नाइमा मोबिलिटी एक्सपो २०२६ का लागि ४९ स्टल बाँडफाँड सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६’ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ । नेपालकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा आयोजना हुन लागेको उक्त एक्सपो आगामी २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । नाइमाका अनुसार एक्सपोमा सहभागी चारपांग्रे, दुईपांग्रे तथा कमर्सियल सवारी साधन क्षेत्रका ४९ ब्रान्डका लागि पूर्वनिर्धारित तथा पारदर्शी चिठ्ठा प्रक्रियामार्फत कुल ४९ वटा स्टल बाँडफाँड गरिएको हो । जसमध्ये २६ वटा स्टल चारपांग्रे सवारी साधन ब्रान्डहरूलाई तथा २३ वटा स्टल दुईपांग्रे र व्यावसायिक सवारी साधन ब्रान्डहरूलाई प्रदान गरिएको छ । स्टल बाँडफाँड कार्यक्रममा बोल्दै नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्सपोप्रति उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्व थप पुष्टि गरेको बताइन् । उनले एक्सपोलाई केवल प्रदर्शनीमा सीमित नराखी आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्य रहेको उल्लेख गरिन् । उनले प्रारम्भिक चरणका सबै स्टल सुनिश्चित भइसकेको जानकारी दिँदै निर्धारित समयसीमा समाप्त भएपछि पनि केही कम्पनीहरूबाट सहभागिताका लागि अनुरोध आइरहेको र उपलब्ध स्थान तथा सम्भावनाका आधारमा ती अनुरोधहरू सम्बोधन गर्ने प्रयास गरिने बताइन् । नाइमा नेपाल मोबिलिटी एक्सपो योजना समितिका अध्यक्ष गौरव शारडाले ४९ ब्रान्डको सहभागितासहित स्टल बाँडफाँड सम्पन्न हुनु उद्योग क्षेत्रको विश्वास, उत्साह र बढ्दो आकर्षणको प्रतिविम्ब भएको बताए । उनले एक्सपोले अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे । नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले स्टल बाँडफाँड प्रक्रिया पूर्ण रूपमा पारदर्शी र निष्पक्ष ढंगले सम्पन्न गरिएको बताए । उनका अनुसार प्रमुख सवारी साधन ब्रान्डहरूको सहभागितासहित एक्सपोको तयारी उच्च मापदण्डअनुसार अघि बढिरहेको छ । एक्सपोमा चारपांग्रे, दुईपांग्रे तथा कमर्सियल सवारी साधनका विभिन्न अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डहरूको सहभागिता रहनेछ । प्रदर्शनीमा नवीनतम सवारी साधन, मोबिलिटी समाधान, प्रविधि तथा नवप्रवर्तनका प्रवृत्तिहरू प्रदर्शन गरिनेछन् । साथै, नयाँ उत्पादन सार्वजनिकरण, अत्याधुनिक प्रविधिको प्रदर्शन तथा ज्ञानमूलक सत्रहरू पनि समावेश हुनेछन् । यसले उपभोक्ता, व्यवसायी तथा उद्योगका सरोकारवालाहरूलाई एकै स्थानमा जोड्दै नेपालको मोबिलिटी क्षेत्रको भविष्य बुझ्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । नाइमा मोबिलिटी तथा अटोमोबाइल क्षेत्रको प्रतिनिधि संस्था हो, जसले ‘मोबिलिटी फर अल’ अवधारणालाई अघि बढाउँदै उद्योग विकास, नवप्रवर्तन प्रवर्द्धन तथा नीतिगत सहकार्यमा सक्रिय भूमिका खेल्दै आएको छ । प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन्स (एमएसएस) ले गर्नेछ भने डिजिटल मिडिया साझेदारका रूपमा डिजिटल सोलुसन्स र पब्लिकेसन्स साझेदारका रूपमा प्रोफिट मिडिया आबद्ध रहनेछन् ।  

