राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियिरिङ हाउसबीच नेपाल पे कार्डसम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस लिमिटेडबीच एनपीएस–एनसीएस (NPS-NCS) अन्तर्गत नेपाल पे कार्डसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्र आदानप्रदान गरिएको हो । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल क्लियिरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापछि राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्लियिरिङ हाउस लिमिटेडमार्फत उपलब्ध हुने एनपीएस नेसनल कार्ड स्विच (National Card Switch–NCS) तथा डोमेस्टिक कार्ड स्किम नेपालपे (Domestic Card Scheme–NepalPay Card) को प्रमुख सदस्य बनेको छ । यससँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले निकट भविष्यमा नेपाल पे कार्डसम्बन्धी विभिन्न सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । सम्झौता–पत्र आदानप्रदान कार्यक्रममा नेपाल क्लियिरिङ हाउस लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, कार्ड बिजनेस प्रमुख पविन्द्र राजभण्डारी तथा कार्ड अपरेसन प्रमुख प्रविन आचार्यको उपस्थिति रहेको थियो । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारी, उपकार्यकारी अधिकृत पवन रेग्मी, डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख गगन सिंह घिमिरे, विभागीय उपप्रमुख हेमन्त जिसी, प्रबन्धक राजेश कुमार मोक्तान, उपप्रबन्धक समिरा आचार्य लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो । वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल सातै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म ३१४ शाखा कार्यालय, ७१ एक्सटेन्सन काउन्टर, ३३२ एटीएम र ९९ शाखारहित बैंकिङ सेवामार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई कर्जा, निक्षेप तथा आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।  

नेपाल राष्ट्र बैंकद्वारा १ खर्ब २० अर्ब रुपैयाँको निक्षेप संकलन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंकले १९ दिनका लागि उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो  ।   केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा आज अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ वैशाख ३० गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।  खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्नसक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।         

सानिमा बैंकको नाफा २.३५ अर्ब रुपैयाँ, लाभांश क्षमता १८.५७ प्रतिशत

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा ४२.२२ प्रतिशत बढेर २ अर्ब ३५ करोड २ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६५ करोड २४ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २०.४८ प्रतिशत बढेर ५ अर्ब १६ करोड १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २८ करोड २८ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १०.०५ प्रतिशत बढेर ९५ करोड ७३ लाख ९५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २०.४० प्रतिशत बढेर ७ अर्ब २७ करोड ९६ लाख ४७ हजार रुपैयाँ र सञ्चालन नाफा ४७.४९ प्रतिशत बढेर ३ अर्ब ३२ करोड ६ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ८६ करोड ९९ लाख ८१ हजार हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ४ करोड ५७ लाख ९० हजार रुपैयाँ, सञ्चालन नाफा २ अर्ब २५ करोड १३ लाख ६६ हजार रुपैयाँ थियो ।  चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा २ अर्ब १४ करोड १५ लाख २७ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १८.५७ प्रतिशत रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १९ करोड ८५ लाख ६३ हजार रुपैयाँ थियो । १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ६६ करोड ३१ लाख ९३ हजार रुपैयाँ रहेको छ ।  चालु आवको चैत मसान्तसम्म बैंकले २ खर्ब ३३ अर्ब ८६ करोड ९१ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ७७ करोड ६६ लाख २६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले २ खर्ब २३ अर्ब ९५ करोड ४६ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब ४४ करोड ५ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप ४.४२ प्रतिशत अर्थात् ९ अर्ब ९१ करोड रुपैयाँ र कर्जा लगानी ८.१२ प्रतिशत अर्थात् १४ अर्ब ३३ करोड रुपैयाँ बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ८२.७६ प्रतिशत रहेको छ ।  समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि वृद्धि भएको छ । गत वर्षको चैतमा ३.४२ प्रतिशत रहेको खराब कर्जा चालु आवमा बढेर ३.९९ प्रतिशत पुगेको छ । बैंकका अनुसार आधार दर ५.११ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ६.४३ प्रतिशत थियो ।  बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेर २२.९२ रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी १६.३३ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७९.५५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १५.२७ गुणा छ ।