खराब कर्जा ३.९१ प्रतिशत थियो ।  समीक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको रहेको छ । हिमालयन बैंकको खराब कर्जा ४८.३९ प्रतिशत बढेर ७.३९ प्रतिशत विन्दुमा पुगेको छ । जबकि गत वर्षको असोजमा ४.९८ प्रतिशत विन्दु थियो । असोज मसान्तसम्ममा नेपाल एसबीआई बैंकको खराब कर्जा ६३.५८ प्रतिशत ३.०१ प्रतिशत विन्दु रहेकाे छ ।प्रतिशतका आधारमा यस बैंकको खराब कर्जा सबैभन्दा धेरै बढेको देखिन्छ । यस्तै, नेपाल बैंकको ५७.३० प्रतिशत बढेर ५.४९ प्रतिशत विन्दु, हिमालयन बैंकको ४८.३९ प्रतिशत बढेर ७.३९ प्रतिशत विन्दु, कुमारी बैंकको ४०.७२ प्रतिशत बढेर ६.९८ प्रतिशत विन्दुमा खराब कर्जा रहेको छ ।  सार्वजनिक तथ्याङ्क अनुसार सानिमा बैंकको ३२.९९ प्रतिशत बढेर ३.९१ प्रतिशत विन्दु, माछापुच्छे बैंकको ३१.११ प्रतिशत ४.१३ प्रतिशत विन्दु, सिटिजन्स बैंकको २६.४३ प्रतिशत ६.८४ प्रतिशत विन्दु, एनएमबि बैंकको २६.१७ प्रतिशत ४.५८ प्रतिशत विन्दुमा खराब कर्जा रहेका छन् ।  प्राइम बैंकको २०.५७ प्रतिशत बढेर ५.८६ प्रतिशत विन्दु, प्रभु बैंकको १७ प्रतिशत बढेर ५.७८ प्रतिशत विन्दु, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को १३.९१ प्रतिशत बढेर ६.६३ प्रतिशत विन्दु, ग्लोबल आइएमई बैंकको ६.६३ प्रतिशत बढेर ४.९८ प्रतिशत विन्दु, नबिल बैंकको १.१७ प्रतिशत बढेर ४.३१ प्रतिशत विन्दुमा खराब कर्जा रहेको तथ्याङ्क छ ।  तर, कृषि विकास बैंकको खराब कर्जा भने स्थिर रहेको छ । असोजसम्म बैंकको खराब कर्जा ४.७८ प्रतिशत विन्दुमा रहेको छ ।  समीक्षा अवधिमा ६ बैंकले भने खराब कर्जा घटाएका छन् । एनआइसी एशिया बैंकको १६.३४ प्रतिशत घटेर १.७४ प्रतिशत विन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १२.३० प्रतिशत घटेर १.७१ प्रतिशत विन्दु, राष्ट्रिय वाणिज्य बैंकको ९.४५ प्रतिशत घटेर ३.८३ प्रतिशत विन्दु, एभरेष्ट बैंकको ३.८९ प्रतिशत घटेर ०.७४ प्रतिशत विन्दु, सिद्धार्थ बैंकको २.८१ प्रतिशत घटेर ३.८ प्रतिशत विन्दु र लक्ष्मी सनराइज बैंकको ०.३६ प्रतिशत घटेर ५.४२ प्रतिशत विन्दुमा खराब कर्जा झारेका छन् ।

२ अर्ब ७१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरूमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो ।  राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।  केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ ।  वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, विकास बैंकमा ४० करोड ७७ लाख रुपैँया र वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैँया मुद्दती निक्षेपमा लगानी गरिने छ ।  २३ नोभेम्बर २०२५ देखि २३ नोभेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।  निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा÷निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ ।  त्यसैगरी, निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त छ ।  त्यस्तै, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकेवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ ।  उक्त मुद्दति राख्न चाहने बैंक वित्त संस्थाले कात्तिक २३ गते भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रश्ताव पठाउन भनिएको छ ।