काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफामा उल्लेखनीय सुधार देखिएको छ ।
तेस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका राष्ट्रियस्तरका ८ विकास बैंकहरूले ५ अर्ब ५० करोड ३० लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४९.०४ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्मको अवधिमा राष्ट्रिय स्तरका विकास बैंकहरूले ३ अर्ब ६९ करोड २७ लाख १२ हजार रुपैयाँ नाफा कमाएका थिए।
चैत्र मसान्तसम्ममा सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले गरेको छ । उक्त बैंकले तेस्रो त्रैमाससम्ममा एक अर्ब ४ करोड ८२ लाख ३१ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो । गत आवको तुलनामा कम्पनीको नाफा ४२.९१ प्रतिशतले बढेको छ ।
दोस्रो धेरै नाफा आर्जन गर्ने कम्पनी मुक्तिनाथ विकास बैंकले ९४ करोड २६ लाख एक हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३०.०४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा कमाएका थिए ।
तेस्रो धेरै नाफा कमाउने विकास बैकमा शाइन रेसुङ्गा रहेको छ । उक्त बैंकले चालु आवको ९ महिनामा ७८ करोड ८४ लाख ४ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ५१ करोड ४ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आवको तुलनामा कम्पनीको नाफा ५३.३८ प्रतिशतले बढेको छ ।
त्यस्तै, कामना सेवा विकास बैंकले ५८ करोड ८६ लाख, ज्योति विकास बैंकले ६२ करोड ९४ लाख, महालक्ष्मी विकास बैंकले ४५ करोड ९९ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले ४८ करोड ४५ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकले ५६ करोड १६ लाख रुपैयाँ नाफा कमाएका छन् ।
गत आवको तुलनामा सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकको नाफा १०२८.२६ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, ज्योति विकास बैंकको १०५.३० प्रतिशतले नाफा बढेको छ । कामना सेवा विकास बैंकको १९.३७, सांग्रिला विकास बैंकको ११.५९ र महालक्ष्मी विकास बैंकको नाफा ५.२४ प्रतिशतले बढेको छ ।
