१० वर्षदेखि निष्क्रिय खाता बन्द गर्दै हिमालयन बैंक

काठमाडौं । हिमालयन बैंकले १० वर्षदेखि शून्य मौज्दात भई चल्ती नभएका खाताहरू बन्द गर्ने भएको छ । साथै बैंकले १० वर्षदेखि चल्ती तथा हकदावी नपरेका निष्क्रिय रहेका खाताका निक्षेपकर्ताहरूलाई रकम दावी गर्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन २०८२ अनुसार १० वर्षदेखि शून्य मौज्दात रही चल्ती नभएका खाताहरू बन्द गरिनेछ भने सोही अवधिदेखि चल्ती नभएका वा हकदाबी नपरेका खाताका निक्षेपकर्ताहरूलाई आफ्नो रकम लिन बैंकमा सम्पर्क गर्न आग्रह गरिएको हो ।  बैंकले २० वर्षसम्म पनि कसैले दावी नगरेको निक्षेप रकम भने नेपाल राष्ट्र बैंकको ‘बैंकिङ विकास कोष’मा जम्मा गरिने जनाएको छ ।

६ बैंकको वितरणयोग्य नाफा ३४ अर्ब ऋणात्मक, ३ बैंकको लाभांश क्षमता २० प्रतिशत माथि

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा आधा दर्जन वाणिज्य बैंकको ३४ अर्ब रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । चालु आवको चैतसम्म एनआइसी एसिया बैंक, हिमालयन बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि), कुमारी बैंक र सिटिजन्स बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।  बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्याङ्क अनुसार चैत मसान्तसम्म ६ बैंकको मात्रै वितरणयोग्य नाफा ३४ अर्ब १ करोड १३ लाख ३७ हजार रुपैयाँ ऋणात्मक छ ।  चैत मसान्तसम्ममा सबैभन्दा धेरै एनआईसी एशिया बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । एनआईसी एशियाको १३ अर्ब ६५ करोड ८२ लाख १४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । जबकि गत वर्षको चैतमा बैंकको ३ अर्ब ५६ करोड ९२ लाख २ हजार रुपैयाँ मात्रै वितरणयोग्य नाफा ऋणात्मक थियो ।  यस्तै, हिमालयन बैंकको १० अर्ब ४६ करोड ७९ लाख १७ हजार रुपैयाँ, प्रभु बैंकको ४ अर्ब २८ करोड ८१ लाख ५८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमिब) ३ अर्ब १० करोड ३० लाख ८५ हजार रुपैयाँ, कुमारी बैंकको १ अर्ब ९८ करोड ९५ लाख ९ हजार रुपैयाँ र सिटिजन्स बैंकको ५० करोड ४४ लाख ५४ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।  यी बैंकको वितरणयोग्य नाफा धनात्मक  चालु आवको असोजसम्ममा १४ वटा बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । सार्वजनिक तथ्याङ्क अनुसार नबिल बैंकको ४ अर्ब ३७ करोड ३६ लाख १७ हजार रुपैयाँ, एभरेष्ट बैंकको ४ अर्ब ४ करोड ८५ लाख ६९ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३ अर्ब ५४ लाख ७९ हजार रुपैयाँ, सिद्धार्थ बैंकको २ अर्ब ९९ करोड ९४ लाख ८४ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यस्तै, सानिमा बैंकको २ अर्ब १४ करोड १५ लाख २७ हजार रुपैयाँ, स्टान्डर्ड चार्टर्ड बैंकको १ अर्ब ३५ करोड ४७ लाख ४७ हजार रुपैयाँ, नेपाल एसबिआइ बैंकको १ अर्ब २ करोड ६२ लाख ३९ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकको ७६ करोड २२ लाख ७३ हजार रुपैयाँ, कृषि विकास बैंकको १ अर्ब २५ करोड १४ लाख ४२ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । एनएमबि बैंकको ९२ करोड ८९ लाख ४० हजार रुपैयाँ, प्राइम बैंकको ७७ करोड ३० लाख ३ हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको ३१ करोड ६१ लाख ५७ हजार रुपैयाँ, नेपाल बैंकको ३२ करोड १३ लाख ३४ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ५१ करोड ६१ लाख ३९ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । ३ बैंकको लाभांश क्षमता २० प्रतिशत बढी  चालु आवको ९ महिनासम्मको तथ्याङ्क अनुसार ३ बैंकको लाभांश क्षमता २० प्रतिशत भन्दा बढी रहेको छ । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार एभरेष्ट बैंकको ३९.३४ प्रतिशत, नबिल बैंकको २१.१६ प्रतिशत र सिद्धार्थ बैंकको २०.९८ प्रतिशत लाभांश क्षमता रहेको छ ।  यस्तै, सानिमा बैंकको १८.५७ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकको १७.६९ प्रतिशत, नेपाल एसबिआई बैंकको १०.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकको १०.५० प्रतिशत, माछापुच्छ्रे बैंकको ७.८१ प्रतिशत, कृषि विकास बैंकको ७.७८ प्रतिशत, एनएमबि बैंकको  ५.३४ प्रतिशत लाभांश क्षमता रहेको छ ।  यस्तै, प्राइम बैंकको ४.७६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.८० प्रतिशत, नेपाल बैंकको २.९२ प्रतिशत, लक्ष्मी सनराइज बैंकको १.९३ प्रतिशत लाभांश क्षमता छ । 

राष्ट्र बैंकमा ‘टिम १७’ को २० वर्षे यात्रा

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घ रावलले केन्द्रीय बैंकमा २० वर्षे सेवा अवधि पूरा गर्नु केवल समयको यात्रा नभई अनुभव, सिकाइ र जिम्मेवारीले भरिएको गौरवपूर्ण अध्याय भएको बताएका छन् । वि.सं २०६२ माघ २ गते सहायक निर्देशक तहमा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेको ‘टिम १७’ का सदस्यहरूले दुई दशकको सेवा पूरा गर्दै दीर्घ सेवा पदक ग्रहण गरेका हुन् ।  दीर्घ सेवा पदक प्राप्तपछि बोल्दै कार्यकारी निर्देशक रावलले प्रारम्भिक उत्साह, जिज्ञासा र राष्ट्र सेवाको संकल्प अझै कायम रहेको बताए । उनले यस अवधिमा बैंकिङ क्षेत्रमा महत्वपूर्ण परिवर्तनहरू आएको उल्लेख गर्दै मौद्रिक नीति, वित्तीय क्षेत्र सुधार, डिजिटल भुक्तानी प्रणाली र नियामकीय संरचनामा व्यापक विकास भएको बताए । ‘कागजमा आधारित प्रणालीबाट पूर्ण डिजिटल क्लियरिङसम्मको यात्रा ऐतिहासिक उपलब्धि हो,’ उनले भने ।  रावलले दुई दशकको अवधिमा राजनीतिक परिवर्तन, आर्थिक उतारचढाव, भूकम्प र कोभिड-१९ महामारीजस्ता चुनौतीहरू सामना गर्दै संस्थागत स्थायित्व कायम राख्न योगदान दिएको बताए ।  राष्ट्र बैंकले ७१औँ वार्षिकोत्सवको अवसरमा १७ जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरेको हो । राष्ट्र बैंकले डेपुटी गभर्नर किरण पन्डितसँगै कार्यककरी निर्देशकहरु डा. सत्येन्द्र तिमिल्सिना, दीर्घ रावल र अनुज दहाललाई दीर्घ सेवा पदक प्रदान गरेको हो ।  