सेती प्रादेशिक अस्पताल र युवा अपांग संगठनलाई मुक्तिनाथ विकास बैंकको २० थान ‍ह्विलचेयर सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवामा पहुँच सहज बनाउन र समावेशीतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न संस्थालाई ह्विलचेयर सहयोग गरेको छ । 

दिगो विकास लक्ष्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै बैंकले कुल २० थान ह्विलचेयर हस्तान्तरण गरेको हो।

बैंकले कैलालीको धनगढी–०१ स्थित सेती प्रादेशिक अस्पताललाई १० थान ह्विलचेयर उपलब्ध गराएको हो ।

उक्त सहयोगले अस्पतालमा उपचारका लागि आउने आकस्मिक बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीहरूलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित रूपमा आवतजावत गर्न ठूलो मद्दत पुग्ने बैंकले अपेक्षा लिएको छ । 

यसैगरी, बैंकले काठमाडौंको गोकर्णेश्वरस्थित युवा अपांग संगठन नेपाललाई पनि १० थान ह्विलचेयर सहयोग गरेको छ । 

उक्त सहयोगबाट अपांगता भएका व्यक्तिहरूलाई दैनिक जीवनयापनमा सहजता हुनुका साथै उनीहरूको सम्मानपूर्ण र समावेशी जीवनयापनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा बैंकको छ।

बैंकले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा, समावेशी विकास तथा समुदायको जीवनस्तर उकास्ने खालका सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

Share News