काठमाडौं । मुक्तिनाथ विकास बैंकले 'मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति' अभियान अन्तर्गत चालु आर्थिक वर्ष देशभरका कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकका अनुसार उक्त छात्रवृत्ति आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीलाई लक्षित गरी वितरण गरिएको हो । आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन कठिनाइ भोगिरहेका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्याउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको जनाइएको छ ।
छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूले यस सहयोगले आफ्नो शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपिएको बताएका छन् । 'अब पढाइलाई बीचमै रोक्नुपर्ने चिन्ता कम भएको छ,' एक विद्यार्थीले भावुक हुँदै प्रतिक्रिया दिए । अभिभावकहरूले पनि बैंकको सहयोगले आफ्ना सन्तानको भविष्यप्रति नयाँ भरोसा जागेको बताएका छन् ।
बैंकले शिक्षा समृद्ध समाज निर्माणको मुख्य आधार भएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भए पनि प्रतिभाशाली विद्यार्थीलाई अवसर प्रदान गर्नु सबैको साझा दायित्व भएको विश्वास व्यक्त गरेको छ । साथै, आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।