६ महिनामै जगदम्बा मोटर्सको आम्दानी ९ अर्ब बढी, स्मार्टफोन थपिएपछि ४३.१६ प्रतिशत बढ्यो

काठमाडौं । जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा ९ अर्ब ६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । चारपाङ्ग्रे विद्युतीय सवारीको व्यापार विस्तार तथा जेडटीई स्मार्टफोन वितरण व्यवसाय थपिएपछि कम्पनीको आम्दानीमा उल्लेखनीय वृद्धि भएको जनाएको छ । शंकर ग्रुपअन्तर्गत सञ्चालनमा रहेको जगदम्बा मोटर्सले गत आर्थिक वर्ष २०८१/८२ मा १२ अर्ब ५५ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.१६ प्रतिशत अर्थात् ३ अर्ब ७८ करोड ६० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको थियो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ८१ करोड २० लाख रुपैयाँ, आव २०७८/७९ मा १३ अर्ब ६१ करोड ८० लाख रुपैयाँ, आव २०७७/७८ मा १३ अर्ब १३ करोड ५० लाख रुपैयाँ तथा आव २०७६/७७ मा ६ अर्ब ६५ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २०१० डिसेम्बर २७ मा एसजी ग्लोबल प्राइभेट लिमिटेडको रूपमा स्थापना भएको कम्पनीलाई सन् २०१५ जुनमा पुनः नामकरण गरी जगदम्बा मोटर्स प्राइभेट लिमिटेड राखिएको हो । हाल कम्पनीको नेतृत्व शाहिल अग्रवालले गर्दै आएका छन् । जगदम्बा मोटर्स नेपालमा टीभीएस मोटर कम्पनीका उत्पादनहरूको आधिकारिक तथा एकमात्र वितरक हो । कम्पनीले प्रोटोन कारहरूको समेत नेपालमा प्रतिनिधित्व तथा वितरण गर्दै आएको छ । पछिल्ला वर्षहरूमा कम्पनीले विद्युतीय चारपाङ्ग्रे सवारी क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गरेको छ । यसअन्तर्गत कम्पनीले जेएमईभी र चेरी ब्रान्डका ईभी सवारी साधन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार यसले टीभीएसका दुई तथा तीनपाङ्ग्रे सवारी, गीली समूहअन्तर्गतको प्रोटोन होल्डिङ्सका कार, जेएमईभी तथा चेरी ब्रान्डका ईभी सवारी बिक्री वितरण गर्दै आएको छ । देशभरका प्रमुख सहरमा फैलिएको करिब १३४ डिलर सञ्जालमार्फत कम्पनीले आफ्नो सेवा विस्तार गरेको जनाएको छ । यद्यपि, नेपालको दुईपाङ्ग्रे सवारी बजार अत्यन्त प्रतिस्पर्धात्मक रहेको कम्पनीको भनाइ छ । बजारमा बजाज, होन्डा र यामाहा जस्ता स्थापित ब्रान्डहरूको बलियो उपस्थिति रहेको छ । ती कम्पनीहरूले स्थानीय एसेम्बली सञ्चालन सुरु गरेपछि प्रतिस्पर्धा अझ तीव्र बनेको कम्पनीले जनाएको छ । आगामी दिनमा आम्दानी वृद्धि कायम राख्दै नाफा स्थिर राख्नु, कार्यशील पुँजी व्यवस्थापन सन्तुलनमा राख्नु तथा लाभांश र पुँजी संरचनाबीच उचित सन्तुलन कायम गर्नु कम्पनीका प्रमुख चुनौतीका रूपमा रहेको बताइएको छ । कम्पनीको आम्दानीमा सुधार देखिए पनि सञ्चालन नाफा मार्जिन भने घट्दो क्रममा रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा १०.०२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन गत वर्ष घटेर ७.०९ प्रतिशतमा झरेको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यो थप घट्दै ६.१० प्रतिशतमा सीमित भएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ५ अर्ब ९७ करोड ९३ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये १ अर्ब ४९ करोड ३७ लाख रुपैयाँ दीर्घकालीन तथा ४ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीको तथ्यांकमा उल्लेख छ ।

