नेपाल एसबिआई बैंकद्वारा पशुपति क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पशुपति मन्दिर परिसरस्थित कैलाश डाँडामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको शुभारम्भ बैंकका अध्यक्ष वेंकट वंसीधर कुंचाले रोपाइँ गरेर गरेका थिए । सो कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, संचालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा सहित बैंकका अन्य पदाधिकारीहरूको उपस्थित रहेको थियो । बैंकले यसअघि पनि पशुपति क्षेत्र संरक्षण तथा हरियाली प्रवर्द्धनका उद्देश्यले यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको जनाएको छ । नेपाल एसबिआई बैंकले ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ सेवा केन्द्र, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा सञ्चालनमा रहेको छ ।  

राष्ट्र बैंकमा एकैपटक ११ जना ईडीको सरुवा, कसलाई कहाँ पठाइयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कार्यकारी निर्देशक (ईडी)हरूको सरुवा गरेका छन् । गभर्नर डा.पौडेलले एकैपटक ११ जना कार्यकारी निर्देशकको सरुवा गरेको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार विदेशी विनिमय विभाग प्रमुख रहेका रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग प्रमुखमा सरुवा गरेको छ ।  सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग प्रमुख रहेका रोशन कुमार सिग्देललाई बैंकिङ विभागमा सरुवा गरिएको छ । यसअघि बैंकिङ विभाग प्रमुख रहेका डा. डिल्लीराम पोख्रेललाई भने मौद्रिक व्यवस्थापन विभागको प्रमुखमा सरुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।  साथै, मौद्रिक व्यवस्थापन विभाग प्रमुख रहेका दयाराम शर्मालाई गभर्नरको कार्यालयमा सरुवा गरिएको छ । गभर्नर कार्यालयमा रहेका राजन विक्रम थापालाई भने संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।  यसअघि संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको प्रमुख अनुज दाहाल थिए । दाहाललाई मुद्रा व्यवस्थापन विभागमा पठाएको राष्ट्र बैंकले जनाएको छ ।  यसअघि मुद्रा व्यवस्थापन विभाग प्रमुख रहेका रामु पौडेललाई भने शक्तिशाली विभागका रुपमा चिनिएको बैंक तथा वित्तीय संस्था नियमनमा सरुवा गरिएको छ ।  यसअघि बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख गुरु प्रसाद पौडेल थिए । उनलाई मानव संसाधन व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ ।  यस्तै, मानव संसाधन व्यवस्थापन विभाग प्रमुख रहेका विश्रुत थापालाई भने वित्तीय संस्था सुपरीवेक्षण विभागको प्रमुख बनाइएको राष्ट्र बैंकले जनाएको छ ।  कार्यकारी निर्देशक किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभागमा सरुवा गरिएको छ । यसअघि उनी भुक्तानी प्रणाली विभाग प्रमुख थिए । गभर्नर पौडेलले डा. सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागको जिम्मेवारी दिएका छन् । यसअघि उनी वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख थिए । 

बैंक तथा वित्तीय संस्थामा कति पैसा छ ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम बढिरहेको हो ।  कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरु मात्रै ५० खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार विकास बैंक तथा फाइनान्सले यो अवधिमा ७ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेका छन् । उनीहरुले कर्जा प्रवाह भने ६ खर्ब २३ अर्ब गरेको तथ्यांकले देखाउँछ । यो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) भने ७४.२५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा दिनसक्ने क्षमता अझै पनि धेरै रहेको रहेपनि कर्जा प्रवाह सुस्त छ ।  पछिल्लो समय कर्जाको माग निरन्तर घट्दो क्रममा रहेको छ । बैंकहरुले कर्जाको लागि निर्धारण गर्ने औसत आधार दर महिनैपिच्छे घट्दै आएको छ । कात्तिक महिनाको लागि बैंकहरुको औसत ब्याजदर ५.६७ प्रतिशत निर्धारण भएको छ । यो ब्याजदर निकै कम हो । यसमा निश्चित प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आएका छन् । पछिल्लो समय आधार दरमा निकै न्युनमात्रै प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आएका छन् । तर पनि कर्जा प्रवाह बढ्नै सकेको छैन । खासगरी जेनजी आन्दोलनमा निजी क्षेत्रका घरनामाथि छानिछानि आक्रमण भएपछि लगानीकर्ताहरु त्रसित बन्दै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघसहितका निजी क्षेत्रका छातासंगठनले शान्ति सुरक्षाको प्रत्याभुति र लगानीकर्ताको मनोबल उठाउने खालका कार्य गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप तानिरहेको छ । पछिल्ला दिनहरूमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा लगानी योग्य रकम थुप्रिरहेको छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामोसमयका लागि मौद्रिक उपकरणको प्रयोग गरिरहेको छ । नेपाल राष्ट्र बैंकले आइतवार ४० अर्ब निक्षेप १ सय ७५ दिनका लागि खिचेको थियो भने अघिल्लो साताको बुधबार पनि राष्ट्र बैंकले बजारबाट १ सय ७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो । त्यसअघि राष्ट्र बैंकले यतिधेरै अवधिका लागि पछिल्ला वर्षहरूमा निक्षेप उठाएको थिएन । बैंकहरूले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट नदेखाएपछि राष्ट्र बैंक दीर्घकालिन रुपमै निक्षेप व्यवस्थापनमा लागेको राष्ट्र बैंकका अधिकारीहरुले बताउँदै आएका छन् ।