यस्तै, निर्देशकहरुमा सुदिप फुयाल, निभा श्रेष्ठ​​, ईश्वरी प्रसाद भट्टराई, रमेश आचार्य, डा. राजन कृष्ण पन्त, इन्द्रा चम्लागाईं, माधव दंगाल, सत्येन्द्रराज सुवेदी, आर्या जोशी, बासुदेब भट्टराई, अशोक घिमिरे, शरण कुमार अधिकारी र गिरिजाप्रसाद कोइरालाले दीर्घ सेवा पदक प्राप्त गरे । यस्तो छ ईडी रावलको धारणा हामी १७ जना खुला प्रतिस्पर्धाबाट छनोट भई नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक तहमा २०६२ माघ २ गते प्रवेश गरेका थियौँ । त्यो समयको उत्साह, जिज्ञासा र राष्ट्र सेवाको संकल्प आज पनि ताजै रहेको छ । बैंक सेवामा प्रवेश गर्दा १७ जनामध्ये एकजना सहकर्मी बाहिरिनु भएता पनि, दीर्घसेवा पदक ग्रहण गर्न डा. राजनकृष्ण पन्तसहित पुनः १७ जना नै पुग्नु मिठो संयोग बनेको छ । आज दुई दशकको यात्रालाई फर्केर हेर्दा यो केवल समयको गणना मात्र होइन । यो अनुभव, सिकाइ, चुनौती र उपलब्धिहरूले भरिएको पेशागत जीवनको एक महत्वपूर्ण र गौरवपूर्ण अध्याय भएको महसुस गरेका छौँ । यी वर्षहरूमा हामीले प्राप्त गरेको जिम्मेवारी र वृत्ति विकासका अवसरहरूले हामीलाई एक जिम्मेवार नागरिक, अनुभवी बैंकर र परिपक्व व्यक्तित्वका रूपमा विकास गर्ने अवसर प्रदान गरेका छन् । केन्द्रीय बैंकजस्तो प्रतिष्ठित संस्थामा सेवा गर्नु सम्मानको विषय मात्र नभई महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने अवसर पनि हो । यो संस्था नेपालको वित्तीय नियामक मात्र नभई देशको आर्थिक स्थायित्वको आधारस्तम्भ र जनविश्वासको केन्द्र पनि हो । यस्तो संस्थाको सदस्य हुनु हामी सबैका लागि गर्वको विषय हो । यस अवधिमा हामीले विभिन्न चुनौतीपूर्ण क्षेत्रहरूमा कार्य गर्ने अवसर पायौँ ।  विभिन्न विभागहरूमा विविध जिम्मेवारी वहन गर्दै बहुआयामिक र महत्वपूर्ण अनुभवहरू संकलन गर्ने अवसर प्राप्त गरेका छौँ । वृत्ति विकासका विभिन्न चरण पार गर्दै आज हाम्रो ब्याचमेट डेपुटी गभर्नर (किरण पण्डित)को उच्च जिम्मेवारी सम्हाल्ने तहमा पुग्नु भएको छ । सेवामा प्रवेश गरेदेखि यी दुई दशकको अवधिमा हामीले विभिन्न राजनीतिक परिवर्तन, आर्थिक उतारचढाव, विनाशकारी भूकम्प तथा विश्वव्यापी महामारीजस्ता घटनाहरूका अनेकौँ आरोह-अवरोह अनुभव गर्‍यौँ । कठिन परिस्थितिमा समेत सहकर्मीहरूसँग हातेमालो गर्दै चुनौतीहरूको सामना गर्‍यौँ । नेतृत्वसँग सहकार्य गर्दै संस्थागत लक्ष्य हासिल गर्न प्रयास गर्‍यौँ र नयाँ पुस्तालाई उत्प्रेरित गर्‍यौँ । आन्तरिक तथा बाह्य स्थायित्व कायम राख्ने दिशामा निरन्तर सक्रिय रहँदै सरकारका आर्थिक तथा सामाजिक लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउने प्रयास गर्‍यौँ। सहभागितामूलक व्यवस्थापनमार्फत सेवाको गुणस्तर सुधार गर्न निरन्तर पहल गर्‍यौँ । आधुनिक, गतिशील, प्रभावकारी र विश्वसनीय केन्द्रीय बैंक निर्माणमा आफूलाई पूर्ण रूपमा समर्पित गर्दै इमान्दारिता, पारदर्शिता र व्यवसायिकतालाई कार्यसंस्कृतिको मूल आधार बनायौँ । मौद्रिक नीतिको तर्जुमा तथा कार्यान्वयन, वित्तीय क्षेत्रसम्बन्धी नीति निर्माण तथा सुधार, बाह्य क्षेत्रको स्थायित्व कायम गर्न हामी निरन्तर प्रयासरत रह्यौँ । भुक्तानी प्रणालीलाई थप सुरक्षित बनाउँदै ‘लेस क्यास’ हुँदै ‘क्यासलेस’तर्फ उन्मुख गराउन अहोरात्र खटियौँ । कठिन परिस्थितिमा पनि वित्तीय प्रणालीलाई सुरक्षित राख्दै प्रविधिको प्रयोगमार्फत प्रणालीलाई डिजिटल बनाउने ऐतिहासिक रूपान्तरणको कार्यभार वहन गर्ने अवसर पायौँ । नेपाल सरकारको आर्थिक सल्लाहकारको भूमिकासहित केन्द्रीय बैंकको नीतिगत भूमिका अझ प्रभावकारी बनाउने विषयमा हामी चिन्तनशील रह्यौँ र सहकर्मीहरूसँग कैयौँ पटक बौद्धिक विमर्श गर्‍यौँ । यस यात्राले हामीलाई चुनौतीसँग जुध्न, परिवर्तनसँग अनुकूल हुन र संस्थाको हितलाई सर्वोपरि राख्न अभिप्रेरित गरेको छ । कार्यालय समयअघिपछिको ऊर्जाशील समयमा यिनै विषयमा सामूहिक छलफल गर्न हामी टिम १७ का साथीहरू केन्द्रित हुने गरेका छौँ । यस प्रकारको अन्तरक्रियाले नीतिगत स्पष्टता हासिल गर्न सहयोग पुर्‍याएको छ । यस अवधिमा मौद्रिक नीतिको अपरेटिङ फ्रेमवर्कमा धेरै परिवर्तन भएका छन् । कार्यान्वयनमा नयाँ उपकरणहरूको विकास भएको छ । वित्तीय क्षेत्रमा घरजग्गा कर्जा, सेयर कर्जा, चालुपुँजी कर्जा, परियोजना कर्जालगायत क्षेत्रमा नीतिगत स्पष्टता र सुधारका प्रयासहरू भएका छन् । बासेल मापदण्डजस्ता अन्तर्राष्ट्रिय असल अभ्यासको अवलम्बन, ग्रीन फाइनान्स ट्याक्सोनोमी निर्माण तथा सुपरभाइजरी इन्फर्मेसन सिस्टमको विकास भएको छ । कारोबारहरू क्रमशः डिजिटाइजेसनतर्फ उन्मुख हुँदै गएका छन् । कागजमा आधारित चेक क्लियरिङबाट पूर्णतः कागजरहित प्रणाली कार्यान्वयनमा आएको छ । भुक्तानी प्रणालीको आधुनिकीकरण तथा एएमएल/सीएफटीसम्बन्धी व्यवस्थाहरूको सुदृढीकरण हुँदै गएको छ । भुक्तानी तथा सेटलमेन्ट प्रणालीलाई अझ सहज, सुरक्षित र प्रभावकारी बनाउने प्रयाससँगै आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग पनि महत्वपूर्ण बन्दै गएको छ । नेपाल राष्ट्र बैंक र यससँग सरोकार राख्ने यी सबैजसो उपलब्धि र प्रयासहरूमा प्रत्यक्ष वा परोक्ष रूपमा सहभागी हुन पाउनु हाम्रो लागि गौरवको विषय बनेको छ । कठिन परिस्थितिमा वित्तीय प्रणालीलाई सुरक्षित राख्न गरिएका अथक प्रयासहरू तथा प्रविधिको प्रयोगमार्फत प्रणालीलाई डिजिटल बनाउने ऐतिहासिक रूपान्तरणको साक्षी बन्न पाउनु हाम्रो अहोभाग्य हो । वास्तवमा, संस्थागत मूल्य र मान्यताप्रति प्रतिबद्ध रहँदै आफ्नो जिम्मेवारी पूरा गर्दा प्राप्त हुने आत्मसन्तुष्टि कुनै पनि भौतिक पुरस्कारभन्दा कैयौँ गुणा ठूलो हुने रहेछ । यस यात्राले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ । केन्द्रीय बैंकमा कार्य गर्नु भनेको केवल तथ्यांक विश्लेषण वा नीति निर्माण मात्र होइन, करोडौँ निक्षेपकर्ताहरूको विश्वासलाई सुरक्षित राख्ने दायित्व पनि हो । साथै, देशको आर्थिक समृद्धिका लागि वित्तीय स्थायित्व र विश्वसनीयता कायम राख्ने जिम्मेवारी पनि हो । आजको वित्तीय स्थायित्व भोलिको दिगो अर्थतन्त्रको आधार हो । २० वर्षे यात्रामा हामीले सिकेको यो महत्वपूर्ण पाठ हो । राष्ट्र बैंकको नेतृत्वले हामीलाई विश्वासका साथ जिम्मेवारी प्रदान गर्दै निरन्तर मार्गदर्शन गर्नु भएको छ । साथै, हाम्रा सहकर्मीहरूबाट प्राप्त अनुभव र मार्गदर्शनले हाम्रो व्यावसायिक यात्रालाई अझ समृद्ध बनाएको छ । उहाँहरूको परिश्रम, निष्ठा र समर्पणले नेपाल राष्ट्र बैंक आज एक प्रतिष्ठित तथा विश्वसनीय संस्थाका रूपमा स्थापित भएको छ । हामीलाई गर्व छ कि हामीले यस्तो गरिमामय एवं विशिष्ट संस्थामा सेवा गर्ने अवसर पाएका छौँ । सेवा प्रवाहमा होस् वा सुशासन प्रवद्र्धनमा, आधुनिकीकरणमा होस् वा जवाफदेहितामा हामी उहाँहरूले स्थापित गरेका मापदण्डलाई कायम राख्दै थप उचाइ हासिल गर्न सदैव प्रतिबद्ध रहनेछौँ । बाँकी सेवा अवधिमा पनि हामी आफ्नो अनुभव, ज्ञान र सीपलाई संस्थाको हितमा उपयोग गर्दै नयाँ पुस्ताका सहकर्मीहरूलाई ज्ञान र अनुभव हस्तान्तरण गर्न प्रतिबद्ध रहनेछौँ । संस्थाको गौरवपूर्ण परम्परालाई अझ सुदृढ बनाउँदै आगामी दिनहरूमा अझ प्रभावकारी योगदान गर्ने हाम्रो दृढ संकल्प रहेको छ । हामी जुनसुकै पद वा भूमिकामा रहे पनि यस संस्थाको साख तथा गरिमालाई अझ उचो बनाउन विगतमा झैँ आफूलाई उदाहरणका रूपमा प्रस्तुत गर्न प्रयत्नरत रहनेछौँ। सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, सुशासन र जवाफदेहिताको उच्चतम अभ्यास गर्न कटिबद्ध रहनेछौँ । मेरा सहकर्मी मित्रहरूको सहयोग, सहकार्य र आत्मीयताले कठिन कार्यहरू पनि सहज बने । संस्थागत सफलता वास्तवमा सामूहिक प्रयास, समन्वय र सहकार्यको परिणाम हो । आधुनिक केन्द्रीय बैंकको अवधारणा तथा यसको सञ्चालन स्वायत्तताको सम्मान गर्दै आएकोमा नेपाल सरकारप्रति पनि कृतज्ञता छ । यसैगरी, वित्तीय क्षेत्रका अन्य नियामक निकायहरू, बैंक तथा वित्तीय संस्थाहरू र निजी क्षेत्रको निरन्तर सहयोग र सहकार्यले देशको आर्थिक तथा वित्तीय स्थायित्व कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ । यस अवसरमा हामी हाम्रो परिवारप्रति पनि विशेष कृतज्ञ छौं । परिवारको त्याग, धैर्य र समर्थन बिना हाम्रो यो यात्रा सम्भव हुने थिएन । आज प्राप्त यो सम्मान केवल विगतको मूल्यांकन मात्र नभई भविष्यका लागि प्रेरणा र थप जिम्मेवारीको संकेत पनि हो। यसले हामीलाई अझ उत्कृष्ट कार्य सम्पादन गर्न उत्प्रेरित गर्ने विश्वास छ । हामी सबैको सामूहिक प्रयासले आगामी दिनमा नेपाल राष्ट्र बैंकलाई थप आधुनिक, गतिशील, प्रभावकारी र विश्वसनीय संस्थाका रूपमा अघि बढाउन सकियोस् ।