एथर नेपालले एकै दिन २०८ स्कुटर हस्तान्तरण गर्दै बनायो कीर्तिमान

काठमाडौं । वैद्य इनर्जी प्रालिद्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नेपाली विद्युतीय सवारीसाधन क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ । कम्पनीले आयोजना गरेको ‘मेगा डेलिभरी’ कार्यक्रममार्फत एथर स्कुटर ग्राहकलाई हस्तान्तरण गरिएको हो  । यस उपलब्धिले नेपाली बजारमा एथर ब्रान्डप्रतिको बढ्दो विश्वास, अत्याधुनिक प्रविधिप्रति आकर्षण तथा दिगो यातायातप्रतिको झुकाव स्पष्ट भएको कम्पनीले जनाएको छ । देशका विभिन्न स्थानबाट आएका ग्राहकहरूले नयाँ स्कुटर ग्रहण गर्दै विद्युतीय सवारीसाधनतर्फ भइरहेको तीव्र रूपान्तरणलाई उत्सवका रूपमा मनाएका थिए । कार्यक्रमका अवसरमा वैद्य इनर्जीका प्रतिनिधिहरूले ग्राहकप्रति आभार व्यक्त गर्दै स्वच्छ, स्मार्ट तथा दिगो यातायात प्रणाली विकासमा कम्पनी प्रतिबद्ध रहेको बताएका थिए । एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्ने यो उपलब्धिले एथर नेपाललाई प्रिमियम विद्युतीय स्कुटर सेग्मेन्टमा अझ सशक्त बनाएको कम्पनीको दाबी छ । साथै, यसले नेपाली बजारमा उच्च गुणस्तरयुक्त तथा नवप्रवर्तनमा आधारित विद्युतीय सवारीसाधनप्रतिको माग बढ्दो रहेको संकेत गरेको छ ।

किया नेपालले ल्यायो नयाँ के३ सेल्टोस, ९५ लाखसम्म पर्ने

काठमाडौं । किया नेपालले ‘अल न्यु किया के३ सेल्टोस’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा आयोजित विशेष समारोहमार्फत नयाँ एसयूभी सार्वजनिक गरेको हो । तेस्रो पुस्ताको सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमतामा व्यापक सुधार गरिएको कम्पनीले जनाएको छ । कियाको नयाँ ‘के३ प्लेटफर्म’मा आधारित यो एसयूभीमा बलियो बडी संरचना, फराकिलो क्याबिन र परिष्कृत ड्राइभिङ अनुभव उपलब्ध हुने बताइएको छ । भारतस्थित कियाको अत्याधुनिक प्लान्टमा उत्पादन हुने यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ । सुरक्षातर्फ ‘लेभल–२ एडिएएस’, २१ वटा स्ट्यान्डर्ड सेफ्टी फिचर, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता सुविधाहरू समावेश गरिएको छ । यसले ८१ मध्ये ७६.७ अंक प्राप्त गर्दै ‘फाइभ–स्टार बीएनसीएपी’ सुरक्षा रेटिङसमेत हासिल गरेको कम्पनीको दाबी छ । कार्यक्रममा बोल्दै किया नेपालकी कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले नयाँ सेल्टोसले नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन र उच्च सुरक्षा दिने बताइन् । उनले यसले एसयूभी सेगमेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरिन् । कम्पनीले नयाँ सेल्टोसलाई अघिल्लो पुस्ताको मोडलसँगै बिक्री गर्ने योजना बनाएको छ । जसले ग्राहकलाई मूल्य र सुविधाका आधारमा छनोटको फराकिलो विकल्प दिनेछ । यस गाडीको मूल्य एसटीके ओ (एचटीके पेट्रोल) का लागि ६८ लाख ९० हजार रुपैयाँ, एसटीके ओ आइभीटीका लागि ७५ लाख ९० हजार रुपैयाँ, एचटीएक्स ए आइभीटीका लागि ८५ लाख ९० हजार रुपैयाँ र एक्स–लाइन ए डीसीटीका लागि ९५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ । यो एसयूभी देशभर रहेका किया नेपालका आधिकारिक डिलरमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।