काठमाडौं । नेपाल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा ०.३४ प्रतिशत बढेर २ अर्ब ७९ करोड २९ लाख ८१ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा घटाएको छ । गत वर्षको चैतमा ५.४५ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ४.९६ प्रतिशतमा झारेको छ ।
चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २.९९ प्रतिशत बढेर ७ अर्ब ३१ करोड ३२ लाख ५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब १० करोड ७ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ९.२१ प्रतिशत घटेर ६८ करोड ४३ लाख ६२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २.४५ प्रतिशत बढेर ८ अर्ब ७७ करोड ९० लाख ३२ हजार रुपैयाँ र सञ्चालन नाफा १.२५ प्रतिशत बढेर ४ अर्ब ८५ करोड २८ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ७५ करोड ३८ लाख १३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब ५६ करोड ८६ लाख १४ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ३१ करोड २७ लाख ८३ हजार रुपैयाँ थियो ।
चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ३२ करोड १३ लाख ३४ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता २.९२ प्रतिशत रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ३० करोड ६२ लाख १८ हजार रुपैयाँ थियो ।
१४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ६ करोड ८८ लाख २७ हजार रुपैयाँ रहेको छ ।
चालु आवको चैत मसान्तसम्म बैंकले ३ खर्ब ८४ अर्ब ३७ करोड ९२ लाख ४ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४४ करोड ४६ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ३ खर्ब ३२ अर्ब ९ करोड २३ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २० अर्ब ४९ करोड ९७ लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको निक्षेप १५.७४ प्रतिशत अर्थात् ५२ अर्ब २८ करोड रुपैयाँ र कर्जा लगानी ८.५९ प्रतिशत अर्थात् १८ अर्ब ९४ करोड रुपैयाँ बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ६६.०७ प्रतिशत रहेको छ ।
बैंकका अनुसार आधार दर ४.७१ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ५.९६ प्रतिशत थियो ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर २५.३४ रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी २५.२६ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २७२.७९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १०.९७ गुणा छ ।