बजेटपछि सुजुकी ई–भिटारा सस्तो : सबै भेरिएन्टमा १ लाख घट्यो, ४८.९९ लाखबाट सुरु

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजारलाई लक्षित गर्दै सीजी मोटोकर्पले सुजुकीको ई–भिटाराको मूल्य घटाएको छ । सरकारको नयाँ बजेटमार्फत भन्सार र कर संरचनामा गरिएको संशोधनपछि कम्पनीले गाडीको मूल्यमा प्रत्यक्ष कटौती गरेको जनाएको छ ।

अब सुजुकी ई–भिटाराका सबै भेरिएन्टमा १ लाख रुपैयाँसम्म मूल्य घटाइएको छ । यसअघि ४९ लाख ९९ हजार रुपैयाँ पर्ने ई–भिटारा डेल्टा भेरिएन्ट अब ४८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

त्यसैगरी, ई–भिटारा जेटाको मूल्य ५२ लाख ९९ हजार, अल्फाको ५८ लाख ९९ हजार र अल्फा डीटीको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ । कम्पनीका अनुसार यी मूल्यहरू परिचयात्मक (इंट्रोडक्टरी) हुन् भने सम्बन्धित भेरिएन्टहरूको एमआरपी भने अझै उच्च रहेको छ ।

सीजी मोटोकर्पले ई–भिटारालाई गत चैतमा पोखरामा सम्पन्न नाडा अटो शोमार्फत औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको थियो । सार्वजनिक भएसँगै चार फरक भेरिएन्टमा गाडी बिक्री वितरण हुँदै आएको छ ।

प्राविधिक पक्षमा, ई–भिटारा दुई ब्याट्री विकल्प - ४९ किलोवाट आवर र ६१ किलोवाट आवरमा उपलब्ध छ । यीबाट क्रमशः १०६ किलोवाट र १२८ किलोवाटसम्म पावर उत्पादन हुने कम्पनीले जनाएको छ । शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधिका कारण यो आफ्नो सेग्मेन्टमै प्रतिस्पर्धी ईभीका रूपमा उभिएको दाबी गरिएको छ ।

कम्पनीले सुरुवाती १०० ग्राहकलाई यही घटाइएको मूल्यमा गाडी उपलब्ध गराउने जनाएको छ । सीजी मोटोकर्पका प्रबन्ध निर्देशक करण चौधरीका अनुसार सरकारको नीतिगत सहजीकरणलाई उपभोक्तासम्म प्रत्यक्ष पुर्याउने उद्देश्यले मूल्य समायोजन गरिएको हो ।

हाल कम्पनीले देशभर २५ वटा बिक्री केन्द्र र ४० वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ । साथै, दक्ष ईभी प्राविधिकसहितको सञ्जालका कारण सेवा विस्तारमा आफू अग्रस्थानमा रहेको कम्पनीको दाबी छ ।

Share News