अर्बपति वुओङको ७ अर्ब डलरको रहस्यमयी कारोबार

काठमाडौं । विगत एक दशकमा भियतनामी विद्युतीय सवारीसाधन (ईभी) निर्माता विनफास्ट अटोले आक्रामक विस्तारका लागि अरबौं डलर खर्च गरिसकेको छ । अहिले आफ्ना दुईवटा मुख्य कारखानाहरू बिक्री गर्ने र आफ्नो बहीखाताबाट ७ अर्ब डलर बराबरको ऋण हटाउने योजनाले अर्बपति फाम न्हात वुओङको भिनग्रुप व्यापारिक घरानाको सुशासनमाथि चिन्ता उब्जाइदिएको छ । सन् १९९० को दशकमा युक्रेनमा तयारी चाउचाउ बेचेर व्यवसाय सुरु गरेका वुओङले भिनग्रुपलाई भियतनामकै सबैभन्दा ठूलो कम्पनीका रूपमा स्थापित गरेका छन् ।  यसैमार्फत उनी होटल, मनोरञ्जन पार्क र नास्डाकमा सूचीकृत विनफास्टका मालिक हुन् । उनी समूहभित्रै गरिने जटिल लेनदेनहरूका लागि पनि चिनिन्छन् । रोयटर्सले यसअघि नै विनफास्टको बिक्री र वित्तीय व्यवस्थाका लागि भिनग्रुपसँग सम्बद्ध कम्पनीहरूमाथिको निर्भरतालाई सविस्तार प्रस्तुत गरिसकेको छ । फाम न्हात वुओङ । गत हप्ता सार्वजनिक गरिएको एक बहुपक्षीय सम्झौताअनुसार विनफास्टले आफ्नो भियतनामी उत्पादन व्यवसायलाई १३.३ ट्रिलियन डङ (५० करोड ६० लाख डलर) मा लगानीकर्ताहरूको एक समूहलाई बिक्री गर्नेछ, जसले झन्डै ६.९ अर्ब डलरको ऋणको भार पनि आफै लिनेछन् ।  एउटा नियामक फाइलिङमा कम्पनीले यो कदमले आफूलाई उत्पादनमा भन्दा पनि अनुसन्धान र उत्पादन विकासमा केन्द्रित हुने ‘एसेट–लाइट’ (भौतिक सम्पत्ति कम भएको) मोडेल अपनाउन मद्दत पुग्ने बताएको छ । उत्पादन एकाइलाई आफ्नो बहीखाताबाट हटाएपछि विनफास्ट ठुलो मात्रामा ऋणमुक्त हुने भिनग्रुपले रोयटर्सलाई दिएको एक बयानमा बताएको छ । गत वर्ष यस इभी निर्माता कम्पनीले बेहोरेको ३.९ अर्ब डलरको घाटाको मुख्य कारण उत्पादन लागत नै थियो र सन् २०१७ मा स्थापना भएदेखि विनफास्टले अझैसम्म नाफा कमाउन सकेको छैन । तर, यो सम्झौताको जटिलता र यसमा संस्थापक वुओङ तथा भिनग्रुपसँग सम्बन्ध भएका लगानीकर्ताहरूको संलग्नताका कारण केही विश्लेषकहरू र सर्वसाधारण सेयरधनीहरू माझ यसले आशंका पैदा गरेको छ । सिंगापुरस्थित परामर्शदाता कम्पनी वाईसीपीका अटो उद्योग विश्लेषक तथा साझेदार मेहदी जाउदीले भने, ‘रणनीतिक र वित्तीय दृष्टिकोणबाट यो कदम जायज देखिन्छ र यसले विनफास्टलाई अघि बढ्न ठोस आधार प्रदान गर्दछ। यद्यपि, सुशासनको दृष्टिकोणबाट हेर्दा यो रणनीतिक निर्णयले केही खतराका घण्टीहरू र प्रश्नचिन्हहरू खडा गर्छ ।’ यसमा एउटा मुख्य विषय घरजग्गा व्यवसायी न्गुएन होआई नामको संलग्नता हो, जसले यसै महिना मात्र उत्पादन व्यवसायको ९५ प्रतिशतभन्दा बढी हिस्सा खरिद गर्ने कम्पनीको नियन्त्रण लिएका छन् । नाम, भिनग्रुपको पहिलेको सपिङ मल शाखा रहेको भिनकम रिटेलका सञ्चालक समिति सदस्य हुन् । कारखाना सम्झौता सार्वजनिक हुनुभन्दा केही दिनअघि उनले फ्युचर इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ डेभलपमेन्ट (एफआईआरडी) को बहुमत नियन्त्रण प्राप्त गरे । यो कम्पनी विनफास्टबाटै अलग गरेर बनाइएको थियो र गत जनवरीसम्म यसको स्वामित्व भिनग्रुप र वुओङसँग थियो । एफआईआरडीसँग विनफास्टको पहिलो पुस्ताका इभीहरूको पेटेन्ट (पेटेन्ट अधिकार) छ र यसको दर्ता पुँजी ४.६ अर्ब डलर छ, जसमा झन्डै ९२ प्रतिशत हिस्सा नामको रहेको छ । ‘यी स्वामित्व परिवर्तनहरू भएको यति चाँडै एफआईआरडी कसरी मुख्य खरिदकर्ता बन्यो भन्ने कुरा प्रष्ट छैन,’ जाउदीले भने । यस विषयमा भिनकमले टिप्पणी गर्न अस्वीकार गरेको छ ।  एक बयानमा भिनफास्टले आफू ‘यी लेनदेनहरूमा कुनै पक्ष नरहेको र त्यसैले यसमा टिप्पणी गर्ने कुनै आधार वा अधिकार नभएको’ बताएको छ । विनफास्टले इन्डोनेसिया र भारतमा रहेका आफ्ना एसेम्बली प्लान्टहरू र आफ्नो सबैभन्दा नयाँ पुस्ताका इभीहरूको पेटेन्टहरू भने आफैसँग राख्नेछ । मे १२ मा यो सम्झौता सार्वजनिक भएदेखि विनफास्टको सेयर करिब १२ प्रतिशतले घटेको छ । भिनग्रुप वुओङद्वारा नियन्त्रित छ र यस कम्पनीमा कुनै ठूला संस्थागत लगानीकर्ताहरू छैनन्। हो चि मिन्ह सहरमा आधारित भियतनाम केन्द्रित र विदेशी स्वामित्वमा रहेको कोष ड्रेगन क्यापिटल जुन भिनग्रुपका थोरै विदेशी लगानीकर्ताहरूमध्ये एक हो, उसले भने यो लेनदेनलाई ऋण र खर्च कटौती गर्ने भएकाले ‘एक सकारात्मक संरचनात्मक विकास’ भएको बताएको छ । सन् २०२१ मा फक्सकनको चासो अनुभवी अटो उद्योग विश्लेषक फेलिप मुनोजका अनुसार आफ्नो उत्पादन कार्य अरूलाई सुम्पेर भिविनफास्ट जस्तो सानो ईभी निर्माताले आफ्ना बहुमूल्य स्रोतहरू अझ राम्रो सफ्टवेयर विकास गर्ने जस्ता बढी महत्त्वपूर्ण क्षेत्रहरूमा केन्द्रित गर्न सक्छ । सम्झौताको एक हिस्साको रूपमा नयाँ मालिकहरूले तेस्रो पक्षका लागि कार र ब्याट्रीहरू उत्पादन गर्न भिनफास्टका प्लान्टहरू प्रयोग गर्न सक्छन् । यस विषयको संवेदनशीलताका कारण नाम गोप्य राख्न चाहने भियतनामका एक वित्तीय विश्लेषकले नयाँ लगानीकर्ताहरूसँग साझेदारी गर्न अर्को कुनै ठूलो निर्माता तयारी अवस्थामा पर्खेर बसेको हुन सक्ने सम्भावना रहेको बताए । सन् २०२१ मा भिनग्रुपले ताइवानी कन्ट्याक्ट म्यानुफ्याक्चरर फक्सकनले भिनफास्टको उत्पादन लाइनका लागि आफूसँग सम्पर्क गरेको बताएको थियो, तर त्यतिबेला कुनै सम्झौता हुन सकेन । ‘हाम्रो भियतनाममा रहेका भिनफास्टका उत्पादन सुविधाहरू फक्सकन वा अन्य कुनै मूल उपकरण निर्मातालाई बेच्ने कुनै योजना छैन,’ सम्भावित नयाँ कुराकानीबारे सोधिएको प्रश्नमा भिनग्रुपले भन्यो । इभी क्षेत्रमा आफ्नो विस्तार गर्न खोजिरहेको फक्सकनले भने यसबारे टिप्पणीको अनुरोधलाई कुनै जवाफ दिएन । (रोयटर्सबाट अनुदित तथा सम्पादित) कमजोर हुँदै भारतीय रुपैयाँ नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति

नयाँ एमजी हेक्टर सार्वजनिक, सुरुवाती मूल्य ६६ लाख ९९ हजार

काठमाडौं । जेएसडब्ल्यू एमजी मोटर भारतका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक जीओ अटोमोबाइलले नेपाली बजारमा नयाँ एमजी हेक्टर एसयूभी सार्वजनिक गरेको छ । बिहीबार थापाथलीस्थित एमजी शोरुममा एक कार्यक्रमका बीच गाडी सार्वजनिक गरिएको हो ।  केही समयअघि मात्रै एमजी विन्डसर र एमजी कमेट ईभी सार्वजनिक गरेको कम्पनीले यस नयाँ गाडीको आगमनसँगै नेपालमा एमजी ब्रान्डका सवारीसाधनको दायरा थप विस्तार भएको जनाएको छ । कम्पनीका अनुसार नयाँ एमजी हेक्टरमा स्तरोन्नत प्रविधि, थप प्रिमियम विशेषता तथा आकर्षक बाह्य स्वरूप समावेश गरिएको छ । आधुनिक परिवार तथा प्रविधिमैत्री एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरी तयार गरिएको यस गाडीमा आरामदायी यात्राका लागि फराकिलो क्याबिन र उत्कृष्ट आन्तरिक सजावट रहेको छ । अत्याधुनिक जडान प्रणाली र प्रयोगकर्तामैत्री सुविधाहरू छन् । चालक र यात्रीको सुरक्षालाई ध्यानमा राख्दै उत्कृष्ट सुरक्षा सुविधाहरू समावेश तथा समान मूल्य समूहका अन्य प्रतिस्पर्धी सवारीसाधनको तुलनामा ठूलो एसयूभी अनुभव र दैनिक प्रयोगमा बढी उपयोगिता रहेको कम्पनीको भनाइ छ ।  कार्यक्रममा जीओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाले एमजी हेक्टर विश्वभर एमजीको सबैभन्दा लोकप्रिय र परिष्कृत एसयूभीमध्ये एक भएको दाबी गरे ।  उनका अनुसार नयाँ संस्करणमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएको छ । नेपालका ग्राहकका लागि शैली, सुरक्षा, प्रविधि र व्यवहारिकताको सम्मिश्रण खोज्नेहरूका लागि यो उपयुक्त विकल्प हो ।  उनले भने, ‘नयाँ सार्वजनिक हेक्टरमा थप सुविधा, उच्च आराम, आकर्षक डिजाइन तथा आधुनिक प्रविधि समावेश गरिएको छ, जसले यसलाई आफ्नो संस्करणमा अझ प्रतिस्पर्धी बनाएको छ ।’ नेपाली बजारमा नयाँ एमजी हेक्टर चार फरक संस्करणमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको सुरुवाती मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नयाँ एमजी हेक्टर सार्वजनिक भएसँगै नेपालमा एमजी ब्रान्डको उपस्थिति अझ सुदृढ हुने कम्पनीको विश्वास छ । जीओ अटोमोबाइल्सले विश्वस्तरीय सवारीसाधनका साथै भरपर्दो बिक्रीपछिको सेवा र आधिकारिक पार्टपुर्जाहरूको सहज उपलब्धता सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाएको  छ । नयाँ एमजी हेक्टरलाई नजिकबाट नियाल्न र बुझ्न चाहने ग्राहकहरूले थापाथलीस्थित एमजी शोरुममा गई प्रत्यक्ष अवलोकन गर्न सक्ने कम्पनीले जनाएको छ ।